विकासले जतिजति शिखर चुम्दै जान्छ, मानिस पनि उतिउति व्यस्त हुँदै जान्छ। व्यस्त जीवनबाट केही समयका लागि नै किन नहोस्, आराम खोज्नु मानव शरीरको विशेषता नै हो। अझ थकान, तनाव, असन्तुष्टि जस्ता पक्षले त हरदम उसलाई मनोरञ्जन/सन्तुष्टिको खोजीतर्फ धकेलिरहेको हुन्छ। मानिस जतिसुकै धनाढ्य किन नहोस्, आखिर ऊ सन्तुष्टिको सधैँ भोको रहन्छ। त्यसैले त डाँडा/काँडा, भीर/पखेरा चहारिरहन्छ, मात्र सन्तुष्टिको भोक पूरा गर्न। त्यो पनि एकपल्ट हो र? पटक–पटक।
मेरो पनि प्रकृतिप्रतिको लगाव नयाँ हैन। खासगरी आफ्नै मातृभूमि डुल्ने, मातृभूमिले आफूभित्र सङ्गालेका सयौँ रहस्य नियाल्ने, त्यसमा रमाउने र आनन्द लिने नशा पनि करिब करिब लागिसकेको छ भन्दा फरक पर्दैन। त्यसैले त समय मिल्यो कि झोला/गुन्टा कसकास पार्नु र बाटो लागिहाल्नु मेरा लागि आजकल सामान्य जस्तै भएको छ।
जोखिमपूर्ण यात्रा
भनिन्छ, हरेक कुराको साइत आउनुपर्छ। डुल्ने क्रममा तिलिचो पनि मेरो डायरीमा कोरिएको धेरै समय भइसकेको थियो। गएको जेठ अन्तिम साता तिलिचो भ्रमणको साइत जुरेछ क्यार, सबै प्रबन्ध ठ्याक्कै मिल्यो। उसै त ‘हिमालपारिको’ पदवी पाएको मनाङ प्रकृतिले भरपुर साथ दिँदादिँदै पनि विकासका पूर्वाधारले भने हेलत्तो गरेको ठाउँ। त्यसैले त्यहाँका यात्राका लागि सामान्य जोरजाम गर्नै प-यो। बन्दोबस्तीका सरसामान जोहो गरेपछि लागियो ‘लौ है त’ भनेर।
तातो घाम, निलो ताल अनि सेतो हिमाल र निलै आकाश। सोझै भन्दा प्रकृति यति सुन्दर रूपमा पनि प्रस्तुत हुन सक्छिन् भनेर मैले कल्पना समेत गरेकी थिइन। लठ्यायो मलाई पनि, अरुलाई जस्तै। त्यसैले त त्यहाँ बिताएको २ घण्टा २ मिनेट जस्तो पनि लागेन।
मनाङ आफैँमा सुन्दर लाग्छ मलाई। जति हेरे पनि आँखै नअघाउने प्राकृतिक सुन्दरताले मोहितै पार्ने गर्छ सधैँ। अप्ठेरो बाटो, बिरहको गीत गाउँदै सुसाइरहेको मस्र्याङ्दीलाई तल्लापट्टि पारेर लगातार उकालो लागि रहनुपर्दा थकाइ त अवश्य लाग्थ्यो तर यो थकाइ बाध्यताको नभई रहर भएर होला, कतै पनि ‘बेकारमा आइएछ’ भन्ने अवस्था आइलागेन। अर्थात जति अघि बढ्यो, उतिउति कौतुहलता बढ्दै जान्थ्यो– अब कति होला तिलिचो आउन भनेर। हामी हिँडेको करिब ७० प्रतिशत बाटो पहिरो गइरहने खालको रहेछ। बाटोमा कुन बेला माथिबाट ढुंगा खसेर थिच्ने हो पत्तै नहुने रहेछ। धन्न ढुङ्गा खस्ने ठाउँका बारेमा ठाउँठाउँमा सतर्क गराउने खालका साइनबोर्ड राखिएका रहेछन्। तर पनि ‘नो टेन्सन।’
म यसअघि डुलेका एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्पको तुलनामा यहाँको बाटो अप्ठेरो थियो। बाटोघाटो नै राम्रो नभएकाले होला, खानपिनको व्यवस्था पनि गज्याङगुजुङ अर्थात बाटैजस्तो। तर पनि शिरमा हिमाल, गगनचुम्बी चट्टाने पहाड, ठूला ठूला झरना आदिले हाम्रो थकान र डर मेट्न भरमग्दुर प्रयास गरिरहेका थिए। कतै देखिने सेताम्मे फूल त कतै पहेँलपुर, अनि कतै तालुखुइले पहाड त कतैचाहिँ शिरमा लगाएको टोपीसमेत खस्ने डरले समातेर मास्तिर हेर्नुपर्ने उकालो। यो दृश्य देख्दा लाग्थ्यो– अब चाहिँ यो उकालो मरिगए चढ्न सकिन्न। तर अचम्म! कुरा गर्दै, वरिपरिका दृश्य नियाल्दै अघि बढ्दा त उकालो त स्वाट् स्वाट् पार हुने। माथि पुगेर हेरेपछि आफैँलाई प्रश्न गर्न मन लाग्थ्यो– म यही उकालो चढेर आएको हो त? अनि निष्कर्ष निकाल्दै अघि बढ्थेँ–भगवानले पनि ‘तँ आँट्, म पु-याउँछु’ भन्थे रे, त्यसै भनेका हैन रहेछन्।
