विचार

मतदान र आत्मसम्मान

मंसिर ४ गते हुन् गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनको समय संघारमै आइसकेको छ। तर यतिबेला जुन चुनावी माहोल हुनुपर्ने हो त्यो छैन, छ त केवल मतदातामा आक्रोश र उम्मेदवारहरूमा स्व–घोषणा मैले नै जित्छु भन्ने निर्धक्कता। त्यसैले होला, धेरै दलले घोषणापत्र समयमै सार्वजनिक गरेर चुनावी माहोल सिर्जना गर्नु भन्दा आफ्नै भाषण र स्व–घोषणाले नै म नै सही पात्र हुँ भनेर घोषित गरिसकेका छन्। धेरै देशमा निर्वाचन एउटा प्रजातान्त्रिक पद्धति मानिन्छ र जनता उत्साहित हुन्छन् किनकि निर्वाचन एउटा यस्तो संयन्त्र हो जसद्वारा जनताले नियमित अन्तरालमा आफ्ना प्रतिनिधि छान्न सक्छन् र चाहेमा परिवर्तन गर्न सक्छन्। निर्वाचन आवश्यक पनि छ किनभने कुनैप नि ठूला समुदायमा सबै मानिसले दिनहुँ सँगै बसेर सबै निर्णय लिन सम्भव हुँदैन। न त सबैलाई समय र ज्ञान हुन्छ अनि सबै मामिलामा निर्णय लिन सम्भव छ। तसर्थ, धेरैजसो लोकतन्त्रमा जनताले आफ्ना प्रतिनिधिहरूमार्फत शासन गर्छन्, जसलाई जनता आफैँले चुनेका हुन्छन्। यी प्रतिनिधि चयन गर्नका लागि निर्वाचन आवश्यक छ। अर्को महत्वपूर्ण कुरा चुनावमा दलीय आधारमा प्रतिस्पर्धा हुन्छ। बहुमत ल्याउने दलले सरकार बनाउँछ। सरकारले आफ्नो वाचाअनुसार काम गर्न सकेन भने जनताले परिवर्तन गर्न सक्छन्। उनीहरूले चुनावमार्फत यो परिवर्तन ल्याएका हुन् र ल्याउन चाहन्छन्। वास्तवमा भन्नुपर्दा यो सबै प्रक्रिया राज्यको स्थायित्व र नागरिक स्वयंको सही चुनावप्रतिको आत्मसम्मान पनि हो त्यसैले भावनाले मात्रै नेतृत्व चुनिन्न। सानो स्वार्थले मात्र पनि नेतृत्व चुनिन्न। त्यसो भयो भने चुनाव अवसर र स्वतन्त्रता होइन, वितृष्णा बन्न पुग्छ।  

