अन्य

भीडमा हराएको मान्छे

कृष्ण शाह यात्री

बीसको दशकमा विराटनगरको रंगमञ्चमा चतुर्भुज आशावादी, माधव सापकोटा, शिव खरेल, माधव निरौलालगायत निकै सक्रिय थिए। 'हिमकला मन्दिर', 'भानु मोरङ सांस्कृतिक समिति'ले नाट्यकलामा प्रभाव जमाइरहेको थियो। त्यसै बेला विराटनगरको जनता माध्यमिक विद्यालयमा बद्री अधिकारी नाम गरेका एउटा किशोर अध्ययन गरिहेका थिए। आफूभन्दा ठूला मान्छेले नाटक गरेको देखेर बद्रीले २०२९ सालमा स्कुल पढ्ने र आफ्ना टोलका केही साथी बटुलेर 'आदर्श बालकला निकेतन' नामक संस्था खोले। संस्थाको मूल उद्देश्य थियो नाटक देखाउने। हिमकला मन्दिरको नाट्य गतिविधि कम हुँदै गएको बेला उदाएको यो समूहमा बद्रीले नाटक लेख्ने र निर्देशन गर्ने जिम्मा पाए।

नेपाली रंगमञ्चमा वसन्त भट्ट, रमेश बुढाथोकी, सुनील पोखरेल, सरोज खनाल, खेम शर्मालगायत थुप्रै बेजोड नाट्य प्रतिभालाई भित्राउने श्रेय पनि बद्रीलाई नै जान्छ। यिनले विराटनगरमा २०३५ सालताका नाटकको रिहर्सल भइरहेको दृश्य ‰यालबाट धेरै दिनदेखि चिहाइरहेको युवक रमेश बुढाथोकीदेखि नाटकमा लाग्न रहर गर्ने सुनील पोखरेलसम्मलाई आफ्ना समूहमा मिसाए।

बद्री भन्छन्, 'नाटक र रंगमञ्च के हो भन्ने कुरा राम्रोसँग नबु‰दै मैले लेखन र निर्देशनमा हात हालेको हुँ। मलाई चुनौती मनपर्थ्यो। आदर्श बालकला निकेतनबाट पहिलो पटक मैले 'यहाँ मरे बाँचिन्छ' पूर्णांकी नाटक लेखन र निर्देशन गरेँ।' विराटनगरको हिमालय टाकिज(सिनेमाघर)मा मञ्चन गरिएको 'यहाँ मरे बाँचिन्छ'लाई दर्शकले रुचाइदिए। बद्रीले ठूलाबाट स्वाबासी पाए। समकालीनबाट साथ र हौसला। यो नाटकमा अभिनय गर्ने वसन्त भट्ट, मनोज खरेल, प्रताप थापा, शिला श्रेष्ठ, वेणु अधिकारी, शैलेन्द्र रिजाल, बद्री अधिकारीलगायतका कलाकारको टिम विराटनगरको रंगमञ्चमा चिनिन थाल्यो।

२०३० सालमा एसएलसी दिएपछि बद्री विराटनगरमै कलेज पढ्न थाले। विद्यालयभन्दा कलेजमा उनले नाटक गर्न अलि बढी समय पाउन थाले। २०३१ सालमा बद्रीले मुकुन्द श्रेष्ठ, वसन्त भट्ट, दीपक हुमागाईंलगायतका रंगकर्मीलाई लिएर विराटनगरमा दियालो परिवार नामक नाट्य संस्था स्थापना गरे। यो समूहले नै ३० को दशकमा विराटनगरको रंगमञ्चलाई नयाँ मोड दियो। अनेक प्रतिनिधि नाट्यकर्म गरी विराटनगरलाई नाटकको उर्बर थलोको रूपमा समेत चिनाए। यो समूहले पहिलो पटक मुकुन्द श्रेष्ठद्वारा लिखित एवं निर्देशित नाटक 'द्रोही' मञ्चन गर्‍यो। यसमा बद्रीले मुख्य भूमिका निर्वाह गरेका थिए। यो समूह २०३७ सालसम्म विराटनगरमा सक्रिय रह्यो। बद्री, मुकुन्द, रमेश बुढाथोकीहरू काठमाडौँ पसेपछि यो समूह निष्त्रि्कय भयो। विराटनगरको रंगमञ्च पनि सक्रिय युवारंगकर्मीको राजधानी प्रवेशसँगै सुनसान हुन पुग्यो।

