अन्य

समयकाे कुरा

‘भन्ते, म समस्यामा छु ।’
‘संसार नै समस्या हो, त्यसैले यो ठूलो कुरा भएन ।’

‘मनमा अशान्ति छ ।’
‘त्यसको कारण छ ।’
‘मलाई शान्ति चाहिएको छ ।’
‘जहाँबाट जे चाहिएको छ भन्ने थाहा हुन्छ, त्यहाँबाट शान्तिको खोजी गर्न सकिन्छ । त्यसैले तिमी सही यात्रामा छौ । तिमीले शान्ति खोज्न सक्छ्यौ ।’

‘मसँग सबै थोक छ, मसँग सबै जना छन् तर शान्ति छैन । यस्तो लाग्छ, भीडमा छु र पनि म एक्ली छु ।’
‘यस अशान्तिको मूल खोज, त्यसपछि शान्ति फेला पार्नेछ्यौ ।’

‘मलाई यस्तो लाग्छ, यत्तिका वर्षपछि मलाई मेरो पुरानो प्रेमीको सम्झनाले सताउन थालेको छ ।’
‘स्मरणले तिमीलाई शान्ति र अशान्ति दुवै दिन सक्छ तर तिमीले शान्ति छान्ने कि अशान्ति तिमीमा भर पर्छ ।’

‘ऊ मलाई पढाउँथ्यो, भन्ते ।’
‘हुँ...’

‘उसले बोल्ने शब्दशब्द मेरा लागि पवित्र ग्रन्थका शब्दजस्तै हुन्थे, म उसलाई हेर्न जान्थेँ कि पढाइ–सिकाइका लागि जान्थेँ पछिसम्म थाहा भएन ।’

‘एक समय यस्तो हुन्छ ।’
‘ऊ मलाई ध्यानै दिँदैनथ्यो । मेरै उमेरको थियो तर मलाई देख्दा किन उसलाई मलाई जस्तो भावना आउँदैन भनेर म एक दिन खुब रिसाएँ ।’ ‘रिस सबै कुराको जड हो, सत्रु हो ।’

‘यति रिसाएँ कि मैले भनेँ– तेरो नाक मलाई मन पर्दैन, तेरो ओठ, आँखा, बोल्ने हाउभाउ क्यै क्यै मन पर्दैन । तँलाई देख्दा मलाई थाहा छैन, कहाँबाट रिस खनिन्छ ! ऊ शान्त, निश्चल भएर मलाई सुनिरह्यो ।’

‘त्यस केटोमा मैले सम्भावना देखेँ । उसले जीवनमा केही गर्न सक्छ ।’
‘मलाई यति रिस उठ्यो कि मैले घरमा भनेँ, मलाई बिहे गरिदेओ ।’
‘हुँम्... ।’

‘मैले उसलाई बिर्सन अरूलाई वर मानेकी थिएँ तर ऊ सधैँ मैमा रहिरह्यो । यस्तो लाग्यो– ऊ त्यस्तो मनको मयल हो, जो माडेर, पखालेर र कसैगरी पनि जाँदैन ।’

‘तिमीले उसलाई कुन बेला पो छाड्यौ र ? आफूसँगै लिएर त हिँड्यौ ! उसको भौतिक शरीर तिमीसँग थिएन तर उसको प्रतिमा तिमीले हृदयमा बोकेर हिँडिरह्यौ । दुःखको कारण यही हो ।’

‘हो, मैले बोकिरहेँ । वर्षौं भयो । सोचेकी थिएँ– वर्षौंपछि यो प्रतिमा आफैँ हराउनेछ, बिलाउनेछ तर जति म उसको नाक, उसको ओठ, उसको गजधम्म परेर बस्ने व्यवहार देख्थेँ, मलाई उति नै घृणा लाग्थ्यो । अनि जति नै नसम्झिऊँ भन्यो– उति सम्झना आउँथ्यो ।’

‘तिम्रो घृणा प्रेमकै अर्को पाटो हो, शान्तसँग बस, उसलाई गर्नु घृणा गर मनभरि । जब घृणा रित्तिने छ, त्यसपछि प्रेम अङ्कुराउनेछ ।’

‘भन्न सजिलो छ, भन्ते । हेर्नु न, हिजै मात्र मैले उसलाई सपनीमा देखेँ– उस्तै गजधम्म ! उस्तै बेहोरा ! यत्तिका वर्ष बितिसक्यो कत्ति पनि बदलिएको छैन ! हेर्नु त, कस्तो ढिठ मान्छे हो त्यो !’

‘तिमीले त्यही सपनामा देख्यौ, जुन बेला ऊ त्यस्तो थियो । अहिले बदलिएको पनि त होला ! यतिबेला कतै उसलाई देख्यौ भने तिमीमा प्रेम त उम्लने छैन !’

‘उम्लने छैन । कसरी उम्लियोस् ? मैले उसलाई भनेकी थिएँ– तिमीलाई म प्रेम गर्छु, चाहन्छु । तिमीसँगै यो संसारमा बिताउन चाहन्छु । उसले पत्याएन । भन्यो– मैले धेरै स्त्री देखेको छु, जो यस्तो भन्छन् र पछि लोग्नेको टाउकोमा गिर खेल्छन् । त्यो सुनेर मलाई भाउन्न भयो, म रन्थनिएँ । किन यो मानिसले मेरो प्रेम बुझ्दैन, बुझेन !’

‘उसको लक्ष्य फरक हुन सक्छ ! उसका लागि अरु नै केही महत्वका कुरा थिए कि ! जुन ढोका खुल्दैन नि, सायद त्यो ढोका तिम्रो आफ्नो थिएन पनि होला !’

‘त्यस्तो हुनै सक्तैन । उसको आँखाले मेरा आँखा खोजेको देखेकी थिएँ । मेरा पीडाले उसलाई पोलेको महसुस गरेकी थिएँ । मेरो खुसीमा ऊ हाँसेको र ऊ हाँसेको देखेर म हाँसेकी थिएँ ।’

‘मानव भएपछि अरुको खुसीमा खुसी हुँदैन भने त्यो पशु हुन्छ । त्यो मानिस पक्कै मानव हो ।’

स्त्री जुरुक्क उठी, क्रोधले रातोपीरो भई र झन्झनिने गरी भन्तेलाई एक थप्पड हानी । उसको आँखामा आक्रोशका कारण आँखाका कोश राता देखिएका थिए । भुत्भुताउँदै स्त्रीले भनी, ‘तिमी अझै बदलिएनौ ।’ त्यसपछि स्त्री ठमठमी उठेर हिँडी ।

भिक्षु शान्त भएर परसम्म ऊ हिँडेको हेरिरह्यो । र, के सम्झ्यो कुन्नी– पलेँटी मारेर बसेको उसले ढाड सिधा पा¥यो, आँखा चिम्म ग¥यो र ध्यानमा बस्यो ।

प्रकाशित: ३२ असार २०७५ ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App