कामै नलाग्नेगरि थोत्रिएको लागेर
लम्किएथें उधार्न आकाश...
रोक्दै मलाई सानी छोरीले भनीन–
‘बाबा नउधार्नुस !
त्यो आकाश
मेरो किताबको गाता जस्तै छ’
कितावको गाता आकाश जस्तो...?
अनि, रिसले झम्टिएँ च्यात्न गाता...
उनले गह पुछ्दै भनीन–
‘नच्यात्नुस गाता !
यो तपाईंको सपनाको उज्यालो आकाश जस्तै छ’
पटक–पटक यसरी
मेरी छोरीसित हार्छु
जहिले आफ्नै सपनासित हार्छु
फेरि, किन बाँच्छु म त्यो दिनसम्म ?
जो, मेरी छोरी
र, मेरा प्रिय आफन्तहरुलाई थाहा छैन
मेरो जीवनभरि फूलेका
या, मेरा जीवनपछि फूल्ने फूलहरुलाई पनि थाहा छैन
मेरा प्रत्येक संघर्ष
संघर्ष भरि वगेका पसिना, आँशु, रगत
अनि आन्दोलनका अग्रमोर्चामा
हरेकचोटी उठेको मेरो मुठि
र सँगै गाइएका मुक्तीगीतहरुलाई सम्म थाहा छैन
किन बाँच्छु म त्यो दिनसम्म ?
म त्यो दिनसम्म बाच्नुको अर्थ
मलाई थाहा छ
मेरो अस्तित्व नस्वीकार्नेहरुलाई थाहा छ
मेरो सर्वनाश चाहनेहरुलाई थाह छ
किन बाँच्छु म त्यो दिनसम्म ?
मेरो मृत्यको कामना गर्नेहरुलाई थाह छ ।
एउटा घोप्टिएको गिलास
जसले अनन्त रहस्य छेकेको छ
खोकिरहेकी आमाको सिस्सार छाती
जो सन्तानका खातिर हजारपल्ट रसाएको छु
एक प्रेमिको दुई शुन्य आँखा
जहाँ स्वर्गीय प्रेमिकाको ज्यूँदो याद
अन्तिमपल्ट छचल्किएको छ ।
यिनै मूर्त÷अमुर्त सत्यहरुबीच
बाँचिरहेको मैले
पाइतालामुनि
आफ्नै सवैभन्दा खतरनाक ऐठनको कम्पन सुनेर
जव गैंती उचालें खन्न भूँई
हात जोडदै छोरीले सुस्तरी भनीन–
‘बाबा नखन्नुस !
भूँई भित्रको त्यो आवाज
पृथ्वीको सबैभन्दा तातो गति हो ।
जो तपाईंले
बन्दुकमा बारुद भर्दै गाउनुहुने गीत जस्तै छ’
यसरी हरेक प्रत्यनबाट
हारिरहेछु
फेरि किन बाँच्छु म त्यो दिनसम्म ?
प्रकाशित: २० आश्विन २०७५ ०३:५४ शनिबार