अन्य

कथा : डिमेन्सिया

भाउपन्थी

एउटा आवश्यक कुरो यो थियो, अङ्ग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा हो । डिमेन्सिया नाम राखेपछि ड्यासिङ कथा यो हुनेछ, यसको स्वभाव पनि स्वतः उच्च स्तरको हुनेछ । ट्विस्टवाला कच्चा पदार्थको कथावस्तु अचेल पाइन्न । सब पारदर्शी छ । 

बूढीलाई भनेँ कथाको शीर्षक मैले डिमेन्सिया राखेँ । बूढी उही हो, जो मेरा धेरै कथामा आइसकेकी छ । बूढी उही हो भन्नाले बुझाउनु पर्ने बलियो आशय छ तर जटिल होइन । बूढी उही हो भन्नाले मैले बूढी फेरेको छैन, कायमै छ । यो जीवनमा मात्र होइन सातौं जीवनसम्म पनि, वाचा यस्तै छ । सातौंपछिको थाहा छैन । वाचा गर्दा पनि सात वाचा भनिन्छ । पुराना कुराहरू गायब हुँदै छन् । अनि अरूका बूढीलाई अगि सारेर कुरा गर्न सकिँदैन ।

डिमेन्सियाबारे बूढीलाई राम्ररी थाहा छैन । राम्ररी के, थाहै छैन । मैले भनेँ त्यो मार्खेज थियो नि, उसलाई पनि डिमेन्सिया भयो । बूढीले सोधी डिमेन्सियाबारे होइन, मार्खेजबारे— ऊ अहिले कहाँ छ । मैले भनेँ ऊ ठूलो विदेशी लेखक हो, नोबेल प्राइज विनर । एक चोटि म उसलाई भेट्छु भनेको मौकै पाइएन । 

डिमेन्सिया माने ऊ स्वयंले यो बिर्सेको हुन सक्छ, ऊ एक ठूलो लेखक हो, नोबेल प्राइज विनर । 

हुु एम आई ? 

बूढीले भनी, गएर भेटेको भए भइहाल्थ्यो । उसको विचारमा मार्खेज असनको कुनै ठाउँमा बस्छ, भव्यताका साथ । अन्डरग्राउन्ड पनि हुन सक्थ्यो । बूढीलाई यो थाहा थिएन, अन्डरग्राउन्डबारे । उसरी उसले र मैले धेरै नेता अन्डरग्राउन्ड भएको समय भोगेका थियौँ । 
मैले भनेँ, त्यसो होइन, ऊ विदेशमा बस्थ्यो । 
बूढीले भनी, मसँग ठट्टा होइन है बूढा !

बूढीलाई यस्तो लाग्यो असनमा बस्नेलाई कसरी विदेश पठाइँदै छ । दैनिक पन्ध्र सय युवा विदेसिँदै थिए । तीमध्ये एउटा मार्खेज पनि हुन सक्थ्यो । यो बुझाउने मौका थिएन । बूढीले ममाथि यति गहिरो विश्वास गर्थी, ऊ रिसाएको मलाई सहन हुँदैनथ्यो, डर लाग्थ्यो ।  

कुरा त्यहीँ रोकियो । डिमेन्सियाबारे कुरो गर्नु केही थिएन । एउटा शीर्षक छानियो त्यतिमै सीमित हुन सक्छ कथा । भन्नु के नै छ र ? पाठकसित ठट्टाजस्तो केही हुन सक्छ, संवाद वा डायलगका रूपमा कि मलाई त्यस्तो केही गम्भीरतासाथ भन्नु छैन जस्तो हिजोकाहरू मन्त्री भएपछि राष्ट्रिय पोसाक भनिने मयलपोस–सुरुवालमा ठाँटिएर गम्भीर किसिमका हास्यास्पद कुरा गर्छन् । 

मैले पनि भनेथेँ, मुलुकका आदर्श पुरुष पिएम र मन्त्रीहरूले मयलपोस–सुरुवाल लगाएपछि केही सुखद् हुन्छ भनेर— बूढी मलाई पनि मयलपोस सुरुवाल सिउनु छ । घरको हालत ठीक थिएन । 

बूढीलाई डिमेन्सिया भइरहन्थ्यो । मैले मयलपोस–सुरुवाल लगाएर ठाँटिँदै बूढीका अगाडि उभिएँ भने ऊ सोध्न सक्थी— तिमी को हौ ? 

