अन्य

पौडी पोखरीबाट सर्न सक्ने छाला रोग

डा. धर्मेन्द्र कर्ण, छाला तथा सौन्दर्य विशेषज्ञ
गर्मी चढ्दै गएपछि पौडी पोखरी धाउनेहरू बढ्छन् । गर्मी याममा पौडी खेल्नुको मज्जा बेग्लै हुन्छ । पौडी खेल्नु मनोरञ्जनका साथसाथै शारीरिक अभ्यास पनि हो । पौडी खेल्दा शरीरका विभिन्न अंग एकसाथ चल्छन् । एकै पटक शरीरका विभिन्न भागको एक्सरसाइज हुन्छ । र, फोक्सो–मुटुलगायत अंग स्वस्थ राख्न पौडीले मद्दत गर्छ । त्यसैले आजभोलि शहर बजारमा स्विमिङ जाने चलन बढ्दो छ । काठमाडौँ उपत्यकालगायत देशका मुख्य शहरमा व्यावसायिक पौडी पोखरी खुल्ने क्रम बढ्दो छ । बढ्दो पौडी पोखरीसँगै यसको सञ्चालनमा अपनाउनुपर्ने मापदण्ड नअपनाउँदा पौडीका कारण छालामा हुने विभिन्न रोग तथा संक्रमणका बिरामी पनि बढेका छन् ।
स्विमिङ गर्न जाँदा गर्नुपर्ने तयारी
—    जीउमा घाउखटिरा, दाद छ भने सकेसम्म पौडी खेल्न नजानुहोला । नत्र, घाउ पाक्न सक्छ र तपाईंको समस्या अरूलाई पनि सर्न सक्छ ।
—    पौडी खेल्न जानु एक दिनअघि शरीरको सम्पूर्ण भागमा तेल वा म्वइस्चराइजर लगाउनुपर्छ । पौडी पोखरीको पानीमा केमिकल मिसाइने भएकाले त्यसले छालामा असर नगरोस् भनेर तेल वा म्वइस्चराइजर लगाउनुपर्छ ।
—    पूरै शरीर ढाक्ने कस्ट्युम लगाउँदा छालामा पौडी पोखरीको पानी तथा घामले नकारात्मक असर गर्न पाउँदैन ।
—    स्विमिङ पुलमा पस्नुभन्दा आधा घण्टाअघि वाटर रेसिसटेन्ट सनस्क्रिन लगाउनुपर्छ । जसले गर्दा छालालाई घामबाट जोगाउन सकिन्छ ।
—    स्विमिङ पुलको पानी बेला–बेलामा चेन्ज गरेको छ कि छैन, पुलमा प्रयोग गरिएको पानी फिल्टर गरिएको छ कि छैन ? जस्ता कुरामा ध्यान पुर्याउनुपर्छ ।
—    स्विमिङ गर्दा स्विमिङ क्याप लगाउनुपर्छ । पौडी पोखरीको पानीमा मिसाइने केमिकलले कपाल बिगार्न सक्छ ।
के–के हुन सक्छ असर ?
पौडी पोखरीबाट विभिन्न किसिमको रोग सर्न सक्छन् भन्नेतर्फ कमैको ध्यान गएको पाइन्छ । विशेष गरेर पौडी पोखरीले प्रयोग गर्ने पानीको शुद्धता, पानीमा प्रयोग गरिने क्लोरिनको मात्रा र पौडी पोखरीमा छाला तथा यौन अंगमा हुने कुनै संक्रमण भएका व्यक्ति प्रवेश गरे कि गरेनन् भन्ने कुरामा बेवास्ता गर्दा पौडीका कारण छाला तथा यौन अंगमा संक्रमण भएका बिरामी उपचारका लागि आउने गरेका छन् ।
