अन्य

वन मासेर ढुंगा–बालुवा निकासी

ललितपुर देवीचाैरकाे क्रसर उद्योग

साँघुुरो सडक । सडकको दुवै लेनमा नदीजन्य पदार्थ बोकेका गाडी । स्कुल र सरकारी गाडी फाट्टफुट्ट छन् । पैदलयात्रु सवारीको चेपबाट सडक छिचोल्न खोज्दैछन्।

बस र मोटरसाइकलका चालकले हर्न बजारहेका छन् । यो दृश्य अघिल्लो मंगलबार लेलेमा देखिएको हो । देवीचौरदेखि लेलेसम्म करिब १ किमी सडकमा यस्तै दृश्य देखिन्छ । यहाँ ट्रिपरबाहेक अन्य सवारीसाधन देख्न मुस्किल पर्छ।

ती ट्रिपर गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जन, स्थानीय व्यापारी विरेन्द्र महर्जन, श्याम महर्जन, मधुसुदन डोटेललगायतका हुन् । उनीहरूले लेले, टीकाभैरव र देवीचौर क्षेत्रका वन र खोला किनारमा अवैध ढुंगा र बालुवा निकासी गर्दै आएका छन् । यहाँका अवैध खानीलाई वडाध्यक्ष महर्जनले नै संरक्षण गर्दै आएका छन् ।
वडाध्यक्ष महर्जनले सोही वडाकै दुम्सीडोल ठूलो सामुदायिक वन, दैवीचौर सामुदायिक वन मासेर अवैध ढुंगा खानी सञ्चालन गर्न ठेकेदारहरूलाई अनुमति दिएका छन्।

गोदावरी नगरपालिकाका खानी संयोजक समेत रहेका मर्हजनले अवैध रूपमा वन विनास गर्दै आएको स्थानीयको आरोप छ । ‘विकास गर्लान् र समस्या सल्टाउलान् भनेर भोट हालियो,’ स्थानीय तेजकृष्ण तिम्लिसिना (६९) ले भने, ‘तर, निर्वाचित भएपछि झन् नयाँ समस्या सिर्जना गरे ।’ घर अगाडिबाट दैनिक ढुंगा र बालुवा बोकेका ट्रिपर हुँइकिइने गरेको उनले बताए ।वडाध्यक्ष महर्जनले ढुंगा बालुवालगायत निकासी निगरानी राख्ने जिम्मेवारी पाएका छन् । तर, उनी लामो समयदेखि वनक्षेत्र उधिनेर क्रसर र ढुंगा निकासी, बालुवा निकासी गर्दै आएको स्थानीयको आरोप छ।

वडाध्यक्षले नै वन मास्न थालेपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय र गोदावरी नगरपालिका निवेदन समेत दिएको बताए । ‘हामीलाई यसले प्रत्यक्ष असर पारेको छ,’ स्थानीय महेन्द्र कार्कीले भने, ‘तर, माथिल्लो निकायले हाम्रो गुनासो सम्बोधन गरेन ।’ उनका अनुसार ट्रिपरकै कारण दिउँसो ३ बजेदेखि टीकाभैरव क्षेत्रमा सवारी जाम हुन थालेको छ । ढुंगा र बालुवा बोकेर हुँइकिने सवारीले सडक नै धुलाम्य पारेका छन् । एक वर्षअघि कालोपत्रे गरिएको लेले–टीकाभैरव सडक पनि ट्रिपरकै कारण खाल्डाखुल्डीमा परिणत भएको छ।

देवीचौर र लेलेमा मात्रै होइन, नल्लु, डुकुछाप, बाग्मती गाउँपालिका विभिन्न क्षेत्रमा पनि यसरी नै अवैध ढुंगा र बालुवा खानी, क्रसर तथा बालुवा वासिङ उद्योग निर्वाध रूपमा सञ्चालन भइरहेका छन् । उक्त क्षेत्रमा प्रहरीले पनि निगरानी बढाएको छैन । बालुवा, ढुंगा र गिटीले भरिएका ट्रिपर चापागाउँ प्रहरी वृत्तबाट सहजै उम्कने गरेका छन् । वृत्तका डिएसपी रविन्द्र रेग्मीले आफूहरूले निगरानी बढाएको दाबी गरे ।

उनले हिजोआज अवैध रूपमा ढुंगा, माटो, बालुबालगायत सामान बोकेका ट्रिपरहरूमा निगरानी बढाएको जानकारी दिए । ‘हामीले सक्दो चेकजाँच गरेका छौं,’ उनले भने, ‘अवैध उद्योग र खानी कसरी चलाउने भन्नेबारे स्थानीय तहले नै ध्यान दिन आवश्यक छ ।’
ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको संयोजकत्वमा जिल्ला खानी तथा क्रसर उद्योगको अनुगमन समिति पनि बनेको छ ।

