पुरानो बस्ती वा नगरक्षेत्र कला वा वास्तुकलाका दृष्टिले महŒवपूर्ण हुन्छन् । त्यस्ता क्षेत्रमा निर्मित भवन र सम्पदा सांंस्कृतिक एवं सामाजिक दृष्टिकोणको प्रतिविम्ब र ऐतिहासिक काल खण्डलाई बोध गराउने निधि हुन् । तत्कालीन समयको उच्च प्राविधिक ज्ञान एवं संवेदनशीलता, तिनमा अंकित सीप एवं हस्तकलाको परिमार्जन र संवेगता सम्पदामा संलग्न हुन्छन् ।
समाजको निरन्तर विकास क्रममा त्यस्ता विषयको संरक्षण एवं जगेर्ना गर्न निश्चित सिद्धान्त प्रतिपादन गरेको पाइन्छ । पहिलो निर्देशित सिद्धान्तअनुसार सो क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि जीवन निर्वाह गर्न सक्ने अवस्थाको सिर्जना गर्ने महत्वपूर्ण विषय हुन आउँछ । पुरानो नगर क्षेत्र आधुनिक नगर क्षेत्रभन्दा विशेष असुविधायुक्त र फोहोर हुन्छन् । त्यस्ता क्षेत्रलाई राज्य, सम्बन्धित निकाय र समुदायले प्राथमिकीकरण गरी स्वस्थ एवं सुन्दर क्षेत्रका रूपमा विकास गर्नुपर्छ ।
पुरानो क्षेत्रमा ढल निकासको वैज्ञानिक ढंगबाट व्यवस्थापन भएको हुँदैन, तथापि बौद्धिक सहरी योजना र त्यसैको अनुशरणस्वरूप पछिल्लो समय पनि नगरक्षेत्र उच्च स्थानमा निर्माण गर्ने परम्पराको विकास भएको थियो । उच्च स्थानमा निर्मित नगर वा बस्तीमा वर्षाको पानी र ढल निकासको समस्या न्यून रहन्छ । समथर स्थानमा निर्मित सहर वा पोखरीको ढल वा पानी निकासका लागि सोभन्दा तलको खोला वा अन्य स्थानमा निकासको व्यवस्थापन गर्ने परम्परा थियो । सोही परम्पराअनुरूप काठमाडौं, पाटन र भक्तपुरका नगरमा पाइने ढल एवं पाखरीका पानी निकासको व्यवस्थापन गरिएको थियो । ज्वलन्त उदाहरणका रूपमा रत्नपार्कस्थित रानीपोखरीलाई र अन्य यस्तै मध्यकालीन पोखरीको व्यवस्थापनलाई लिन सकिन्छ ।
मल्लकालीन दरबार क्षेत्र र सोको वरिपरि ढल निकासको राम्रो व्यवस्थापन गरिएको थियो । तर, जनसंख्या वृद्धिसँगै ती क्षेत्र व्यापारिक केन्द्रका रूपमा परिणत हुँदै जानाले पुरानो ढल निकास व्यवस्थापनले आवश्यक अनुरूपको क्षमता उपलब्ध हुन सकेन । तसर्थ आर्थिक, सामाजिक, वातावरणीय र परम्परागत वास्तुकलाको संरक्षण गर्न त्यस्ता क्षेत्रमा राज्यले आधुनिक आवश्यकताको समेत मध्यनजर गरी पुराना अवयवको सम्मान गर्दै एउटा बृहत गुरुयोजना विकास गर्न आवश्यक छ । उदाहरण स्वरूप अमेरिकास्थित मियामी नगर क्षेत्र सुरुमा अत्यन्तै फोहोर एवं भूताहानगरजस्तो देखिन्थ्यो । जसले राष्ट्रिय प्रतिष्ठालाई नै औँल्याएको थियो ।
