अन्य

ब्रेजल रेस्टुरेन्टमा मिश्रित परिकार

विद्यालय शिक्षा (एसएलसी) पूरा गरिसकेपछि टंक राना मगर धादिङबाट काठमाडौँ आइपुगेका थिए । साथमा थियो, उच्च शिक्षा लिने सपना । त्यो सपना पूरा गर्न उनीजस्तो निम्न मध्यम वर्गीय ठिटोलाई सजिलो थिएन । त्यसैले सबैभन्दा सजिलो ठमेलका होटलमा सहयोगी बनेर छिर्नु थियो । पाँच वर्ष विभिन्न होटलमा सहयोगी बन्दाबन्दै र भान्सामा छिरेर हेर्दाहेर्दै उनी कतिबेला सेफ बने पत्तै भएन ।

तीन वर्ष भने न्यु ओर्लिन्स क्याफेमा उनले आफूले सिकेका कला देखाउने मौका पाए । त्यो मौकाले उनलाई आफू राम्रो सेफ बन्न सक्ने रहेछु भन्ने आत्मविश्वास भरिदियो । कतिसम्म भने उनले मरिसस गएर पनि आफ्नो पाक् कला देखाए ।

त्यहाँबाट नेपाल फर्किएपछि भने उनले ठमेलमा साथीहरुसँग मिलेर एउटा रेस्टुराँ चलाएका छन् । उनी त्यस रेस्टुराँको हेड सेफ पनि हुन् । 

यस पटक उनले आफ्नो पाक् कला देखाउन चार वटा खान्की र एउटा मक टेल लिएर आए । सेफको हात अनुसार पाक् कला फरक हुने टंक बताउँछन् । एउटै खान्की पनि सेफ (भान्से)अनुसार स्वाद फरक आउने उनी बताउँछन् । आउनुस्, हामी पनि घरैमा बसीबसी ती खान्की कसरी बनाउन सकिँदोरहेछ भनी जानौँ ।

१. तोफु फासला

आलु, बिन्स, तोफु र मसरुमको मिश्रण, रोस्ट पोटाटो साथमा सलाद

ठमेलमा यो रेस्टुराँ भएका कारण यस इटालियन खान्कीलाई विदेशीहरुले रुचाउने गरेका छन् । खासगरी मासु नरुचाउने पर्यटकहरुको रोजाईमा यो खान्की पर्ने गरेको छ । विदेशीहरुले अन्य खान्की चाटीचुटी नखाए पनि सलाद भने एउटै पनि नछाडी खाने गरेको टंकको अनुभव छ । त्यसैले अन्य परिकार बनाएर ल्याउँदा जति डेकोरेसन गरेर ल्याउँछन्, सलाद पनि उस्तै आकर्षक देखियोस् भनेर मिहिनेत गर्ने गरेका छन् ।

यो परिकार कसरी बनाउने छ ? टंक भन्छन्, ‘टमाटर काट्ने, त्यसलाई पकाउने । त्यसपछि तोफुलाई हल्का फ्राई गर्ने । बिन्सलाई हल्का उमाल्ने, त्यसपछि तेलमा गार्लिक चप फुराएर तोफु, बिन्स, मसरुमलाई सोते गर्ने । त्यसपछि टमाटो सस हार्ने र अन्य मरमसला हाली तयार पार्ने ।’

यहाँ आलु बडो आकर्षक तरिकाले पस्किएको छ । त्यसलाई सुरुमा उसिन्ने र ग्रिल गर्ने । घरमा ग्रिल गर्ने सुविधा नभए हल्का फ्राई गरेर वेस्टर वा थाई सस हाल्ने । सल्ट, पेपर, मस्टर पेस्ट, रोजमेरी हाल्ने अनि सोते गरेर खानासँगै यसलाई पनि पस्किन सकिन्छ ।

यसपछि बेग्लै सलाद राखिएको छ । यहाँ हामीलाई पस्किँदा अर्गानिक सलाद पस्किएको थियो । पहिला अर्गानिक सलाद पाउन गाह्रो थियो तर पछिल्लो समय अर्गानिक चेतना बढ्दै गएपछि यसको खेती पनि बढ्दैछ र यसको सुलभता पनि बढ्दै जान थालेको छ । यो अर्गानिक मात्र होइन, हाइजेनिक पनि भएकाले पर्यटकले रुचाउने गरेका छन् । अर्कोतर्फ यसको ताजगीलाई कायम राख्न आयोडिन वास गर्ने गरिन्छ ।