जनताको शासन हो नेतृत्व  

जनताद्वारा चुनिएको नेतृत्वले जनतालाई सरकारमाथि नियन्त्रण गर्न सक्षम बनाउँछ। निर्वाचनले लोकतान्त्रिक शासन व्यवस्थामा मौलिक योगदान पुर्‍याउँछ। किनभने प्रत्यक्ष लोकतन्त्र – सरकारको एक रूप जसमा राजनीतिक निर्णयहरू प्रत्यक्षरूपमा योग्य नागरिकहरूको सम्पूर्ण निकायद्वारा गरिन्छ। भलै हाम्रो समाजमा यसले व्यावहारिकता पाइसकेको छैन तर लोकतान्त्रिक शासन प्रतिनिधिहरूद्वारा सञ्चालन हुनुपर्छ। निर्वाचनले मतदातालाई नेतृत्व चयन गर्न र कार्यपालिकामा आफ्नो कार्यसम्पादनका लागि उत्तरदायी बनाउन सक्षम बनाउने माध्यम नै निर्वाचन हो। जब निर्वाचित नेताहरूले आफू पुनः निर्वाचित भए वा नभएको वास्ता गर्दैनन् वा ऐतिहासिक वा अन्य कारणले गर्दा कुनै एक दल वा गठबन्धनले यत्तिको हावी भएको अवस्थामा वैकल्पिक उम्मेदवारहरू, दलहरू वा नीतिहरूमा मतदाताहरूका लागि प्रभावकारीरूपमा कुनै विकल्प नहुँदा जवाफदेहितालाई कमजोर बनाउन सक्छ। यसको संस्कार विकसित हुँदै गएकाले त अहिले जनतामा पुरानै नेतृत्वले रूपान्तरण ल्याउन सक्दैन भन्ने अभिव्यक्ति आइरहेको होला। तैपनि, नेताहरूलाई नियमित र आवधिक निर्वाचनमा पेस गर्न आवश्यक बनाएर नियन्त्रण गर्ने सम्भावनाले नेतृत्वमा उत्तराधिकारको समस्या समाधान गर्न मद्दत गर्दछ र यसैले लोकतन्त्रको निरन्तरतामा योगदान पुर्‍याउँछ। यसबाहेक, जहाँ चुनावी प्रक्रिया प्रतिस्पर्धात्मक छ र उम्मेदवार वा दलहरूलाई उनीहरूको रेकर्ड र भविष्यका अभिप्रायहरू लोकप्रिय छानबिनमा उजागर गर्न बाध्य पार्छ, चुनावले सार्वजनिक मुद्दाहरूको छलफलका लागि फोरमका रूपमा काम गर्दछ र जनमतको अभिव्यक्तिलाई सहज बनाउँछ। यसरी निर्वाचनले नागरिकलाई राजनीतिक शिक्षा प्रदान गर्छ र जनताको इच्छाप्रति लोकतान्त्रिक सरकारहरूको उत्तरदायित्व सुनिश्चित गर्छ। तिनीहरूले शक्ति प्रयोग गर्नेहरूका कार्यहरूलाई वैधानिक बनाउन पनि सेवा गर्छन्, एउटा कार्य जुन केही हदसम्म गैरप्रतिस्पर्धी चुनावहरूद्वारा पनि गरिन्छ। र पनि, केन्द्रमा मतदाताको आफ्नो आत्मसम्मान र नेतृत्वले आफ्नो जिम्मेवारी हृदयतः स्वीकार्न र पूरा गर्न सकेनन् भने प्रत्येक निर्वाचनमा मतदाता आक्रोशित बन्न पुगेका हुन्छन्।  

सामाजिक र राजनीतिक एकीकरण बन्नुपर्छ निर्वाचन  

निर्वाचन राजनीतिक समुदायको स्थायित्व र वैधतालाई पनि बलियो माध्यम हो। साझा अनुभवहरूको सम्झना गर्ने र राष्ट्रियतालाई केन्द्रमा राख्ने निर्वाचनले नागरिकहरूलाई एकअर्कासँग जोड्छ र यसरी राजनीतिको व्यवहार्यता पुष्टि गर्छ। नतिजाका रूपमा, निर्वाचनले सामाजिक र राजनीतिक एकीकरणलाई सहज बनाउन मद्दत गर्छ। निर्वाचनले मानिसको व्यक्तिगत नागरिकको मूल्य र मर्यादालाई पुष्टि गरेर आत्मसम्मानको वास्तविक उद्देश्यअनुरूप सेवाभाव प्रदान गर्छ। मतदाताहरूलाई अन्य आवश्यकताहरू जे भए पनि, चुनावमा सहभागिताले उनीहरूको आत्मसम्मानलाई सुदृढ तुल्याउँछ। मतदानले मानिसलाई आफ्नो भनाइ स्वेच्छा र स्वनिर्णयको अवसर दिन्छ र पक्षपात अभिव्यक्त गरेर, उनीहरूको आफन्तको भावनाको आवश्यकतालाई पूरा गर्न सही मार्गदर्शन पनि गर्छ। आत्मसम्मान महसुस नहुनेलाई ननभोटिङले पनि राजनीतिक समुदायबाट आफ्नो अलगाव व्यक्त गर्ने अवसर पनि हो। यिनै कारणहरूले गर्दा मतदानको अधिकारको लामो लडाइँ र चुनावी सहभागितामा समानताको मागलाई व्यक्तिगत पूर्तिका लागि गहिरो मानवीय चाहनाको अभिव्यक्तिका रूपमा हेर्न सकिन्छ निर्वाचन पद्धतिलाई। चुनाव आफ्नो मतको निर्णय संवेदनशील पक्ष हो जुन प्रत्येक नागरिकको एक मतले राष्ट्रको समृद्धि र स्थायित्व अनि उज्ज्वल भविष्य निर्धारण गर्छ। पटक–पटक सानातिना स्वर्थमा अल्झेर गरिएको मतदानले पटक–पटक सोचनीय बनाउँछ र आज राज्य कहाँ छ र त्यसको भागिदार को भन्ने स्वप्रश्नले टाउको उठाउन दिंँदैन। त्यसैले चुनाव कुनै उम्मेदवार र दलको समर्थन मात्र होइन, आफ्नो स्वविवेकको प्रयोग पनि हो। त्यो स्वविवेकलाई समयमै प्रयोग गर्न जान्नुपर्दछ।