पछि अमेरिकाको राष्ट्रिय प्रतिष्ठानले पुरानो स्वरूपलाई नै यथावत कायम गरी सम्पूर्ण नगर क्षेत्रको सरसफाइ लगायत सुधारका विभिन्न कार्यक्रम सञ्चालन गरेपछि मियामी एउटा सुन्दर र परम्परागत सहरका रूपमा परिणत भयो । यस प्रकार पुरानो सहर वा बस्तीको उचित सुधार एवं संरक्षण गर्न नसकिए वर्षात्को पानीले सो क्षेत्रका विविध संरचना खलबल्याउँदै बिस्तारै कमजोर तुल्याउने हुँदा सोको प्रभावबाट त्यस्ता संरचना भूकम्पजस्ता अन्य प्राकृतिक प्रकोपबाट नष्ट भएर गएका प्रशस्तै उदाहरण छन् । प्रमाणस्वरूप २०७२ को गोर्खा भूकम्पले काठमाडौं, ललितपुर एवं भक्तपुर नगरका पुराना क्षेत्रमा गरेको विनाशले स्पष्ट गर्छ । तसर्थ, सहरलाई पुरानो स्वरूपबाट छिन्नभिन्न हुनबाट बचाउन उचित सुधार एवं संरक्षण आवश्यक हुन्छ ।
पुरानो नगर क्षेत्र आधुनिक नगर क्षेत्रभन्दा विशेष असुविधायुक्त र फोहोर हुन्छन् । त्यस्ता क्षेत्रलाई राज्य, सम्बन्धित निकाय र समुदायले प्राथमिकीकरण गरी स्वस्थ एवं सुन्दर क्षेत्रका रूपमा विकास गर्नुपर्छ । पुरानो क्षेत्रमा ढल निकासको वैज्ञानिक ढंगबाट व्यवस्थापन भएको हुँदैन, तथापि बौद्धिक सहरी योजना र त्यसैको अनुशरणस्वरूप पछिल्लो समय पनि नगरक्षेत्र उच्च स्थानमा निर्माण गर्ने परम्पराको विकास भएको थियो ।
सम्पदाको महत्व राम्रोसँग बुझ्न सकिएन भने केलटोलस्थित भन्सारछेँ, नरदेवीस्थित वैद्यचुकको पुरानो घर एवं भीमसेन थापाद्वारा लगनटोलस्थित निर्मित बुर्जाशैलीको आवास भवनजस्तै विनाश हुने देखिन्छ । यस्ता अपार सांस्कृतिक एवं पुराताविक महत्वका सम्पदाको संरक्षणका लागि सरकारले समयमै संरक्षण योजना निर्माण गर्नुपर्छ । संरक्षण योजनामा उपभोगकर्ताको हितलाई समेत समेटिए मात्र मौलिकता संरक्षण कार्यमा उपभोक्ताको सहभागिता हुन सक्छ । अन्यथा, ती भवनको एउटा युगको इतिहास, कला, वास्तुकला र प्रविधि एवं सांस्कृतिक जीवन अथ्र्याउने विषयको अन्त्य हुनेछ ।
तसर्थ, अन्य सम्पदाको अवसानबाट जोगाउन सचेत हुनुपर्ने स्पष्ट देखिन्छ । हाल सम्पदाहरू भूकम्प वा अन्य कारण देखाउँदै भत्काइँदै छन् । यसको मूल कारण आधुनिक निवासस्थान वा आधुनिक प्रयोजनको भावनाले प्रेरित गरेको देखिन्छ । विभिन्न कारणबाट देखिएका समस्याबाट उत्पन्न हुने सम्भाव्य खतराबाट बचाउने उद्देश्यले त्यस्ता कार्य गरिएको भए सोको पुनर्निर्माण कार्य मौलिकताअनुरूप हुनुपर्छ । अन्यथा, त्यस्ता महत्वपूर्ण प्रविधि एवं कला वा वास्तुकलाबाट निर्मित सम्पदा इतिहासको पानामा मात्र सीमित रहनेछन् । सम्पदाको महत्व विकसित देशका नागरिकले बुझी तिनको संरक्षण एवं सुधार गर्ने कार्य गर्छन् भन्ने मात्र होइन, हाम्रा देशका नागरिकले पनि त्यस्ता विषयमा जानकारी राख्छन् ।
