दोलखा-‘माथिबाट कटेरो जलेको देखेँ, दौडेर पुगेँ। गाउँलेले आगो निभाउने कोसिस गर्दै थिए। आगोले घर छोपिसकेको थियो। मेरा हातगोडा गले। आगोमै पसौंझैं भएको थियो, कटेरो जलेको हेर्दाहेर्दै बेहोश भएँ,’ भीमबहादुरले सुनाए।
कात्तिक १९ गते शुक्रबार, छिमेकी गाउँ सुनखानीमा घर बनाउने काम गरेर भीमबहादुर बेलैमा घर फर्किएका थिए । सम्धी बितेको १० दिन भएको थियो, बिचार बोकेर जानु थियो । घरबाट आधा घन्टा उकालो हिँडेपछि उनले आफ्नो बस्तीतिर नियाले । सुरुमा त आँखाको भ्रम हो कि भन्ने ठाने, उनको कटेरोबाट धुँवाको मुस्लो निस्किरहेको थियो । हेर्दाहेर्दै आगोको ठूलो मुस्लो निस्कियो, जहाँ कटेरोसँगै नयाँ घर बनाउने सपना जलिरहेको थियो । उनले वृद्धाभत्ता र ज्यामी काम गरेर कमाएको ६७ हजार रुपैयाँ घर बनाउन साँचेर राखेका थिए । कटेरोसँगै त्यो पनि जलेर खरानी भयो ।
मंगलबार दोलखा सदरमुकाम चरिकोटमा आफ्नो सपना जलेको कथा सुनाउँदासुनाउँदै उनी भक्कानिए । ‘जीवनभरि दुःख गरेर कमाएको सम्पत्ति त्यति थियो,’ रुँदै उनले सुनाए, ‘त्यही पनि क्षणभरमै सखाप भयो।’
लापिलाङ, पाटागाउँका ७४ वर्षीय भीमबहादुर कार्कीले जिन्दगीका कालखण्डमा थुप्रै हन्डर व्यहोरे । एक मात्र छोरा परिवार लिएर भिन्दै बसेका छन् । ३४ वर्षअघि पत्नीको देहान्त भयो, त्यसयता उनी एक्लो बिताइरहेका छन् ।
उनी घर बनाउने र गाह्रो लगाउने काम गर्छन्, त्यसैले गुजारा चलाउँदै आएका थिए, भूकम्पले उनी लगायत गाउँलेको घर लडे। गाउँलेका कटेरा बनाउन सघाए, गाउँलेले पनि उनलाई सघाए । एउटा विदेशी संस्थाले दिएको चार बन्डल जस्ता लगायत आवश्यक सामग्री जोरजाम गरेर एक्लो ज्यानलाई ओत लाग्ने कटेरो तयार भयो ।
दैनिकी पुरानै छ, ज्यामी काम । बाँकी जीवन कटेरोबाट नयाँ घरमा बिताउने योजना बुन्न थाले । दैनिक दुई सय पाउँदै आएको ज्याला पनि भूकम्पपछि पाँच सय पुग्यो । डेढ वर्षका बीचमा खाइनखाई दिनहुँ रकम जोगाए । आफ्नो कमाइमा सरकारले दिएको सामाजिक सुरक्षा भत्ता थपे । अन्नबालीबाट अलिअलि थपियो । सबै गर्दा ६७ हजार रुपैयाँ पुगेछ।
यहीबीचमा उनी सदरमुकाम आएर बैंकमा चार घन्टा लाइन बसी पहिलो किस्ताको भूकम्पपीडित अनुदान ५० हजार रुपैयाँ लिएर फर्किए । तिहारलगत्तै घर बनाउने सपना बुनेर सरकारले दिएको ५० हजार स्टकोटको गोजी र ६७ हजार ज्याकेटको गोजीमा राखेर दुवै कपडालाई ट्याङका (बाकस) मा थन्काएका थिए।
कटेरा जल्दाजल्दै ढलेका उनले होशमा आएपछि जलेर खरानी भएको कटेरो खोतले, सपना सबै जलिसकेको छैन कि भनेर। खाइनखाई कमाएर जम्मा पारेको ६७ हजार त पूर्ण रूपमा जलिसकेको थियो। स्टकोटमा राखेको पाँच सय दरका ५० हजार रुपैयाँको बन्डल आधा जलेको थियो।
‘कटेरोमा २२ पाथी पुरानो धान र १८ पाथी गहुँ थियो । अनि, भूकम्पका बेला राहतबापत पाएको १५ वटा ब्ल्यांकेट र तीन सिरक थियो,’ भीमबहादुरले सुनाए । उनलाई गाउँलेले चन्दा उठाएर नागरिकता, लालपुर्जा बनाउन र आधा जलेको रकम साट्न सदरमुकाम पठाएका हुन् ।
‘दुई दिन बसेर कागजपत्र त बनाएँ,’ भीमबहादुरले भने, ‘तर बैंकले रकम साट्न मानेन ।’ सदरमुकाममा चिनेजानेका एक व्यवसायीमार्फत नेपाल बैंकमा पैसा साट्न खोज्दा काठमाडौंस्थित राष्ट्र बैंकमा जान सुझायो । बैंकका कर्मचारीले आधा जलेको नोट थप च्यातिनबाट जोगाउन कागजमा टाँस्न भनेपछि ती व्यवसायीले कागजमा टाँसिदिएका छन्।
कटेरोमा कसरी आगो लाग्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । ‘कसैले लगाइदियो भनौं भने कोहीसँग केही दुश्मनी थिएन, आगो लगाउनुपर्ने गरी मैले कसैको मन दुखाएको छैन,’ उनले भने ।
प्रहरीले भने बिजुलीको करेन्ट सर्ट भएर आगो लागेको मुचुल्का बनाइदिएको छ । ‘चुलोबाट सल्क्यो भनौं भने दुई दिनदेखि चुलो बलेको थिएन, जहाँ काम गर्थे त्यहीं खाइरहेको थिएँ,’ भीमबहादुर भन्छन्, ‘सलाई काँटी, लाइटर केही घरमा त्यसरी राखेको थिइन्, बिजुलीबाट पनि होइनजस्तो लाग्छ, कसरी लाग्यो लाग्यो।’ भीमबहादुर कसरी घरमा आगो लाग्यो भनी पत्ता लगाउन झाँक्रीकहाँ धाउन थालेका छन्।
उनी अहिले छोराको घरमा बसिरहेका छन् । ‘३३ वर्षअघि छुट्टिएको छोरा घरमा बस्दा अप्ठेरो हुँदोरहेछ,’ उनले सुनाए, ‘जति नै कष्ट परे नि हात–गोडा लागुन्जेल आफ्नै घरमा बस्ने धोको छ।’
आधा जलेको ५० हजार साटिए सानो कटेरो बनाएर भए पनि ओत लाग्ने उनको योजना छ।
उनलाई गाउँलेले सदरमुकाम आउनका लागि चन्दा, प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँ र रेडक्रसले भाँडाबाहेक कसैले केही सहयोग गरेका छैनन्। मंगलबार सदरमुकाममा उनले जिल्लाको दुवै क्षेत्रका सांसद आनन्द पोखरेल र पार्वत गुरुङलाई भेटे। भीमबहादुर भन्छन्, ‘दुवैले केही नगद दिई घर बनाउन सहयोग गर्ने आश्वासन दिनुभएको छ।’
प्रकाशित: १ मंसिर २०७३ ०३:४६ बुधबार