विचार

उनीहरू नेता होइनन्

ब्रिटेनका राजा जर्ज (तृतीय) अमेरिकाका पनि शासक थिए, पृथ्वीनारायण शाह नेपालका राजा छँदा। जर्जकै कार्यकालमा सन् १७७६ मा ब्रिटेन स्वाधीन भएको थियो। नेपाल एकीकरण भएको आठ वर्षपछि स्वतन्त्र भएको अमेरिका हाम्रो दाजु होइन।

प्याट्रिक जे. किगरले बोस्टन नरसंहार (सन् १७७०) लगायतका कारणले ब्रिटेनबाट अमेरिका स्वतन्त्र हुन खोजेको उल्लेख गरेका छन्। ब्रिटेनकै चियापत्ति किन्न अमेरिकालाई बाध्य पारेपछि अर्को निहुँ थपियो। अधिकार र स्वतन्त्रताका अनेक बखेडाहरू थपिए। अमेरिकीहरू भन्न थाले-‘हाम्रो माटो-हाम्रो राज।’ जब विदेशीले जनतालाई हेप्ने र सताउने गर्छन् तब विद्रोह हुन्छ। स्वतन्त्रता संग्राम सुरु हुन्छ। त्यस्तो अवस्थामा राजनीतिले अर्को बाटो लिन्छ।

जहाँ ज्युँदा जनता बस्छन्, उनीहरू असत्य र अन्याय खपेर बस्दैनन्। जुरुक्क उठ्छन्। विप्लवी हुन्छन्। थिचोमिचो गर्नेहरूको सम्मान होइन, सामना गर्छन्। भ्रष्टाचार, दमन, अत्याचार सहेर बस्दैनन्। जनता बेलैमा जागे भने राष्ट्र डुब्दैन। सास फेर्ने लासहरू मात्र मौनधारण गरिबस्छन्। नेल्सन मन्डेला, स्यामुअल एडम्स र चाल्र्स द गाल मात्र होइन, ‘महिला राजा’ (फिमेल किङ) क्लियोपेट्रा जस्ता कतिपय पात्रको प्रशंसा गरेका छन्, इतिहासकारहरूले।

नेफरटिटी, निमाथप, बोदिका, जेनोबिया, इसाबेलादेखि लिएर नेपाल, भारत आदि राष्ट्रमा अनेक वीर-वीराङ्गानाको प्रसंग आउँछ। उनीहरूको गाथा काल्पनिक कथा होइन। राज्यलक्ष्मी हुन् वा झाँसीकी रानी, काल्पनिक पात्र होइनन्। प्रसिद्ध तान्त्रिक धनशमशेरले राजनीतिमा निहित ‘तन्त्र’ शब्द प्राचीन तन्त्र-परम्पराबाटै अनुप्राणित भएको तर्क गरेका छन्। उनको कथन छ, आध्यात्मिक र भौतिकतन्त्रका हाँगाबिँगामध्ये ‘स्वतन्त्र र परतन्त्र’ दुवै भौतिकतन्त्र हुन्।

राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र शब्दमाधुर्यका दृष्टिले ‘स्वतन्त्र’ मानिन्छन्। उनले भनेको ‘स्वतन्त्र’ शब्दार्थ जीवित आत्माहरूको आत्मनिर्णयको क्षमता, साहस, विवेक र राष्ट्रप्रतिको निष्ठामा मात्रै सार्थक हुन्छ। अधिकार (त्यो पनि सीमित मात्रै) आफूमा राखेर सर्वाधिकार अरूलाई बुझाइन्छ भने त्यो राष्ट्रको सार्वभौमसत्ता निष्प्राण हुँदै ‘सुजेरेन्टी’ बन्छ। तसर्थ, जुन राष्ट्रको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सेना, प्रेस र समस्त राज्यसंयन्त्र नै पराधीन जस्तो बन्छ, त्यो राष्ट्र सजीव रहँदैन।

ऋग्वेदले राजालाई राष्ट्रको स्थायी गोठालो मानेको छ। अरू त चुनिएर आउँछन्, जान्छन्। ती स्थायी होइनन्। ‘ध्रुवा धौध्रुवा पृथिवी ध्रुवासः, पर्वता इमे। ध्रुवं विश्वमिदं जगद् ध्रुवो राजा विशामयम्।’ (ऋग्वेद) (अर्थ: आकाश, पृथ्वी, पहाड र संसार जस्तो जनताका लागि राजा स्थिर रहून।) स्थिर भनेको नबोल्ने, कर्तव्यच्युत र शवतुल्य भनेको होइन। ‘जनस्य गोपा अजनिष्ट जागृविः’ भनिएको छ, ऋग्वेदमा। यसको अर्थ हो, ‘तिमी जनताका जागरुक गोठाला भएर जन्म्यौ।’

