सनातन धर्मको प्राचीन ग्रन्थ महाभारत जगत्प्रसिद्ध छ। संस्कृत, हिन्दी, नेपाली, भारतका अनेकौँ क्षेत्रीय भाषाका साथै चाइनिज लगायतका धेरै भाषामा यो ग्रन्थको अनुवाद भएको छ। थाइल्यान्डमै जन्मेर हुर्किएकी भारती (भारथी) लिम्बुले एउटा आलेखमा रामायण र महाभारत थाइल्यान्डका घर-घरमा प्रसिद्ध भएको उल्लेख गर्नुभएको छ। नेपालीभाषीबाहेक कैयन् मुलुकले सनातन धर्म ग्रन्थहरूलाई ज्ञानको अमूल्य स्रोत मानेका छन्। एसिया, युरोप र अमेरिकाका कतिपय विश्वविद्यालले पूर्वीय प्राचीन धर्म संस्कृतिलाई महत्व दिँदै पाठ्यक्रममा समावेश गरेका छन्।
सन् २०१४ मा धरानमा आयोजित अन्तर्राष्ट्रिय लिम्बु सम्मेलनमा भाग लिन आएका भारती लिम्बुजस्ता सनातन धर्म र संस्कृतिप्रति आस्था राख्ने लाखौँ नेपाली भाषीहरू पचासौँ राष्ट्रमा छन्। फिजीदेखि फिनल्यान्डसम्म, स्विडेन, सिंगापुर (सिंहपुर) देखि सुमात्रासम्म भेटिन्छन्, नेपालसँग साइनो हुनेहरू। मलेसिया (मलाया) जाने केही ‘लाहुरे’ उतै घरजम गरेर बसे। पाल्पाका नेपाल ब्राह्मणका सन्तानले नोबेल पुरस्कार पाए। पुरस्कार ग्रहण गर्दै उनले आफ्ना वंशज नेपाली सनातनी भएको बताएका थिए। विश्वप्रसिद्ध लेखक भिएस नयपालको जन्म ट्रिनिडाडमा भयो भने उनका बुबा र हजुरबाले काशीमा शिक्षा लिएका थिए।
महाभारतको कथामा वर्णित श्रीकृष्ण, युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव मात्र होइन, दुर्योधन, द्रौपदी, द्रुपद, धृष्टधुम्न, भीष्म, कर्ण अभिमन्यु र शिखण्डी लगायतका पात्रले छुट्टाछुट्टै चरित्र वा लीला देखाएका छन्।
एक अर्ब बीस करोड भन्दा धेरै सनातनीले गीता, महाभारत, रामायाण, वेद उपनिषद् जस्ता प्राचीन ग्रन्थ “आफ्नो” ठान्छन्। ती ग्रन्थका वाणी सिकाएर सन्तानलाई सुसंस्कृत, शालीन, सभ्य बनाउन चाहन्छन्। क्रिस्चियन र मुसलमान धर्मका अनेक विद्वान्ले पनि सनातन धर्मबाट धेरै राम्रा र जीवनोपयोगी ज्ञान लिन सकिन्छ भनेका छन्। जर्मन म्याक्स मुलरले वेदलाई जर्मन भाषामा अनुवाद गरे भने होल्गर केर्सटन नामका जर्मन लेखकले “जिसस लिभ्ड इन इन्डिया” ग्रन्थमा जिसस क्राइस्टले सनातन धर्मबाट प्रेरणा लिएको उल्लेख गरेका छन्।
यस्ता अनेक उदाहरण साक्षी छन्। हाम्रा प्राचीन ग्रन्थहरू ज्ञानका अजस्र स्रोत हुन्। नचिन्नेले डायमन्ड, रुबि, एमरल्ड, अल्गाडनाइट, अमोलाइट, अक्वामरिन, ब्लडस्र्टोन, बोरासाइट र गार्नेट जस्ता बहुमूल्य रत्न कुल्चिएर हिँडेजस्तो हामीले धर्म-संस्कृति बिर्सेर आफ्नै अवमूल्यन गरिरहेका छौँ । धर्मप्रति आस्थावान जनताको मत पाएर प्रधानमन्त्री हुने केहीले माओ, स्टालिन, लेनिन,मार्क्स आदि नै भगवान मानेर धर्म र ईश्वरका नाममा शपथग्रहण नगर्दा मतदाताहरूले कुनै प्रतिवाद गरेनन्। नेपाल एउटा पवित्र मन्दिर हो र यहाँका प्रधानमन्त्री त्यसका पुजारी हुनुपर्नेमा पुजारी नै नास्तिक भए। जनताले उनैलाई जिताए। राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गर्दा बहुमतले ताली बजाए। त्यसबखत संस्कारी र सभ्यहरू मात्र लजाए।
