अन्य

‘रोविन्सन क्रुसो’को निधन

यस्ताे पनि!

इटालीका रोविन्सन क्रुसोको परिचय बनाएका माउरो मोरान्डीको  ८५ वर्षको उमेरमा गत साता निधन भएको छ। माउरोले भूमध्य सागरको एउटा सुनसान टापुमा ३० वर्षभन्दा बढी समय बिताएका थिए। उनलाई टापुबाट इटालेली सरकारले फिर्ता ल्याएको तीन वर्षमा उनको निधन भएको हो। उनलाई सरकारले निर्जन टापुबाट उद्धार गरेर ल्याएपछि मिडियाले उनलाई इटालेली रोविन्सन क्रुसो नामकरण गरेका थिए।

सन् १९८९ मा उनी आफ्नो निजी पानी जहाज लिएर पोलिनेसिया घुम्न निस्केका बेला दुर्घटनाग्रस्त हुन पुगेको थियो। उनी जसोतसो बाँचेर इटाली अधिनस्थ सार्डिनियास्थित बुडेली टापुमा पुगे। त्यहीँ उनले एकान्तिक जीवन बिताउन थाले। त्यसो त सो टापुमा एक जना सेनाले सुरक्षा दिइरहेको थियो। ती सेनाले अवकाश लिने बेला भएकाले माउरोलाई टापु जिम्मा लगाएर गएका थिए। त्यही टापुमा उनले तीन दशक कोरल, ग्रेनाइट ढुङ्गा र विभिन्न खपटाहरूले बनाएको झुप्रोमा बस्न थाले।

उमेरले ८० वर्ष नाघेको चाल पाएपछि सन् २०२१ मा इटालेली अधिकारीहरूले उनलाई टापुबाट उद्धार गरी अन्यत्रै लगे। त्यसयता सरकारले सो टापुलाई संरक्षण क्षेत्र घोषणा गरेको छ।

टापुमा ३२ वर्ष उनले समुद्र तटहरू सफा राखे र दिउँसो घुम्न आउनेहरू पर्यटकहरूलाई त्यहाँको वातावरणका बारेमा जानकारी दिई पथप्रदर्शकको समेत काम गरे। पर्यटकहरूले दिने केही रकम तथा रक्षकका रूपमा काम गर्दा पाएको तलबबाट आउने रकमबाट उनले खान्कीहरू पाउँथे। उनले आफ्नो सानो घरलाई सौर्य ऊर्जाले उज्यालो बनाएका थिए।

सरकारले उनलाई ‘स्वर्ग’बाट निकाला गरेपछि उनले आफू नयाँ यात्राका लागि तयार भएको बताएका थिए। उनी जीवनको दौडधूपबाट वाक्कदिक्क भएर सरल जीवन बिताउन निस्केका थिए। आफ्नो जीवन त्यो टापुमा पुगेपछि धन्य बनेको प्रतिक्रिया मिडियालाई दिएका थिए।

गएको गर्मी याममा उनी एउटा सामान्य दुर्घटनामा परेपछि सार्डिनिया शहरको सस्सारी अस्पतालमा भर्ती गरिएको थियो। त्यहाँबाट उपचारपछि उनको जन्मस्थान मोदेनामा आराम गरिरहेका थिए। उनले सन् १९८९ सम्म त्यही गाउँमा शिक्षकका रूपमा काम गरेका थिए।

गत साता उनको मोदेनामा नै निधन भएको इटालेली मिडियाहरूले जनाएका छन्। फेसबुकमा उनको निधनपछि श्रद्धाञ्जली व्यक्त गर्नेहरूको ओइरो लागेको छ। गाउँलेहरूले उनको दिल सधैँ बुडेली टापुमा रहेको बताउँदै उनको खरानी बुडेलीको टापुमा छरिदिने जनाएका छन्।

प्रकाशित: २६ पुस २०८१ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App