अन्य

माझी दाई डुँगामा तारिदेउ...

निरन्तर चार घण्टा पैदल यात्रा गर्दा पनि गन्तव्य आएन । पहिलो पटक त्यता निस्केकाले  गन्तव्य कति टाढा छ, अनभिज्ञ थियौं । मध्याह्न बाह्र बज्यो, घाम चर्केर झन समस्या । हिँडिरह्यौं हामी । तराइको बाटोमा हिँड्न कठिन रहेछ । बरु उकालो ओरालोमै सजिलो हुन्छ । प्रायः सबैको भनाई यस्तै थियो ।

असोज १७ गते धराने हाइकर्स टोलीको गन्तव्य थियो, सुनसरीको बक्लौरीस्थित रासताल । कुम्भीआहाल हुँदै धरान दक्षिणको चारकोसे जंगल पार गर्दासम्म ठिकै थियौं । जंगलमा रमाइलो भयो । रुखको छायाामा हिँड्न पाउँदा गर्मी भएन । तर, जब भरौल गाविसको भलवाचौरी निस्कियौं, तबदेखि चर्को घामले सताउन थाल्यो । बिहान समयमै हिँड्न ढिलाई हुँदाको सजाय भोग्यौं ।  

बक्लौरीका स्थानीयले इतिाहसकार इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क स्थापना गरेर रास ताल बनाएका हुन्, जुन घुम्न लायक छ ।  

बक्लौरीको हात्तिमारा चोकसम्म पुग्दा समूह छिन्नभिन्न भइसकेको थियो । केही अगाडि, कोही निक्कै पछाडि । तालमा पुगेपछि सबैले राहतको सास फेरे । अघिसम्म चरक्क चर्किएको घाम वादलभित्र पो लुक्यो । भलवाचौरीमा थकाई मारिरहँदा तर्क दर्शनका प्रणेता चेवन राई पनि हामीसँग मिसिन आइपुगे । भलवाचौरीदेखि हामीले उनैलाई पछ्याउदै तालसम्म पुग्न सक्यौं । अमाह सिमसारमा पनि केहीबेर रमायौं ।

बक्लौरीका स्थानीयले इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क स्थापना गरेर रा.स.ताल बनाएका हुन् । रा.स.को अर्थ हुन्छ, राष्ट्रिय सम्मानित । इतिहासकार चेम्जोङलाई राष्ट्रले सम्मान गरेकाले तालको नामै रा.स.राखिएको रहेछ । त्यहाँसम्म पदयात्रामा जाने प्रस्ताव मेरो थियो । यसअघि तालसम्म साइक्लिङ गर्दै पुगेको थिएँ । त्यतिबेलै पार्कका उपाध्यक्ष शशी राईसँग चिनजान भएको । तेइस जनाको टोलीमा हिमायती जनसाँस्कृतिक समुहका संस्थापक एवं सदस्य हर्क चुम्मे, कुन्ती योञ्जन, जीवन भट्टराई, सुरेश श्रेष्ठ र कला योञ्जन पनि थिए ।

उपाध्यक्ष राईसँग ताल किनारमा भेट भयो । ताल नजिकको होटलमा खाना अर्डर दियौं । ताल तीनतिरबाट जंगलले घेरिएको । दक्षिणपट्टि खुला चौर अनि वस्ती । चौरमा प्रत्येक बुधबार हाट बजार लाग्छ । यहाँ हरेक बर्ष मंसिर पुर्णिमाका दिन महामेला लाग्छ । त्यसबेला लोपोन्मुख जातिका साथै विभिन्न समुदायको सँस्कृति प्रर्दशन गरिन्छ । तालमा २ वटा डुँगा छन् । फोटा खिच्दै हामी बोटिङमा रमाउन थाल्यौं । बालकहरु किनारबाट जम्प गर्दै पौडी खेल्न थाले ।

तालको परिकल्पना ०६२ सालमा गरिएको थियो । तर, ०७२ असारमा मात्र तयार भयो । पार्कको स्वामित्वमा ३९ हेक्टर क्षेत्रफल छ । १० हेक्टरमा मात्र ताल । जरुवा पानीबाट त्यस क्षेत्रमा ८ खोला बगे पनि लाटी खोलाको पानीले मात्र ताल निर्माण गरिएको । तालमा फिसिङ सुविधा छ । केहीबेरमा धरानबाटै एक टोली फिसिङ गर्न आइपुग्यो । तालसँगैको जंगलमा स्थानीय युवा विकास राईले ३२ इञ्चको टेलिभिजन राखिदिएका छन् । खबरसँगै मनोरञ्जन लिन सकिन्छ । गाउँमा ६ करोड ४० लाखको खानेपानी आयोजना पनि शुरु भएको रहेछ ।

हिमायतीका कलाकार पदयात्रामा जानुको उद्देश्य थियो । पत्रकार तथा निर्देशक जसकुमार राई हिमायतीको डकुमेन्ट्री बनाउँदैछन् । तालमा हिमायतीले गीत गाउने र त्यसको दृष्य खिच्ने उनको योजना । हिमायतीका कलाकार लहरै कुर्सिमा बसे । अनि, जीवन भट्टराईले गितार झिके । बीचमा रहेका हर्क चुम्मे दाईले संक्षिप्त इतिहास भनेर हिमायतीको परिचय गीत शुरु गरे,