व्यक्तिगत हित वा आर्थिक लाभका दृष्टिकोणले सम्पदाको मौलिता नष्ट गर्ने प्रयासलाई जनप्रतिनिधि वा राज्यले सचेत गराउनुपर्छ । उदाहरणस्वरूप जापानको टोकियोस्थित ललितकला विश्वविद्यालय क्षेत्रभित्र रहेको नाट्यशाला भवन भत्काउने योजना स्थानीय नगरपरिषद् र संघ–संस्थालगायत स्थानीय बासिन्दाको प्रयासले सो भवन पुरानै स्वरूपमा संरक्षण गरी सोमा पार्क निर्माण गरियो ।
यसले लाखौँको भावनालाई कदर गर्न सफल भएको पाइन्छ । उक्त भवनमा संगीतकारहरू सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने अवसर पाए आफूलाई संगीत विधामा सफल भएको ठान्छन् । त्यस्तै, लगनटोलस्थित भीमसेन थापाद्वारा निर्मित भवनलाई उदाहरण स्वरूप पुनर्निर्माण गरी भावी सन्ततिका भावना र आशालाई मुखरित गर्न सक्नुपर्छ।अर्को निर्देशित सिद्धान्तअनुरूप सांस्कृतिक मूल्य र मान्यताको उच्चतम मूल्य भएको सम्पदाको उचित संरक्षण एवं व्यवस्थापनजस्ता कार्यको गुरुयोजना निर्माण गरी संरक्षण एवं संवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । सम्पदाको मूल्य र मान्यताको विश्वव्यापी सिद्धान्त नेपालमा क्रमशः क्षय भइरहेको पाइन्छ।
ऐतिहासिक सम्पदाको महत्व कतिसम्म हुन्छ भन्ने जर्मनीको ड्रसडेनस्थित एउटा भवनलाई लिन सकिन्छ । उक्त भवन दोस्रो विश्वयुद्धपछि एउटा मात्र प्रमाणका रूपमा बचेको थियो । त्यसलाई भत्काइ सो क्षेत्रमा आधुनिक होटल निर्माण गर्ने जापानी कम्पनीले गुरुयोजना प्रस्तुत गरेको थियो । जुन योजनाअन्तर्गत लाखौँ पर्यटकको आगमन हुने र स्थानीयको आर्थिक उन्नति विशेष रूपले वृद्धि हुने एवं राज्यलाई ठूलो राजस्व प्राप्त हुने विषय समावेश थियो ।
यस योजनाबाट जर्मन सरकार अत्यन्त क्रुद्ध भएपछि जापानी कम्पनीले सांस्कृतिक संस्थान र संस्कृतिविद्सँग रायसल्लाह एवं सुझाव लिई प्रस्तावित योजनालाई परित्याग गरी पुरानै स्वरूपमा पुनर्निर्माण ग¥यो । जसले गर्दा सो क्षेत्रका मानिसले गौरवको पहिचान कायम भएकामा सन्तोष व्यक्त गरेका थिए । नेपालका सम्दर्भमा नयाँ सडकको प्रसंगलाई पनि प्रस्तुत गर्न सकिन्छ।
