अन्य

बासी मान्छे

शिष्टताले कविता लेख्न छाडी र एकै पटक दुई जना पुरुषसँग प्रेम गर्न थाली ।
पहिलापहिला ऊ कविता लेखिसक्नुलाई ‘स्खलित’ हुनु हो भन्थी । कविताले दिने स्खलनको आनन्द आफूलाई बासी लाग्न थालेको उसले एउटा सार्वजनिक कार्यक्रममा बताएकी थिई । त्यसपछि उसले कविताकर्म चटक्कै छाडी र प्रेमको दुनियाँमा आफूलाई डुबाउन थाली । मोनोगामी अर्थात् एकनिष्ठता उसको सबैभन्दा अप्रिय काम हुन थाल्यो । र, ऊ बहुप्रेममा रमाउन थाली ।
उसले घरको कोठामा रहेको किताबको कलात्मक दराज बेचिदिई । एउटा बाहेक सारा किताब ‘खाली सिसी पुराना कागज’लाई पठाइदिइ, निःशुल्क । करिब ३० किलो कागज सित्तैमा पाउन लागेको कुरा सुरुमा त खाली सिसी पुराना कागजवालालाई पत्यारै लागेको थिएन । दराज पनि आधा मूल्यमा पठाइदिई ।
कोठामा एउटै मात्र पुस्तक बाँकी थियो– भारतीयमूलकी अमेरिकी सेलेब्रिटी पद्मा लक्ष्मीको ‘लभ, लस एन्ड ह्वाट वि एट’ नामक आत्मकथा । र, पुस्तक दराज भएको स्थानमा पद्मा लक्ष्मीको फोटो झुन्ड्याई शिष्टताले । भित्तो ह्वाङ्ङ थियो ।
‘जिन्दगीमा एक पटक पद्मा लक्ष्मीलाई नभेटी त म मर्दिनँ,’ उसले धेरै पटक यो वाक्य दोहो¥याइरही आफ्नै मनसँग ।
पद्मा लक्ष्मी उसको आदर्श बन्न पुगेकी थिई, सन् २०१६ देखि । शिष्टतालाई धेरै कुरा थाहा छैन, पद्मा लक्ष्मीबारे । यत्ति थाहा छ– ऊ मोनोगामी होइन । उसले पुस्तकमा आफूले एकै पटक दुई पुरुषसँग प्रेम गरेको कुरा खुलस्त भनेकी छ । किताब लेख्नेताका ऊ सेलेब्रिटी तथा विवादित लेखक सलमान रुस्दीसँग बस्थी । केही समयपछि रुस्दी पनि छाडियो पद्मा लक्ष्मीद्वारा । मिडियामा पद्मा लक्ष्मीलाई रुस्दीले छाडेको आशयका समाचार आए, तर कुरा अर्कै थियो । रुस्दीचाहिँ पद्माद्वारा छाडिएका थिए । उता, रुस्दीद्वारा छाडिएका नारी कहाँ कम थिए र ! रुस्दी प्रेमिका फेर्न खप्पिस थिए । तर, यिनै खप्पिसलाई छाडिदिएकी थिई पद्मा लक्ष्मीले । ‘यो चानचुने साहसको काम होइन’ शिष्टतालाई यस्तो लागेको थियो ।
शिष्टता भन्थी– ‘मद्वारा पुरुषहरु छाडिनुपर्छ, म पुरुषद्वारा छाडिन चाहन्न । पुरुषले महिला छाड्नु नितान्त बासी काम हो । यो काम त सनातनदेखि विशेषगरी मेरो समाज र संसारमै हुँदै आएको छ । अब पुरुषलाई मैले छाड्नुपर्छ सकेसम्म धेरैलाई । महिलाले हिम्मत बढाउने एउटा प्रमुख उपाय यही नै हो ।’
‘यसको अर्थ पद्मा लक्ष्मी मेरो अल टाइम फेभोरिट लेखकचाहिँ होइन र हुन सक्दिन । पद्मा लक्ष्मी भन्दा अझै बढी स्वतन्त्र आकाशमा उड्ने कुनै चर्चित लेखिका मेरो आदर्श बन्न सक्छे,’ उसले भनेकी थिई, ‘खोइ आजसम्म त्यस्तो पात्र पाएकै छैन । म खोजिरहेकी छु । कुनै दिन अवश्य भेट्ने छु ।’
