गत साउनमा ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा सवारी निषेध गर्ने योजना ल्यायो। सम्पदा क्षेत्रमा भएको अस्तव्यस्तता कम गर्न पाटन दरबार आसपासको करिब ५ किमी सडकमा ढुंगा छाप्ने योजना तय भयो। जनप्रतिनिधि आइसकेपछि त्यसलाई जोडदार रूपमा उठाए। कात्तिकसम्ममा उक्त योजना कार्यान्वयन गर्ने आश्वासन पनि देखाए। मेयर चिरिबाबु महर्जनले आफ्नो घोषणापत्रमै ‘सम्पदा क्षेत्रमा सवारी निषेध’ गर्छु भनेर लेखेका समेत थिए। निर्वाचित भएपछि एकपटक उनले यसबारे चासो देखाए पनि। त्यसै अनुसारको बजेट विनियोजन गरी केही ठाउँमा ढुंगा छाप्ने काम भयो। तर, सवारी निषेध गर्ने किसिमबाट भनेर काम सुरू भएन। पाटनढोका क्षेत्रका करिब सय मिटर लम्बाईमा ढुंगा ओछ्याइयो। त्यसबाहेक अन्य भित्री सडकमा ढुंगा छाप्ने काम भएन। महानगरले नै चासो नदिँदा बीचमै काम रोकियो। अहिले पाटन ढोका क्षेत्रमा छापिएका ढुंगा पनि उप्किएका छन्।
प्राविधिक तयारी र जनशक्तिको अभावमा उक्त काम गर्न नसकेको मेयर महर्जनले स्वीकारे। उनले प्राविधिक तयारी जनशक्ति थप्ने काम भइरहेको जानकारी दिए।
गत साउनमा ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा सवारी निषेध गर्ने योजना ल्यायो। सम्पदा क्षेत्रमा भएको अस्तव्यस्तता कम गर्न पाटन दरबार आसपासको करिब ५ किमी सडकमा ढुंगा छाप्ने योजना तय भयो। त्यसै अनुसारको बजेट विनियोजन गरी केही ठाउँमा ढुंगा छापियो। तर, सवारी निषेध गर्ने किसिमबाट भनेर काम सुरू भएन।
‘मैले सुरूमा कोसिस गरेकै हो। तर, कोसिस मात्रै गरेर नहुने रहेछ, कतिपय काममा प्राविधिक कठिनाई पर्न सक्छ,’ उनले भने, ‘अहिले त्यसतर्फ चासो दिएको छु।’ उनका अनुसार सवारी निषेध क्षेत्र घोषणा गर्न करिब डेढ महिनाभित्र त्यसको काम थालिने छ। महानगरले जनशक्ति कमी भएकोले नगर प्रहरी थप्ने तयारी पनि गरेको छ। ‘अहिले २३ जना नगर प्रहरी छन्, यो जनशक्ति निकै कम भयो, मैले यसलाई थप गरी सवारी निषेध योजना कार्यान्वयनमा ल्याउने सोच गरेको छु,’ उनले भने। उनले पाटन मंगलबजार हुँदै ग्वार्को निस्कने सडकलाई एकतर्फी गर्न लागेको बताए।
पाटन दरबार क्षेत्र सवारीसाधनका कारण अस्तव्यस्त छ। भित्री गल्लीमा पैदल यात्रुले सहजै हिँडडुल गर्न पाउँदैनन् । सबैतिर सवारीको अवरोध मात्रै खडा हुने गरेको छ। अहिले कृष्ण मन्दिर अगाडि दरबारको आँगनबाट समेत सवारी साधनलाई प्रवेश दिने गरिएको छ। यही समस्या हल गर्न महानरले सवारी निषेध योजना ल्याएको थियो । यद्यपि गत तिहारलगत्तै लागू हुने भनेको उक्त नियम लागू भएन। पाटन मंगल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधानले महानगरकै कमजोरीले सम्पदा क्षेत्र हिँडिनसक्नु भएको बताए। उनले पर्यटकीय क्षेत्रमा सवारी गुड्दा आवतजावतमा कठिनाई परेकोले यसलाई तुरुन्तै समाधान गर्नुपर्ने जानकारी दिए। ‘केहि वर्षअघि यस क्षेत्रमा सवारी गुडाउन रोक लगाइएको थियो, पछि आएर लागू गरिएको नियमलाई पनि तोडियो,’ उनले भने, ‘अहिले त्यसले ठूलो समस्या निम्त्याएको छ, पर्यटन क्षेत्रमा ठूलो मर्का पारेको छ।’