तर, समितिले उक्त क्षेत्रमा भइरहेको अवैध निकासीप्रति चासो देखाएको छैन । अनुगमन नगर्दा वन विनास र अग्ला डाडाँहरु ताछेर सम्म पारिएका छन् । वन क्षेत्रको चरम विनास भइरहँदा सामुदायिक वन समिति, जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, गोदावरी नगरपालिका, प्रहरी प्रशासनलगायतको ध्यानाकर्षण नै भएको छैन।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले खानी र क्रसर उद्योग स्थानीय तहले नै निगरानी राख्ने भन्दै पन्छिए । उनले स्थानीय तहले पत्र काटेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने बताए । ‘अहिले खानी र क्रसर उद्योग निगरानी गर्ने जिम्मा स्थानीय तहको हो,’ उनले भने, ‘यदी जिल्ला प्रशासन समक्ष सहयोग माग गर्यो भने हामीले त्यसमा सहयोग गर्न सक्छौं ।’ उनले जिल्लामा धेरैजसो खानी र क्रसर उद्योग अनुमतिबिनै चलेको बताए।

एक वर्षअघि संसदको प्राकृतिक स्रोत साधन समितिले समेत यस ठाउँमा वातावरणीय प्रभाव, वन विनास, धुलोधुवाँ लगायत प्रदूषण बढेको भन्दै खानी तथा क्रसर सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाएको थियो । तर, जनप्रतिनिधिले नै उक्त निर्देशनविपरित खानी सञ्चालन गर्न दिएका छन्।

खानी सञ्चालक तथा वडाध्यक्ष विष्णुमान महर्जनले ढुंगाखानी सञ्चालन गरेको स्वीकारे । उनले निर्वाचित हुनुपहिले नै आफू उद्योगी भएकोले त्यसयता पनि निरन्तरता दिएको बताए । ‘यो क्षेत्रमा यसरी अवैध रूपमा चल्ने खानी मेरो मात्रै होइन,’ उनले नागरिकसँग भने, ‘अरु पनि नियममा बाधिएर व्यवसाय गर्न थाले भने मैले पनि नियमसँगत रूपमै व्यवसाय चलाउँछु ।’

भित्रि बाटो हुँदै सहर पुर्याइन्छन् ट्रिपर
नदीजन्य पदार्थ बोकेका ट्रिपरलाई भित्रि बाटो हुँदै सहर पुर्याइन्छ । प्रहरीको निगरानीबाट बच्न चालकले भित्रि बाटो प्रयोग गर्ने गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार यस क्षेत्रबाट नल्लु खोला, टीकाभैरव बजार, नख्खु करिडोर हुँदै उपत्यकाका सहर पुर्याइन्छन्।

भित्री बाटो हुँदै ल्याएका गिट्टी, ढुंगा–बालुवा उपत्यकाका विभिन्न डिपोहरूमा पुग्ने गरेका छन् । टिप्पर हिँड्ने समय बजारलगायतका स्थानमा जाम बढ्ने हुँदा एम्बुलेन्स, स्कुल बस, भ्यान, दूध र तरकारीको सवारी घन्टौँसम्म जाममा बस्नुपर्ने स्थानीय राधाकृष्ण तिम्लिसिनाले जानकारी दिए ।

उनले नल्लुखोला र देवीचौर वनलाई निजी सम्पत्तिझैँ गरी ठुल्ठूला स्काभेटर (हेभी इक्युप्मेन्ट) को प्रयोग गरी ढुंगा उत्खनन् भइरहेको बताए । ‘दिनमा एउटा गाडीले ७ टिभसम्म ढुंगा ओसार्छ, वनमा स्काभेटर, भ्रेकर (भाइब्रेसनबाट ठुल्ठूला ढुंगा फोर्ने मेसिन) चलाइएको छ,’ उनले भने, ‘त्यसले खानेपानीका मुहान पनि सुकाएको छ।

अवैध खानी बन्द गर्न स्थानीयको माग
साताअघि बाग्मती गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा उपस्थित अधिकांशले दक्षिण ललितपुर क्षेत्रमा रहेका अवैध खानी बन्द गर्न माग गरेका थिए । स्थानीय राजकुमार लामाले अवैद्य बालुवा खानी तथा क्रसर उद्योग जनप्रतिनिधिकै रोहवरमा चलेको बताए ।

उनले यसरी अवैध रूपमा खानी सञ्चालन हुँदा जनप्रतिनिधिले कसैले पनि त्यसतर्फ चासो नदिएको जानकारी दिए । ‘यहाँका खोला र सडक छेउमा बालुवा र ढुंगा निकासी भइरहेको छ,’ उनले भने, ‘यसमा जनप्रतिनिधिकै हात छ ।’ तीनपानेका स्थानीय प्रकाश थिङले यो क्षेत्रबाट दैनिक सयौं ट्रिपर बालुला निकासी भएको बताए ।

उनले जनप्रतिनिधिहरूले विकासको काम गर्नुको साटो उल्टै समस्या थप्न लागेको बताए । उनले भने, ‘खानेपानीको मुहान धमिलो भएको छ, जनप्रतिनिधिकै संरक्षणमा चलेका खानीले ठूलो समस्या निम्त्याएको छ ।’  

प्रकाशित: ११ असार २०७५ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App