जागरुक रहने दायित्व जनताको पनि हो। जहाँका जनता गैरजिम्मेवार, स्वार्थी, निकम्मा र च्युत हुन्छन्, त्यहाँको राजनीति त्यस्तै हुन्छ। यजुर्वेदमा भनिएको छ-‘विशस्त्वा सर्वा वाञ्छन्तु मा त्वद्राष्ट्रमधि भ्रशत्।’ (राजा, तिमीलाई सबै प्रजाले चाहून्, तिम्रो राष्ट्र भ्रष्ट नहोस्।) तात्पर्य हो, राष्ट्रको रक्षा गर्न राजा र जनता दुवै सचेत रहनुपर्छ। मरेतुल्य बस्नु उचित हुँदैन। सजीव देखिनुपर्छ। चीनका प्रसिद्ध दार्शनिक कन्फ्युसियसको आश्रममा राजाका छोराहरू आवासीय विद्यार्थी बनेर पढ्न बसेका थिए।

गुरुले राजनीति, न्याय, युद्धकलालगायत कैयन् विषय पढाउँथे। दीक्षान्त समारोहको केही दिनपहिले चेलाहरूलाई कन्फ्युसियसले सोधे-कुनै जिज्ञासा बाँकी छ भने मलाई सोध। एकजना प्रतिभाशाली युवराजले प्रश्न गरे-’गुरु हामीलाई सहज अवस्थामा राज्य चलाउने ज्ञान त दिनुभयो तर कुनै बखतमा राष्ट्र जर्जर एवं दरिद्र भएमा सैनिकलाई तलब दिन नसक्दा हतियार फ्याँकेर उनीहरू पनि भाग्न सक्छन्। स्वार्थपूर्तिका लागि शत्रुका कित्तामा गएर मिल्न सक्छन्। नातागोता र कर्मचारीले पनि धोका दिन सक्छन्। राष्ट्र टाट पल्टिन सक्छ। त्यस्तो बेलामा राष्ट्रको रक्षा कसरी गर्ने गुरु?’

गुरु बोले-राम्रो प्रश्न। त्यस्तो स्थिति कुनै पनि बखत आउन सक्छ। जंगी, निजामती, गुप्तचर, प्रहरी सबैले धोका दिए पनि राजा र प्रजाबीचको विश्वास, प्रेम, भरोसा छ भने राष्ट्र असफल हुँदैन। निर्जीव हुँदैन। जनता (प्रजा) जुरुक्क उठ्छन् र शत्रुलाई लखेट्न थाल्छन्। शत्रु दुई खालका हुन्छन्, स्वदेशी र विदेशी। स्वदेशी शत्रु ती हुन्, जो स्वदेशको हित चिताउँदैनन् अरूका दास बन्छन्।

राष्ट्र हाँक्नेले शत्रु र मित्र दुवै चिन्नुपर्छ। राष्ट्रहितैषीको रक्षा गर्नुपर्छ। राजाले राष्ट्र बचाउन अनेक यत्न गर्नुपर्छ। राज्यसंयन्त्रले धोका दिए पनि राजा र प्रजाबीच प्रेम, विश्वास र भरोसा छ भने ती प्रजा (जनता) जीवितै रहेछन् भन्ने ठान्नुपर्छ। ज्युँदा जनताले घरेलु हतियारले नै शत्रुलाई ठेगान लगाउँछन्। कन्दमुल खाएर भए पनि प्राणको रक्षा गर्छन्। तर शासक र शासितबीच विश्वास नै भएन भने त्यो राष्ट्रलाई बचाउन सकिँदैन। असल र योग्यलाई राजाले चिन्तामुक्त राख्नुपर्छ।

प्रश्नोत्तर रोचक थियो। गुरुले सम्झाए-राजा (शासक) जनताको हितैषी हुन्छ। शोभा (रूप), ऐश्वर्य, ज्ञान, प्रेम भएको दूरदर्शी, समदर्शी हुन्छ। राष्ट्रका यावत असल कुराको रक्षा गर्छ। सबै योग्य नागरिक राजाका मित्र हुन् तर खराब मानिसले पनि प्रशंसा गरेमा राजाको पतन हुन सक्छ। सम्राट अकबर ज्ञानी, पठित र शिक्षित थिएनन्। उनी १६ वर्षमै शासक भए। योग्य, इमानदार, सक्षमहरू मात्र उनका सल्लाहकार थिए। युद्ध, राजनीति, कूटनीति, संगीत, साहित्य आदिका ज्ञाताहरू अकबरका सल्लाहकार र मन्त्री थिए। उनीहरूलाई नवरत्न भनिन्थ्यो।

महेश दास उनका प्रमुख मन्त्री थिए। महेश अत्यन्त दूरदर्शी, इमानदार, साहसी र योग्य राजनीतिज्ञ थिए। उनलाई अकबरका सबैभन्दा निकट मानिन्छ। इतिहासमा उनी ‘वीरबल’ नामबाट प्रसिद्ध भए। चीनसँग ब्रिटेनको सम्बन्ध नवीकरण गराए, हेनरी किसिन्जरले। अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका कूटनीतिक सल्लाहकार तथा विदेशमन्त्री भए उनी। माओसँग पटकपटक भेटेर उनले सम्झाए-चीन र अमेरिकाबीच जति सुमधुर सम्बन्ध हुन्छ, त्यसले दुवै राष्ट्रलाई मात्र होइन, विश्व शान्तिलाई नै फाइदा पुग्छ।