शिष्टताका कुरा सुनेर प्रश्न उठाउनै नसकिरहेको पत्रकारले पाइन्टको खल्तीबाट हाते रुमाल निकालेर अनुहारको पसिना पुछ्यो । जब शिष्टता धाराप्रवाह बोलिरहेकी हुन्थिन्, पत्रकार अन्तै हेर्न थाल्थ्यो । शिष्टताको कथा भन्ने शैली आकर्षक थियो । पत्रकार लठ्ठ परिरहेको थियो । उसले अनुहारमा आँखा जुधाएर हेर्न नसक्नुको कारण थियो– शिष्टताको अति बोल्डनेस ।
उसले विस्तारै शिष्टताका यौन जीवनको सन्दर्भ कोट्याउने विचार गरिरहेको थियो । तर, शिष्टताले उसलाई त्यो मौका दिइरहेकी थिइन । पत्रकारको अनुहारमा सीधा हेर्दै ऊ आफ्ना कथा सुनाइरहेकी थिई । आफ्नो स्टोरीमा खुलस्त ढङ्गमा एउटी सुन्दरीको यौनवार्ता पस्कन सक्दा बजारमा हटकेक हुने पत्रकारको अनुमान थियो । शिष्टताको बोल्ड कुराकानी सुनेर पत्रकारको अनुहार नीलो–कालो बन्न पुगेको थियो । एउटी महिलाले यसरी पुरुषका बारेमा खुलस्त बोलेको उसले त्यस मितिसम्म सुन्न पाएको थिएन ।     
कहिल्यै कविता नलेख्ने मात्र होइन, नपढ्ने र कविता लेख्नुलाई वाहियात काम भन्ने नवीनसँग शिष्टताको प्रेम चलेको चार वर्ष पुग्नै लागेको थियो । तर, कविता मन नपराउने नवीनसँगको हिमचिमका कारण शिष्टताले कविता लेख्न छाडेकी भने होइन । नवीन नवविवाहित थियो भने शिष्टता डिभोर्सी । ३८ वर्षीय नवीन नवविवाहित हुनुको कारण विवाहप्रतिको उसको नकारात्मक चिन्तन थियो । शिष्टताको एउटा छोरो थियो, त्यो पनि १६ वर्षमा हिँड्न थालिसकेको थियो । र, ऊ बाबुसँग बस्थ्यो । यसो बेलाबखत समय मिलाएर ऊ छोरालाई भेट्थी । शिष्टतासँग छोराले भेटेको थाहा पायो भने बाबुचाहिँले खुब कुट्थ्यो । त्यसकारण पनि शिष्टता सकेसम्म भेट्न चाहन्नथी वा कममात्र भेट्थी ।
आमा–छोरा फेसबुकमा साथी थिए, तर त्यहाँ नाता खुलाइएको थिएन । मौका मिल्यो कि ती प्रायः साँझपख फेसबुक च्याटमा बस्थे । दिनभरिका कुरा सुनाउँथे । गज्जबको मित्रता थियो दुईबीच ।   
‘आफूले जन्माएको सन्तानसँग भेट्न मन नलाग्ने तिमी कस्ती आमा हौ शिष्टता ?’ एक दिन नवीनले पहिलो पटक छोराबारे प्रश्न गरेको थियो । शिष्टतालाई प्रश्न बिलकुलै मन परेको थिएन । त्यसपछि पनि थुप्रै पटक नवीनले यही प्रश्नको झटारोले शिष्टतालाई हिर्काएको थियो । ऊ हरेक पटक नवीनको प्रश्न नसुनेझैँ गरी बस्थी । नवीनले प्रश्न दोहो¥याउन छाडेको थिएन ।