नेताहरूलाई मन्त्री भएपछि ठीकसित चिन्दैनथी ऊ र सोध्थी यो नेता को हो ? त्यो नेता को हो ? अब त्यो म कसरी भन्न सक्थेँ ? को हो, को हो ? बूढी थप्थी कताकता देखेदेखेजस्तो लाग्छ । सबै नेता कताकता त देखिएकै हुन्छन््, उस्तैउस्तै गफ दिने । 

बूढीले गर्दा मलाई साह्रै घटिया भइयो भन्ने लाग्थ्यो । नेता मन्त्री भएपछि सबै उसैगरी महँगा मयलपोस–सुरुवालमा छिरेका हुन्थे र टाउकोमा पनि महँगो नेपाली टोपी शोभायमान हुन्थ्यो । भाषण पनि उस्तै गर्थे । एउटै मानिसले उस्तै भाषामा अलिकति भाषा फेरेर लेखिदिएजस्तो । 

सबै भन्थे— हामी अब आर्थिक समृद्धितिर छौँ । यो त हुँदै हो । उनीहरू समृद्धितिर लागिरहेका हुन्थे । अरू थुप्रै पुराना कुराहरू पनि दोहो-याउँथे जुन यीभन्दा सरकारमा गएका अघिल्ला पार्टीका मन्त्रीहरूले भन्थे । तीभन्दा अघिल्ला सरकारका मन्त्रीहरूले पनि रिपिट गरेर भन्ने कुरा यही थियो । 

म भुमरीमा परेजस्तो हुन्थेँ । इतिहास आपूmलाई रिपिट गरिरहन्थेँ दयालाग्दो गरी, निरीहरूपमा । इतिहासलाई डिमेन्सिया भएजस्तो थियो । 

म पनि खासै छुट्ट्याउन सक्दैनथेँ, यो नयाँ मन्त्री भएकाको नाम के हो ? मलाई डाक्टरलाई जँचाउन मन लाग्थ्यो । महँगो थियो उपचार । भन्न त भनिएको थियो, फ्री स्वास्थ्य सेवा उपलब्ध हुनेछ । त्यो कहिले हुने हो ? त्यतिञ्जेल त डिमेन्सियाले ग्रस्त भएर आफ्नो फोहोर आपैmँ खेलाउने भइसकिन्थ्यो कि ? स्वास्थ्यका कुरा, रोजगारका कुरा पनि त्यसरी नै भन्दै आइएको थियो, अघिल्लो सरकारले भैmँ र त्योभन्दा अगिल्लो सरकारले झैं, राजामहाराजाका पालामा पनि यही घोषणा हुन्थ्यो । 

डिमेन्सिया माने विस्मृति उपचारको औषधि आयुर्वेदमा हुनु पर्छ । तर जडिबुटी सबै विदेशतिर निर्यात हुँदैछ भनियो । मुलुकमा आयुर्वेद त छ तर काम लाग्ने जडिबुटी छैन । पूरै मुलुक डिमेन्सियामा डुब्ने भो त ? आयुर्वेदमा सबै लेखेको भन्थे पण्डिहरू तर डिमेन्सियामा गयो भन्थे । एउटा अँध्यारो गर्भगृहमा फसेजस्तो थियो मुलुक ! 
सबैको स्मृति डिमेन्सियाले बगाएर लगेजस्तो लाग्थ्यो । 

