रामलाल जोशी
कवि सम्पूर्णानन्दको देहान्तले जनमास शोकमा डुब्यो । जेठमासको डढेलो सल्किएझैं उनको स्वर्गबासको खबर घरघरमा पुग्यो । रसिक मनहरु भावविह्वल भए । मनमा वैराग्यका लहरहरु फैलाएर शोकधुनहरु बज्न थाले । मान्छेका अनुहारमा विषादका धर्का कोरिए । अकस्मात फूलको एउटा थुङ्गा चुँडिएझैं सदाका लागि कालले उनलाई चुँडेर लग्यो।
आँगनबाट शव उठाउँदा मान्छेका चित्कारहरु त्यसरी नै छुटे जसरी छुट्छन् पानीका फोहोराहरु । आलाप विलापमा त्यसरी नै झुराउन थाले आफन्तहरु, जसरी मनमा एउटा वीतराग दिएर अलापिन्छ बाँसुरी । परिवारमा एउटा कोलाहल मच्चियो । खहरेमा भेल बगेझैं टिठाउँदा अनुहारमाथि बग्न थाले आँसुहरु । खुट्टा बजार्न थाले छोराछोरीहरु । कंकला आवाज दिएर आलाप्न थालिन् कविपत्नी । जिन्दगीको मध्यभागमै सौभाग्य हरण गरिएकी कविपत्नी अनुराधा दुनियाँकी सबभन्दा टिठाउँदी भएर लासमाथि टाउको ठोक्न थालिन्–
“जहाँ जान्छन् मेरा स्वामी, त्यहीँ मलाई सेलाइदिनू।
जुन चितामा जल्छन् मेरा स्वामी, त्यहीँ मलाई जलाइदिनू।”
जब आँगनबाटै कवि सम्पूर्णानन्दको शवयात्रा निस्कियो, मान्छेहरुको एउटा शैलाब कमिला ताँतीमा तारापुञ्जझँै लामबद्ध देखियो । लामबद्ध मान्छेहरुका मुखबाट एउटा इष्र्यालु आवाज निस्कियो–
“आहा ! मरण होस् त कसैको यस्तो होस् ।”
कवि सम्पूर्णानन्दको शोकयात्राले भित्रभित्रै मलाई जलाई रह्यो । यस चरणमा आएर आज म आफ्नो विगत जिन्दगीमा फर्किएँ जहाँ सम्पूर्णानन्द मेरो जीवनका अभिन्न सारथी थिए –
उसबेला कविताप्रति मेरो रुचि थिएन । म वन जङ्गल र डाँडापाखा चहारी हिड्थेँ । चराहरुका गुँड खोज्दै रुखहरुका हाँगाहाँगामा चढ्थेँ र पात पहिल्याउँथे । माछा मार्न खोलाहरुमा डुली हिड्थेँ । गोरुहरुका पुच्छर निमोठ्दै गोठाले जीवनको आनन्द लुटिरहेको थिएँ । मेरो हृदयमा अर्कै उल्लास र चञ्चलता भरिएको हुन्थ्यो । तर सम्पूर्णानन्द उसबेलादेखि नै पूर्णतः कवि हृदयका थिए । छिट्किनीमा मैले चरा मार्दा उनी छट्पटाउँथे । गुँडबाट बचेरा उठाएर ल्याउँदा आँखाबाट आँसु झार्थे । दुखका दृश्य देख्दा उनको हृदय दग्ध हुन्थ्यो । तप्त भएर उनी पग्लिन्थे । बाल्यावस्थादेखि नै उनी कोमल हृदयका थिए । पूर्णतः कवि हृदयका।
उसबेला नै गोठाला जाँदा उनी गीत गुनगुनाउँथे । सालघारी पस्दा सुसेली हाल्थे । कोइलीको आवाजमा टोलाउँथे । अग्लो डाँडामा बसेर बाँसुरी बजाउँथे । सम्पूर्णानन्द उसबेलादेखि नै शान्त र एकान्त प्रेमी थिए । स्कुले जीवनका दिनहरुमा लय हालेर कविता गाउँथे । लेग्रो तानेर किताब पढ्थे । गीत गाएर दौँतरीहरुलाई आनन्दित तुल्याउँथे । गुरुहरुका उनी प्यारा थिए । दौँतरीहरुका आँखाका तारा थिए । सम्पूर्णानन्द सानैदेखि मजस्ता थिएनन्, आफैँजस्ता थिए।
स्कुले जीवनका मध्यदिनबाट उनी कविता लेख्न थाले । मलाई उनको लत लाग्न थाल्यो । नजाने कुन अज्ञात शक्तिबाट प्रेरित भएँ म खै, मैले आफ्ना उरन्ठेउला आनीबानीहरु एकाएक छोडिदिएँ । म पूर्णतः सम्पूर्णानन्दको प्रभावमा रहन थालेँ । उनी कविता लेख्थे, म सिको गर्थेँ । उनी गीत लेख्थे, म गुनगुनाउँथेँ । उनी मादल बजाउँथे, म नाची दिन्थेँ । शनैशनै म सम्पूर्णानन्दसँग एकाकार हुन थालेँ।
म मात्रै सम्पूर्णानन्दसँग टाँसिएको कहाँ थिएँ र ? उनी पनि त्यत्तिकै अन्योन्यास्रित थिए मसँग । मलाई कदाचित चोट पर्दा उनका आँसु झर्थे । मलाई भोक लाग्दा उनको पेट दुख्थ्यो । मलाई रुवाइ आउँदा उनका गह भरिन्थे । मलाई एकछिन नदेखे उनी एक्ला हुन्थे । मसँग बिछोडिँदा उनी विरक्त हुन्थे । यसरी कोमल मुटुहरुको स्नेह कसिलो भएको थियोे उसबेलादेखि नै।
पढाइका दिनहरुदेखि नै उनी कविता लेख्न थाले । म उनको सिको गर्न थालेँ । उनको सङ्गतले मलाई निरन्तर कविताप्रति अनुराग जाग्न थाल्यो । उनैका शब्द सापटी लिएर म कविता लेख्न थालेँ । आफ्ना कविता बिर्सेर उनी मलाई प्रशंसा गर्थे । किशोर वयदेखि सम्पूर्णानन्द मलाई आफूजस्तै कवि बनाउने प्रयत्नमा थिए । म उनैको आकांक्षा पूरा गर्न कवि बन्ने धुनमा एकाकार थिएँ।
