अन्य

प्रकृतिको निकटतासँगै खानाको स्वाद

हरियो गार्डेन। कलात्मक तरिकाले सजाएर राखिएका गमलाहरू । लामबद्ध गरी मिलाएर राखिएका बेतका कुर्सी। बाहिरबाट हेर्दा यस्तो लाग्छ, प्रकृतिसँग मानिसको प्रत्यक्ष संवाद हुने एउटा थलो हो। पुनः प्रयोग गर्न सकिने विभिन्न वस्तुहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको देख्न सकिन्छ, मौलिक बाजासँगै चर्चित स्वदेशी तथा विदेशी लेखकका पुस्तक -याकमा मिलाएर राखिएको देख्न सकिन्छ, यो दृश्य बखुन्डोलस्थित नेक्सस कल्चर नेपालको हो।

नेक्सस क्याफे सन् २०१६ मा सुरुवात गरिएको हो । सबै ठाउँमा खाइने खानाको फरक स्वादसँगै एकअर्कामा आत्मियता होस् भन्ने सोचले सुरु गरिएको बताउँछिन्, सञ्चालिका अस्मिना रञ्जित । नेक्सस कल्चर साथीहरू मिलेर संचालन गरिएको बताउँछिन्, अस्मिना रञ्जित । नेक्सस कल्चर नेपालले सञ्चालन गर्नुका साथसाथै रञ्जित आर्टमा पनि सक्रिय छन् । नेक्सस कल्चर नेपाल क्याफे मात्र नभएर विभिन्न क्षेत्रमा छरिएर रहेका मानिसहरू जमघट हुने, एउटै प्ल्याटफर्ममा ल्याउने माध्यम रहेको उनी बताउँछिन्। नेक्सस कल्चर नेपालमा आएर खानाको साथसाथै आरामले गफ गर्न, समय बिताउन सकिने उनी बताउँछिन्। ‘हामीसँग सीमित खानाका परिकारहरू छन् । तर, ति खानाका परिकारहरूको स्वाद अन्यत्र पाउन सकिँदैन्,’ उनले भनिन्।

नेक्ससमा प्रयोग गरिने भाडाकुँडा पनि फरक छ । चिया, कफी, मगटेल, पानी पिउने भाडाको रूपमा घरमा अचार राखिने सिसीको प्रयोग गरिएको छ । प्लेट, कचौरा, साना भाडाहरू आफै वर्कसप गरेर तयार पार्ने अस्मिना बताउँछिन्। उनी  भन्छिन्, ‘हामीले अन्यत्रभन्दा फरक बनाउन खानाको स्वादलाई मात्र नभएर यहाँ प्रयोग गरिने हरेक सामानलाई पनि फरकपन दिन खोजेका छौं ।’ दिनभर बसेर काम गर्नुपर्ने छ, साथीभाइ भेटघाटमा धेरै समय बिताउनु छ भने नेक्सस कल्चर नेपाल राम्रो विकल्प हुन सक्छ।

उनी आफूकहाँ बन्ने परिकार अन्यत्रभन्दा फरक मेटरियल प्रयोग गरिने दाबी गर्छिन् । नेक्ससको खानामध्ये पहिलो रोजाइमा पर्छ, पिजा । सामान्यतया पिजालाई मैदाको पिठोबाट तयार गरिन्छ। तर, यहाँको पिजाको स्वाद अन्य ठाउँभन्दा फरक छ । गहुँको पिठोबाट तयार पारिने पिजामा राखिने इन्ग्रियन्सहरूसमेत अग्र्यानिक सामाग्रीको प्रयोग गरिने सञ्चालक अस्मिाना बताउँछिन् । गहुँको पिठोको पिजा स्वास्थ्यको हिसावले फाइदाजनक हुने र स्वाद पनि बेग्लै हुने उनी बताउँछिन् । पिजामा राखिने तरकारी, चिज र अचारको मजा लिन सकिन्छ।

जर्मनबाट नेपालमा चार महिनाको लागि आएका माइकल नेक्सस कल्चर नेपालमा इन्टर्नको रूपमा काम गर्न थालेको दुई हप्ता मात्र भयो । पहिला पनि नेपालमा आइसकेका माइकल नेपालमा आएर धेरै ठाउँ घुमिसकेको बताउँछन् । बिजनेस स्टडिजका विद्यार्थी माइकल नेक्ससमा आएर काम सिक्न नेपाल आएको बताउँछन्। नेक्ससमा काम सिक्दै खानाको स्वादमा रमाउँदै गरेका माइकललाई नेक्सस कल्चर नेपालको पिजा निकै मनपर्छ।

नेपालको धेरै ठाउँमा पिजा खाए पनि नेक्ससको जस्तो स्वाद नपाएको उनले बताए । युरोप र जर्मनीमा खाएको पिजा र नेक्ससको पिजा स्वास्थ्यको दृष्टिकोणले निकै राम्र्र्रो रहेको उनी बताउँछन्।

नेक्सस् क्याफेमा काम गर्ने राम्रो वातावरण देख्न सकिन्छ । यो घरबाट नै काम गर्नेहरूको लागि उपयुक्त रोजाइ हुन सक्छ । क्याफे खुलेको समयमा आवश्यक समयसम्म बसेर काम गर्न, साथीभाइसँग गफ गर्न र अग्र्यानिक खानाको स्वाद लिन सकिन्छ । यहाँ दुई–चार महिना बसेर पनि काम गर्ने वातावरण छ । सृजना पन्त नेक्ससमा आउन थालेको एक वर्ष भइसकेको छ । श्रीमानले नेक्ससको बारेमा जानकारी दिएपछि आउने गरेको उनले बताइन् । उनी यहाँ बसेर दैनिक ५–६ घन्टा काम गर्छिन् । हेल्थ पोलिसीको काम घरबाटै गर्ने सृजनालाई घरमा शान्तिसँग काम गर्न डिस्टर्ब हुने भएकाले काम गर्नकै लागि नेक्सस आउने गरेकी हुन्।