नेपाली रंगमञ्चमा वसन्त भट्ट, रमेश बुढाथोकी, सुनील पोखरेल, सरोज खनाल, खेम शर्मालगायत थुप्रै बेजोड नाट्य प्रतिभालाई रंगमञ्चमा भित्राउने श्रेय पनि बद्रीलाई नै जान्छ। यिनले विराटनगरमा २०३५ सालताका नाटकको रिहर्सल भइरहेको दृश्य ‰यालबाट धेरै दिनदेखि चिहाइरहेको युवक रमेश बुढाथोकीदेखि नाटकमा लाग्न रहर गर्ने सुनील पोखरेलसम्मलाई आफ्ना समूहमा मिसाए। आफ्ना नाटकमा खेलाएर रंगमञ्च छाम्ने तरिका सिकाए। बद्रीले विराटनगरमा आफ्नो निर्देशनबाहेक माधव सापकोटाद्वारा निर्देशित 'रक्तिम बलेसीका रातहरू', वसन्त भट्टको 'गोधूलि साँझ'लगायत एक दर्जन नाटकमा अभिनय गरेका छन्।

अलि ठूलो स्पेसको खोजीमा बद्री पहिलो पटक २०३६ सालमा काठमाडौँ पसे। तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले त्यस वर्ष नवोदित नाट्य प्रतिभाका लागि एक वर्षे अभिनय–कला प्रशिक्षण दिने भनेर सूचना निकाल्यो। त्यो पढेपछि १६ वर्षे सुनीललाई लिएर नाटक लेखन, अभिनय र निर्देशनमा केही नाम कमाइसकेका बद्री काठमाडौँ हानिएका थिए। भोलिपल्ट नै प्रज्ञा–प्रतिष्ठान पुगेर दुई भाइले फाराम भरे। अन्तर्वार्ता लिने दिन हरिहर शर्माले बद्रीलाई भने, 'तपाईं आफै नाटककार, आफैले पनि नाटक निर्देशन गरिरहनु भएकोले आफैले प्रशिक्षण लिनुभन्दा नयाँलाई मौका दिनुस् बरु। त्यसले फरक प्रभाव पार्छ। बरु तपाईंसँग आएको भाइ सुनीललाई राख्छु। प्रज्ञाको प्रशिक्षणमा एक वर्ष अलमलिनुभन्दा यो अवधिमा तपार्इं चार ओटा नाटक गर्नु सक्नु हुन्छ।' हरिहरले यस्तो सुझाव दिएपछि बद्रीले उनकै कुरामा खुसीसाथ सहमति जनाए। सुनील छानिँदा बद्री खुसी थिए। किनकि दुवै अध्ययनशील थिए, कुरा मिल्थ्यो। भर्खर जुँगाको रेखी बस्न लागेको नवोदित प्रतिभालाई प्रोत्साहित गर्नु बद्रीको कर्तव्य पनि थियो। उनले त्यसै गरे। सुनील काठमाडौँमा नाटक प्रशिक्षण लिन थाले। बद्री फेरि विराटनगर फर्किएर नाटक मञ्चन गर्न थाले।