पछिल्ला दिनमा मलाई कविताप्रति प्रेम हुन थाल्यो । म भित्री हृदयबाटै कविता लेख्ने धुनमा हराउन थालेँ । म आफ्नो हृदयमा भाव घोलेर शब्दमा उतार्थेँ । सम्पूर्णानन्द आफ्नो विरही लय दिएर मेरा कवितालाई मधुर स्वर लहरीमा बगाउँथे । उनको आवाजमा गएर जब मेरा कविता बुलन्द हुन्थे, मलाई लाग्थ्यो मेरो हृदय कविताका शब्दमा गएर बोल्न थाल्यो । मेरो आत्मा कवितामै एकाकार भएर विलीन हुन थाल्यो । मेरा कविताप्रति मलाई अगाध प्रेम र आसक्ति जाग्न थाल्यो।
सम्पूर्णानन्द र मेरो कक्षा एउटै थियो । किताब एउटै थिए । गुरुहरु उनै थिए । स्कुल एकै थियो । उमेर एकैनास थियो । मन एकै प्रकारका थिए । मनमा उम्रिने भावहरु एउटै थिए । हिँड्ने बाटो एउटै थियो । अब त अगाडि बढ्ने बाटो पनि एकै भो । एउटै यात्राका सहयात्री थियौँ हामी।
उनी सधैं कक्षामा पहिला हुन्थे, म दोस्रो । वार्षिक परीक्षाको नतिजा आउँदा उनैको नाम पहिला आउँथ्यो अनि मात्रै मेरो । हिसाब दौडमा एककदम अगाडि उनी पुग्थे, उनीपछि म । कविता वाचनमा उनी पहिला उभिन्थे मञ्चमा, उनीपछि म । जीवनको यात्रामा मेरा अघिअघि सम्पूर्णानन्द थिए, उनका पछिपछि म । परन्तु मैले हार स्वीकार गरेको थिइनँ । हात खडा गरेर उनका लागि बाटो खुला गरेको पनि थिइनँ । हरपल मलाई लागिरहन्थ्यो, मैले सम्पूर्णानन्दलाई जित्नुछ हरक्षेत्रमा । उनका अगाडि अवश्य उभिनु छ एकदिन । बस् यही इष्र्याका साथ म सम्पूर्णानन्दलाई उछिन्ने ध्याउन्नमा प्रयत्नशील थिएँ । उनकै पछाडि लतारिएर पनि उनीप्रति अतिसय इखालु थिएँ।
आफ्नो बत्तीसौं वार्षिकोत्सवका अवसरमा विद्यालयले अन्तर मावि कविता प्रतियोगिताको आयोजना गर्याे । प्रतियोगितामा वाचन गरिएका बीसौं कवितालाई उछिन्दै जब सम्पूर्णानन्दको कविताले प्रथम स्थान लियो, मेरो हृदयको ढुकढुकी देब्रे छातीमा सर्याे । फेरि पनि मेरो नाम दोस्रो नम्बरमै उच्चारण गरियो । यसपाला मलाई आशा थियो मेरो नाम पहिलो भएर आउने छ । अहं, भएन । तर मैले प्रतिज्ञा गरें अर्कोपटक म अवश्य प्रथम भएर देखाउनेछु । एकदिन सम्पूर्णानन्दको ठीक अगाडि म उभिनेछु । यही प्रतिज्ञा लिएर मैले आफ्नो जीवनको गतिलाई तेज बनाएँ । मैले आफ्नो गतिको गिएर बदलिदिएँ।
अर्को वर्ष वार्षिक परीक्षाको रिजल्ट आयो । बोहोरा सरले एक नम्बरमा फेरि उच्चारण गर्नुभो– सम्पूर्णानन्द पाण्डे । मलाई फेरि भाउन्न भएर आयो । टुपी कसेर रातभरि पढ्दा पनि जित्न सकिन मैले सम्पूर्णानन्दलाई । मेरो नाम पुन दोस्रो नम्बरमा उच्चारण गरियो । मलाई भित्रैदेखि हिनताबोधले छोयो – के म सधैं दोस्रो मात्रै हुनका लागि जन्मेको हुँ । पैलो हुन सक्दिन र कैल्यै ? क्षणभरमै मभित्रको इगोले टाउको उठायो । मनले दृढतापूर्वक भन्यो अवश्य एकदिन प्रथम भएरै छोड्छु । सम्पूर्णानन्दलाई जितैरै छोड्छु । उनको अगाडि मरिगए पनि हार खान्न । यति निश्चय गरिसकेपछि वर्तमान अवस्थालाई छोडेर अगाडि बढेँ म । यो अवस्थासँग खुसी अथवा दुःखी भएर बस्नु थिएन मलाई । मलाई अग्लो शिखर छुनु थियो जहाँ सम्पूर्णानन्दभन्दा माथि म उभिएको होऊँ । मनका सबै तापहरुलाई मनमै लुकाएर सामान्य अवस्थामा फर्किएँ म । सम्पूर्णानन्द कत्ति नफुर्किकनै मेरो सामुन्ने आए । हात मिलाए । गला लागे र भने – “जाऊँ तिम्रो अस्तिको कविता सुन्नु छ मलाई।”
मलाई लाग्यो – म सम्पूर्णानन्दभन्दा राम्रा कविता लेख्न थालेछु क्यारे । मेरा कविताप्रति सम्मोहित भएछन् सम्पूर्णानन्द । नत्र किन मेरो कविता सुन्नलाई लालायित हुनुपर्ने उनी, किन ? मैले एकिन गरेँ – उनलाई आफ्नाभन्दा अब मेरा कविता राम्रा लाग्न थालेछन् । म भित्रभित्रै खुसीले बुर्कुसी मार्न थालेँ । फोक्सो मेरो खुसीले फुल्न थाल्यो । सन्तुष्ट भएर मैले सोचेँ – कवितामा मैले सम्पूर्णानन्दलाई जितेछु सायद । एकाएक मैले सम्पूर्णानन्दभन्दा एक पाइला माथि देखेँ आफूलाई । म खुसीले फुलेको थिएँ । मेरो गति फेरि तेज भयो । म सुस्त भइनँ।
