अन्य

ढकमक्क फूल, चिरिच्याट घर

काठ र ढुंगाले बनेका घर। जस्ताको छानो। घरहरू सफा र चिटिक्क छन्। हरेक घरका बार्दलीमा गमला राखिएका छन् । ती गमलामा विभिन्न प्रजातिका फूल रोपिएका छन्। लाग्छ– यी फूलले गाउँमा आउने जोकोहीलाई स्वागत गरिरहेका छन्।

यो दृश्य हो, पाँचथरको दक्षिणी क्षेत्रमा पर्ने रवि गाउँको। रवि गाउँमा मात्र होइन, दक्षिणी क्षेत्रको मिक्लाजुङ गाउँपालिकाका घर पनि चिटिक्क पारिएका छन्।
प्रायः घरमा फूलबारी पनि छ। फूलबारी हेर्दा लाग्छ– फूल जोगाउन स्थानीयले निकै मेहनत गरेका छन्।

रवि भेडेटार सडक आसपासका भित्री बस्तीहरू फूलले ढकमक्क छन्। स्थानीयले पनि फूल जोगाउन निकै सचेत भएको देखिन्छ।

हरेक घरका बार्दलीमा गमला राखिएका छन्। ती गमलामा विभिन्न प्रजातिका फूल रोपिएका छन्। लाग्छ– यी फूलले गाउँमा आउने जोकोहीलाई स्वागत गरिरहेका छन्।

त्यसो त यी बस्ती बाह्रैमास फुलले ढकमक्क छन्। फूलले गाउँको शोभा बढाएको स्थानीय बताउँछन्।

फूलको स्याहार गर्न महिला लागिपरेका छन्। बिरुवा उत्पादनदेखि फुल्ने समयसम्म निकै मेहनत गर्नु पर्ने बताउँछिन्, स्थानीय सरस्वती राई।

यहाँका स्थानीयले आफै बिरुवा उत्पादन गर्छन्। पछिल्लो समय ग्राहकहरू घरमै बिरुवा किन्न आउने गरेको स्थानीय बताउँछन्।

बिरुवा बिक्री हुन थालेपछि घरमा फूल रोप्ने रहर लागेको उनी बताउँछिन्। ‘दल राखेर बिरुवा उत्पादन, गोडमेल, पानी, मलजस्ता काममा खटिरहनुपर्छ,’ राई भन्छिन्, ‘यहाँका सबै घरमा फूल रोपिएका छन्।

कतिले भने जमिनमा पनि फूल रोपेका छन्। राईका अनुसार गाउँमा स्थानीयले बाह्रैमास फुल्ने फूल रोपेका छन्।

उनका अनुसार गाउँमा स्थानीय जातका बाहेक ‘एन्जेरिया’, ‘सेनेरिया’, ‘अर्किट’ (सुनाखरी), ‘बैगुनी’लगायत फूल रोपिएको छ।

स्थानीयले सुरुमा दार्जिलिङबाट फूलका बिरुवा ल्याएर रोपेका हुन्। अहिले भने गाउँमै बिरुवा उत्पादन हुन थालेको छ।

पहाडी क्षेत्र भएकाले पनि चिसो मौसम तथा हरियाली वातावरण भएको फूलले थप आर्कषक देखाएको पाइन्छ। पछिल्लो समय छिमेकी गाउँमा समेत सिको गर्न थालेको स्थानीय बताउँछन्।

यहाँका सप्तमी, कुरुम्बा, लेकगाउँ, कन्याटारलगायत क्षेत्रका घर फूलले ढकमक्क छन्।

बजार क्षेत्रमा घरमा पनि गमलामा फूल रोपिएका छन्। पछिल्लो समय घरमा फूल रोप्नु प्रचलन जस्तै बनेको स्थानीयको भनाइ छ।

पछिल्लो समय गमलामा फूल रोप्नु संस्कृति बनेको स्थानीय देवेन्द्र राई बताउँछन्। तरकारी भन्दा फूल जोगाउन मेहनत हुने गरेको उनको भनाइ छ।

फूललाई विभिन्न किसिमको बिम्ब र प्रतीकका रूपमा लिइन्छ। फूलले माया, ममता र स्नेहको भान दिने गरेको छ। धार्मिक विश्वास धेरै भएकाले फूल रोप्नु संस्कृति बनेको स्थानीय बताउँछन्।

प्रकाशित: २४ चैत्र २०७४ ०२:१० शनिबार

ढकमक्क फूल चिरिच्याट घर