चुनावप्रति जागरुक  

एकजना सन्त प्रत्येक बिहान बिस्ताराबाट जुरुक्क उठ्नासाथ मुसुक्क मुस्कुराउँथे, हात जोड्थे र आकाशतिर हेरेर नमन गर्थे। यिनको यो दैनिकी देखेर शिष्यहरूले एकदिन सोधे– गुरु सबै साधना त हामीलाई सिकाउनुभयो। हजुर प्रत्येक दिन आफ्नो दैनिकी यसरी सुरु गर्नुको कारणचाहिँ के हो रु सन्तले भन्नुभो– मैले जुन ज्ञान र दीक्षा तिमीहरूलाई दिएँ त्यसलाई जीवनमा प्रयोग कसरी गर्ने तिम्रो संस्कार र अभ्यासमा निर्भर गर्छ। मेरो काम सिकाउने मात्र कहाँ हो र रु बिहान जागृत हुनासाथ मैले थप एकदिन जीवन पाएको हुन्छु, त्यो उपहारस्वरूप म अस्तित्वलाई अहोभाव व्यक्त गर्दछु किनकि यो मेरो चुनाव हो। अहोभाव, खुसी र कृतज्ञता चुन्ने कि जीवनप्रतिको गुनासो त्यो चुनावमा निर्भर गर्छ। आफ्नो चुनावप्रति अर्थात रोजाइप्रति पनि जागरुक हुनुपर्छ किनकि नत्र मनले भड्काउँछ र मलाई संसारकै गुनासोतिर लैजान सक्छ। एउटा व्यक्तिको स्वविवेकले उसको व्यक्तिगत जीवनमा जसरी सकारात्मक या नकारात्मक प्रभाव पर्छ त्यसैगरी, एउटा एउटा मतले राष्ट्रको नेतृत्व चयनमा प्रभाव पार्ने हुनाले हरेक रोजाइ अर्थात् चुनावमा विवेकको जागरुकता जरुरी हुन्छ। लोभ, अहंकार र स्वार्थरूपी मनले निर्णयलाई नकारात्मक बाटोतिर लैजान पनि सक्छ। गहनतम विचार र सोच सैद्धान्तिक मात्र होइन, जीवनको आचरणसँग सम्बन्धित पनि हुनुपर्छ। जीवनका महत्वपूर्ण निर्णयमा सही चुनाव नहुनुको परिणाम नै अराजकता, अपूर्णता र पूर्वाग्रहको संस्कार विकास हुँदै जानु हो। त्यसैले चुनाव अर्थात रोजाइ उम्मेदवारको आफ्नो विजय र मतदाताको अधिकार मात्र नभएर लोकतान्त्रिक अभ्यासको जगेर्ना र विकास अनि आफू स्वयंको जीवनशैली आत्मसम्मानपूर्वक बाँच्ने विवेकको प्रयोग पनि हो। निर्वाचन महत्वाकांक्षाको पुष्टि र प्रतिस्पर्धाको विजय होइन, समग्रता र सन्तुलनको जीवनशैली र संस्कारको परिचय पनि हो।

प्रकाशित: १६ कार्तिक २०७९ ००:४५ बुधबार