अर्कोवर्ष चैत लाग्न थालेको थियो । समयले सायद वसन्त ऋतुलाई आमन्त्रण गरिसकेको थियो । सल्लीभीर रातै पारेर जन्तीफूल फुलेका थिए । वनमा सागिना र घरमा आरुका फूलहरुको सुगन्ध चर्कैगरी फैलेको थियो । वसन्त ऋतुकै आगमन पारेर वसन्त मुरारी मावीले खुला कविता प्रतियोगिताको आयोजना गर्याे । टाढा–टाढाका कविहरुले समेत रुचि देखाएर भाग लिए । एउटा अपूर्व जमघटमा मैले आफ्नो कविताका पङ्क्तिमा आवाज दिएँ । मञ्चमा उक्लिएर जसै मैले आफ्नो कवितालाई एउटा जिउँदो आवाज दिएर जगाएँ, हरेक शब्दशब्दमा तालीका फोहोराहरु छुट्न थाले । कविता वाचन गरेर नसकिँदै मैले अनुमान लगाएँ– यसपालि अवश्य जित्छु म सम्पूर्णानन्दलाई । उनी तल पर्ने भए अब । म कविता सकेर फर्किँदा लागिरहेथ्यो – एकदिन यसरी मसँग पछारिनु रै’छ विचरा सम्पूर्णानन्दले । उनी वाचन गर्न उठ्दा मैले करुण दृृष्टिले हेरेँ उनलाई –विचरा सम्पूर्णानन्द।
जब उनी आफ्नो आवाजमा रोइलो बगाएर कवितालाई पुकार्न थाले, कठै उनका अगाडि निर्धा प्राणीझैं दर्शकहरु आँसु खसाउन थाले । जब उनी शब्दमा प्राण भरेर भावलाई नचाउन थाले, मलाई लाग्यो, हात खडा गरिदिऊँ अब उनका अगाडि । सम्पूर्णानन्दको कविताले जितेको थियो मेरो मनलाई । एकछिन अगाडि सम्पूर्णानन्दलाई जित्ने हुँकार छोडेर मञ्चबाट ओर्लिएको म क्षणभरमै लल्याक लुलुक भएर उनको कविताका अगाडि लाचार छायाँझै उभ्भिरहेँ।
केही क्षणमा मञ्चबाट निर्णायक मण्डलीले परिणाम घोषणा गरे । जो हुनु थियो, त्यही भयो । जुन कविताले सबैको हृदय जितेको थियो, उही प्रथम भयो । यसपटक पनि सम्पूर्णानन्द प्रथम भए, म दोस्रो । उनलाई जित्ने मेरो दम्भ धुलोमा मिल्यो । दस कक्षा पास गर्ने बेलासम्म पनि जित्न सकिन मैले सम्पूर्णानन्दलाई । उनले जितेर अगाडि बढिरहे । म लतारिइरहेँ उनका पछाडि । तथापि म विषको थैली निकालिएको सर्प थिइनँ । मनमा इखको घडा भरिएको एक इखालु मान्छे नै त थिएँ नि ! मैले इख लिन छोडिन । मनमा एउटा संकल्प बोकिरहेँ– एकदिन म जितेरै छोड्ने छु सम्पूर्णानन्दलाई । सम्पूर्णानन्दको ठीक अघिल्तिर उभिनेछु म । हो, म त्यही दिनका लागि आफ्नो गति बढाएर कुदिरहेको थिएँ।
कलेज जीवनका स्तन्त्र दिनमा हाम्रो मनस्थिति फेरियो । हामी खुला आकाशका चराहरुझैं स्वतन्त्र भएर उड्न थाल्यौँ । उड्दाउड्दै चङ्गा ठोक्किएझैं कैलेकाहीँ ठोक्किन्थ्यौँ पनि । परन्तु त्यो अपरिमित स्वतन्त्रताको चरम उपभोगमै हामी विलुप्त भैरह्यौँ । कहिले उडिरह्यौँ सपनाको आकाशमा । कैले घस्रिरह्यौँ यथार्थताको दलदलमा । कहिले विद्यार्थी आन्दोलनमा लागेर जिन्दावाद र मुर्दावाद ओकलिरह्यौँ । कहिले साथीसङ्गीहरुको लहलहैमा हल्लिरह्यौँ । यौवनकालको रुमानी प्रेममा हराइरह्यौँ कहिले । एक ठाउँमा थपक्क बसेर भविष्यको चिन्तन गर्ने अवस्था नै कहाँ थियो र !, मनमा चञ्चलताको राज थियो । चुप्पी कसेर खुरुखुरु पढ्ने अवस्था पनि थिएन । मनमा प्रेमिल अस्थिरताको राज थियो । भनौँ त्यो समय त्यस्तै थियो।
क्याम्पसे जीवनका पछिल्ला दिनमा मेरो रुचि राजनीतिप्रति गहिरिँदै गयो । म विद्यार्थी राजनीतिको आहालमा डुब्न थालेँ । सभा, गोष्ठी, नारा, जुलुश, हड्ताल र विद्रोहको राजनीतिमा आफूलाई समाहित गरेँ । युवा उमेरको जोश, जाँगर र विद्रोही भाव राजनीतिमा लगाएँ मैले, तर सम्पूर्णानन्द राजनीतिबाट टाढै रहेर आफ्नो साधनामा लागिरहे । आर्थिक अवस्था उनको दयनीय थियो । राजनीतिक पहुँच र भनसुनको आधारमा मैले उनलाई एउटा सरकारी स्कुलमा जागिर लगाइ दिएँ । उनी पूर्णतः आफ्नो जागिर र साहित्य साधनामा एकाग्र रहे । कहिलेकाहीँ फुर्सदको बेला कुनै सभा, गोष्ठीमा उनलाई बोलाउँथेँ । उनी दर्शकदीर्घामा बसेर मेरा क्रान्तिकारी भाषण सुन्थे र बीचबीचमा ताली ठोक्थे । म खुशीले पुलकित हुन्थेँ । म मञ्चमा नेताको आसनमा हुन्थेँ, उनी भुइँमा कार्यकर्ताको । यस चरणमा आएर मलाई गौरवबोध हुन्थ्यो । बल्ल मैले सम्पूर्णानन्दलाई जित्न सकेको आभाषमा थिएँ । म माथिल्लो आसनमा थिएँ, उनी तल्लो।
दिनहरु यसरी नै अगाडि गैरहे । मेरा व्यक्तित्वका दुईटा पाटा थिए, एउटा राजनीति, अर्को साहित्य । यदाकदा फुर्सद पाउँदा म कविता कोर्थेँ । कवितामा पनि सम्पूर्णानन्दलाई कुनैदिन जितेर उनीभन्दा माथिल्लो आसनमा बस्ने हुटहुटी छँदै थियो । जब उनी कविता वाचन गर्थे, मभित्रको कवि पूर्णतः जागृत भएर उठ्थ्यो । मेरो प्रभाव राजनीतिक र साहित्यिक दुवै क्षेत्रमा बराबर थियो । म सम्पूर्णानन्दभन्दा यसर्थ पनि अगाडि थिएँ कि मेरो व्यक्तित्वका दुईटा पाटा थिए, उनको एउटै।
यसर्थ म सम्पूर्णानन्दलाई जितेको गर्वमा थिएँ । उनी मेरो अगाडि लुरुक्क हुन्थे । राजनीतिको ताकत कहाँ कम थियो र!