महाभारत कथामा काशी नरेशकी जेठी छोरी अम्बाले दोस्रो जन्म लिँदा शिखण्डी भएको प्रसंग आउँछ। पाञ्चाल देशका राजा द्रुपदकी छोरी “शिखण्डिनी” का रूपमा अम्बाले पुनर्जन्म लिएको महाभारतमा उल्लेख छ। द्रौपदी उनकी बहिनी थिइन् भने धृष्टधुम्न उनका भाइ थिए। कुरुक्षेत्रको युद्धको दशौँ दिनमा भीष्मले शिखण्डी (पुरुषबाट महिलामा रूपान्तरण भएका पात्र) अम्बा नै हुन् भनेर चिनेपछि उनले हतियार फ्याँके। नारीमाथि हतियार उठाउनु पुुरुषोचित गुण होइन भन्ने मान्यता ऊबेला प्रबल थियो। शिखण्डीका पछाडि छलिएर बसेका अर्जुनले त्यही मौकामा भीष्ममाथि प्रहार गरे। तसर्थ छद्मरूप लिने पात्रहरूलाई शिखण्डी भन्ने गरिन्छ।
शिखण्डी द्वैध चरित्रको बिम्ब हो। अरूले छलकपटमा प्रयोग गर्ने प्रवृत्तिको प्रतिनिधि हो। नेपाली राजनीतिमा कैयन् विदेशी शक्तिले शिखण्डीहरूको “क्लोनिङ” गरिरहेका छन्। कसैलाई चीनविरुद्ध, कसैलाई भारतविरुद्ध र धेरैलाई स्वदेशकै विरुद्ध प्रयोग गरेका छन्।
भीष्मले अम्बा, अम्बिका र अम्बालिकाको अपहरण गरेका थिए। त्यसको प्रतिशोध लिन काशी नरेशकी सुपुत्री अम्बाले द्रुपद राजाको कुलमा जन्म लिइन्। भीष्मले आफ्ना सौतेनी भाइ विचित्रवीर्यसँग काशीका तीन राजकुमारी अम्बा, अम्बिका र अम्बालिकाको विवाह गराउन काशी (वाराणसी) बाट दिल्ली छेउको हस्तिनापुर लगेका थिए। अम्बाले शल्यसँग विवाह गर्न चाहेकी थिइन्। प्राचीनकालमा विवाहयोग्य महिलाले आफनो वर आफैंले रोज्न पाउने भएकाले “स्वयंवर” शब्द प्रचलित भयो। नारी अधिकारको हनन् गर्ने भीष्मको वध गर्नकै लागि अम्बाले शिखण्डी हुनुपरेको थियो।
चीनका प्राचीन विद्वान् सुन जुले “युद्धकला”(आर्ट अफ वार) ग्रन्थमा भनेका छन् “युद्ध नगरेर पनि युद्ध जित्न सकिन्छ। त्यसका लागि पर्याप्त सूचना संग्रह गर्नुपर्छ। प्रतिरोध गर्न स्पष्ट रणनीति बनाउनुपर्छ ।” गुप्तचर (स्पाई वा एस्पिअनाज) भित्र महिला गुप्तचरहरू (सेक्सपिअनाज) झन् महत्वपूर्ण मानिन्छ। काठमाडौँस्थित केही दूतावासले त्यस्ता पात्रहरूमार्फत मन्त्री, प्रधानमन्त्री, जंगी, निजामती र प्रहरीका उच्चपदस्थहरूबाट सूचना संग्रह गरेको कुरा पंक्तिकारलाई सेवानिवृत्त जर्नेलले सुनाएका थिए। उनले विदेशीकै खर्चमा एकजना वरिष्ठ नेताले दूतावासकालागि जासुसी गर्ने महिलासँग विवाह गरेको प्रसंग खुलासा गरे।
मार्गरेथा म्याकलिअड हल्यान्डकी कामुक नर्तकी थिइन। सन् १९१७ मा चालीस वर्षमै उनलाई फ्रान्समा मृत्युदण्ड दिइयो। संसारका कुख्यात महिला गुप्तचर (सेक्सपिअनाज) थिइन उनी। ठुल्ठूला र प्रसिद्ध शक्तिशाली शासकहरूसँग रात बिताएर सूचना बटुल्थिन्। उनी जर्मनीका लागि जासुसी गर्थिन्।
पाकिस्तानबाट पूर्वी पाकिस्तान (हाल बंगलादेश) अलग गर्न रामेश्वरनाथ काओले जुन भूमिका खेलेका थिए, नेपालमा राजसंस्था हटाउन हर्मिस थाराकान नामका भारतीय गुप्तचरले त्यस्तै भूमिका खेलेको भारतीय लेखकहरूले नै स्वीकारेका छन्। यस्तै २०६१।६२ मा भारतीय कूटनीतिज्ञ श्यामशरण र दिल्लीस्थित केही शक्ति केन्द्रले २०६२।६३ सालमा नेपालमा गणतन्त्रका लागि आन्दोलन गराएको उनीहरूको तर्क छ।
नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति आफूअनुकूल बनाउन माओवादीहरूलाई तालिम, हतियार, पैसा र आश्रय दिएको एसडी मुनी, अशोक मेहता लगायतका भारतीयले उल्लेख गरेका छन्। राजा वीरेन्द्रले नेपालको सुरक्षा, विदेशनीति, नागरिकता आदिबारे भारतको सर्त मन्जुर नगरेपछि २०४६ सालको आन्दोलन गराइएको पनि भारतीयहरूले नै व्यक्त गरेका छन्। चीनका प्राध्यापक वाङ् चुङ्ले नेपालको सुरक्षात्मक रणनीति नामक पुस्तक (पृष्ठ १९) मा राजदरबार हत्याकाण्डको डिजाइन वासिङ्टन र दिल्लीमा भएको खुलासा गरेका छन् भने पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेता चक्रप्रसाद बास्तोलाले पनि यस्तै तर्क गर्नुभएको छ।
राजनीतिक मैदानमा छद्मभेषीहरू प्रशस्तै छन्। कुनै न कुनै बहानामा ती प्रमुख पात्रहरूले हरेक दल ओगटेका छन्। यदाकदा जनताको पक्ष लिएको र राष्ट्रवादी भाषा बोले पनि ऐनमौकामा विदेशीकै सेवा गर्छन्। महाकाली सन्धिदेखि हालसम्मका महत्वपूर्ण निर्णयमा राष्ट्रियता बेरुजु निस्किएको छ। यसको प्रमुख कारण हो, “हाइ प्रोफाइल लिडर” मध्ये प्रायः सबै विदेशीका डिलर हुन्।
उनीहरूले विदेशीको आदेशमा तयार पारेका संविधान (मूल कानुन) र अन्य कानुन पनि कम्पनीको “ब्रोसर” जस्तो बनाइसके। तसर्थ नवीन पुस्ताले पुरानै शैलीमा पात्र, प्रवृत्ति, शैली र घोषणापत्र अस्वीकार गरिरहेका छन्। राजधानीको महानगर प्रमुख जस्तो अत्यन्त महत्वपूर्ण पदमा कुनै दलमा आबद्ध नभएका युवकलाई स्थापित गराएर युवा पुस्ताले कडा चेतावनी दिइसकेका छन्।
छद्मभेषीहरूले जनतालाई झुक्याएर पुनः नीति निर्माण तहमा कब्जा जमाउन चाहेका छन्। ठूला र अनुत्पादक दलहरूका लागि यो अग्नि परीक्षा सजिलो छैन।
त्यति मात्र होइन, दलका केही नेता र शक्तिकेन्द्र रिझाएर जागिर सुरक्षित गर्न चाहने सरकारी तलबजीवीहरू तथा संवैधानिक अंगहरूले पनि सोच्नुपर्ने बेला आएको छ। निष्पक्ष, इमानदार, सक्षम, साहसी र योग्यहरूका हातमा राज्यसत्ता आएको खण्डमा नेता रिझाउने र जनतालाई कज्याउनेहरू फोहरझैँ मिल्काइनेछन्। किनभने २०४६ साल र २०६३ सालपछि पनि ज–जसले राष्ट्र लुटिरहे, अब उनीहरू रुनुपर्ने बेला आएको छ।
पुरानै पाराले राष्ट्रको अस्तित्व बचाउन सम्भव देखिँदैन। यसका लागि कूटनीतिक सन्तुलन पहिलो प्राथमिकता हुनैपर्छ। चीन र भारतवीच कूटनीतिक चाकाचुली खेल्दै आएको नेपालले राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति र जनताको हितलाई सर्वोपरि राख्न सकेन भने नेपालको अस्तित्व धराशायी हुने सम्भावना रहन्छ। नेपालस्थित चिनियाँ पत्रकार चाओ सेनपिङले आफ्नो पुस्तकमा भनेझैँ नेपालले स्पस्ट मार्गचित्र बनाएर अघि बढेमात्रै यसको अस्तित्व सुरक्षित रहन सक्छ। तसर्थ सिद्धिने कि सुध्रिने भन्ने कुरा नेपालीकै हातमा छ।
प्रकाशित: २५ कार्तिक २०७९ ००:०४ शुक्रबार