विचार

मतदाताको मौनता

मौन बस्ने परम्परा प्राचीन संस्कृति, सभ्यता, धर्म, आचरण, रीतिरिवाज र संस्कारसँग जोडिएको छ। ऋषि–महर्षिहरू हिमालयका काखमा, एकान्त वनमा, नदी किनारामा कैयन् वर्ष तपस्या गरेर बस्थे, मौन, निःशब्द। गृहस्थी जीवनमा, गाउँ र सहरमा त्यो असंभव जस्तै हुन्छ।

एक–अर्कामा आश्रित समाजमा मौनव्रत बस्नेहरू पनि पाइन्छन् तर बहुसंख्यक मानिसले आफूमाथि भइरहेको दमन, शोषण, अत्याचार र अन्याय सहेर बसे भने त्यो मानसिक दासत्व ठहरिन्छ, कायरता मानिन्छ। राज्यसत्ता संगठित समूह वा कुनै व्यक्तिबाट आफ्नो अधिकार हनन भएको अवस्थामा पनि मानिस मौन बसेमा नागरिक हक सुरक्षित रहँदैन। चुनावमा मतदान गर्नुपर्छ भन्ने थाहा पाएका मतदाताले आफूले चुनेकै व्यक्तिबाट शोषित, पीडित र अपहेलित हुनु परे पनि चूपचाप सहेका उदाहरण छन्।

बाटो, स्कुल, कलेज, रोजगारी, ओखति अस्पताल, खानेपानी, सुरक्षालगायतका यावत प्रबन्ध गर्ने वाचा गरेर विगतमा धेरैले झुक्याए। अधिकांशले चुनावमा दिएको वचन बिर्सिए। हुनेखाने र हुँदाखाने वर्गबीचको अन्तराल घटेन। पचास लाख भन्दा धेरै युवा अहिले पनि विदेशमा श्रम गरिरहेका छन्। हरेक वर्ष यो संख्या बढिरहेको छ। ‘यस्तो किन भयो’ भनेर लाखौँ युवाले प्रश्न गर्नुपथ्र्यो तर चूपचाप सहेर बसे। स्वदेशमै उद्योगहरू खोलेर लाखौँ युवालाई रोजगारी दिन सकिन्थ्यो। उनीहरूलाई सेयर होल्डर बनाउन सकिन्थ्यो तर त्यसो गरिएन। युवाले पनि सिंहदरवारले सुन्ने आवाज बुलन्द गरेनन्। उनीहरूका परिवारका सदस्यहरू मौन बसे। श्रमिक, किसान, विद्यार्थी सबै मौन बसे। दलदलको कलहमा जुलुुस निकाल्ने पत्रकार र पत्रकार महासंघको चुनावमा उम्मेदवार बन्न दलका नेताहरूका घर–घर धाउनेहरूले राज्यसत्ताले जनताको हितमा किन ध्यान दिएन भनेर प्रश्न गरेनन्। सहरमा ससाना जुलुस निकालेर सीमित व्यक्तिले आवाज उठाउँदा सहरका अभिजात्य वर्ग (एरिस्टोक्रयाट) पनि मौन बसे। त्यसलाई ध्वनि प्रदूषण मात्रै ठाने। त्यो वर्गका पनि पीडा छन् तर कार्पेटमुनि कसिङ्गर लुकाएझैँ लुकाइरहेका छन्।

हो, यो पाखण्ड आजको समस्या हो। स्वतन्त्र ढंगले विश्लेषण गर्ने लेखक एक्लो पर्छ। कुनै भ्रष्ट अकर्मण्य, लाचार र पराधीन नेताको स्तुतिगान नगर्ने इमानदार कार्यकर्ता एक्लो पर्छ। एकाउन्न प्रतिशत सांसदलाई आफ्नो पक्षमा पार्न हरेक कालखण्डमा शक्ति, सम्पत्ति र सत्ताको दुरूपयोग गरिँदा ४९ प्रतिशत “अल्पमत” बबुरो बन्नुपर्छ। जालझेल, छक्कापन्जा, मसल, मनी (पैसा) सबै प्रयोग गरेर चुनाव जित्ने “जनअनुमोदित” मानिन्छ। त्यो शक्तिपुञ्ज र जनादेश नै राष्ट्र लुट्ने लाइसेन्स बन्छ।

संस्कृतमा अवचनम्, निःशब्दम्, मौनव्रतम्, अभाषणम् आदि शब्द देश, काल, परिस्थितिअनुसार प्रचलनमा रहेको पाइन्छ। आध्यात्मिक, धार्मिक र मनोवैज्ञानिक परिभाषा फरक भए पनि अकारण मौन बस्नु र बोल्नुपर्ने ठाउँमा नबोल्नु अपराध मानिन्छ। दौपदीको चीरहरण हुँदा मौन बस्नेहरूलाई महाभारतले अपराधीकै रूपमा लिएको छ। अन्याय गर्ने भन्दा अन्याय सहेर बस्ने दोषी मानिन्छ। यसरी हेर्दा भ्रष्ट अपराधी र असभ्यहरूलाई समर्थन र सहयोग गर्ने जनतालाई निर्दोष भन्न मिल्दैन। “विगतबाट सिकेर वर्तमानलाई सजीव, गतिशील र प्रिय बनाऊ। भविष्यप्रति तिमी आशावादी बन तर मौन नबस। प्रश्न गरिरहु”– अल्बर्ट आइन्स्टाइनले भनेका छन्।