समय एकैनासले चलेन, फेरियो । दिनहरु उस्तै रहेनन्, बदलिए । जिन्दगी एउटै पाटोमा रहेन, कोल्टे फेर्याे । क्याम्पसका दिनहरु सकिए । एउटा सुनौलो मोड सकियो । तर तृष्णा सकिएन । इख र इष्र्या सकिएन । कवि सम्पूर्णानन्दलाई एक कदम अगाडि बढेर कवितामा जित्ने आकांक्षा पल्लवित भैरह्यो । उनका कवितादेखि भित्रभित्रै इष्र्या लाग्न छुटेन कहिल्यै । मलाई लागिरह्यो—एकदिन सम्पूर्णानन्दलाई जित्नुछ मैले । जरुर जित्नुछ।
उनी गृहस्थीमा बाँधिए । म गृहस्थीमा बाँधिएँ । राजनीतिले बाटो बिरायो । राजमाार्ग छोडेर चोर सडकतिर मोडिएको जुलुशका पछाडि लाग्न सकिएन । म पुनः निरपेक्ष भएर सम्पूर्णानन्दको सहयात्रामा आइ पुगेको थिएँ । हामी एउटा बाटोका सहयात्री थियौँ । साहित्यको विशाल सागरमा डुबुल्की मार्न थाल्यौँ । साधनामा यसरी मनोलिप्त हुन्थ्यौँ कि आनन्दको सीमा नाघेर कहिल्यै परमानन्दमा विलिन हुन लागेको आभाष हुन्थ्यो । यसरी मलाई यस काव्यानन्दको संसारमा उनले ल्याएका थिए तर पनि सम्पूर्णानन्दका कविताप्रतिको ईष्या र आहिस चलिरह्यो मनमनै।
गृहस्थीको दलदलका बीचमा पनि उनी आफ्नै पागलपनमा डुबेर कविता लेख्थे । पारिवारिक झमेला र तनावले छोएन कहिल्यै उनलाई । हिलोको बीचमा पनि कमल बनेर उनी तैरिरहे । फकिर बनेर कविताको आराधना गरिरहे । म कविता लेख्दालेख्दै पनि आफ्नो घरायसी कामकाजमा लागिरहेँ । स्वावलम्बी नबनीकन फकिर साहित्यकारको मात्रै कदर हुँदैन भन्ने कुरामा म विश्वस्त थिएँ । बन्दव्यापार गरिरहेँ । लेखेका रचनाहरु छाप्नलाई पनि त पैसा चाहिन्थ्यो नै । म आफ्नै लगानीमा आफ्ना रचना छापेर बाँड्थेँ । बिचरा सम्पूर्णानन्द चन्दा उठाएर कविता कृति छाप्थे । त्यै पनि गल्लीगल्लीमा कविता बेच्दै हिँड्थे । यस्तो थियो उनको गति।
यसैबीच एकेडेमीले राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गर्याे । मैले दिल दिमाग घोत्ल्याएर लेखेको दमदार कविता ‘पानीको चरा’ पेश गरेँ । विचरा सम्पूर्णानन्दले गल्लीमा कविता बेच्दाबेच्दै तयार पारेको ‘व्यापारी कवि’ पेश गरे । दुवैका कविता छनोट भए । जब कविता वाचनको दिन आयो, म दौरा सुरुवाल, कालो टोपी, कालै चश्मा र कालै जुत्तासहितको जब्बर पोशाकमा उभिएर दमदार आवाजमा आफ्नो कविता वाचन गरेँ । तालीका पर्राहरु छुटेर हल गुञ्जायमान भयो । बिचरा सम्पूर्णानन्दले गाउँले मार्किनको टोपी र घुँडामा उध्रिएको सुरुवाल लगाएर रुन्चे स्वरमा कविता वाचन गरे । हलले प्रतिक्रिया जनाएन । निश्तब्ध सुनिरह्यो । सुनाएर चुपचाप उनी बाहिरिए । मलाई ठाडै दाबी गर्ने मन लाग्यो – यसपालि राष्ट्रिय रङ्गमञ्चमै मैले जित्ने भएँ । सम्पूर्णानन्दलाई । बिचरा उनी पछारिने भए मसँग ।
यही आत्मरतिका साथ म फर्याकफुरुक गरिरहेँ । बिचरा सम्पूर्णानन्द निरीह भएर बसिरहे एक कुनामा । परिणाम घोषणा हुने पलमा मेरो छाती एक तमासले फुलिरहेथ्यो । तेत्रो मासले गड्गडाहट ताली ठोकेको थियो मेरो कवितामा जब कि सम्पूर्णानन्दको कविता सकिँदा दर्शकदीर्घामा निशब्द मौनता छाएको थियो । यसैबाट म उत्साहित थिएँ कि उद्घोषकले मेरो कवितालाई अवश्य पहिलो घोषणा गर्छ । मलाई लाग्यो – भूमिका बाँध्नु मात्रै त हो उसले मेरो कविता यसपालि प्रथम नभए कैले होला र ? म छिटोछिटो चलिरहेको सासलाई मन्द बनाएर ढुक्क भई सुनिरहेँ । उद्घोषकले भन्यो– “हाम्रो बीचमा बेजोड कविता वाचन गर्ने एकजना प्रखर कवि हुनुहुन्छ ... ।” मैले जिब्रोको टुप्पोमा आफ्नो नाम ल्याएँ – पीताम्बर शर्मा।”
तर उद्घोषकले त्यसो भनेन । एकछिन पूरा हललाई निस्तब्ध पारेर ऊ बोल्यो –“बेजोड कविता वाचन गरेर प्रथम हुने कवि हुनुहुन्छ......” मेरो सास फेरि अड्क्यो । मेरा ओठहरु फेरि चलमलाए, “पीताम्ब....र......श.....र....मा ।” अहं, उसले त्यसो भनेन । उसका ओठहरुले अर्कै आवाज दिए । मेरा कानले सुने, “प्रथम हुने कवि हुनुहुन्छ– सम्पूर्णानन्द पाण्डेय।”
