अन्य

रहस्यलोक तिब्बत

स्वामी आनन्द अर्हत

हामी काठमाडौँबाट ल्हासा उड्न एयरपोर्टमा ५ घन्टा कुर्दा पनि जहाज उडेन, मौसम खराबीका कारण। अर्कोदिन जहाज उड्न त उड्यो, तर ल्हासामा अवतरण गर्न सकेन, खराब मौसमका कारण। हामी चीनको अर्को सहर चेंग्दु पुग्यौँ, त्यहीँ रात कटाउनुपर्‍यो। भाषाको ज्ञान नहु“दा हामी शाकाहारीलाई खानाको केही समस्या भयो। उचाईस“ग मित्रता गा“स्न ल्हासामा बस्नुपर्ने दुई दिन त्यतिकै बिते। चेंग्दु एयरपोर्ट सफा र विशाल रहेछ। रजिस्ट्रेसन डेस्कमा धैर्यपूर्वक लामालामा लाइनमा लागेका यात्रुहरूको सामान लिने र बोर्डिङ पास दिने काम कुनै झिँजो नमानी आरामले चाँडैचाँडै गर्ने चिनियाँहरूको बानीले प्रभाव पार्‍यो। हवाईयात्राका क्रममा चीनमा ब्याकअप चार्जरहरू लगेजमा दिन पाइँदैन। आफैस“ग हाते ब्यागमा बोक्नुपर्छ।

भीमकाय पोताला

हामी ल्हासा पुग्यौँ बल्ल। त्यहाँ पुग्नेबित्तिकै मनमा एकखालको आह्लाद छायो। लिन आएका गाइड तिब्बती स्टाइलमा ठीकै अंग्रेजी बोल्थे। आधुनिकतामा पूरै डुबेको ल्हासाको एक मुख्य आकर्षण भनेको भव्य पोताला दरबार हो। जोखान मन्दिर, द्रेपुंग र सेरा गुम्बा पनि यहा“का ठूला आकर्षण हुन्। सातौँ शताब्दीमा सोग्त्सेन गाम्पोले ल्हासा उपत्यकाको मध्यमा अवस्थित रातो डा“डा नामक पहाडमा खनेर एक गुफा बनाएका थिए रे। पाताल भन्ने शब्दबाट पोताला नाम बनेको पनि भनिन्छ। पाचौँ दलाई लामाले सन् १६४५ मा यसको निर्माण सुरु गराएका थिए। उनी लेखपढ गर्न राम्रो जानेका प्रतापी थिए। त्यसबेला मंगोलियाका शासक गुश्री खान थिए। धर्मचर्चा सुन्न गुश्री खान धेरैपटक ल्हासा आएका थिए र उनलाई यसबाट आध्यात्मिक अनुभूति भएकाले दलाई लामास“ग उनको मेल भयो। दलाई लामाबाट खान बुद्ध धर्ममा दीक्षित भए। खानको सर्तहीन सहयोगबाट दलाई लामा तिब्बतका वास्तविक एक दृढ धार्मिक र राजनीतिक शासकका रूपमा उदाए। तर, पोताला दरबार बनाउँदाबनाउँदै अचानक उनको मृत्यु भयो। उनको शरीर उनका मुख्य सहयोगी सा¨गयात्सोले काठको बाकसमा सिल्क र सूतिको कपडाले बेरेर दालचिनी, केसर, कपुर र नुनको मिश्रणमा राखी बन्द गरेर १३ वर्षसम्म सुरक्षित राखे र पछि पोतालामै ६४ फुटको सुनको फ्रेममा उनको शरीर समाधिस्थ गरियो। उनको मृत्यको खबरले निर्माण कार्य रोकिएला भन्ने भयले उनले दलाई लामा कसैस“ग नबोल्ने साधनामा छन्, कसैलाई भेट्दैनन् भन्दै सबैलाई काममा खटाएर निर्माण कार्य सम्पन्न गराए। आज यो अद्वितीय भवन हेर्दा ती सहयोगीले खुब बुद्धि पुर्‍याएछन्जस्तो लाग्छ। सन् १९५९ सम्म यो भव्य दरबार दलाई लामाको शिशिरयामको आवासगृह र प्रशासनिक तथा धार्मिक कार्यालय थियो। १३ तलाको यो अजंगको दरबारमा करिब हजार कोठा छन्। अहिले यो विश्वसम्पदा सूचीमा अंकित छ र हाल यो तिब्बतको धार्मिक, ऐतिहासिक र सांस्कृतिक संग्रहालयमा परिणत भएको छ। तिब्बतीहरू 'ओम् माने पेमे हु“म्' भन्दै यसलाई पवित्र मन्दिरको रूपमा परिक्रमा गर्छन्। 