१९९० को महाभूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पुरानो सहर क्षेत्र विनाश भएको सो क्षेत्रमा विस्तारित सडक र सोको दुवै मोहोडामा युरोपियन शैलीका घर निर्माण गर्ने योजना बनाई नयाँ सडक क्षेत्र विस्तारित गरेको पाइन्छ । सो सडकको मध्यभागमा आफ्नो सालिक निर्माण गरी पूर्वबाट सालिकसम्म आउने भागलाई जुद्धसडक र मध्य भागबाट इन्द्रचोकसम्म जाने भागलाई नयाँसडक, मध्यभागबाट पुरानो नगरपालिकाको भवनसम्म जाने बाटोलाई शुक्रपथ नामाकरण गरी फराकिलो सडक निर्माणका साथै ती सडकको दुवै मोहोडामा युरोपियन शैलीका भवन निर्माण गर्न लगाए ।
नयाँ सडक निर्माण गर्ने क्रममा हनुमानढोका दरबार क्षेत्रको पूर्वीभाग खण्डित गरी बाटो पश्चिम एक लहरमा घर निर्माण गर्न लगाएका थिए । यस लहरमा घर निर्माण गर्दा दरबार क्षेत्रभित्र पर्ने कतिपय सांस्कृतिक महत्वका सम्पदा छोपिन र नष्ट हुने क्रममा तीसँग आबद्ध संस्कृति पनि विस्थापित हुन पुगे । सोको प्रत्यक्ष उदाहरणका रूपमा विशाल बजारको दक्षिणतर्फ अवस्थित महालक्ष्मीको मन्दिरलाई पनि लिन सकिन्छ । उक्त महालक्ष्मीको मन्दिरमा राजतन्त्रात्मक व्यवस्था रहुन्जेलसम्म नारायणहिटी दरबारबाट वर्षबन्धन पूजा वा अन्य विशेष पूजामा दरबन्दीअनुसार पूजाभाग पठाइने गरिन्थ्यो।
यस कार्यले महालक्ष्मीको मन्दिर दरबार क्षेत्रभित्रै रहेको स्पष्ट हुन्छ । यसै क्रममा नयाँ सडक निर्माण भएपश्चात् निर्मित पुरानो घरलाई सुधार गरी होटल कृष्टल सञ्चालनमा ल्याइएको थियो । सो होटलका मालिकले सो घरभित्र रहेको कुमारी स्थानलाई यथावत राखी होटल सञ्चालन व्यजस्थापन गरेका थिए । र, सर्वसाधारणका लागि कुमारी स्थानमा पूजा गर्न आवागमनका लागि सानो बाटोको समेत व्यवस्था गरिएको थियो । यी तथ्यबाट सो स्थानमा रहेको कुमारीस्थान मल्लकालीन भएको र त्यसलाई यथावत कायम राखी पूजा व्यवस्थापन मिलाइएको थियो । यसले गर्दा मल्लकालीन संस्कृतिको जगेर्नाका साथै सर्वसाधारणले कुमारीको पूजा गर्ने परम्परालाई निरन्तरता दिन पाएका थिए।
यी र यस्तै कैयौँ सम्पदा गोर्खा भूकम्पपछि संरक्षण र पुनर्निर्माण भइरहेका छन् । तथापि वैज्ञानिक र सिद्धान्तसम्मत गुरुयोजना कार्यान्वयन भएको छैन । निर्देशित सिद्धान्तविपरीत संरक्षण हुन लागेको रानीपोखरीलाई उदाहरणस्वरूप लिन सकिन्छ । तर, हाल काठमाडौं नगरपालिकाले पुरानै मल्लकालीन स्वरूपमा निर्माण गर्ने अठोट गरेकाले रानीपोखरी पुरानै स्वरूपमा पुनर्जीवित हुने देखिन्छ । यस्तै, प्रतिबद्धता र निर्देशित सिद्धान्तमा मौलिकता र संवेदनशीलता जोगिने विषयप्रति विश्वस्त हुन सकिन्छ।
(लेखक सम्पदाविद् तथा पुरातŒव विभागका पूर्वमहानिर्देशक हुन् ।)
प्रकाशित: १९ जेष्ठ २०७५ ०२:१३ शनिबार