पौडी पोखरीबाट छालामा सर्ने सरुवा रोग, पौडी पोखरीको पानीमा मिसाइने रसायनका कारण छालामा तत्कालीन तथा पछि देखिने असर, पौडी खेल्दा घामका कारण छालामा हुने एलर्जी तथा अन्य समस्या र यौनांगमा हुने भाइरल इन्फेक्सन पनि स्वस्थ मानिसमा सर्ने सम्भावना हुन्छ । भाइरल इन्फेक्सनका कारण यौनांग वरिपरि आउने मुसा पौडी पोखरीबाट पनि सर्न सक्छ । यस्तो भाइरल इन्फेक्सन असुरक्षित यौन सम्पर्कबाट सर्न सक्छ । तर, कोही यस्तो संक्रमित व्यक्तिले पौडी खेलेके पोखरीमा स्वस्थ मानिस पौडिन पुग्यो भने उसलाई पनि सर्ने सम्भावना हुन्छ । यो भाइरल इन्फेक्सन आजको भोलि देखिँदैन । दुई हप्तादेखि महिनौँपछि पनि देखिन सक्छ । यसै गरी मोलस्कम कन्टाजियोसम भनिने एक किसिमको भाइरल इन्फेक्सन हो । यो पनि पौडी पोखरीबाट सर्न सक्छ । यस्तो इन्फेक्सन हुँदा सेतो गोलादार दाना देखिन्छ । प्रायःजसो अनुहार, घाँटी र शरीरको दोब्रिने भागहरूमा यस्तो समस्या देखिन्छ । यसै गरी पौडी पोखरीबाट छालाको एलर्जी, छालाको टीबी र विभिन्न प्रकारका ब्याक्टेरियल इन्फेक्सन सर्न सक्छ । घाउखटिरा, फंगस र ढुसीबाट छालामा हुने संक्रमण पनि पौडी पोखरीबाट सर्छ ।
पौडी पोखरीको पानी सफा देखाउन प्रयोग गरिने क्लोरिनको मात्रा सही हुनुपर्छ । तोकिएको अवधिमा नयाँ सफा पानी पौडी पोखरीमा राख्ने गर्नुपर्छ । क्लोरिनको मात्रा बढी भएको पौडी पोखरीमा पौडिँदा छालामा त असर गर्छ नै यसले कपाललाई पनि सुक्खा बनाउँछ । जसले गर्दा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ । छालालाई सुक्खा बनाउँछ । छाला चिलाउने र घाउखटिरा देखिन सक्छ । क्लोरिनकै कारण कपालको प्राकृतिक रङ बदलिएर अर्कै रङको हुन सक्छ । कपालको स्वाभाविक रङ नै बिगारिदिन्छ यसले ।
धेरै भीड हुने पौडी पोखरीमा सकेसम्म पौडिन नगएकै राम्रो हुन्छ । बच्चाहरूलाई सकेसम्म व्यावसायिक पौडी पोखरीमा पौडी खेल्न पठाउनु हुन्न । पौडी खेलाउन लानु नै परे पनि पौडी पोखरीको सरसफाइ र पानीको गुणस्तरबारे राम्रोसँग बुझेर मात्र लग्नुपर्छ । आफूमा कुनै छाला वा यौनांगसम्बन्धी सरुवा रोग छ भने पौडी पोखरीमा नजाँदा नै अरूलाई रोग सर्ने सम्भावना कम हुन्छ । स्विमिङ क्याप र चस्मा लगाएर मात्र पौडी खेल्ने गर्नुपर्छ । जसले गर्दा पौडीका कपाल र आँखामा हुने असर कम गर्न सकिन्छ । पौडी पोखरीमा पस्नुअघि र पौडी खेलिसकेपछि सफा पानीले नुहाउने गर्नुपर्छ । पौडी खेलेपछि छालामा कुनै समस्या आयो भने तुरुन्तै आफूलाई पायक पर्ने छाला रोग विशेषज्ञकोमा गएर उपचार गराउनुपर्छ ।

प्रकाशित: २२ जेष्ठ २०७४ ०७:३१ सोमबार

पौडी पोखरीबाट सर्न छाला रोग नागरिक परिवार