हामीले ल्हासाबाट हि“डेको तीन दिनमा यात्रा पूरा गरेर मानसरोबर पुग्नुपर्ने थियो। २४ सिटे बस सुविधाजनक थियो। प्रत्येक सिटमा चार्जर, सिटबेल्ट थिए। बसमा ६ वटा सीसीटीभी क्यामेरा जडान थिए। गत वर्ष बस दुर्घटना भएर नदीमा खस्दा दर्जनजति यात्रीको ज्यान गएपछि सरकारले नियम कडा बनाएको रहेछ। बस ४० किमी प्रतिघन्टा भन्दा तेज गुडाउन पाइ“दैन। ल्हासाबाट बसको यात्रा सुरु भएपछि हमेसा एक प्रहरी बसमा ड्युटीमा बसिरहन्छन्। घरि बादल, हल्का वर्षा अनि कडा घामलाई स्वागत गर्दै दिनभर रंग बदलिरहने तिब्बतको आकाशलाई हेर्दै अनि विशाल फा“टहरूमा दृष्टि कुदाउ“दै, घरिघरि निदाउँदै ब्रह्मपुत्रको किनारैकिनार यात्रा जारी हुन्छ। मेरा लागि यो ओशोका प्रवचन सुन्ने विशेष मौका हो।

स्वर्गबाट भर्‍याङमा झर्ने राजाहरू

तिब्बतीहरू आफूलाई बा“दर र एक राक्षस्नीको सहबासबाट उत्पन्न सन्तान मान्छन्। करुणावतार अवलोकितेश्वरले बा“दरको रूप लिएको मान्यता छ। सातौँ शताब्दीअघिको तिब्बतको इतिहास निर्क्योल गर्न गार्‍हो छ। सातौँदेखि दसौँ शताब्दीसम्म तिब्बत राजाहरूद्वारा शासित थियो। प्रथम सात राजा स्वर्गबाट डोरी या भर्‍याङबाट पृथ्वीमा अवतरित भएका मानिन्थे। यसका प्रथम राजा भारतका कुनै राजकुमार थिए, जो हिमाल पार गरेर पठार पुगेका थिए। स्थानीय तिब्बतीहरूले 'तपाईं कहा“बाट आउनुभयो?' भनी सोध्दा उनले औँलाले माथि देखाएछन्। उनीहरूलाई लागेछ स्वर्ग(आकाश)बाट अवतरण भएछन् र हाम्रा राजा हुन लायक छन्। तिब्बतीहरूले उनलाई का“धमा बोकी लगेर गद्दिसीन गराए। तर, आठौँ राजा युद्धमा मारिपछि उनले स्वर्गको सम्पर्क गुमाएको ठहर भयो। त्योबेला राजा, मुख्यमन्त्री र मुख्य पूजारीमा शक्ति केन्द्रित थियो।

बुद्धको आगमन

पहिलो शताब्दीमा बुद्धधर्म तिब्बतमा फाट्टफुट्ट फैलिन थालेको भए पनि आधिकारिकरूपमा तिब्बतका धर्मराजा सोग्त्सेन गाम्पोको समयमा बुद्धधर्मको मजबुत आधार बन्यो। यिनलाई तिब्बतमा करुणाका बुद्धावतार, अवलोकितेश्वरका अवतार मानिन्छ। उनले नेपाल र चीनस“ग सन्धि गरी नेपालबाट भृकुटी र चीनबाट एकएक रानी भित्याएका थिए। दुवै रानीले बुद्धको मूर्ति लिएर तिब्बत पुगेकाले राजालाई पनि बुद्धधर्ममा प्रवेश गराउने श्रेय यी रानीलाई जान्छ। तिब्बतको ल्हासामा रहेको जोखान गुम्बामा गाम्पो, भृकुटी तथा रानीहरूसहितको मूर्तिको पूजा हुन्छ।

