जुम्लाको सिंजा गाउँपालिका ५ फुङ्ग्र गाउँकी ४५ वर्षीया जौकली रोकायालाई ढाँड र खुट्टाको जोर्नी दुख्ने समस्या थियो। तातोपानी धारामा नुहाउन थालेदेखि उनलाई सन्चो भएको छ।
जौकली जस्तै तातोपानी धारामा नुहाएर विभिन्न समस्या ठीक भएको सुनाउने धेरै भेटिन्छन्।विभिन्न अस्पतालमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरूका लागि आजभोलि कर्णालीकै पर्यटकीयस्थल मानिने जुम्लाको तातोपानी गाउँपालिका २ जर्मी गाउँमा अवस्थित तातोपानी धारा प्राकृतिक उपचारका लागि आकर्षक स्थल बन्दै गएको छ।
त्यहाँ बाह्य तथा आन्तरिक पर्यटकको भीड बढ्दै छ। 'उपचार केन्द्रको गन्तव्य' बनेको तातोपानी धारा पछिल्लो समय विदेशी पर्यटकहरू समेत बाक्लो रूपमा आउने गरेको स्थानीय बताउँछन्। बाथरोग, ढाँड दुख्ने, घुँडा दुख्नेलगायतका समस्याले ग्रसित मानिसहरू तातोपानी नुहाउन पुग्ने गर्दछन्।
मूलबाट निस्कने प्राकृतिक तातोपानी धारामा नुहाएपछि चिसोबाट हुने रोग, ग्यास्ट्रिक, सडके मर्केको रोगीहरू निको भएर फर्किने गरेका कारण दर्जनौं बिरामीहरू आउने गरेको स्थानीय बताउँछन्। तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिसजस्ता रोग निको हुने जनविश्वास यहाँ छ।
त्यहाँ महिला तथा पुरुष नुहाउने छुट्टाछुट्टै धारा छन्। उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महङ्गा अस्पतालमा पुगेर उपचार गर्दासमेत निको नभएको रोग तातोपानी धारामा नुहाएर निको भएको बिरामीहरू बताउँछन्।
जुम्लाको छिमेकी जिल्ला कालिकोटकी ७६ वर्षीया रन्कली शाहीले आफू निरन्तर चार/पाँच वर्षदेखि उक्त नुहाउन आउने गरेको सुनाउँछिन्। उनले आफ्नो ढाँड र घुँडा दुख्ने समस्या रहेको तर, अहिले निको भएको सुनाइन्।
अर्की बिरामी मुगुकी ५३ वर्षीया धनाकुमारी रोकायाले पनि बाथरोग, ढाँड दुख्ने, घुँडा दुख्ने, समस्याले ग्रसित छन्। उनले पनि दुई वर्षदेखि निरन्तर नुहाउन आउने गरेको बताउँछिन्।
धाराको सञ्चालन तथा व्यवस्थापनका लागि तातोपानी गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ। कार्यविधिअनुसार नयाँ शुल्क निर्धारण गरिएको छ। टिकट काट्ने सिस्टम छ। तातोपानी धारामा नुहाउनका लागि सम्बन्धित वडाका नागरिकलाई १० रुपैयाँ, गाउँपालिकाभित्रका स्थानीयलाई ३० रुपैयाँ, जिल्लाभित्रकालाई ४० रुपैयाँ र जिल्ला बाहिरको हकमा ५० रुपैयाँ र विदेशी नागरिकलाई एक सय रुपैयाँ शुल्क लाग्छ।
यहाँ त्यस्तो शुल्कबापत् मासिक ८० हजारसम्म रकम जम्मा हुन्छ। प्रतिदिन एक सय ८० जनाभन्दा बढी सर्वसाधारण नुहाउन आउने गरेका छन्। तातोपानी व्यवस्थापनका लागि तातोपानी पर्यटक व्यवस्थापन समिति गठन गरिएको छ।
तातोपानी गाउँपालिका २ का अध्यक्ष चन्द्रमान बुढाका अनुसार तातोपानीमा नुहाउन आउनेको व्यवस्थापन र कुण्डको संरक्षण गर्ने उद्देश्य हो। तातोपानीमा कालीकोट, मुगु, जाजरकोट, डोल्पाबाट मानिसहरू नुहाउन पुग्छन्। शनिबार र बिदा दिन अझ धेरै पर्यटक चाप हुन्छ।
प्रकाशित: १५ माघ २०८१ २१:२८ मंगलबार