अन्य

नुवाकोटमा सिन्दुर जात्राको रमझम

नुवाकोटमा सिन्दुरे जात्राको रमझम देखिएको छ । फागुपूर्णिमाका अवसरमा लाग्ने जात्रा यसपटक फागुन १६ गते सुरु भएको हाे।

जात्रामा नुवाकोट साततले दरबार परिसरमा अवस्थित भैरवीदेवी मन्दिरका पुजारी एवं धामी हरिमानसिंह डंगोल र उनकी पत्नी ज्ञानुमाया डंगोललाई पूजा गर्ने, देशमा आउँदो वर्ष के हुन्छ भनेर भविष्यवाणी गर्ने, लिंगो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा गर्ने, धामी–धमिनीको जालपादेवी मन्दिर प्रस्थान गर्ने तथा जालपादेवी मन्दिरमा पशुबलि दिने गरिन्छ ।भैरवीदेवी र जालपादेवीबीच दिदीबहिनीको एकताका रूपमा समेत लिइने यो जात्रा चैत १९ गते अपराह्नसम्म मनाइने द्वारे महेन्द्रकुमार शाहीले बताए।

‘स्थानीयको सहयोगमा श्रीनाथ गण देवीघाटबाट नेपाली सेनाले १६ गते साँझदेखि सुरु गरी राति ९ बजे बुढीदेवताको स्थान र त्यसपछि राति ११ बजेदेखि सुरु गरी मध्यरातको १ बजे भैरवीदेवी मन्दिर परिसरमा लिंगो उठाए,’ शाहीले भने, ‘भैरवी लिंगो उठाउने काम पूरा भएसँगै भैरवी देवी मन्दिरको रथसहित धामी–धमिनी लगायतको टोली शनिबार देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा प्रस्थान गरेको थियो ।’धामी–धमिनी शनिबार साँझ भैरवी मन्दिरबाट नुवाकोट वन, बट्टार, पुरानो पाटी, इनारपाटी, बाणा–चौतारो, चन्द्रज्योति माध्यमिक विद्यालय हुँदै देवीघाट पुगेका थिए।

जात्रामा धामीले देशमा आगामी वर्ष हुने घटनाक्रमको भविष्यवाणी गरेर राष्ट्रपतिकहाँ लैजाने प्रचलन छ । धामीले गोप्यरूपमा गरेको भविष्यवाणी केही विशेष व्यक्तिलाई मात्र थाहा हुन्छ भन्ने मान्यता छ।

अघिल्ला वर्ष पदमार्गबाट धामी लगिए पनि यस वर्ष धामी–धमिनीलाई करिव तीन किलोमिटरसम्म सवारीसाधनमा लगिएको थियो । उमेर बढ्दै गएको र शरीर पनि कमजोर भएको भन्दै उनीहरूलाई सवारीसाधनमा लगिएको हो ।‘यात्राका क्रममा जात्रालुहरूले धामी–धमिनीलाई नुहाएको स्थानदेखि मन्दिरसम्म जालपादेवी र भैरवीदेवी माताको जय–जयकार गरेका थिए,’ शाहीले भने, ‘जालपादेवी मन्दिर रहँदा धामीले पशुचौपायको बली भोग गर्ने र नयाँ वर्षको भविष्यवाणी गर्ने गर्छन्।’

धामीले देशमा आगामी वर्ष हुने घटनाक्रमको भविष्यवाणी गरेर राष्ट्रपतिकहाँ लैजाने प्रचलन छ । धामीले गोप्यरूपमा गरेको भविष्यवाणी केही विशेष व्यक्तिलाई मात्र थाहा हुन्छ भन्ने मान्यता छ ।धामीधमिनी भैरवी मन्दिर पुगेपछि सिन्दुरे जात्राको विशेष चहलपहल रहन्छ । यस वर्ष जात्रा समापन गर्ने साइत चैत २७ गते जुरेको बताइएको छ।

 

 

प्रकाशित: १९ चैत्र २०७४ ०२:१८ सोमबार

नुवाकोटमा सिन्दुर जात्राको रमझम