काठमाडौँबाट फर्किएपछि बद्रीको मन राजधानीको भव्य र ठूलो रंगमञ्चले तानिरह्यो। उनलाई काठमाडौँमै आफ्नो नाट्ययात्रालाई अझ व्यापक र फराकिलो बनाउनु थियो। उनले यो कुरा रमेशलाई भनेँ। अनि २०३७ सालमा रमेशलाई आफूसँगै बस चढाएर काठमाडौँ ल्याए। बद्री भन्छन्, 'दोस्रो पटक काठमाडौँ आउँदा बम्बईमा सिनेमा खेल्न जानेजस्तै सपना बोकेका थियौँ। त्यहाँ गएपछि यसो गर्छु, उसो गर्छु भन्ने सपना देखेको थिएँ।'

काठमाडौँमा भने उनले सोचेजस्तो सबै कुरा अनुकूल थिएन। चिनेका मान्छे र आफन्तहरू थिएनन्। विराटनगर छोड्दा बद्री र रमेशको गोजीमा असी–असी रुपैयाँमात्र थियो। जागिर थिएन। पढाइलाई पनि अघि बढाउनु थियो। बद्रीलाई काठमाडौँ ठूलो भीडजस्तो लाग्यो। त्यो बेलासम्म मुकुन्द श्रेष्ठले पनि  विराटनगर छाडेर काठमाडौँमा कलाकारितामा संघर्ष गरिरहेका थिए। उनी बैंकमा टाइपिस्ट थिए। बद्री र रमेश मुकुन्दको डेरामा नै मिसिए।

त्यो बेला काठमाडौँको भीडमा हराएका थुप्रै मान्छे बद्रीले देखे। अलि समय उनले आफैलाई पनि त्यो भीडमा पाए। अनि आफु र आफ्नैजस्ताको कथा समेटेर नाटक लेखे– भीडमा हराएको मान्छे। सहरमा आएपछि मानिस कसरी भीडमा हराउने रहेछ भन्ने ज्ञान उनले यही नाटकबाट प्राप्त गरे। यो नाटक २०३८ सालको राष्ट्रिय नाटक महोत्सवमा बद्रीले निर्देशन गरे। परम्परागतभन्दा भिन्न स्वादको प्रयोगशील नाटक 'भीडमा हराएको मान्छे' महोत्सवमा पुरस्कृत भयो। यही नाटकले रमेश बुढाथोकीलाई महोत्सवमा सर्वोत्कृष्ट अभिनेताको पुरस्कार दिलायो र उनी राजधानीमा चिनिन थाले। बद्री भन्छन्, 'भीडमा हराएको मान्छेले मलाई भीडबाट अग्गलै पहिचान दियो। मैले नाटकमा नयाँ चिनारी पाएको थिएँ। त्यसपछि मैले पाएजति थुप्रै नाटक पढेँ। म र सुनील नेपाल–भारत पुस्तकालयमा १० बजे पसेपछि एकै पटक बन्द हुने बेला निस्कन्थ्यौँ। यो क्रम महिनाँै चल्यो। हामीलाई नयाँ कुरा जान्नु थियो पढेरै भए पनि।'

नेपाल–भारत पुस्तकालयमा नै उनीहरूले भारतको नाट्य विद्यालय दिल्ली (एनएसडी) मा नाट्य विषयको पढाइ हुने थाहा पाए। आवेदन खुलेको बेला बद्री र सुनील दुवै दिल्ली पुगे गोरखपुरबाट रेल चढेर। विडम्बना, एनएसडीको सपना बद्रीको लागि 'सपनै' भइदियो। हरिहर शर्माले बद्री प्रज्ञामा नाटक सिक्न आउँदा जे सुझाव दिएका थिए लगभग त्यसै कुरा एनएसडीका गुरुहरूले अन्तर्वार्ताको क्रममा गरे। केही जानिसकेको भन्दा पनि नयाँलाई ठाउँ दिँदा के होला भन्ने उनीहरूको प्रश्नले बद्रीले केही नसोची सुनीलले त्यो अवसर पाउँछ भने आफूलाई अझ बढी खुसी लाग्ने बताए। यसरी सुनीलले एनएसडीबाट ग्राजुयट हुने अवसर पाए। औपचारिक रूपमा नाट्यकला पढ्ने बद्रीको धोको अधुरै रह्यो।