हैट ! यहाँ पनि मेरो आत्म विश्वास धुलोमा मिल्यो । मेरो दृढ निश्चयले हावा खायो । एकपटक फेरि हारेँ मैले । मेरो दृढ विश्वासले हार्याे । हारेर पनि हार स्वीकार गर्न मेरो मन मञ्जुर थिएन । यहाँ पनि दोस्रो नम्बरमा मेरै नाम घोषणा भएको थियो तर म कुनैदिन पहिलो नै हुन्छु भन्ने सङ्कल्पमा थिएँ । सम्पूर्णानन्दलाई जित्ने दृढ प्रतिज्ञा फेरि जागृत भएको थियो मनमा । हारेर उठ्नुपर्ने भो फेरि एकपटक । डङरङ्ग लडेको गोरुझैं लडेर म फेरि उठेँ । राष्ट्रिय कविता प्रतियोगितामा हारेको अवश्य थिएँ तर हार खाएको चाहिँ थिइनँ । फेरि निश्चय गरेँ– बाँकी जिन्दगी काफी छ नि जित्नलाई । एकदिन अवश्य जितेर देखाउँछु सम्पूर्णानन्दलाई।
सम्पूर्णानन्द अब कवि सम्पूर्णानन्दका रुपमा प्रख्यात थिए । चन्दा उठाएर पनि किताब निकाल्थे । आफैँ छापेका किताब गल्लीमा बेच्दै हिँड्थे । देख्नेहरु उनलाई “ओ हो कविज्यू” भनेर उडाउँथे । तथापि उनका कविताहरु कण्ठस्थ गरी हिँड्नेहरु धेरै थिए । मैले एघार ओटा किताबहरु आफैँ छापेको थिएँ । छाप्दा चन्दा उठाएको थिइनँ । गल्लीमा किताब बेच्दै हिँडेको थिइनँ । ठूल्ठूला मान्छेहरुसँग मेरो चिनजान थियो । मिडियामा सर्वत्र म छाएको थिएँ । सम्पूर्णानन्द दराजका कवि थिए । आधुनिक जमानामा मेरो जति सामाजिक सञ्जालमा उनको लोकप्रियता थिएन । म एक पहुँचवाला चल्तापूर्जा लेखक थिएँ । परन्तु कवितामा सम्पूर्णानन्दलाई जित्न सकेको भने थिइनँ । जित्ने मेरो चाहना गलेको पनि थिएन । कुनै दिन सम्पूर्णानन्दभन्दा म ठीक अगाडि हुन चाहन्थेँ । सम्पूर्णानन्दका कवितालाई जित्ने मनोलिप्सा पालेरै म बसेको थिएँ।
जिन्दगीको मध्यभागमा आइपुग्दा अनायास सास ठप्प भयो । एकदिन एउटा गोधुली साँझमा सम्पूर्णानन्दलाई जित्ने कविता कोरिरहेथेँ । जीवनको सम्पूर्ण लालित्य निचोरेर आफ्नो प्यारो कवितामा प्राण भरिरहेथेँ म । मलाई लागिरहेथ्यो – यस कविताले जीवनको चरम चुलीमा पुर्याइ छाड्ने छ मलाई।
उफ ! भ्रममा भावना भरिरहेको रहेछु म । हावाको एउटा झोक्काले ती सबै आकाँक्षालाई भ्रम सावित गरिदियो । आँखामा मृत्युको भय बोकेर मेरी श्रीमती हतारमा सामुन्ने आई । भनी – “कविज्यू बर्बाद भो । तपार्इं कविता लेख्न छोडिदिनुस् अब । कविता लेख्नेहरु किन यति चाँडै मर्छन् हँ ? कवि सम्पूर्णानन्दजी यस संसारमा रहेनन् अब । भर्खर पचास लागेका कविज्यू अस्ताए सदाका लागि।”
“हँ ? के भन्छे यो ??” म अत्तालिएँ । मन आत्तियो । हातको कलम हातमै जड भैदियो।
“हो, भर्खरै कविले प्राण त्याग्नु भो रे । रुवाबासी चलेको छ घरमा । रोगब्याधी केही नभएका कविले यसरी चुटुक्क प्राण छोड्लान भनेर कसले सोचेको थियो र ! प्लिज तपाई अब कविता लेख्न छोड्दिनुस् बाबा है ।” कालका अगाडि मरी श्रीमती कायल देखिएकी थिई।
मैले आफ्नो कविता पूरा गर्न पाइनँ । अधुरै छोडेर निधारमा हात लगाई बसेँ । क्षणभरमै शहरभरि वनको डढेलोझैं फैलियो कवि सम्पूर्णानन्दको मृत्युको खबर । रेडियोले आकस्मिक समाचार वाचन गर्याे । सामाजिक सञ्जालमा कवि सम्पूर्णानन्दका ठूल्ठूला फोटोहरु पोष्ट हुन थाले । क्षणभरमै शहर शोकमा डुब्यो । शोकाकुल भएर आउने मान्छेहरुले कवि सम्पूर्णानन्दको आँगन भरियो । ओहो हेर्दाहेर्दै मेरो एउटा आकांक्षाको पटाक्षेप भयो।
रातभरि उनको लास अघिल्तिर झोक्राएर अनेक लहरहरु मनमा चलिरहे । भावनाका हुन्डरीहरुले लुकामारी खेलिरहे । लाग्यो – सम्पूर्णानन्दको मृत्यु कति अनपेक्षित भयो । अनायास यसरी जानुपर्ने लक्षण केही थिएन उनमा । कतै सम्पूर्णानन्दले आत्महत्या पो गरेका हुन् कि ? के कुनै कविले आफ्नो लोकप्रियतासँग जीवन साट्न सक्छ ? लोकप्रियतालाई जीवित राख्न मृत्यु रोज्न सक्छ ?
