अन्य

इतिहास बन्दै चङ्गा

रेणु त्वानाबासु
काठमाडौँको असनमा ४१ वर्षदेखि चङ्गा पसल गर्दै आएका अनिल श्रेष्ठले कुनै समय एक सिजनमा ५० लाखसम्मको चङ्गा व्यापार गर्थे । चङ्गा व्यापारी श्रेष्ठका अनुसार पाँच वर्ष अगाडिसम्म मात्रै साउनदेखि असोजसम्मका तीन महिना ५० लाखको चङ्गा बिक्री हुन्थ्यो । अहिले भने त्यस्तो छैन । पहिला यही चङ्गा व्यापारबाट यी तीन महिनामा ५० लाख हाराहारीमा व्यापार हुन्थ्यो तर अचेल जम्मा १०–१२ लाखको मात्र हुन्छ ।
पसलमा उनले सबै किसिमका चङ्गा राखेका छन् । कागज र प्लास्टिकका चङ्गा इन्डियाबाट आउने गरेको उनले बताए । त्यस्तै कपडाको चङ्गा भने  चीनबाट आउने गरेको छ । ‘लटाई भने हाम्रो नेपालकै हो,’ उनले भने, ‘यी सामान चौतारा, पोखरा, गोरखा, धरान, सोलुखुम्बुसम्म पठाएको छु ।’ पछिल्लो समय धेरैजसो प्लास्टिकको चङ्गा रुचाइन थालेको छ । ‘किनभने यो पानी परेको बेलामा पनि उडाउन मिल्छ,’ उनी सुनाउँछन् ।
चङ्गाहरु कार्यक्रमका लागि, सो रुममा सजाउनका लागि पनि किन्न आउने गरेको उनको अनुभव छ । ‘तर मलाई लाग्छ, अब यो चङ्गाको व्यापार धेरै चल्दैन, चले पनि २–३ वर्ष मात्र चल्छ होला,’ उनको आकलन छ, ‘किनभने अहिले कर बढेको छ । त्यसमाथि अचेलका बच्चाहरुले इन्टरटेन्टमेन्टका लागि पैसा खर्च गर्न छाडेका छन् । फ्रि वाइफाई भएपछि अरु के चाहियो त ?’
नरेश मानन्धर पनि चङ्गाको व्यापारी हुन् । उनी व्यापारभन्दा पनि  चङ्गाको प्रशंसक हुन् । ‘मलाई चङ्गा उडाउन धेरै मनपर्छ । म पहिला बच्चा बेलामा कौसीमा चङ्गा उडाउँथेँ । मलाई आकाशमा चङ्गा उडाएको देख्नेबित्तिकै कौसीमा गइहाल्थेँ । पहिला पसलमा बस्नु भन्नुहुथ्यो बाबाले तर म चङ्गा उडाएको देख्नेबित्तिकै कौसीमा गएर चङ्गा उडाउन र जुधाउन जान्थेँ । त्यसमाथि अरुको चङ्गा चेट गर्नुको मज्जा त कुरै छाडौँ !’