२. चिकन साते

यो एउटा स्वादिलो थाई खान्की हो । यसमा नेपालीहरुलाई मनपर्ने भात र चिकनलाई पिनट बटर सस हालेर स्वादिलो तरिकाले पस्किइन्छ । 

पिनटलाई ग्राइन्डर गरेर दुधमा पकाइन्छ । यसमा रेड करी पेस्ट हालेर हल्का कलर बनाइन्छ । चिकनको चेस्ट पिसलाई ग्रिल गरेर बनाउन सकिन्छ । घरमा बनाउँदा चाहिँ चेस्ट पिसलाई मज्जाले फ्राई गर्न सकिन्छ । यसलाई आफूलाई मनपर्ने स्वाद दिनका लागि विभिन्न किसिमका मरमसला उपयोग गर्न सकिन्छ ।

३. रोटी र चिकन छोइला

यसपछि हाम्रो टेबुलमा आइपुग्यो रोटी र चिकन छोइला । त्यो पनि सलादसहित । काठमाडौँ उपत्यका र वरपर छोइला बडो आकर्षक र मुख रसाउने परिकारका रुपमा प्रख्यात छ । खासगरी दिउँसो घर्की सकेको र साँझ पर्न लागेको बेलामा मज्जाले भोक लागेका बेलामा तपाईंले यसलाई स्वाद लिएर खान सक्नुहुन्छ । 

यसमा रोटीलाई बटरमा सेकाइने भएकाले यो ज्यादै नरम बन्न पुग्छ । बटरको सुगन्ध र स्वादका कारण मुखमा हाल्नेबित्तिकै हाम्रो जिब्रो रसाउने हुनाले चपाचप खान बडो मजा आउँछ ।

नेपाली शैलीमा कुखुरा साँदिएकाले यो परिकार पनि स्वादिलो लाग्यो हामीलाई । यसमा दिइएको सलाद भने सामान्य किसिमको थियो । जुन हाम्रो भान्सामा काँक्रो, मुला र सागपात हाली तयार पार्न सकिन्छ ।

ठमेल क्षेत्रका पर्यटकहरुले खाजाका रुपमा वा खानाकै रुपमा पनि पक्का नेपाली छोइला पचाउन सक्तैनन् । त्यसैले टंकले यस खान्कीलाई अलि नरम छोइला बनाएका छन् । मरमसला पनि त्यति धेरै प्रयोग गरेका छैनन्, धेरै पिरो पनि पारेका छैनन् । 

यसलाई घरमा बनाउनका लागि चिकनको पिसहरु बनाउने । त्यसपछि पिसलाई फ्राई पेनमा हल्का तेल हाल्ने । त्यसपछि चिकन फ्राई गर्ने । त्यसपछि केही समय छोपेर राख्ने । पाकेपछि टमाटर, जिन्जर, गार्लिक, हट सस, लेमन, मेथी, सुके खोर्सानी तोरीको तेलमा झानेर यसलाई तयार पार्न सकिन्छ ।

चपाती (रोटी) बनाउने र हल्का बटर हालेर पकाउने । यसरी एउटा पूर्ण र स्वादिलो रोटी र चिकन छोइला खानका लागि तयार हुन्छ ।

४. बिच कुलर 

यो यस रेस्टुराँको विशेष मक टेल हो । गर्मी याममा थाकेर आएका बेला पूरै रिफ्रेस गराउँछ । यसमा ब्लु कुराको, क्रमबरी जुस, पाइनापल जुस, स्प्राइटजस्ता सामग्री मिसाइन्छ । यो पेय अन्य स्थलमा पाइँदैन ।

यसरी हामीले यी चार परिकार जम्माजम्मी २५ सयदेखि तीन हजार रुपैयाँको बजेटमा खान सकिने रेस्टुराँका प्रबन्धक योगेश घोरासाइनीले जानकारी दिए ।

प्रकाशित: १ भाद्र २०७५ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App