अन्य

उपत्यकामा नयाँ मेडिकल कलेज नखोल्न सत्तारुढ दल सहमत

काठमाडौं- अनशनरत डा. गोविन्द केसीले माग गरे अनुसार उपत्यकामा अबको १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने कुरामा प्रमुख सत्तारुढ दल सहमत भएका छन्।

डा. केसीका माग पुरा गरी अनशन तोडाउने बारे प्रधानमन्त्री निवासमा भएको बैठकमा कांग्रस र माओवदी केन्द्रले केसीले माग गरे अनुसार नै कलेज नखोल्ने सहमति गरेका हुन्। तर त्यसका लागि एमाले नेताहरुको लगानी रहेको मनमोहन मेडिकल कलेजलाई सरकारले किनिदिने गरी पुन: एमाले अध्यक्ष ओली सँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल सहमत भएका छन्। स्रोतका अनुसार कलेज नबेचे सम्वन्धन नदिने गरी डा. केसीसँग सहमति गर्न दुवै नेता तयार भएका हुन्।

यस अघि दाहाल निवास लाजिम्पाटमा आइओएमका विद्यार्थीहरुले दाहाललाई भेटेर विकल्पबारे ध्यानाकर्षण गराएका थिए। भेटमा दाहालले आँफु यस विषयमा आजै कुरा गर्ने बचन दिएका थिए। भेटमा सरकारी वार्ता टोली र माओवादी नेता नारायणकाजी श्रेष्ठ समेत उपस्थिति थियो।

प्रधानमन्त्री र दाहालको भेट पछि केसीका माग पुरा गर्दै अनशन तोडाउन थप छलफल गर्न एमाले अध्यक्ष ओलीसँग सम्पर्क प्रयास गरेका थिए। ओली मुस्ताङ भएका कारण प्रक्रिया अगाडि बढ्न नसकेको दाहालको सचिवालयले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७४ ११:३७ आइतबार

उपत्यकामा मेडिकल कलेज नखोल्न सत्तारुढ दल सहमत