बद्रीले नाटकको स्वाध्यायन गरे। रंगमञ्चमा निरन्तरता दिई नै रहे। उनले 'भीडमा हराएको मान्छे'पछि लगत्तै आफ्नै लेखन र निर्देशनमा 'मूल सडककी आमा' नाटक काठमाडौँका विभिन्न स्थानमा देखाए। उनले रत्नपार्कवरिपरि देखिरहने भिख मागिरहेका, ओहोरदोहोर गरिरहेका, मानसिक सन्तुलन गुमाएका अनेक पात्रलाई नाटकको पात्र बनाएका थिए। हराएको छोराको खोजीमा भाँैतारिएको एउटी आमालाई समाजले कसरी पागल बनाउँछ भन्ने विषय नाटकमा थियो। पछि काठमाडौँको 'जी.ए.ए. नाटक प्रतियोगिता २०४०' मा यो नाटक मञ्चन हुँदा पुरस्कृत भयो। सूर्यमाला शर्माले सर्वश्रेष्ठ चरित्र अभिनेत्रीको पुरस्कार पाइन्। यो नाटकबाट पनि बद्रीको कामको निकै प्रशंसा भयो।

२०३८ सालताका नै अशेष मल्लले सर्वनाम नाट्यसमूह स्थापना गरेको देखेपछि बद्रीलाई आफ्नो पनि एउटा नाट्यसमूह भए हुन्थ्यो भन्ने लाग्यो। उनले निकै दिन यसबारे सोचे। नाम पनि जुराए– 'आरोहण नाट्य समूह'। उनले यो कुरा सुनीललाई बताए। सुनीलले भने, 'गज्जब राम्रो बद्रीदाइ। आरोहण स्थापना गरी नियमित नाटक यसैबाट गर्नुपर्छ अब।' यसरी २०३८ साल वसन्त पञ्चमीको दिन आरोहण विधिवत स्थापना भयो। यसका संस्थापक अध्यक्ष बद्री र संस्थापक सदस्य सुनील, समन्त कंशाकार, प्रदीप श्रेष्ठ र चन्द्रमाला शर्मा हुन्। आरोहण स्थापना भएपछि बद्रीले सुनीलसँग मिलेर केही नाटक संयुक्त निर्देशनसमेत गरे। उनीहरूको संयुक्त निर्देशनमा २०४६ सालसम्मको अवधिमा 'प्रतिभा आकाश माग्छे', 'हो यो नाटक होइन', 'रहरै भो', 'र यसकारण रिसाउँछ कुमार', 'एउटा युद्ध अँध्यारोसँग'लगायतका नाटक काठमाडौँमा मञ्चन भयो।

बद्रीले निर्देशन गरेको एक महŒवपूर्ण नाटकमा हो– 'भष्मासुरको नलीहाड'। २०४१ सालमा राष्ट्रिय नाचघरमा देखाइएको यो नाटक डा. ध्रुवचन्द्र गौतमले लेखेका हुन्। भष्मासुरको प्राचीन मिथकको प्रतीकात्मक अर्थ ग्रहण गर्दै त्यसको सामाजिक रूपान्तरण गरी स्वैरकल्पनाका आधारमा नाटक तयार पारिएको छ। नेपालको नाट्यसाहित्यमा यही नाटकबाट विसंगतिवादी दर्शनमा आधारित एवं विसंगत रंगमञ्चस“ग सम्बन्धित प्रयोगधर्मी नवनाटकको युग सुरु भएको मानिन्छ। यो नाटक मञ्चनले बद्रीको रंगमञ्चीय कद अझ बढाउने काम गर्‍यो। यो नाटकले नै उनलाई प्रयोगधर्मी र सिर्जनशील नाटक निर्देशकका रूपमा राष्ट्रियस्तरमा नयाँ चिनारी दिलायो। त्यो बेला नाटकको प्रस्तुति पक्षमा निकै चर्चा र प्रशंसा भएको थियो। यही नाटकबाट सरोज खनालले रंगमञ्चमा प्रवेश गरेका हुन्। नाटकमा खेम शर्मा, सुभास गजुरेलले पनि अभिनय गरेका थिए।