टेक्सास विश्वविद्यालयको मिडिया अध्ययन फ्याकल्टी (विभाग) बाट गरिएको सर्वेक्षणमा “नेता र जनताको दूरी बढ्नुको प्रमुख कारण हो, जनप्रतिनिधिहरूमध्ये धेरैले आफू पनि जनता नै हो भन्ने बिर्सनु। जनतासँग कुरा गर्दा मिडियाले राजनीतिलाई केन्द्रविन्दु बनाउँछन् तर जनतालाई बिर्सन्छन्।” जनता रुष्ट हुँदा के हुन्छ र ! आफूलाई विदेशी शक्तिको आशीर्वाद प्राप्त छ भन्ने ठानेर नेपालका सीमित “शीर्षस्थ” व्यक्तिहरूले सत्ताको स्वाद लिइरहेका छन्। २०६३।६३ पछि सत्ताको स्वर्ग अनुभव गरेपछि माओवादीभित्र एउटा नवाव समूह जन्मेको छ। त्यसलाई कुनै दबाब समूहले तातो फलामले घोचे पनि फरक पर्दैन। राजनीतिक दलको आवरणमा हिजो जनता लुटनेले राष्ट्र लुटिरहेका छन् तर बहुसंख्यक मतदाता मौनीबाबा बनेर “साइलेन्ट” छन्। हुल्याहा (भायलेन्ट) नेता र मौन (साइलेन्ट) मतदाताको अजीवको प्रेम छ नेपालमा। हजारौँको हत्यारा म हँु भन्दै हिँड्नेहरूलाई जिताउन जनताले नै उत्साह देखाए भने त्यो दुर्भाग्यको भागीदार जनता नै बन्नुपर्छ। गठबन्धनको नाममा बलात्कारी, भ्रष्ट, हत्यारा, डाँका, तस्कर आदिको जत्थाले जित्ने हो भने राष्ट्र अझै पचासौँ वर्ष पछिल्तिर धकेलिने निश्चित छ। पक्ष र प्रतिपक्ष मिलेर सधैँ भोज खाने परम्परा बसेको छ नेपालमा। केही नपाउने दरिद्र जनता पनि टाढा बसेर आफ्ना नेताहरू अघाएकोमा खुसीले गद्गद् हुने गरेका छन्।

“बैर बढाते मस्जिद–मन्दिर, मेल कराती मधुशाला”(अर्थात्, मस्जिद मन्दिरले आपसमा दुस्मनी बढाउँछन् तर रक्सीभट्टीले आपसमा मेल गराउँछ) भनेका छन्– भारतीय कवि डा.हरिवंश राय वचनले। खाने–पिउने कुरामा एकजुट बन्ने गरेका छन्, राजनीतिक दलहरू। राजतन्त्र फर्काउँछु भन्दै भोट माग्ने दल संसद्मा पुगेर राष्ट्रपतिका उम्मेदवारको प्रस्तावक बन्यो। हार्वर्ड, अक्सफोर्डलगायतका राजनीतिशास्त्रका प्राध्यापकहरू पनि छक्क परे होलान्। संघीयता चाहिँदैन भन्थ्यो, त्यो दलले। संघीयतासम्बन्धी मामिला हेर्ने मन्त्रालय उसकै भागमा प¥यो। गणतन्त्रको वकालत गर्दै पचासौँ प्रवचन दिने ती नेतालाई उनकै मतदाताले प्रश्न गरेनन्। यो मौनता नै अवसरवादीको अवसर सावित भयो। गणतन्त्रवादीकै चरणको जल खानु थियो भने किन नक्कली मयुर बनेर नाचेको ? किन गणतन्त्रको गीतमा कम्मर भाँचेर नाचेको ? भनेर केहीले प्रश्न पनि गरे। त्यो प्रश्न झिनो ठहरिएकाले दलका घोषणापत्र सिनो बन्दै गए।

पीडाको मौनता, मृत मौनता, रित्तो मौनता, रहस्यमय मौनता, संगीतको मौनता, ज्ञानको मौनता, भयाक्रान्त मौनता, भ्रमको मौनता, उच्छवासको मौनता, शक्तिको मौनता, यौनको मौनता, जोखिमको मौनता, श्रवणको मौनता आदिबारे स्रष्टाहरूले धेरै लेखेका छन्। रंगमंचमा उभिएर दुई मिनेट मौनधारण गर्ने कुशल कलाकारले लाखौँ शब्दको सन्देश दिन्छ।