पापी भावनाहरुको दलदलमा मेरो रात भासिँदै गएको थियो । म मेरा शंकास्पद भावनाहरुले घेरिएको थिएँ । मेरा लागि त्यो रात डरलाग्दो जिन्दगी जस्तो भएको थियो । बिहानीको सूर्योदयसँगै मलामीहरुको विशालकाय लस्कर निस्कियो आँगनबाट । मान्छेहरु शोकमग्न भएर कवि सम्पूर्णानन्दको अन्तिम यात्रामा एकसाथ थिए । शोकधुनहरु बजेका थिए । युवाहरुले आफ्ना छातीमा कवि सम्पूर्णानन्दको तस्बिर टाँसेका थिए । एउटा ठूलो मानव सागरले कवि सम्पूर्णानन्दप्रति आफ्नो श्रद्धा प्रकट गरेको थियो । यी सबै दृश्यहरुले मेरो मनमा अर्कैअर्कै भावनाहरु जगाउन थाले । मलाई सम्पूर्णानन्दप्रतिको सम्मान र शोकयात्रा देखेर कताकता ईष्र्या लाग्न थाल्यो । मनमनै भनेँ –“ज्युँदोमा त मलाई जित्न दिएन दिएन, मृत्युमा पनि जित्न नदिने नै हो त यसले ?” जनमासको सम्मान उनीप्रति जतिजति चुलिँदै जान्थ्यो, मेरो मनमा ईष्र्याको टुसा उतिउति नै पलाउन थाल्यो।
आर्यघाट नपुग्दै मेरो मनमा एउटा यस्तो खतरनाक ईष्र्याणुको जन्म भयो, जसले मलाई पूर्णतः आफ्नो अधिनमा लिइसकेको थियो । अब मेरो मनमा केवल एउटै कुराको हुटहुटीले पखेटा फटफटाउन थाल्यो – मैले सम्पूर्णानन्दलाई जित्नुछ जसरी पनि । जिउँदोमा जित्न दिएन त के भो, सोच्दैल्याएँ – जित्ने एउटा स्वर्णिम अवसर अझै छ । कदाचित यही मेसोमा म मरेँ भने सम्भवतः म सम्पूर्णानन्द लाई जित्नेछु । समाजमा मेरो सम्पर्क र पहुच कहाँ हो कहाँ विशाल छ । सरकारमा यसबेला मेरै पार्टीका मान्छेहरु छन्।
हिजो सडकमा नारा जुलुश गर्दै धुलो उडाउने मेरा सहपाठीहरु संसद र सत्तामा छन् । यसबेला मेरो काव्यिक लोकप्रियता पनि चुलीमै छ । किञ्चित पनि सरकारले यसबेला राष्ट्रिय सम्मानका साथ मेरो अन्त्येष्टि गर्न कञ्जुस्याइँ गर्ने छैन । सञ्चारजगतमा सदावहार मेरो पहुँच छँदैछ । मेरो मृत्युमा संसदले शोक प्रस्ताव अवश्य पारित गर्नेछ । राष्ट्रिय शोक घोषणा गर्न सरकारले कञ्जुस्याइँँ गर्ने छैन । बस्, यति भयो भने सम्पूर्णानन्दभन्दा कहाँ न कहाँ मेरो स्थान माथि हुनेछ । जिउँदोमा जित्न नसके पनि मृत्युपछि जित्न सकिने एउटा स्वर्णिम अवसर मेरा अगाडि थियो । मैले सम्पूर्णानन्दलाई जित्ने यो स्वर्णिम अवसर गुमाउन चाहिनँ । बस्, मेरो दिमागमा मृत्यु कल्पनाको भूत सवार भयो । मरेर भए पनि सम्पूर्णानन्दलाई जितेरै छाड्ने दृढता प्रबल भयो । म मृत्युको चाहनाले छटपटिन थालेँ । मरेरै भए पनि सम्पूर्णानन्दलाई जित्नु छ । मर्नु अवश्य आजै छ । म आत्महत्याको खोजीमा लागेँ।
आफ्नो मृत्युमा के भइदेओस् भन्ने चाहन्थेँ त म?
कसरी जित्न चाहन्थेँ सम्पूर्णानन्दलाई ?
किन मर्न चाहन्थेँ म ?