नेक्ससमा पाइने खानाको परिकारमध्ये सबै मनपर्ने सृजनालाई पारिवारिक वातावरणसँगै स्वास्थ्यवद्र्धक खानाका सबै परिकार खाने उनी बताउँछिन् । ‘यहाँ पाइने खानाका परिकार मात्र नभएर अन्य खानु मन लागेको परिकार पनि डिमान्ड गर्छु,’ उनले भनिन् । बाहिर खान गइयो भने खानु की नखानु भनी धेरै सोच्नुपर्ने, खानाको साथै धेरै समय बस्न नपाइने भएर नेक्ससमा निरन्तर आउन थालेको उनी बताउँछिन्।

काठमाडौंवासीको सबैभन्दा मनपर्ने खानाको परिकार हो मःमः । मःमः हरेक क्याफे तथा रेस्टुरेन्टमा अनिवार्य जस्तै हो। नेक्सस कल्चर नेपालमा पाइने मःमः अन्य ठाउँको भन्दा फरक रहेको छ । मःमःलाई सामान्यतया मैदाको पिठोबाट तयार गरिन्छ । तर, नेक्ससमा भने गहुँको पिठोबाट मःमः बनाइन्छ । भेज र बफ गरी दुई स्वादमा उपलब्ध हुने मःमःको स्वाद आगन्तुकले निकै मनपराउने उनी बताउँछिन् । ‘मःमः चा भन्नेबित्तिकै मसलेदार, पिरो भन्ने कन्सेप्ट भए पनि हाम्रोमा भने त्यस्तो छैन । हाम्रो स्वाद अन्य रेस्टुरेन्टमा पाइने मःमः भन्दा फरक स्वाद रहेको छ,’ उनले भनिन्।

नेक्ससमा पाइने क्रेप अन्य ठाउँको भन्दा फरक छ । पाँच थरिथरिका पिठोहरू फापर, कोदो, मकै, गहुँ, चनाको क्रेप तयार गरिन्छ । विशेष गरी सादा क्रेप जसमा सामान्यतयाः च्याउ, क्याप्सिकम, प्याजलगायत तरकारी राखेर तयार गरिन्छ भने अन्डा र चिज राखेर पनि तयार पारिने उनी बताउँछिन् । उनी भन्छिन्, ‘पाँचथरि मिसिएको पिठोबाट तयार पारिएको क्रेपको स्वाद निकै फरक र स्वादिलो मात्र नभएर स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक पनि हुन्छ।’

नेक्ससमा चतांमरिको फरक स्वाद पनि खान सकिन्छ । नेवारी समुदायमा चामलबाट बनाइने रोटीलाई चतांमरि भनिन्छ। चतांमरिको लागि आवश्यक चामलको पिठो रूपमा टाइचिन चामलको प्रयोग गर्ने अस्मिना बताउँछिन् । बोडी, च्याउ, क्याप्सिकनलगायत चिज र अन्डाको प्रयोग गरेर तयार गरिने उनी बताउँछिन् । नेक्ससमा बाराको परिकार पनि स्वास्थ्यकर रूपमा खान सकिन्छ । मासको बारा र मुंगको बारा गरी तयार पारिन्छ । अन्य ठाउँमा मुंगको बारा तयार पारिने उनी बताउँछिन् । अन्डा बारा, सादा बारा गरि दुई फरक स्वादमा खान पाइन्छ।

नेक्सस कल्चर नेपालमा अग्र्यानिक खानाका परिकार, शान्त ठाउँमा बसेर काम गर्ने वातावरण मात्र नभएर हरेक महिनाको तेस्रो मंगलबार ओपन माइक कार्यक्रम गर्दै आएको उनी बताउँछिन् । ‘नेटर इन्टरनेटको समयले विश्वलाई त जोडेको छ । तर, नजिकका मान्छेबाट टाढा बनाएको भएर एकान्तमा आफ्नासँग केही समय बिताउने वातावरण बनाएका छौं,’ उनले भनिन् । नेक्ससमा सबै खालका मान्छेलाई ठाउँ छ भन्ने कुराको आभास गराउन खोजेको उनी बताउँछिन्।

‘ओपन माइकको कार्यक्रममा जो कोहिले भाग लिन पाउने र जे मनमा लागेको छ त्यो सुनाउन पाउने साझा प्लेटफर्म हो, जहाँ मानिसले निर्धक्क रमाउन, आफ्ना कुरा अरुमा बाँड्न सकुन्।’

नेक्सस कल्चर नेपालमा सेफ भनेर छुट्टै राखिएको छैन । अस्मिना भन्छिन्, ‘हाम्रो सर्कल र परिवारमा भएका मिठो पकाउने अद्भूत कला भएका आमा, दिदी, भाउजू, दाजु, भाइ, बा जस्ले पनि पकाउन सक्नुहुन्छ ।’ हातमा भएको अद्भूत स्वादलाई सबैका सामु परिचत गराउने मुख्य उद्देश्य रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘खाना पकाउने कला र हातमा भएको जादूले आर्थिकरूपमा सहयोग हुनुका साथै प्रचारप्रसार पनि हुन्छ, जसले गर्दा पकाउने अभिप्रेरणा मिल्छ।’

प्रकाशित: ५ आश्विन २०७५ ०५:१८ शुक्रबार

खाना प्रकृति स्वाद हरियो_गार्डेन