त्यसो त महानगरपालिकाले स्थानीयसँग छलफल गरेर यो विषयलाई टुंगो लगाइसकेको छ। स्थानीय पनि सम्पदा क्षेत्रमा सवारी गुडाउनु हुन्न भन्ने पक्षमा छन्। योजनाअनुसार गाःवहाल, पुल्चोक, पाटनढोका, सुन्धारा, मगलबजार, भिन्छेंवहाललगायत क्षेत्रमा ढुंगा ओछ्याइने छ। ढुंगा ओछ्याएपछि भित्री गल्लीमा सवारी प्रवेशमा रोक लगाइने छ।
‘सम्पदा क्षेत्रमा पैदल यात्रा गर्न नै आनन्द आउँछ,’ ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले भने, ‘यस्तो संवेदनशील क्षेत्रमा सवारी छिराउनु सम्पदाप्रतिको बेवास्ता हो, यसले पर्यटकीय क्षेत्रमा पनि असर पारेको छ, पर्यटकले पनि निकै सास्ती खेप्नुपरेको छ।’ सवारी साघन भित्री गल्लीहरूमा प्रवेश गराउँदा पुरातात्विक सम्पदाले भरिपूर्ण पाटन दरबार क्षेत्र अत्यन्तै भीडभाड र अस्तव्यस्त बनेको उनको भनाइ छ । भित्री गल्लीमा सवारी प्रवेश गराउँदा ढुंगा ओछ्याएका पुराना सडक भत्कने, धुलो उड्ने, पैदल हिँड्ने बाटो नभेटिने, सडक साघुँरो हुने लगायत समस्या हुँदै आएको थिए। भित्री पुराना गल्लीहरू मोटरसाइकल र चारपांग्रे सवारी गुडाउँदै पैदल यात्रुलाई असहजताका साथै गल्लीमा ओछ्याएको पुराना ढुंगा र इँटा पनि टुटफुट भएका थिए । केही ठाउँमा महानगरले नै ढुंगा ओछ्याइसकेको पनि छ।
नियम लागू भएपछि लगनखेलबाट आउने सवारीलाई ठहिटी र पुल्चोकबाट पाटन प्रवेश गर्ने सवारी पार्किङ महानगरपालिकाको भवन पछाडिको बसपार्क पार्किङ गर्न लगाइने छ। सडक किनारको पार्किङलाई रोकिने छ।
काठमाडौंमा पनि भएन कार्यान्वयन
काठमाडौं महानगरपालिकाले काठमाडौंको गएको माघ २ गतेदेखि ‘कोर एरिया’ (भित्री सहर)मा चार पांग्रे सवारीसाधन निषेध गरेको थियो। महानगरपालिकाले कोर एरियामा सवारीको अत्यधिक चाप र भीडभाडसँगै सम्पदा क्षेत्र अस्तव्यस्त भएकाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चार पांग्रे सवारीसाधन चलाउन निषेध गर्न गरेको थियो। तर, केही महिनामै उक्त नियम पालना हुन छाडेको छ। महानगरकै कर्मचारी र प्रहरीले चासो नदिँदा घोषणा भइसकेको र केही समय पालना भइसकेको नियम पनि दोहारिएको हो।
काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरीको अगुवाइमा माघ २ गतेदेखि चार पांग्रे सवारी निषेध कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाएका थियो। इन्द्रचोक, असन, भेडासिंह, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षी–असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटु लगायतका स्थानमा चार पाङग्रे सवारी गुडाउन निषेध गरिएको थियो । अहिले उक्त नियम उल्टिएको छ।
काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री क्षेत्रलाई व्यवस्थित गर्र्ने यो नियम सुरु गरिएको थियो।
प्रकाशित: २२ भाद्र २०७५ ०१:५० शुक्रबार