प्रकाश श्रेष्ठ, वडाध्यक्ष
चन्द्रागिरि नगरपालिका– १२
तपाईं जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के काम गर्नुभयो ?
जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको ११ महिना भइसक्यो । हामी आउँदा स्थानीय तह अस्तव्यस्त थियो । हामी आएसँगै वडाले दिने सेवा प्रवाहलाई व्यवस्थित गर्दै आएका छौँ। सेवा प्रवाहसँगै विकास निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।
सतुंगलचोकदेखि हरियालीचोकसम्म ६ सय २५ मिटर सडक कालोपत्रे गर्यौँ । बलम्बुको प्रगतिनगरमा दुई सय ३५ मिटर सडकलाई कालोपत्रे गरेर व्यवस्थित गराएका छौँ । त्यस्तै, वडामा रहेका करिब १५ वटा कच्ची सडकलाई ग्राभेलिङ गरेका छौँ ।
जनप्रतिनिधि भएर काम गर्न कत्तिको सहज रहेछ ?
२०५४ मा पनि गाविस अध्यक्ष भएर काम गरेको अनुभव मसँग छ । जनताको पीरमर्का पहिलेदेखि नै बुझ्दै आएको हुँ । लामो समय स्थानीय तहको निर्वाचन हुन सकेन । जसकारण स्थानीय तह जनप्रतिनिधिविहीन बन्यो । त्यसैले जनप्रतिनिधिसँग जनताका धेरै चाहना र आकांक्षा रहेका छन् ।
तपाईंको वडामा खानेपानीको चरम अभाव छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
मेरो वडाको मुख्य समस्याका रूपमा खानेपानी देखिएको छ । पर्याप्त मात्रामा खानेपानी वितरण गर्न सकेका छैनौँ । पछिल्लो समय वडामा जनघनत्व बढेसँगै खानेपानीको चर्काे समस्या भएको हो । वडा कार्यालयले खानेपानी व्यवस्थापनका लागि पानीका मुहानको खोजी तीव्र बनाएको छ । त्यस्तै दुईवटा ड्रिप बोरिङ खन्नका लागि अध्ययन अघि बढेको छ । अबको दुई वर्षभित्रै प्रत्येक वडावासीको घर–घरमा पानीसहितको धारा पुर्याउनेछौँ ।
बलम्बु ब्लकभित्र बस्ने स्थानीयले वर्षाैंदेखि लालपुर्जा पाएका छैनन् नि ?
सदियौँदेखि नेवार समुदायको बसोबास हुँदै आएको क्षेत्र हो, बलम्बु ब्लक । त्यहाँ करिब चार सय घरधुरी बसोबास गर्दै आए पनि घर तथा जग्गाको लालपुर्जा पाएका छैनन् । त्यसैले वडा कार्यालयले सदियौँदेखि बस्दै आएका स्थानीयलाई लालपुर्जा वितरण गर्न कानुनी प्रक्रिया अघि बढाइसकेको छ । अबको केही महिनाभित्रै लालपुर्जा वितरण गर्नेछौँ ।
तपाईंको वडामा सडक लथालिंग छ, कहिले व्यवस्थित गर्नुहुन्छ ?
मेरो वडामा गुर्जुधारादेखि सतुंगलसम्म राजमार्ग पर्छ । जहाँ लामो समयदेखि सडक विस्तार हुन सकेको छैन । सडक विस्तार नहुँदा वडावासीले धुलोको सामना गर्नुपरेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समयमै सडक निर्माण नगर्दा समस्या भएको हो । सडक निर्माणका लागि बारम्बार अनुरोध गर्दा पनि आयोजनाले बेवास्ता गर्दा समस्या भएको हो । सडक निर्माणमा धेरै निकायको भूमिका हुने रहेछ । तर, एक–अर्काे निकायबीच समन्वय नहुँदा काम नभएको हो । वडा कार्यालयले आफ्नो मातहत पर्ने १५ वटा भित्री सडकमा ग्राभेलिङ थालिसकेको छ । त्यस्तै, १३ फिटे र २० फिटे सडक मापदण्ड कार्यान्वयनमा ल्याएर सडक विस्तारलाई अगाडि बढाइरहेको छ ।
चन्द्रागिरि रिङ रोडको योजना कता पुग्यो ?
चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि नगर क्षेत्रलाई समेटेर बृहत चन्द्रागिरि रिङरोडको योजना अघि सारेको छ । नगरपालिकाले रिङरोडको डिपिआर अध्ययन अगाडि बढाइसकेको छ । अबको केही समयभित्रै रिङरोड निर्माण कार्यलाई अघि बढाउनेछौँ । उक्त रिङरोडले नागढुंगा, दहचोक, सतुंगल, नैकाप, बलम्बु हुँदै पुरानो नैकाप क्षेत्रलाई समेट्नेछ । त्यस्तै, वडा कार्यालयले विष्णुदेवी त्रिवेणीघाटदेखि नैकाप बल्खुखोलासम्म दुवैतर्फ १०–१० मिटर चौडाइको करिडोर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाइरहेको छ ।
कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
आफ्नो कार्यकालसम्म स्वच्छ र हराभरा वडा बनाउने लक्ष्य लिएर अगाडि बढेको छु । मेरो कार्यकालभित्रै वडाका प्रत्येक सडक कालोपत्रे गर्नेछु । अबको दुई वर्षभित्रै वडावासीको प्रत्येक घरधुरीमा खानेपानीको व्यवस्थापन गर्नेछु ।
नगरपरिषबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषदबाट वडा कार्यालयका लागि दुई करोड ३५ लाख रुपैयाँ विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, सडक, ढल तथा अन्य विकास निर्माणलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छु।
स्वास्थ्यसम्बन्धी कस्ता कार्यक्रम अघि सार्नुभएको छ ?
जनप्रतिनिधि भएर आएसँगै वडावासीका लागि विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौँ । जसबाट प्रत्यक्ष रूपमा जनता लाभान्वित भइराखेका छन् । केही समयअघि मधुमेहसम्बन्धी स्वास्थ्य शिविर राखेका थियौँ । जसबाट ६ सय भन्दा धेरै जनता लाभान्वित भए । त्यस्तै, आँखा शिविरलगायत कार्यक्रम पनि निरन्तर अघि बढाएका छौँ । वडा कार्यालयमा रहेको स्वास्थ्य चौकीको सुधार गरेर निःशुल्क ल्याब सेवा थप गरेका छौँ ।
प्रस्तुति ; हिमाल लम्साल
प्रकाशित: १४ वैशाख २०७५ ०२:३१ शुक्रबार