 बर्ष है बित्यो, युद्धको खेलमा, झुकेन हिमायती
गोलवन्द हुदै गर्जिदै गयो,रोकिएन यसको गति....।

चुम्मे दाईको जोसिलो स्वर । पत्रकार मित्र दिनेश गजमेर हिमायतीको पछिल्लो पुस्ताका हुन् । हर्क दाईलाई अरु कलाकारले साथ दिए । हिमायती गुञ्जिन थालेपछि स्थानीयहरु बुढापाका र युवा पनि भेला भए । ०४६ सालअघि गाउँ वस्तीमा गुञ्जिएका जनताका प्रिय गीत त हिमायतीको पो रहेछ । कति गीतहरु रेडियो, एफएम सुनेको, तर हिमायतीको हो भनेर थाहै थिएन ।

प्रत्येक गीतसँगै हर्क दाईले हिमायतीको इतिहास, पञ्चायतविरुद्धको संघर्षपुर्ण दिनहरु र गीतको रचनागर्भ सुनाउँदा मन तरंगीत हुन्थ्यो । बादल मडारिन थाल्यो, ठुलो पानी प¥यो । तर, गीतले भने झैं बर्षाले पनि हिमायतीको गतिलाई छेकेन । नजिकैको खाजा घरमा बसेर गीत, संगीत र इतिहास वृत्तान्तले निरन्तरता पाइरह्यो । त्यहाँ कान थापेर सुनिदेउ दाजु.., पानी है प¥यो.., गड्याङ गुडुङ.., अध्यारो बस्तीमा.., सम्झेर किन मान्छेले भाग्य..,अन्तिम हुदैन कहिल्यै संसार बनाउने यात्रा..,भेडेटार सरर.., अविरल जीवनका यात्राहरुमा.., फिरेन सुदिन आएन वसन्त..लगायत गीतहरु एक पछि अर्को गर्दै सुन्यौं । गीतहरुले भित्रैबाट उर्जा दियो । देश र जनताप्रति समर्पित प्रिय गीत । बोलीचालीमा जनवादी गीत भनिन्छ, तर मलाई जनताको गीत भन्न मन लाग्छ । रा.स.तालका उपाध्यक्ष राईको रचना पनि हिमायतीले संकलन गरेको रहेछ । कस्तो संयोग, उनले पनि माझी दाई डुंगामा तारिदेउ..बोलको आफ्नो गीत गाए । आफैले गीतार बजाए । आह, कति मिठो !
हर्क दाईले स्मृतिका पन्ना पल्टाए । ०४६ साल अघि कलाकार टोली आउँदा बक्लौरी सुनसान थियो । अहिले त ठुलो बस्ती छ । त्यसबेला दुःखका साथ हिँडेको, देश र जनताको गीत, जागरणको गीत गाएको उनले स्मरण गरे । तर, राजनैतिक परिवर्तनपछि पनि जनताले सुख नपाएकोमा असुन्तुष्टी पनि । हिमायतीको इतिहास केलाउँदा धरानका जुझारु युवा मिलेर ०३८ सालमा शुक्रपथ अध्ययन समुह गठन गरेका थिए । त्यही साल समूहको नाम फेरिएर हिमायती जनसाँस्कृतिक समुह बनेको रहेछ । चालिसको दशकमा पञ्चायती व्यवस्थाविरुद्ध जागरण र परिवर्तनका गीत गाउँदै हिमायती गाउँवस्तीमा पुग्थ्यो । हिमायती तत्कालीन नेकपा मालेको विचार, सिद्धान्तसँग नजिक थियो, र गीत संगीतको माध्यमबाट जनातामाझ विचार पु¥याउने अभियानमा थियो ।

देश र जनताको सार्थक एवं जनवादी गीतहरु संकलन गर्ने, संगीत भर्ने र जनताको माझमा गीत, संगीतको माध्यमबाटै विकृति, विसंगतिविरुद्ध जागरण ल्याउने । ०५४ सालपछि हिमायती सुस्तायो । अहिले पुर्नजागरण हुने क्रममा छ । हङहङमा त हङकङ हिमायती गठन भइसकेको रहेछ ।

खाना खाँदासम्म ४ बजि सकेको थियो । पैदल घर फर्कदा रात पर्ने भो । गाडीमा फर्कने सल्लाह भयो । गाडी नआउञ्जेल उपाध्यक्ष राईसँग बुझ्यौं । ताल पुग्न हाँसपोशा(तरहरा)बाट ७ किलोमिटर पश्चिम, झुम्काबाट पनि ७ किलोमिटर उत्तर जानुपर्छ । धरानको हरियाली सामुदायिक वनबाट सिधै दक्षिण जाँदा ८ किलोमिटर मात्र दुरी । बक्लौरीको सुनसरी सामुदायिक वन र हरियालीबीच सहकार्य भएर सिधै जोड्ने भरपर्दो बाटो भने बनाउन आवश्यक छ । तालसम्म चार पांग्रे, दुई पांग्रे सवारी सजिलै पुग्छ ।

उपाध्यक्ष राईले सुनाएझैं ताल विकासका योजना सफल भएमा रासताल पूर्वको नमुना पर्यटन गन्तव्य बन्नेमा शंका छैन ।

प्रकाशित: २० कार्तिक २०७३ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App