हिजोआज भने न चङ्गा उडाउने फुर्सदिला मान्छे छन् न त कौसी नै ! उडाउने रहर हुँदाहुँदै पनि पछिल्लो समय चङ्गा उडाइँदैन । ‘अहिले उडाउने मान्छे र पुस्ता नै हराइसके,’ उनी दिक्दारी पोख्छन्, ‘हरकोहि व्यस्त छन् । कोही आफ्नो काममा, कोही व्यापारमा, कोही मोबाइलमा त कोही पढाइमा ।’
आधा दसकअघिसम्म घरको कौसीमा बसेर खुबै चङ्गा उडाउँथे भक्तपुरका सुमन घेमोसु । अचेल भने चङ्गा उडाउन छाडेको बताउँछन् । ‘टेक्नोलजीको जमानामा पनि को चङ्गा उडाएर बस्छ ? मोबाइलमा भन्याजस्तो गेम हुँदाहुँदै के बाहिर निस्कनु ? घरमा नै बसेर मज्जाले गेम खेलिन्छ । धेरै पैसा तिरेर चङ्गा, धागो, लटाई किन्नुभन्दा मोबाइलमा नै गेम खेल्न मज्जा लाग्छ,’ उनले सुनाए ।
आधुनिकतासँगै बालबालिकाहरूको मनोरञ्जनका साधनहरूमा परिवर्तन आएको अभिभावकहरूको साझा धारणा छ । पहिला भदौ महिनादेखि नै चङ्गा उडाउनेहरूको जमात भक्तपुरको महेश्वरी खेलमैदान, दरबार स्क्वायर, दत्तात्रय र लिवालीमा खुबै देखिन्थ्यो । अचेल चाडपर्व आए–नआएको पनि खासै मतलब हुन छाडेको घेमेसु बताउँछन् ।’
भक्तपुरकै मङ्गलाछेँमा २५ वर्षदेखि चङ्गा व्यापार गर्दै आएकी शर्मिला राजभण्डारीले चङ्गाको व्यापार पहिलाभन्दा निकै खस्केको बताउँछिन् । विगतका वर्षहरूमा साउन महिनादेखि भाइटीकासम्म व्यापार हुने चङ्गाको व्यापार हाल भने ठप्पै भएको उनले गुनासो पोखिन् । उनी भन्छिन्, ‘कुनैबेला दिनमै बीस पच्चीस हजारसम्मको व्यापार पनि गरियो, अहिले एकदुई सयको हुन पनि गाह्रो छ ।’
त्यस्तै भक्तपुरको नासमनामा चङ्गा व्यापार गर्ने रबिजित राठौर पनि चङ्गाको व्यापार कम हुँदै गएको अनुभव सुनाउँछन् । बालबालिकाहरूलाई विभिन्न कृत्रिम खेलौनाहरूले आकर्षित गर्नु नै प्रमुख कारण रहेको बताए ।
राठौर भन्छन्, ‘पहिला बिहानै चङ्गा किन्ने, दिउँसो अबेरसम्म खेलिरहने हुन्थ्यो । पहिला चिया, खाजाको चलन हुन्थेन । बिहान चङ्गामा हराएको मान्छे एकै चोटि चङ्गा चट् भएपछि मात्र खाना पनि खाइएको छैन भनेर झस्कन्थ्यो !’ तर अचेल पूरै जीवनशैली परिवर्तन भएकाले चङ्गा खेलाइमा पनि ठूलो प्रभाव परेको उनको भनाइ छ ।
‘बच्चादेखि बूढासम्म सबै व्यस्त भएकाले पनि यस्तो भएको हुनसक्छ,’ उनले भने, ‘जो फुर्सदमा छन्, उनीहरुलाई पनि मोबाइलले खाइसक्यो !’
