विचार

मुख अष्टमी, काल भैरवाष्टमी र गोपाष्टमी

कार्तिक शुक्ल अष्टमी अति नै महत्वपूर्ण अष्टमीका रूपमा मान्दै आएको पाइन्छ। यो अष्टमीका दिन मुख अष्टमी, काल भैरवाष्टमी र गोपाष्टमी जस्ता महत्वपूर्ण महिमामयी उत्सव रहेको नै यस अष्टमीको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महिमा रहिआएको हो। अब मुख अष्टमी, काल भैरवाष्टमी र गोपाष्टमी यी तीन अष्टमीबारे संक्षिप्तरूपमा यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु।  

मुख अष्टमी

हरेक वर्ष मुख अष्टमी अर्थात कार्तिक शुक्ल अष्टमीका दिन पशुपतिनाथलाई बुद्ध भगवानका रूपमा पूजा गरिन्छ। यो दिन नित्य पूजा गर्दा पशुपतिनाथको शिरमा पञ्चबुद्ध भएको तामाको मुकुट पहिर्‍याइन्छ। पशुपतिनाथलाई मुकुट पहिर्‍याउने अष्टमी भएकाले मुख अष्टमी भनिएको हो। पशुपतिनाथसँग बुद्धको सम्बन्ध परापूर्वकालदेखि रहेको देखिन्छ। पहिला पहिला पशुपतिनाथका मूल पूजारी गुरुजु वज्राचार्यहरू थिए। पछि राजा जयस्थिति मल्लले हिन्दुस्थानबाट पुजारी झिकाइ मूल भट्ट बनाइ राखे। तर मूल भट्ट हिन्दुस्थानका राखे पनि अहिलेसम्म त्यहाँ पशुपतिनाथको तान्त्रिक पूजा गर्दा शिवरात्रि र अन्य तिथिहरूमा नेवार पुजारीले गर्दै आइरहेका छन्। त्यहाँ भण्डारमा र अन्य विभिन्न क्षेत्रमा काम गर्ने राजभण्डारी, कसाई, संन्यासी र कुचिकारका साथै नौ थरी नेवार जातकले विभिन्न किसिमका काम गर्दै आइरहेका छन्। मुख अष्टमीका दिन पशुपतिनाथलाई बुद्धका रूपमा पूजा गर्दै आइरहनुमा विरूपाक्षको प्रसंग रहेको कुरा सबैमा अवगत भएकै हुनुपर्छ।  

काल भैरवाष्टमी

हरेक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन काल भैरवाष्टमीका रूपमा मान्दै आइरहेको पाइन्छ। काल भैरव डरलाग्दा देवता हुन। महादेवबाट उत्पन्न भएका काल भैरव दानव र देवताबीच लडाइँ हुँदा उपस्थित भई देवताहरूलाई सघाउने गर्छन्। यी काल भैरवको उत्पत्ति कसरी भएको थियो भन्ने सन्दर्भमा रहेको किंवदन्तीअनुसार एक पटक देवताहरूमा चर्चा चलेछ– ब्रह्मा, विष्णु, शिवमा कुन सर्वश्रेष्ठ हुनुहुन्छ रु ब्रह्माले आफूलाई सर्वश्रेष्ठ ठानिरहेका थिए भने विष्णु र शिवले पनि आफूलाई। यी तीनै जनाले आफूलाई सर्वश्रेष्ठ भन्दै थिए। तर शिवजीले आफूलाई सर्वश्रेष्ठ दाबी गरिरहेका थिए। शिवजीको कुरा सुनेर ब्रह्माजीलाई रिस उठ्यो र भन्नुभयो– शिवलाई त मैले उत्पन्न गरेको हो, जब मैले शिवलाई उत्पन्न गरेँ, ऊ रुन थालेकाले मैले यसको नाम रुद्र राखिदिएको हुँ। आज आएर शिवजीले मेरो बराबरी गर्न खोज्छ, कसरी शिव सर्वश्रेष्ठ हुन सक्छ रु ब्रह्माको कुराले शिवजी उग्र भए तब तुरुन्तै काल भैरवलाई उत्पन्न गरे। शिवजीको आज्ञाले काल भैरवले आफनो नङबाट ब्रह्माको एउटा टाउको काटिदिए। पाँचवटा टाउको भएका ब्रह्माको एउटा टाउको काल भैरवले काटिदिएपछि पञ्चानन्बाट चतुरानन् हुन पुगेका हुन्। भैरवको बाहन कुकुर हो। यिनको एउटा हातमा त्रिशूल, एउटामा रक्त पिउने कचौरा, एउटामा तरबार र एउटामा मुर्दाको टाउको भएको देखिन्छ। शिवजीबाट यी काल भैरवलाई वनारसमा गई बस्नू भन्ने आज्ञा भएअनुसार वनारसमा बसेका हुन् भनिन्छ।  