‘तिमी अचेल निकै बासी प्रश्न सोधेर मलाई किन हैरान पार्छौ नवीन,’ शिष्टताले दिक्क मान्दै एक दिन प्रतिप्रश्न गरिदिएकी थिई, ‘तिमी सन्तान जन्माएर तिनलाई आजीवन सँगै राख्न चाहन्छौ भने मोनोगमी बन । र, त्यस्तै बनाऊ धर्मपत्नीलाई पनि कसले रोक्छ र तिमीलाई ? तिमी मसँगको सम्बन्ध तोड्न स्वतन्त्र छौ । तर, त्यसको संकेत अलि चाँडो देऊ, किनकि म तिमीद्वारा छाडिन चाहन्नँ । म आफू तिमीलाई छाड्न चाहन्छु ।’
‘मलाई मोनोगामी पुरुष बासी मान्छे लाग्छ,’ उसले अलि चर्को आवाजमा थपेकी थिई, ‘र, म आफू त्यस्तो बन्न चाहन्नँ । तिम्रो चरित्र म अन्य महिलासँगको सम्बन्धबाट मापन गर्दिनँ । म यौनक्रियालाई मान्छेको चरित्रसँग जोडेर हेर्न हुन्न भन्ने मान्यता राख्छु । चरित्र जोड्ने हो भने आर्थिक इमानदारीलाई मापन गरिनुपर्छ ।’
नवीन चुपचाप शिष्टताको क्रियाकलाप हेरिरहेको थियो ।
केहीबेरमा ऊ फुस्फुसायो– ‘अशिष्ट शिष्टता ।’

पत्रकार निकै उत्साही र दङ्गदास थियो । सहरमा चर्चाको चुलीमा रहेकी शिष्टतासँग अन्तरङ्ग कुराकानी गर्न पाएकोमा । पत्रकार त्यसबखत अलि कम चलेको पत्रिकामा आवद्ध थियो । उसलाई प्रभावशाली स्टोरी लेखेर देशको एक नम्बर दैनिकमा जागिर खानु थियो । त्यो सपना देख्दै ऊ नयाँनयाँ विषय र अनौठा पात्रको खोजीमा लाग्थ्यो । यसपटक भने आफ्नो स्टोरीले बजारमा तरङ्ग ल्याउने र आफूलाई सेलेबल रिपोर्टर बनाउने कुरामा ऊ विश्वस्त थियो । उसले शिष्टताका अलि नजिक जाँदै प्रश्न थप्यो ः
त्यसपछि कति समयसम्म तपाईं र नवीनको सम्बन्ध कायम रह्यो म्याडम ?
‘तिम्लाई यतिखेर लागिरहेको हुनुपर्छ मिस्टर पत्रकार, कसरी शिष्टता एउटै पुरुषसँग ४ वर्ष बसेकी होली ! प्लिज तिम्रो भ्रमको पर्दा हटाऊ र बुझ त्यतिखेर पनि नवीनमात्र मेरो प्रेमी थिएन । हरेक पुरुषसँग नयाँ प्रेम आरम्भ गर्दा म सुखद अनुभूति गर्छु । कुनै अलि पुरानो प्रेमीसँग प्रेम कायमै रहोस् र अर्को नयाँ पात्रसँग पनि प्रेम होस्, त्यसबखत उही पुरानो पनि ताजा लाग्दै जान्छ । नयाँ प्रेममा पर्दा म आफूलाई निकै स्वतन्त्र महसुस पनि गर्छु । कसैसँग पहिलो पटक प्रेम गर्दा र त्यसबारे बोल्दा एउटा नयाँ अर्थ खुल्छ मभित्र । मलाई थाहा छ– प्रेम अनन्त हुन्छ । आकाशजस्तै अनन्त प्रेमलाई म किन एउटा कोठामा थुनेर कसैकी पत्नी बनेर समाप्त पारुँ ? एकै समयमा फरकफरक व्यक्तिसँग प्रेम गर्नु भनेको फरकफरक संस्कृति र भाषा सिक्नुजस्तै हो । एउटा व्यक्तिबाट प्रेम अर्कोमा सर्नु र कविता अनुवाद हुनु उस्तै लाग्छ मलाई । एउटा भाषा त्यो पनि नेपालीमा लेखिएको कविता कतिलै नै पढ्लान् र ! कसैकी असल अथवा मोनोगामी पत्नीले प्रेमको गहिराइबारे कति नै अनुभूत गर्न सक्ली र !  
तिम्लाई थाहा छ पत्रकार महोदय ?