राजाले देवनागरी वर्णमालाको आधारमा तिब्बती वर्णमाला संयोजन गर्ने कार्य गराए। यसबाट भारतमा संस्कृतमा भएका धेरै बौद्धग्रन्थहरू तिब्बती भाषामा अनुवाद गर्ने पवित्रकार्यको सुरुआत भयो। तिब्बतले यो ऐतिहासिक कार्य आफ्नै बुतामा उत्साहजनकरूपले गरेको देखिन्छ। तिब्बतको चारपटक यात्रा गरेका भारतका घुमक्कड विद्वान् राहुल सांकृत्यायनले तिब्बतका गुम्बाहरूमा भारतमा पनि उपलब्ध हुन नसकेका ग्रन्थहरू मिलेको लेखेका छन्। उनले प्रखर बौद्धभिक्षुहरू धर्मकीर्ति (यिनलाई बौद्धधर्मका कान्ट या हेगेल पनि भनिन्छ), ज्ञानश्री, श्रीभद्र, असंग, बसुबन्धु, प्रज्ञाकरगुप्तका कृतिका तिब्बती अनुवाद या संस्कृतमूलमै पाएको चर्चा गरेका छन्। ७–८ सय वर्षसम्म कसैले नचलाएका दुर्लभ ग्रन्थरत्नहरू गुम्बाका सिलबन्द कोठरीहरूमा बाक्लो धुलो जमेको अवस्थामा पाउ“दा विस्मय र भावविभोर भएर आफ्नो आनन्दको सीमा नरहेको उल्लेख गरेका छन्।

जताततै देउतैदेउता

तिब्बतीहरू सुरुदेखि नै नदीनाला, वन, मैदान, चट्टान, पर्वत, वृक्ष या विभिन्न भौगोलिक आकृति उब्जेका स्थानहरूमा देवता, राक्षस या सूक्ष्मलोकका जीवको बास हुन्छ भनी मान्छन्। यिनीहरूको शान्ति भंग गर्नु हु“दैन भनी इज्जत गर्ने चलन छ। जहा“ पायो त्यहीँ खन्ने, जोत्ने या घर बनाउने गरि“दैन। दयालु र अनिष्ट गर्ने दुवै प्रकारका आत्माको ठूलै वर्गीकरण छ। महायान बुद्धधर्ममा अनेकौँ बोधिसत्वहरू, सम्बुद्ध प्राप्त मनुष्य र देवको लामो सूची छ। देव, नाग, यक्ष, गर्न्धव, असुर अन्य धेरै पदक्रम पनि छन्। धार्मिक अनुष्ठानहरूमा यिनीहरूलाई केही चढाउने मात्रै होइन, तथागत बुद्धको धर्मज्ञान मन्त्र 'कुनै पनि घटना (दुःख) को कारण हुन्छ र तथागतले यसबाट मुक्ति हुने मार्गको उद्घोष गर्नुभएको छ। त्यसैले कसैलाई कुभलो नगर, पुण्यधन कमाउने कृत्य गर, आफ्नो मनलाई बसमा राख, यो बुद्धको शिक्षण हो भनी सुनाइन्छ। हेर्दा यो परम्परा मनोगत मान्यताजस्तो देखिन्छ। तर, तिब्बतमा आदरपूर्ण सहअस्तित्वको जगमा दृश्य–अदृश्य अस्तित्वस“ग मैत्रिपूर्ण सम्बन्ध राख्ने प्रयास गरिएको छ। व्यक्त–अव्यक्त जगतस“ग एक रहस्य र विस्मयभावले ओतप्रोत जीवन्त सामञ्जस्यता कायम गर्ने अनुपम प्रयास गरिएको छ।