२०१४ फागुन २९ गते विराटनगरमा जन्मिएका बद्रीको रंगमञ्चको यात्रा विराटनगरमा २०३७ सम्म र त्यसपछि काठमाडौँमा २०४६ सालसम्म अविराम चल्यो। २०४६ सालमा आरोहणद्वारा आयोजित 'आरोहण शनिवार'का नाटकहरू मञ्चन हुँदासम्म अभिनय, लेखन र निर्देशनका माध्यमले उनी रंगमञ्चमा सक्रिय रहे। यसपछि भने उनी टेलिभिजन र चलचित्रमा व्यस्त हुन थालेपछि राष्ट्रियस्तरमा उनको नाट्ययात्रा रोकिन पुग्यो। उनले विद्यालयस्तरमा भने विद्यार्थीलाई केही नाटक सिकाएर मञ्चन गरे।

अढाई दशकको अवधिमा उनी शिक्षण पेशामा लागे। आफैले २०४५ सालमा काठमाडौँको आरुवारीमा 'बाल सिर्जनालय विद्यालय' खोलेपछि विद्यालयको काममा बढी व्यस्त हुन पुगे। लामो समय सोही विद्यालयमा प्रिन्सिपलसमेत भएर चार वर्षअघि उनले जिम्मेवारी त्यागे। त्यसपछि उनले नाटकमा पुनः सक्रिय हुने सोच बनाए। यही पुस १७ गतेदेखि २१ गतेसम्म राष्ट्रिय नाचघरको आयोजनामा बद्रीको परिकल्पना र निर्देशनमा सत्यमोहन जोशीको नाटक 'याज्ञवल्क्य' मञ्चन हुँदैछ। पहिला 'दैलाको बत्ती' नाममा छापिएको यो नाटक पहिलोपटक रंगमञ्चमा प्रस्तुत हुन लागेको हो। बद्री भन्छन्, 'तीन महिनाको अभ्यासपछि यसलाई मञ्चन गर्दैछु। लामो समयपछि रंगमञ्चमा फर्किंदा ठूलो आनन्द लागिरहेछ। आफूले जानेका जति सबै कुरा यो नाटकमा प्रयोग गरेको छु। यसपछि वर्षमा कम्तीमा एउटा नाटक निर्देशन गर्नेछु।'

रंगमञ्चमा पचास र साठीको दशकमा नदेखिएपछि टेलिभिजन र चलचित्रमा उनको उपस्थिति बाक्लो देखिन्छ। उनी भन्छन्, 'रंगमञ्चमा एउटा ठूलो ग्याप भयो जस्तो लाग्छ। रंगमञ्चमा दर्शकले मेरो काम हेर्न पाएनन्। पुराना दर्शक गुमाएँ मैले। रंगमञ्चमा कस्सिएर लागेको मान्छे अहिले लगभग नाम हराउँदाको एक किसिमको पीडा छ। अरुले बीचमा नाटक गर्नुपर्छ नभनेका पनि होइनन्। मैले नै समय निकाल्न सकिनँ। सबै कुरा चाहेको जस्तो नहुने रहेछ। तर, म अब निर्देशनमा सक्रिय हुन्छु। अरु निर्देशकका नाटकहरूमा अभिनय पनि गर्छु।'

भीडमा हराएको मान्छेबाट बद्री फेरि रंगमञ्चमा नयाँ इतिहास कायम गर्न सकून्। उनका नाटकहरू नेपाली दर्शकले स्वाद मानेर हेर्न पाउन्। अहिलेलाई यही अपेक्षा गरौँ। उनलाई शुभकामना– रंगमञ्चमा पुनरागमनका निम्ति पनि।

प्रकाशित: १६ पुस २०७३ ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App