मनाङबाट यस्तै सयौँ दृश्य हेर्दाहेर्दै तिलिचो बेस क्याप पुग्न ६ घण्टा लागेछ। यो ६ घण्टे अवधिमा १४.५ किलोमिटर दूरी पार गरिएछ। जुन बेस क्याम्प ४१०० मिटर उचाइमा थियो। बस्ने लज तीनवटा रहेछन्। दुर्गम भइकन पनि राम्रै खाले सुविधा लाग्यो बस्ने ठाउँको चाहिँ।
रहस्यमय तिलिचो
तिलिचो बेस क्यापमा एक रात बसियो। दिनभरको थकान, नयाँ ठाउँ, नयाँ खानेकुरा, नयाँ मान्छेसँग भलाकुसारी आदिले हाम्रो बेस क्याम्प बसाई रमाइलै बनायो । भोलिपल्ट बिहान ब्रेकफास्ट लिएपछि करिव ८ बजेतिर तिलिचो तालतर्फ हानियौँ। विदेशमा बस्ने नेपालीको एक परिवार पनि हामीसँगै थियो। उनीहरूसँग गफिँदै उक्लने क्रमजारी रह्यो।
बेस क्याम्पबाट करिब ५ घण्टा लाग्यो हामीलाई बहुप्रतीक्षित ताल पुग्न। कतै पढेकीथिएँ– संसारको सबैभन्दा उच्च स्थानमा रहेको ताल टिटीकाका (जुन दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा पर्छ)हो तर तिलिचो त्यो भन्दा पनि ११०७ मिटर अग्लो स्थानमा पर्दोरहेछ। यो थाहा पाएपछि ममा आफ्नो मातृभूमिप्रति थप गर्व लाग्न थाल्यो। तातो घाम, निलो ताल अनि सेतो हिमाल र निलै आकाश। सोझै भन्दा प्रकृति यति सुन्दर रूपमा पनि प्रस्तुत हुन सक्छिन् भनेर मैले कल्पना समेत गरेकी थिइन। लठ्यायो मलाई पनि, अरुलाई जस्तै। त्यसैले त त्यहाँ बिताएको २ घण्टा २ मिनेट जस्तो पनि लागेन।
वास्तवमा तिलिचो धेरै कारणले सबैको आकर्षण केन्द्र बन्न पुगेको हो। पहिलो कुरा त यो माथि भनिएझैँ विश्वमै सबैभन्दा अग्लो स्थानमा अवस्थित छ। समुद्री सतहबाट ४९१९ मिटर उचाइमा रहेको यो ताल हिमालय पर्वत शृंखला अन्तर्गत अन्नपूर्ण संरक्षित क्षेत्रमा पर्छ। ४.८ वर्ग किलोमिटर फैलिएको तालको गहिराइ ८५ मिटरसम्म छ। ४ किलोमिटर लाम्चो फैलिएको तिलिचोको चौडाइ भने १.२ किलोमिटर छ। यो वर्णनबाटै थाहा हुन्छ कि यति अग्लो ठाउँमा अवस्थित यो ताल यही कारण पनि सबैको मन लोभ्याउन काफी छ।
त्यतिमात्र हैन, तिलिचो, निलगिरि, खांग्सार र मुक्तिनाथ जस्ता हिमालको छत्रछायाँमा हुर्किरहेको यो ताल यही कारण उनीहरूकै मायामोहमा संरक्षित पनि छ भन्न सकिन्छ। वरिपरि पहाडैपहाडले घेरिएको यो तालको कञ्चन पानीमा पहाडको छायाँ पर्दा वास्तवमै मानिसले सबैखाले आफ्ना पीडा बिर्सन्छ। त्यसैले त यति टाढा भइकन पनि मानिस मरिहत्ते गर्छन् त्यहाँ पुग्न।
एक सरकारी तथ्यांकअनुसार नेपालमा ५३५८ वटा ताल छन्। यस अर्थमा नेपाल तालको धनी देश पनि हो। यति भइकन पनि तिलिचो त्यस्तो ताल हो जुन यी मध्ये रामसार क्षेत्रमा सूचीकृत मुख्य दशवटा तालमा पर्छ। यसको अरु भन्दा थप विशेषता यो पनि हो कि यहाँ जलचर प्राणी छैनन। शायद धेरै चिसो हुने भएर हो कि? तिलिचोका यस्ता केही विशेषता हुन् जसले मानिसलाई ‘जाउँजाउँ’ पार्छन्। यिनै दर्जनौँ विशेषतायुक्त तालमा निकैबेर रमाएपछि हामी पाँच घण्टा लगाएर चढेको उकालो करिव पौने २ घण्टामै झ-यौँ बेस क्याम्पसम्म। हृदयभरि तिलिचो सजाउँदै।