चङ्गाको व्यापार निकै पहिलादेखि चलिआएकाले यो यति चाँडै लोप होला भन्ने चाहिँ राठौरलाई लाग्दैन । ‘१२ वर्षपछि खोला त फर्कन्छ भन्छन्,’ उनले उखान लगाउँदै भने, ‘मलाई त त्यही आस छ । अहिले त झन् सबै सामानहरु पुरानो मोडेलकै जमाना छ । कुर्ता, सारीहरु आजकल पुराना डिजाइन नै चलेको देख्दा कसो चङ्गाको जमाना नआउला त भन्ने मलाई लागिराछ ।’
ललितपुर पाटनका सुनील श्रेष्ठ पहिला मनोरञ्जनका सामग्री सीमित भएकाले चङ्गा लोकप्रिय भएको तर पछिल्लो समय चङ्गा उडाउने ठाउँको अभावका कारण पनि यस्तो भएको हुनसक्ने आशंका व्यक्त गर्छन् । ‘पहिला पहिला मोबाइल, टिभी, इन्टरनेट थिएन, मनोरञ्जनको माध्यम यही एउटा हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘म सानो छँदा यी चीज हेरेरै रमाइलो लाग्थ्यो । हाम्रो हातमा नहुँदा पनि हेरेर रमाउने समय थियो त्यो । हाम्रो संस्कृतिले हामीलाई रमाइलो गर्ने धेरै तरिका दिएको छ । मौसमअनुसार रमाउने तरिका पनि दिएको छ तर यी हेर्दाहेर्दै लोप हुन थालेको देख्दा उदेक लाग्छ ।’
भक्तपुरकी सुनिता ताल्चाभडेल सुनाउँछिन्, ‘साउनमा भक्तपुरेहरु हरेक बुधबार विभिन्न देउतास्थान जाने गर्थे । कुनै पूर्णिमा आउने बेला मन्दिर जाने चलन थियो । त्यो हराउन थालेको छ । त्यस्तै चङ्गा उडाउने पनि साउन महिनादेखि असोज महिनासम्म रमाइलो गर्ने हाम्रो तौरतरिकाका थियो ।’
पहिला छोरीहरु बढी नै व्यस्त हुने हुनाले र घरका काममा खटिनुपर्ने हुनाले उनीहरुका लागि यो हेरेर रमाइलो गर्ने मनोरञ्जन थियो । सहभागी हुने काम भने केटाहरुले नै गर्थे । खुला ठाउँमा, घरको कौसीमा हावा आउने ठाउँ देख्नेबित्तिकै केटामान्छे लटाई, धागो र चङ्गा बोकेर चङ्गा उडाउन तम्तयार भइहाल्थे । धेरैजसो चउरमा गएर चङ्गा उडाउँथे । पछि बच्चाहरु कौसीमा चङ्गा उडाउँथे तर अचेल भने उडेका चङ्गाको संख्या दिनदिनै घट्न थालेको सुनीताको अनुभव छ ।
चङ्गाबारे कुनै लिखित इतिहास छैन । ऐतिहासिक वा प्रामाणिक रुपमा यसको सुरुवात कसरी भयो भनेर दिइएको छैन । ‘हामीले पढेको र सुनेको अनुसार लिच्छवि कालदेखि नै यो चङ्गा उडाउने प्रचलन चलिआएको कुरा संस्कृतिविद् ओम धौभडेलले बताए । उनका अनुसार चङ्गा उडाउनु भनेको इन्द्रलाई सन्देश पठाउनु हो । अब पानी पार्नुपर्दैन भनेर सन्देश पठाउन चङ्गा उडाउने चलन बसेको हो । त्यसैगरी, चङ्गासँग ऋतु पनि जोडिएको छ । चङ्गा जहिले पायो उहिले उडाउन मिल्दैन । यसलाई हावाको प्रवाहसँगै मिलाएर उडाउनुपर्छ । भाद्र असोज महिनामा मद्धम हावा चल्ने समय हो र यही मद्धम हावाको वेगलाई उपयोग गरिन्छ ।
‘चङ्गा उडाउन अलि अग्लो ठाउँ पनि आवश्यक पर्छ,’ धौभडेल भन्छन्, ‘हाम्रो नेपाल पहाडैपहाडलै घेरेको देश हो, त्यसैले चङ्गा उडाउन सहज छ ।’
केहीका अनुसार चङ्गा उडाउने प्रचलन चीनबाट सुरु भएको हो । चीनमा भइरहने युद्धताका सन्देश आदानप्रदानका लागि चङ्गा उडाइन्थ्यो । शान्ति कालमा भने यो रमाइलो गर्ने साधनको रुपमा उपयोग हुन थाल्यो ।
चङ्गाको कुनै पनि चीज नेपालमा बन्दैन । पछिल्लो समय भने लटाई मात्र नेपालमा बन्न थालेको छ । चङ्गा र धागो सबै बाहिरबाट मगाउनु पर्छ तर पनि नेपालमा चङ्गा दसैँमा उडाउने प्रचलन चलिनैरहेको छ ।

 

प्रकाशित: २९ आश्विन २०७४ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App