सन् १९९६ मा सञ्जयलीलाद्वारा निर्देशित “खामोसी: द म्युजिकल” चलचित्रमा मनिषा कोइराला, नाना पाटेकर, सीमा विश्वास र सलमान खानको अभिनय सुन्दर छ। गोआको एउटा परिवारमा एक शब्द पनि बोल्न नसक्ने मुक आमा÷बाबुको सन्तानका रूपमा हुर्कन्छिन् एन्नी अर्थात मनिषा कोइराला। हजुरआमा हेलेन (मारिथा) बाट संगीत सिकेकी मनिषाको साथी बन्छ संगीत। सो चलचित्रमा मौन पनि ठूलो शक्ति र शब्दको भण्डार हो भन्ने सन्देश दिन खोजिएको छ।

मौन हुनेहरूको हृदयमा पनि ज्वालामुखी हुन्छ। विद्रोह हुन्छ। कसैले भन्न सक्दैनन्, भन्न जान्दैनन् वा व्यक्त गर्ने मौका नै पाउँदैनन्। यसको अर्थ उनीहरूले केही थाहै पाएका छैनन् भनेर बुझनु नेपाली नेताहरूको मुख्र्याइँ हो। मलाई इलामका एक जना किसानले सुनाए– गोलाखर्क भञ्ज्याङबाट पुवा खोला हुँदै दमक (झापा) जोड्ने पिचरोड बनाएर अर्को चुनावमा आउँदा तपाईँहरूको सबै सपना पूरा गर्छु भन्ने मान्छे नै चुनावपछि बेपत्ता भए। उनी हामी जनतालाई कोदो ठान्छन् र आफूलाई वासमती चामल। यस्ता नेतालाई तीस वर्ष जिताएर ठगिने हामी जनता पो मूर्ख त...।

यसमा जनता पनि निर्दोष छैनन्। आँखा कमजोर भएको मानिस जस्तो दश मिटर परको भविष्य पनि नदेख्ने आल्मकेन्द्रितहरूलाई दूरद्रष्टा नायक चाहिएकै छैन। आफ्नो दल, चिनारु, प्रियजन, नातागोता मात्र चाहिएको छ। आफ्नै जात खोज्दा घात भएको छ। राजा महेन्द्रका पालामा काठमाडौँबाट नुवाकोट हुँदै युवराज वीरेन्द्र पदयात्राका क्रममा पाल्पा पुगेको प्रसंग सुनाउनुभएको थियो, ऊबेलाका बडाहाकिम कृष्णबहादुर बर्माले। साँझपख युवराज र उहाँका अंगरक्षकहरूसँग भलिबल खेलेको, नाचगान गरेको र युवराजको अनुभव सुनेको कुरा बर्माले कमलपोखरी (काठमाडौँ) स्थित निवासमा पंक्तिकारलाई सुनाउनुभयो।

बर्माले सोध्नुभएछ– “सरकार, वास्तवमा डेमोक्रेसी भनेको के हो ?” युवराजको जवाफ स्पष्ट थियो– “बर्मा, टु अन्डरस्ट्यान्ड हाउ पिपल थिङ्क, लुक टु देअर एक्सन्स नट देअर वर्डस्।” डेमोक्रेसी भनेको “थिङ्क विथ द पिपल, वाक् विथ द पिपल एन्ड वर्क विथ द पिपल।” (जनतासँगै सोच, जनतासँगै हिँड, जनतासँगै काम गर।) ब्रिटेन, अमेरिका र जापानका स्तरीय कलेज र विश्वविद्यालयमा अध्ययन गरेको डेमोक्रेसीको निचोड थियो, त्यो।

नेपाली राजनीतिमा “भन्नेहरू” प्रशस्त छन्, सुन्ने नेता छैनन्। देख्ने मात्र भए, अनुभूत गर्नेहरू भएनन्। परिवर्तनका कुरा गर्नेहरू कति छन् कति, आफू परिवर्तित हुन चाहँदैनन्। अरूलाई गाली, आलोचना र आक्रोश व्यक्त गर्नेहरू प्रशस्त छ, आत्मसमीक्षा गर्नेहरू छैनन्। लिनेहरू धेरै छन्, दिनेहरू छैनन्। पढ्नेहरू छन्, आत्मसात गर्नेहरू छैनन्। “जो जो बराजु, सो सो नाति” भनेझैँ नेताका पछि पछि दगुर्नेहरू नेता जस्तै छन्। नेता, कार्यकर्ता र मतदाता जस्ता छन्, हाम्रो “डेमोक्रेसी” पनि त्यस्तै छ। जनताले जबसम्म कठोर र सही निर्णय गर्दैनन्, तबसम्म धेरैपल्ट आमनिर्वाचन गरे पनि परिणाम उस्तै उस्तै आइरहन्छ। जनताले आफू, समाज र राष्ट्रको रक्षा गर्न परिवर्तन चाहेको हो भने आफैँले निर्णय गर्नुपर्छ, दलको दास बन्नुको अर्थ छैन।

प्रकाशित: २ मंसिर २०७९ ००:४३ शुक्रबार

आम निर्वाचन २०७९