काठमाडौँमा रहेको महांकाल भैरवको सन्दर्भमा वंशावलीअनुसार कलिगत संवत् १८२२ मा एक महातान्त्रिक गुभाजु टुँडिखेलमा बाख्रा चराइरहँदा लम्पसार पर्दै घाम ताप्दै थिए। आकाशततर्फ हेर्दै गरेका ती तान्त्रिकले आकाशमार्गको उत्तरबाट दक्षिणतर्फ आकाशै ढाक्ने गरी आएका महांकाल भैरवको आकारलाई देखेपछि त्यस तान्त्रिकले यस भैरवलाई यहीँ राख्न पाए यहाँ सबैको उपकार हुने ठानी आफ्नो तान्त्रिक विधाको शक्तिद्वारा त्यस महांकाल भैरवलाई आकाशबाट धर्तीमा उतारेर यहीँ राख्न खोजे तर महांकालले म यो ब्रह्माण्डमा जताततै निरन्तर भ्रमण गरिरहनुपर्ने हुँदा म यहाँ मात्र बस्न मिल्दैन। त्यसैले हप्ताको एक दिन शनिबार मात्र म आउनेछु भनेकाले तान्त्रिकले स्थापना गरेको मूर्तिमा मन्त्रतन्त्रको अमोघ शक्तिले पूजा गरी प्रतिष्ठापन गरेका हुन् भनिन्छ। त्यही बेलादेखि महांकाल स्थानमा शनिबारका दिन विशेषरूपमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।  

गोपाष्टमी

कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीका रूपमा उत्सव मनाउने गरिन्छ। गोपाष्टमीका दिन गाईको महत्वलाई उजागर गर्दै भगवान श्री कृष्णले गोविन्द नामका गाईको रक्षा गरेका थिए। कार्तिक शुक्ल प्रतिपदादेखि सप्तमीसम्म गोप गोपिनीहरूको रक्षा गर्न श्री कृष्णले गोवर्धन पर्वत धारण गर्नुभएको थियो। आठौँ दिन जब इन्द्रको आँखा खुल्यो तब उहाँको अहंकार टुट्यो र भगवान श्री कृष्णको शरणमा पर्नुभयो। त्यही समयमा कामधेनुले भगवान श्री कृष्णको अभिषेक गर्नुभयो। त्यही दिन श्री कृष्णको गाविन्द नाम रहन गयो। सोही बेलादेखि कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमी नाम दिइ उत्सव मनाउन थालेको हो भनिन्छ। यसै दिन गाईलाई बिहानै स्नान गराई सुगन्धित पुष्पादिले पूजा गरी गाईलाई मीठा मीठा भोजन गराई अनेक प्रकारका वस्त्रालङ्कारले अलङ्कृत गरी ग्वालाको पनि पूजा गरिन्छ। यसबाट सबै प्रकारको अभीष्ट नाश हुन्छ भन्ने जनविश्वस रहिआएको छ।

प्रकाशित: १५ कार्तिक २०७९ ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App