एथ्नोग्राफिक एट्लसका अनुसार संसारका १२३१ समाजमध्ये १८६ मात्र एक पत्नीवाला छन् । ४५३ चाहिँ अवसर मिल्दा बहुपत्निक हुन्छन् र ५८८ भने अधिकांश समय बहुपत्निक हुन रुचाउनेखालका छन् । र, महिलाका हकमा भने बहुपति राख्ने संख्या केवल ४ रहेको पाइएको छ । अब तिमी नै भन पत्रकार हामी कस्तो महिला अधिकारको कुरा गर्दै आइरहेका छौँ ? यो संसार नै महिलामाथि विभेद गर्छ, महिलालाई कजाउन पाउँदा आनन्दित हुन्छ । बहुप्रेम गर्ने पुरुष पनि प्रायः कुमारी महिला खोज्छ विवाह गर्न र प्रेम गर्नैका निम्ति ।
तिमीलाई थाहै होला पत्रकार, हरेक साल सरकारले तिजमा महिलालाई बिदा दिन्छ । त्यो बिदाको उद्देश्य महिलामा व्याप्त फोहोरलाई मिल्काउन समय दिनु हो रे ! यो देशका अधिकांश महिला त्यही तिजको बिदामा आफूलाई सबैभन्दा बढी स्वतन्त्र महसुस गर्छन् । तिजमा बिदा दिन बन्द होस् त, यहाँ आफूलाई महिलावादी भन्नेहरु सडक आन्दोलनमा उत्रन्छन् ! सरकारविरुद्ध नाराबाजी गर्छन् । कस्तो बासी चिन्तन हाम्रा दिदी–बहिनीको ? हामी महिलाको शरीरमा जमेर बसेको के त्यस्तो फोहोर छ र त्यसलाई फाल्न सरकारी बिदा नै आवश्यक पर्छ ! पत्रकार, म तिम्रो पत्रिकामार्फत तिजको बिदा नदिन सरकारलाई दबाब दिन चाहन्छु । मैले आजका मितिसम्म तिजमा कहिल्यै ब्रत बसिनँ र राता–हरिया रङ्ग शरीरमा पर्न दिइनँ अनि पहेँलो धातुले गर्धन बाँधिनँ पनि । मलाई आफ्नो शरीरले सुन बोक्नु पर्दा गहुँ्रगो लाग्छ । मैले कहिल्यै आफ्ना कुनै पुरुष साथीको दीर्घ जीवनको कामना पनि गरिनँ ।
तिम्रो पत्रकारिताको सिद्धान्तमा ‘नोथिङ इज स्टेल द्यान एसटर्डेज न्युज’ भनिन्छ क्यारे ! तर, म जति पनि अखबार पल्टाउँछु, थोत्रा र बासी सूचनाबाहेक नयाँ कुरो कमै देख्छु । जस्तो, तिजको समय आसपास हरेक अखबारका पृष्ठहरु राता लुगा, हरिया चुरा–पोते र गहना नामको दाम्लो बाँधेका महिलाको तस्बिर छाप्नु । महिलाले नाचेको तस्बिर छाप्नु । तिमी नै भन यो कुनै नयाँ काम हो ? कति वर्षदेखि अखबारहरु यही कुरा छापेर पाठकलाई बासी चिन्तन तथा सूचना बाँडिरहेका छन् ?
अब अर्को एउटा नयाँ कुरा पनि यतिखेर थाहा पाइराख प्रिय पत्रकार ।
एकनिष्ठता मन पराउने समाजले पारपाचुकेलाई राम्रो मान्दैन, त्यसमा पनि महिलाका हकमा । कतिपय पश्चिमी मुलुकमा पारपाचुके हुने दर आधा नाघिसकेको छ । अर्थात् सय जना विवाहित जोडीमध्ये ५० जना कालान्तरमा पारपाचुकेको बाटो रोज्न रुचाउँछन् । त्यो खुल्ला समाजमा पारपाचुके गर्नेमध्ये अधिकांशले तीन पटक पुनःविवाह गरेको देखिन्छ । देख्दा बहुविवाहजस्तै देखिए पनि कानुनी रुपमा एक पटकमा एक जनालाई मात्र पत्नी बनाउँछन् तिनले ।’