तीन स्थिति, छ लोक

बुद्धधर्ममा जीवनलाई एक गति मानिन्छ। मैले ग्यान्त्सेको गुम्बामा देखेको विशाल 'जीवनचक्र' या 'भवचक्र' नामक चित्रको केन्द्रमा तीनवटा जनावर चित्रित भएको देखेको थिए“। त्यो केन्द्रको वरिपरी जीवनका अस्तित्वहरू दर्शाउने दृश्य कोरिएका छन्। बुद्धधर्ममा जीवको ३ किसिमको स्थितिमा जन्म हुन सक्छ– रूपको स्थिति, अरूपको स्थिति र इच्छाको स्थिति। रूप र अरूपको अवस्था चेतनाको सूक्ष्म स्थिति हो। यो धारणा र ध्यानको निश्चित उचाईमा मात्र प्राप्त हुन्छ। तर, इच्छाको लोक भने यी तीनमध्ये सबैभन्दा स्थूल हो। हामीले गरेको कर्म, त्यसबाट प्राप्त हुने फल र रसबाट उत्पन्न संस्कारका कारण हामी यी गति या लोकमा पुग्छौँ। ती हुन्– देवगति, असुरगति, प्रेतगति, नरकगति, पशुगति, मनुष्यगति। जति बाहिरी विकास गरे पनि निराशा, विसाद र उन्मादको पासमा बाँधिएका हामी मुनष्य आखिर कुन लोकको यात्राको तयारी गरिरहेका छौँ भन्ने मनोवैज्ञानिक अनुमान लगाउन यो गति र लोकको रूपरेखा सहायक होला।

देवगतिः देवताहरूको लोक जहा“ शक्ति, धन्यधान्य र दीर्घायुलेे जीवन भव्य र सुखपूर्ण हुन्छ। तर, पुण्यको इन्धन सकिएपछि फेरि जन्म–मरणको चक्करमा पर्नैपर्छ। असुरगतिमा देवताविरुद्ध लड्ने यी जीवहरू आफू बलियो र शक्तिशाली हुने गहन ईर्ष्या र वैरभावले भरिएका हुन्छन्। शक्तिका भोकाहरूको यो साम्राज्यमा शान्ति कहिल्यै हु“दैन। प्रेतगतिको विवरण पनि अनौठो छ। सानो मुख भएका, अति सा“घुरा घाँटी भएका, ठूल्ठूला खाली पेट अनि असीम भोक र अनियन्त्रित इच्छाग्रस्त जीव यो लोकमा पुग्छन्। कहिल्यै सन्तोष नहुने लत, उन्माद र नसामा फस्ने अतृप्त जीवहरूको यो लोक हो। नर्कगतिमा परेको जीवलाई भयानक क्रोधको संवेगले सधैँ घेरिरहन्छ। दया–करुणास“ग आन्तरिक बेमेल भएका कारण यो सबैभन्दा पीडाजनक र गहन व्यथाको अवस्था हो। अतिशय रिस र आक्रामक स्वभावले यो लोकमा पुर्‍याउ“छ। जनावरगति मूर्खता, भ्रान्त मनोदशा र बेहोसीको एक मिश्रित अवस्था हो। नया“पनबाट परै बस्ने, त्रसित भएर एक सा“घुरो धार्मिक या दार्शनिक दायरामा आफ्नो सुरक्षा देख्ने, अपरिचित स्थितिबाट भाग्न खोज्ने र सुरक्षाको एक गतिहीन स्थितितिर जडोन्मुख यान्त्रिक अवस्था हो यो। यसले भयलाई प्रश्रय दिइरहेको हुन्छ। मनुष्यगति भने विशेष स्थिति हो। बेहोसीले मोह, राग, द्वेष, मान र ईष्याजस्ता क्लेसको मारमा पर्ने यो लोक भए पनि यो अस्तित्व र गतिलाई पार गरेर वर्तमानको क्षणमा पूर्णरूपले जागृत भई सम्बोधि प्राप्त गरेर संसारचक्रमबाट नै मुक्त हुने अद्वितीय अवसर पनि यही चोलामा मात्र सम्भव छ। होस जगाउन साधनाका उपायहरू अवलम्बन गर्ने या नगर्ने स्वाधीनता यो योनिमा मात्र छ। बुद्ध या बुद्धु के बन्ने भन्ने संकल्प पूर्णतः आफैले निर्देशित गर्न सक्ने चेतना हामीमा भएकोले यो देहधारणको आफ्नै महिमा छ। यो अनुपम स्वतन्त्रताको बोध उपहारस्वरूप हामीलाई मात्र प्राप्त छ।

प्रकाशित: २९ श्रावण २०७३ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App