कामको विषय यो थियो, बूढी राति निद्राबाट जागेर सोध्थी— हामी भात खाएर सुतेका हौँ कि उठेर पकाऊँ ? मलाई डर लाग्न थालेको थियो, यो डिमेन्सियाको एउटा छेउको लक्षण हो । म खाना खाएर सुतेको हुँ कि नखाई । ऊ खानालाई भात भन्थी । कुनै आडम्बर थिएन जीवनमा उसको । मैले भन्थेँ— खाएर सुतेका हौँ । डबलडबल पकाएर खान को सक्थ्यो ? कोही भोकै रहने छैन भनिएको छ । यसलाई डिमेन्सियामा लुप्त गराउनु थिएन । 

रात धेरै बितिसकेको थियो र निद्राले च्याप्दै थियो । निद्राको चापले यस्तो न होस्, गलत सपना देखियोस् । तर निद्रा त लाग्नु नै थियो । निद्रामा सपना पनि आयो । निद्रामा देख्छु, सपनाको एक छेउ च्यातेर रावण आएको छ, सीताको अपहरण गर्न । रावणले सीता हरण गरेर नै रामले लड्नु परेको थियो भनिन्छ । नारीको शील हरण गर्ने राक्षसलाई सजाय दिनु थियो, सजाय के अचेल बालिका बलात्कार गर्नेहरूलाई फाँसी दिइयोस् भन्थे । माग गरिएझैं रावणलाई मार्नु नै थियो । तर ऊ त जीवितै थियो । रावण कस्तो थियो, डिमेन्सिया नभए पनि अर्थात् उसको अनुहार नसम्झे पनि शब्द ‘रावण’ ले उसलाई मूर्त गरिरहेको थियो । 

भन्यो— ‘सुत–सुत । मनमा भ्रम नलेऊ म रावणै हुँ । म मेरो स्वर्णमृग खोज्न आएको हुँ ।’
मसँग रावण बोलिरहेछ । सपानाले मलाई पूरै निलेको थियो । डर पनि वाक्नेछेर्ने गराउने खालको थियो । बिहान ओच्छ्यान बिग्रेको स्पष्टीकरणमा के भनुँला ? अलि आँट बटुलेँ तर डराएरै भनेछु— ‘सर, मलाई थाहा छैन त्यो स्वर्णमृग कता गयो ?’ अस्वीकारमा बल पुगेन भन्ने लागेर भनेँ— ‘हेर्नोस् मेरो औँलामा न बेरुवा औँठी छ न गलामा स्वर्ण चेन ।’ अझ थपेँ— ‘मलाई अदालत पनि लगिएको छैन ।’ 

‘यहाँ सीता पनि हुनुहुन्न ।’ अर्को छेकबार थपेँ । 
‘म सीताको अपरहणमा छैन । त्यसमा बहुतै बेइज्जत भो मेरो । म स्वर्णमृगको खोजीमा छु ।’ 
रावण कतै तेत्तिस किलो सुनको खोजीमा निस्केको त हैन ? सम्भव छ । वकिलहरू भनिरहेका छन्— सुन नभेट्टिएपछि सुन तस्करी कसरी ? चौरासीजना वकिलहरूको फौज स्वर्ण तस्करी बचाउन लागिरहेछ । स्वर्ण शक्ति अपूर्वको छ । 

‘स्वर्णमृग मलाई थाहा छैन सर । सीता भए खोज्न सकिन्थ्यो ।’ 
‘सीताहरू धेरै छन् । रामायणमा एउटी मात्र सीता थिइन् ।’
‘नारी शिक्षा बढेर गएको छ त सर । अचेल सीता नाम राख्न रुचाउन्नन् पनि ।’
कथालाई टुङ्ग्याउनु पनि छ । रावणसित संवाद जमिरहेको थिएन । 
‘सर, यो युग हो डिमेन्सियाको ।’ 
‘वाट् डु यु मिन ?’ 