म चाहन्थेँ – एउटा गाउँ होइन, एउटा शहर होइन, पूरै देश शोकमा डुबोस् मेरो मृत्युमा । प्रधानमन्त्री, मन्त्री, राजदूत, कवि, कलाकार, खेलाडी, साहित्यकार, उद्योगी–व्यापारी, शिक्षक–विद्यार्थी, उच्चपदस्थ कर्मचारी, सबैसबै सहभागी होऊन् शवयात्रामा । शहरका गल्लीगल्ली र अट्टालिकाबाट पुष्पवृष्टि होस् । बार्दलीबाट सेता फूलहरु बर्सिऊन् शवमाथि । सेनाले सलामी अर्पण गरोस् । राष्ट्रिय झण्डा झुकाइयोस् । राष्ट्रिय शोक घोषणा गरियोस् । धेरैधेरै महिलाहरुले आँसुको अभिशेक चढाऊन् । धेरैजसो युवतीहरु पागल होऊन् शोकमा डुबेर । अर्को भिक्टर ह्युगो जन्माउने प्रण गरेर फ्रान्सेली युवतीहरुले आफ्ना प्रेमीहरुबाट गर्भादान लिएजस्तै स्वप्नदर्शी युवतीहरुले गर्भधारण गरून् आफ्ना प्रेमीहरुबाट।
पत्रपत्रिकाहरुले ठूल्ठूला हेडिङमा समाचार छापून् । अनलाइन, रेडियो, टेलिभिजन र एफएमहरुले मुख्य समाचार बनाऊन मेरो मृत्युलाई । सञ्चार माध्यमहरुमा शोकधुन बजून् । शोक वक्तव्यहरु जारी गरिऊन् । शोक सभाहरु आयोजना होऊन् । ती सभाहरुमा सम्झनास्वरुप मेरै कविता वाचन गरिओस् । यति भएपछि सम्पूर्णानन्दभन्दा म धेरै माथि हुने कुरा निश्चित थियो । यी सबै कर्महरु यसबेला अवश्य हुने पनि थिए किनकि सरकार मेरै थियो । सञ्चार मेरै थियो । युग मेरै थियो । त्यसैले ठीक यहीबेला मर्न चाहन्थेँ म । मरेर भए पनि कवि सम्पूर्णानन्दलाई जित्न चाहन्थेँ म । उनीभन्दा माथि हुनु मेरो ध्यय थियो । बस्, आर्यघाट पुगेदेखि लास जलाएर फर्किने बेलासम्म मेरो दिमागमा मृत्युको भूत यसरी सवार भैसकेको थियो कि बीचबाटोबाटै सल्फास किनेर ल्याउन म विवश थिएँ । हो, साँझ घर फर्किँदा मेरो खल्तीमा लुकेर सल्फास सवार थियो।
मलाई मृत्यु उत्सवले छोएको थियो । दिमागमा अरु चिज थिएन । यो जुनीमा जित्न नसकिएका सम्पूर्णानन्दलाई मृत्युपछि जितेर उनीभन्दा माथिल्लो स्थानमा बस्ने आकांक्षाले मलाई अन्धो बनाएको थियो । त्यसैले मलाई मृत्युतर्फ धकेलिरहेको थियो । म एकोहोरो इख राखेर मर्न चाहिरहेको थिएँ । घरपुग्दा घरका हरेक मान्छेहरुका अनुहारमा म यमराज देख्न थालेँ । उनीहरुको नरम बोली सुन्दा मलाई लाग्न थाल्यो – यमराज पनि मसँग दोस्ती गर्न इच्छुक रहेछन् । मैले मेरो मृत्युपछि सोचेका सबै कामनाहरु भोलिको दिनमा साकार गर्नु थियो । त्यसैका लागि आज मर्नु थियो म । म तिनै उन्नत आकांक्षाहरु साकार गर्न मृत्युयात्राका लागि तयार हुन थालेँ।
साँझको खानपिनपछि म एकोहोरो आफ्नो कल्पनामा लीन भएँ । मृत्युबाहेक सोच्ने अर्को कुरा थिएन । मैले सुस्तरी खल्तीबाट प्लाष्टिकमा बेरिएको सल्फासको बट्टा झिकेँ । म आफ्नो अर्को जीवनका लागि छटपटिइ रहेको थिएँ । सल्फास निकालेर मुखको नजिक पुर्याएँ।
सल्फासले छोटो दूरी पार गरेर जब मेरो मुखको सामुन्ने आफ्नो गन्ध छोड्यो, मलाई लाग्यो –सल्फाससँगको मृत्युयात्रा अत्यन्त छोटो छ । मनमा सयौं विचारहरुले लहरी खेलिरहे । सल्फासलाई अलि टाढा राखेर सोचेँ – केही समय जीवन र मृत्युको तुलनात्मक विश्लेषण गरौँ । अहं, मन फेरि एकोहोरिएर आयो । मैले टाढाको सल्फास नजिक ल्याएँ । भित्र हुलिने सासको झोक्कासँगै मुखनिकट पुगेको सल्फासको विषाक्त दुर्गन्ध छिर्याे भित्रैसम्म । आँखा तिरमिराए । पेट मडारिएर हजारपटक थुकथुकी आइरह्यो । उफ ! यो सल्फास ! मेरा आँखाहरु सल्फासको पूर्ण दर्शनमा केन्द्रित भए । सल्फाससँगको मौन अनुराग र एउटा पलसँगको मौन सङ्घर्ष रोमाञ्चक रह्यो । जब मैल फेरि मनलाई दृढ गरेर सल्फासलाई मुखसम्म ल्याइपुुर्याएँ, मेरा आँखामा छोराछोरीका कलिला अनुहारहरु नाच्न थाले । बुढा आमाबाका टिठाउँदा अनुहारहरु पिलपिलाउन थाले । श्रीमतीको मधुर अनुहार धपक्क बलेर आयो । उफ ! इखालु जिन्दगी ! दुखारी जिन्दगी!