ऊर्जाको स्रोत
अरबौँ रुपियाँ खर्चिएका राजधानीको बाटो त बेहाल भएको कसैलाई भनिरहनै पर्दैन। विकासले पनि पक्षपात गरेको मनाङ र अझ त्यसमा पनि निकै माथिल्लो भेगमा अवस्थित तिलिचोसम्मको बाटो कस्तो होला? सहजै अनुमान लगाउन सकिन्छ। यो बाटो असार २० गतेसम्म बनाइसक्नुपर्ने भनेर कामदार लागिरहेका छन्। त्यसका लागि ३० लाख रुपियाँ बजेट छुट्टयाइएको रहेछ।
बाटो निर्माणमा संलग्न व्यक्तिसँग पनि केहीबेर भलाकुसारी गर्ने संयोग मिल्यो हामीलाई। उनीहरू सल्यानबाट समूह नै आएका रहेछन् यही बाटोमा काम गर्न भनेर। ठेकेदारले कति पाउँछ थाहा भएन तर उनीहरूलाई भने दिनको ८ सय रुपियाँ दिइने रहेछ । त्यही पैसाबाट बस्न/खान सबै व्यवस्था मिलाउनु पर्ने। निकै भिरालो र अप्ठेरो ठाउँमा जोखिम मोलेर काम गर्नुपर्ने, त्यति गर्दा पनि यति थोरै पैसा? म त छक्कै परेँ। मानिसको जिन्दगी, खानका लागि जस्तो सारोगाह्रो पनि सहनै पर्ने भन्ने लाग्यो। अझ महिला कामदारले त आफ्नो बच्चा नजिकैको टेन्टमा सुताएर कामगर्दै गरेको दृश्यले एकछिन त भावविह्वल नै बनायो।
उनीहरूले यति जोखिम मोलेर पनि मुलुक सिंगार्न लागिपरेको देख्दा मलाई भने ऊर्जा मिल्यो। आखिर मेहनत गर्दा के हुँदैन र भन्ने लाग्यो । अनि लाग्यो– आँट्यो भने जे पनि सम्भव छ। यो मनमा सम्झँदै गर्दा मेरो पाइला नै यसअघिको तुलनामा बढी फट्केछ, जुन पछिमात्र पत्तो पाएँ।
अर्कोतर्फ यात्रा क्रममा भेटिएकामध्ये ६० प्रतिशत कलेजका भाइबहिनी ट्रेकिङ गरेका देखिए। बाँकी भने युरोपियन मुलुकका पर्यटक। एकातिर आन्तरिक पर्यटनको बढावा अर्कोतिर त्यसमा पनि कलेजस्तरका युवा/युवतीको उत्साहजनक सहभागिता। यसले पनि मलाई थप यात्राका लागि मात्र हैन, आँट वृद्धिका लागि पनि वातावरण निर्माण गरिदियो।
बेमौसमको फाइदा
नामै बेस क्याम्प। लाग्यो– बस्ने ठाउँ महँगै होला। खाना त झन् कति टाढाबाट बोकाएर लैजानुपर्ने झनै महँगो होला। पुगेपछि लजमा बास बस्ने ठाउँ दिन अनुरोध गरियो। सहजै ‘भइहाल्छ नि’भन्ने उत्तर पाएपछि एकप्रकारले बसोबास मिलेकामा मख्ख भइयो। बस्ने व्यवस्था त मिल्यो तर कति भन्ने हुन् ? एकप्रकारले हुट्हुटी लागिरह्यो। अनि बिस्तारै सोधेँ– बसेको र खाएको कति पर्छ कुन्नि? साहूजीको उत्तर थियो– खाएको लाग्छ, बसेको चाहिँ लाग्दैन।
पत्याउनै गाह्रो प-यो। केही पहाडी जिल्लाको भ्रमणमा यस्तो व्यवस्था भए पनि पर्यटकीय क्षेत्रमा खाएको लाग्ने, बसेको नलाग्ने सुनेको/भोगेको थिइन। त्यसैले पत्यार लागेन र पुनः सोधेँ। फेरि उही जवाफ आएपछि पत्याउन करै लाग्यो।
बसेको नलाग्ने कारण रहेछ– अहिले अफसिजन भएकाले रे। एकप्रकारले अफसिजनमा भ्रमण गर्दा पनि फाइदै हुने रहेछ भन्ने पाठ पनि सिकियो यो भ्रमणका क्रममा जबकि कतिपय चिनजानका मानिसले अफ सिजनमा भ्रमण नगर्न पनि सल्लाह दिएका थिए। आखिर जुन कुराको पनि राम्रो/नराम्रो दुवै पक्ष हुन्छ नै। जुन यो भ्रमणका क्रममा पनि अनुभव गर्न पाएँ। अनि लाग्यो पनि– राम्रो काम गर्नलाई सिजन नै किन चाहियो र?
प्रकाशित: ९ असार २०७५ ०१:२६ शनिबार