रावण बहुतै विद्वान् थियो रे । हुँदो हो । स्वर्ण लङ्का नै उसैको थियो । डाक्टरको उपाधि दिने विश्वविद्यालयको कमी थिएन होला । बेबकुफहरूले भन्दा विद्वान्हरूले बढी चिल्लो चाकरी गर्न जानेका हुन्छन् ।
यहाँनिर रावणको बहिर्गमन आवश्यक थियो । उसका लागि संवादहरू कम हुन थालेका थिए । 
मैले भनेँ— ‘सर, म जागौँ कि ?’

जागेपछि रावण विलुप्त हुने थियो । राम रहुञ्जेल रावण रहने सुनिश्चित थियो तर सपनामा उसलाई खामिराख्न स्पेस कम परिरहेको थियो । 

‘जाग भाइ जाग । तिमीहरू उहिले जागिसक्नु पर्ने हो । धेरै सुत्यौ ।’ रावणले बडो गहिरो अर्थ लाग्ने जागरण संवाद पेल्यो । 

‘मेरो सुन भेटिएला भन्नु छैन । तस्करहरूले बेचेर खाइसके होला ?’ 
‘सर, गृहमन्त्रीले नै भनेका हुन् टनका टन सुन तस्करी हुन्छ भनेर । अहिले नभेटिए पछि भेटिएला ।’ 
‘त ?’ 

म जाग्न सकिरहेको थिइनँ । नजागेसम्म रावण बाहिरिने कुरो पनि भएन । रावणको ‘त ?’ ले मलाई कुप्य्राइरहेको थियो । ढाड सेक्ने भो मोरोले । 

‘त भु के नि सर । सबै विवरण छ तर कारबाही छैन नि । अफसोस त यसैमा छ ।’
रावणले केही सम्झेजस्तो गरी भन्यो— ‘मलाई अबेर भइरहेछ, मालको पेमेन्ट गर्नु छ । हुन्डीका काममा पनि खतरा बढेको छ । नयाँ लाइन सेट नगरेसम्म यस्तै हो । केही किलो सुन गायब हुन्छ नै । के गर्न सकिन्छ ? ओके, बाई ।’
रावण गयो । म पनि जागेँ । म जागेर ऊ गयो वा ऊ गएपछि म जागेँ त्यो स्पष्ट भएन । डिमेन्सिया भएजस्तो थियो । तर रावणले पनि मलाई जागरुक गराउने समय आयो र भन्ने लाग्यो मलाई । 

राति जागेपछि कथाको पटाक्षेप आवश्यक थियो । कथामै कति रुमल्लिरहनु ? रावण त आयो सपनामा तर राम कहाँ थिए ? कन्था लम्ब्याउन यस्तो सोच्न सकिन्थ्यो । म त्यता लागिनँ । बूढीलाई जगाएँ । नरम स्वभावकी थिई ऊ । मैले भनेँ एकएक कप चिया खाऊँ । मेरो भनाइमै यो थियो, चिया म पकाउने होइन, पकाएपछि खान तयार छु । यस्तै दस्तुर थियो ।

बूढीले सोधी— ‘हामीले खाना खाइसकेको हैन र ?’ 
मौका थियो । बूढीलाई डिमेन्सियाको जालोले घेर्नघेर्न थालेको रहेछ । 
‘आज खाएनौँ । खाने मन छैन भनेर सुतेको होइन ?’ 
‘अनि के चिया पकाऊँ ?’
‘अनि के त ? चिया बिस्कुट खाऊँ, मलाई भोक लागेजस्तो भा’छ ।’ 
मैले नेताले भनेझैं भनेँ । 

नेताहरू ढाँट्दै आएका छन्, उनीहरू ठान्छन् जनतालाई डिमेन्सिया भएको छ । तर डिमेन्सियाको सिकार को भएको छ? 
यस्तो भनेर कथा टुङ्ग्याउन सकिन्छ तर यो कतै नीतिकथा जस्तो त हुने होइन ? भइराखोस् । 
मलाई यो कथा लेखेर कुनसा अमर हुनु छ ?     

प्रकाशित: ३२ असार २०७५ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App