अरु पनि थुप्रै कुरा र अन्तर्राष्ट्रिय अभ्यासबारे शिष्टताले बताएकी थिई, तर पत्रकारले सम्झन सकेन । ऊ साँझ कोठामा फर्केर स्टोरी लेख्न थाल्यो । लेख्दालेख्दै त्यो तीन हजार शब्द पुग्यो । अलिकति त छोट्याउनुप¥यो, उसले सोच्यो । उसले आद्योपान्त आफ्नो स्टोरी पढ्यो र काट्ने ठाउँ खोज्यो, तर फेला पार्न सकेन । उसले आफ्नो पत्रकारिताको डेढ दशकको यात्रामा एउटै स्टोरी पटकपटक पढेर स्वसम्पादन गरेको यो पहिलो पटक थियो । छ्यास्स लेख्यो, पुछारमा शीर्षक सुझायो कहिलेकाहीँ र डेस्क एडिटरलाई बुझायो, काम सकिइहाल्यो । सर्वमान्य सिद्धान्त यही थियो, नेपाली पत्रकारको जसलाई उसले पनि आत्मसाथ नगर्नु उल्टो बाटो हिँड्नु वा नयाँ बाटो बनाउन खोज्नु हुन्थ्यो । त्यो चुनौती मोल्न ऊ पनि कहिल्यै तयार भएन । अरुलाई जस्तै उसलाई पनि नयाँ बाटो कठिन लाग्थ्यो ।
थुप्रै राजनीतिक नेतासँग कुराकानी गरिसकेको उसका निम्ति शिष्टता बिलकुलै फरक पात्र थिई । राजनीतिक व्यक्तिका विचार उसलाई अहिले निकै बासी लागिरहेको छ । कतिपय नेताहरु त ‘मेरो कुरो तिम्लाई थाहा छँदैछ यस्सो मिलाएर लेख्देऊ न विवाद नहुने गरी’ भन्थे उसलाई । उसले यतिखेर ती पात्रलाई पनि सम्झ्यो ।   
अहिले एउटा पात्रसँगको साक्षात्कारले उसको सोचमा परिवर्तन आएको छ । नयाँ एङ्गलबाट स्टोरी लेख्ने मात्र होइन, त्यसलाई पटकपटक पुनर्लेखन गर्ने जाँगर पलाएको छ । पत्रकार आफूमा आएको परिवर्तनसँग अत्यन्तै खुसी थियो ।  
पत्रकारले आफ्नो स्टोरीको अन्त्य यसरी गरेको थियो ः
शिष्टता भन्छिन्, ‘मेरो बोल्ड अवधारणा र त्यस्तै जीवन शैलीका कारण विस्तारै म आफ्नै समाजमा महिला मैत्री व्यक्तिका रुपमा चिनिन थालेकी छु । यद्यपि, मसँग खुलेर बोल्न थोरै महिला मात्र सक्छन् । ती सकेसम्म मलाई छलेर वा आँखा अन्तै मोडेर हिँड्छन् । देख्नेलाई लाग्न सक्छ– ती मसँग तर्केर हिँडिरहेका छन् । तर, भित्रभित्रै तिनले ‘आइडल’ मलाई नै बनाएका छन् । मेरो जीवनसँग अधिक प्रभावित भएका छन् । ‘म पनि त्यस्तै बन्न सके’ भनी सोच्छन्, तर बन्ने हिम्मतचाहिँ गर्दैनन् । एकै पटक धेरै पुस्तक पढ्न थाल्नु र दुई वा त्यसभन्दा बढी पुरुषसँग प्रेम गर्न थाल्नु उस्तैउस्तै हो । मैले दल परिवर्तन गर्ने राजनीतिक प्राणीहरुलाई कहिल्यै घृणा गरिनँ । हिजो राम्रो लागेको सिद्धान्त आज नराम्रो लाग्न सक्छ । त्यसपछि दल परिवर्तन नगरी मन नपरेको दलमै बस्नुको के अर्थ !
बहुप्रेम वास्तवमा एउटा दर्शन हो । यसले महिलालाई बढी स्वतन्त्र गराउँछ । यस्ता स्वतन्त्र महिलाहरु मनकारी, उदार र पैसा नै सबथोक हो नभन्ने तथा जिन्दगीलाई उतिसारो महत्व नदिने खालका हुन्छन् । तिनबाट समाजलाई हानि होइन लाभैलाभ छ ।
मानिसहरुले साँचो मायाको कुरा गरेको सुन्दा म छक्क पर्छु, विशेषगरी पुरुषहरु यस्तो कुरा गरिरहेका हुन्छन् । के साँचो माया गर्ने ठेक्का महिलाले मात्र लिनुपर्ने हो ? धोका नदिने ठेक्का महिलाहरुको मात्रै हो ?
कति प्रतिशत पुरुष जो आफू साँचो माया चाहन्छन्, तिनले महिलामाथि साँचो माया गरिरहेका छन् ? म प्रेमलाई अलगअलग तरिका र फरकफरक ढङ्गले महसुस गर्न चाहन्छु, त्यो एक पुरुषबाट सम्भव छैन । बहुप्रेमले मलाई प्रेमको वास्तविक स्वाद चाख्न सिकाएको छ ।
अहिले मसँग मेरो आवाज छ, मेरो अस्तित्व छ, मेरो स्वत्व छ । मैले जीवन बाँच्नुको अर्थ सिकेको छु । मलाई मेरो प्रिय वस्तु प्राप्त भएको महसुस भएको छ ।’  

प्रकाशित: १० मंसिर २०७४ १०:२१ आइतबार

बासी मान्छे नागरिक परिवार