निल्न भनेर सल्फास मुखनिर पुर्याउँथेँ, फेरि पर राख्थेँ । साहस जुटाएर फेरि मुख नजिक ल्याउँथेँ, फेरि एकछिन सोच्नलाई टाढा राख्थेँ । फेरि नजिक, फेरि टाढा । फेरि नजिक, फेरि टाढा । जीवन र मृत्युको यही संघर्षमा रात बित्यो । ध्रुवतारा उदाउने बेला मृत्युपछिको अवस्था र जिन्दगीको तुलनात्मक हिसाब गर्न थालेँ । गुनील्याएँ मनमा¬–तत्काल मर्दा मलाई कति फाइदा र कति घाटा छ । केस्रा केस्रा केलाउन थालेँ । सोचेँ–जिन्दगीभरि नजितेको सम्पूर्णानन्दलाई मृत्युपछि जित्नेकुरा त पक्का छ । ऊभन्दा माथि हुनलाई मर्नु त छ । तर अहिले मर्दा हुने घनघोर विपत्तिहरु के हुन सक्छन्, एकचोटी फर्केर हेरेँ जिन्दगीतिर । यसो घोत्लिएर हेरेँ।
जिन्दगीसँग जोडिएका सबै पक्षहरुलाई केलाएँ । फाइदा–बेफाइदाको हिसाब–किताब गरेँ । लामो समय गम खाएपछि मलाई लाग्यो–यदि अहिले नै म मरिगएँ भनेँ केही स्वनामधन्यहरुले मेरा कृतिहरुको मनपरी अर्थ लगाइ दिने खतरा छ । मेरा रचनाहरुको मनपरी अर्थ लगाएर मेरा भावनामाथि खेलिदिन सक्छन् । त्यसबेला मैले स्वयं हस्तक्षेप गर्नु आवश्यक हुनेछ । त्यसका लागि म बाँचेकै हुनुपर्नेछ । कदाचित मरिगएँ भने मेरा कृतिहरुको हुर्मत लिनेहरुलाई बेरोकटोक स्वर्णीम समय मिल्नेछ । समय कुरेर बसेकाहरुसँग मुकाविला गर्नलाई त म स्वयं बाँचेकै हुनुपर्नेछ । त्यसैले सोचे, मर्नु सरासर गलत हो यसबेला।
सोचेँ–यसबेला आत्महत्या गर्नुमा मलाई साफ घाटा छ । घाटा यस अर्थमा छ कि भर्खर बुक कम्पनी स्थापना गरेको छु । त्यसको व्यवस्थापनमा आफू भइनँ भने कम्पनी डुब्ने खतरा चाहिँ पक्का छ । घाटा अझै यस अर्थमा पनि छ कि, युवाहरुको दिमाग भुट्ने एउटा उपन्यास लेखनको अन्तिम चरणमा छु । यसबेला मैले आत्महत्या गर्दिएँ भनेँ अर्को झुर लेखकको उपन्यास वर्षको उत्कृष्ट कृति सावित हुने कुरा पक्का छ । अर्को एउटा शर्मनाक कुरा यो पनि छ कि भर्खर २२ टेक्न थालेकी एक सुन्दरीसँग म गहिरो प्रेममा छु।
भर्खरको कलिलो प्रेमकहानी रच्न छोडेर यसैबेला मैले आत्महत्याको बाटो लिएँ भने मायामा रन्थनिएकी त्यो युवतीलाई अर्को कुनै लाठेले अँगालोमा अवश्य बेर्नेछ । ऊ उसैकी हुने खतरा झन् बढी छ । त्यसो भैदियो भने योभन्दा नामर्दगी मेरा लागि अरु के होला र ? मरेर पनि मेरो आत्मा त्यतिबेला छटपटाउला । हैट ! मृत्युले कसरी डुबाउने रैछ है मान्छेलाई । छि मृत्यु । अर्को पालिको चुनावमा लेखक कविहरुको तर्फबाट पार्टीले मलाई टिकट दिने सम्भावना पनि छ । सोच्दैछु – म अहिले मर्र्दिएँ भनेँ मेरो सट्टा त्यो झुत्रे लेखक सत्यजितलाई टिकट दिने पक्का छ । ठूलो ग्लानी यस मानेमा हुनेछ कि कथंकदाचित सत्यजित चुनाव जितेर मन्त्री भई मेरो शालिकमा माल्यार्पण गर्न आयो भने त्यसबेला कस्तो होला मेरो अवस्था । आफूले कहिल्यै महङ्खव नदिएको एउटा गुन्डा कवि त्यसरी आउदा कति असह्य होला मलाई । मेरो शालिकको शीर हिनताबोधले निहुरिएला त्यसबेला । कठै, विचरा म।
शालिकमा बाँचेको देशको एउटा अमर साहित्यकारलाई माल्यार्पण गर्न मैले कहिल्यै नटेरेको सत्यजित सत्ता र शक्तिको सान दिएर मन्त्रीका रुपमा जब आउला, उफ त्यसबेला शालिकमा प्राण भरेर म भाग्न चाहुँला । उफ ! मरेपछिको मेरो गति । कल्पना नै कहाली लाग्दो छ । कति भयावह रैछ मृत्युपछिको अवस्था।
हैट ! बरु सम्पूर्णानन्द नै म भन्दा माथि होऊन् । उनै जितून् मलाई र जितिरहून् । मरेर सम्पूर्णानन्दलाई जित्ने आकांक्षा त्यागिदिएँ । कवि सम्पूर्णानन्दभन्दा एक कदममाथि हुने हट त्यागिदिएँ । मैले मर्ने रहर छोडिदिएँ । आत्महत्या गर्ने योजना लत्याइ दिएँ । हातमा लिएको सल्फास टाउको माथि घुमाएर बाँसघारीको झ्याङमा मिल्काइ दिएँ । मलाई एकाएक विरक्ति लागेर आयो मृत्युदेखि । उफ ! मर्नु कति कठिन रैछ भगवान्,, मर्नु कति कठिन रैछ । बाँच्नलाई त संघर्ष सबै गर्छन् नाथ, मर्नलाई कसले गर्छ र ? मृत्यु कठिन छ प्रभु, कठिन छ।
कवि सम्पूर्णानन्दको फोटोलाई अगाडि राखेँ । गहभरि आँसु भरिएर आए । पुराना यादहरुमा डुबेँ– मलाई यस मार्गमा डोर्याउने उनै थिए । उनैले मलाई आफूसँग प्रतिस्पर्धा गर्न सिकाए । आफ्नाभन्दा राम्रा कविता लेख्ने इष्र्या मेरो मनमा उनैले भरिदिए । उनैलाई जित्ने इख पालेर सधैँ कविता लेखिरहेँ मैले । कविता लेख्न बस्दा मेरो मानसपटलको अघिल्तिर उनी उभिएका हुन्थे । एकदिन सम्पूर्णानन्दलाई जित्नु अवश्य छ भन्ने उद्देश्य राखेर लेख्थेँ । तर आज नियतिले आफैं पछारी दियो मलाई । कवि सम्पूर्णानन्द सधैँका लागि हात खडा गरेर हटिदिएका थिए यस प्रतिस्पर्धाबाट । मैदान खाली थियो । एक्लो म ठिङ्ग उभिएको थिएँ एउटा किनारमा । आफ्नै अगाडिको टेबुलमा भर्खर राखेको तस्बिरसँग भनें– “मैले कहिल्यै जित्न सकिन तिमीसँग मेरो साथी । तिमी सधैँसधैँका लागि विजयी भयौ मेरो कवि । मैले सदाका लागि हारेँ तिमीसँग, मलाई माफ गर्देऊ है मेरो सखा ।” एउटा निर्जीव फोटो अघिल्तिर म करबद्घ भएँ । मेरा दुवै हात उसको सम्मानमा जोडिएका थिए । आँसु पुछ्ने मसँग अर्को हात थिएन।
प्रकाशित: ५ कार्तिक २०७५ ०४:४५ सोमबार