देङ-स्याओ-पिङपछिका नेताले यसको मर्म बुझेनन्। यस्तै, अमेरिकी रक्षा मन्त्रालयले चीनलाई प्रमुख दुश्मन ठान्न थालेपछि विश्वमै उथलपुथल हुन सक्ने सम्भावना बढेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको पछिल्लो प्रतिवेदनमा अमेरिकाको परम शत्रु चीन नै भएको ठहर गरिएको छ। सम्राट साइरसलाई इरानीहरू ‘कुरुस’ भन्छन्। उनी पर्सियाका अधिपति थिए। बेबिलोनका राजा थिए।

विश्वप्रसिद्ध विश्वविद्यालयहरूमा ‘साइरसको कानुन’ अध्ययन गराइन्छ। हजारौँ सालपहिले विश्वले अनुशरण गर्ने कानुन बनाए उनले। तीस वर्ष शासन गरे, ती राजाले। त्यो काल पर्सियाको अमृतकाल थियो। यहुदीको धर्मग्रन्थ बाइबलमा उनको गाथाको गर्णन छ तर साइरस इसाई वा यहुदी थिएनन्। यसको अर्थ हो, सत्कर्म गर्नेहरूलाई सबैले आदर गर्छन्।

अमेरिकी लेखक तथा प्राध्यापक जोन म्याक्सवेलको कथन छ-‘नेता त्यही हो, जसलाई सही मार्ग र लक्ष्य थाहा हुन्छ। ऊ त्यही बाटो हिँड्छ र अरूलाई पनि हिडाउँछ।’ भीडको स्वाद अनुसार कृत्रिम लोकप्रियताका लागि बोल्दैन ऊ। सत्य जे हो, त्यो मात्र बोल्छ। अरूलाई तीतो लागे पनि सत्य बोल्छ।

प्रचुर क्षमता भएका युवा लाखौँ छन्, नेपालमा। ती सबैको जोश, जाँगर, सिप र ज्ञानको सदुपयोग गर्ने/गराउने प्रयत्न नै गरिएन। युवा–विद्यार्थीका संगठन नेतागणका ‘अंगरक्षक गुल्म’ भए।

प्रचुर क्षमता भएका युवा लाखौँ छन्, नेपालमा। ती सबैको जोश, जाँगर, सिप र ज्ञानको सदुपयोग गर्ने/गराउने प्रयत्न नै गरिएन। युवा–विद्यार्थीका संगठन नेतागणका ‘अंगरक्षक गुल्म’ भए। अभाव लगायतका अनेक कारणले पढ्न नपाएका, परिवारबाट टाढा हुनुपरेका लाखौँलाई पसिना र सत्कर्मको मूल्य दिएर स्वदेशमै रोजगारी दिलाउन कसैले प्रयत्न गरेनन्।

राष्ट्रलाई स्वावलम्बी बनाउने भरपर्दो र दिगो कोसिस नै गरिएन। धेरै उच्चपदस्थहरू विदेशीद्वारा, विदेशीका लागि काम गर्ने यन्त्रमानव मात्र भए। राष्ट्रहित भन्दै विदेशीको स्वार्थमा निर्णय गरेर विदेशी कलमले हस्ताक्षर गरिरहे। महाकाली सन्धिदेखि नागरिकता विधेयकसम्म राष्ट्रिय हित कति सुरक्षित छ भनेर धेरैले प्रश्न गरिरहेका छन्।

राष्ट्रका नायक हुने क्षमता नभएपछि राजनीतिकर्मीहरू ‘ग्याङ लिडर’ बन्छन्। सभ्य भाषामा ‘दलीय नेता’ भन्ने जलप लगाइन्छ। तसर्थ, आज नेपाली राजनीतिमा चलायमान देखिएका धेरैजसो पात्र परजीवी, परावलम्बी, पराश्रित, परतन्त्र छन्। बितेका ३० वर्षयता उनीहरूले पटकपटक मौका पाए पनि राष्ट्र र जनताका लागि कुनै उल्लेख्य काम गरेनन्। तसर्थ यी कोही पनि नेता होइनन्।

खास गरी तराईका जिल्लामा गैरनेपालीले रैथानेसरह नेपालीका हक, अवसर वा यावत् सुविधा पाउँदा रसुवा, दार्चुला वा मनाङका बासिन्दा होइन, हजारौँ सालदेखि तराईमै बसेका नेपाली अल्पमतमा पर्छन्। तराईका रोजगारी, कृषि, उद्योग, व्यापार, स्कुल, कलेज, अस्पताल लगायतका क्षेत्रमा ‘नयाँ नागरिकता’ लिएका विदेशीको हुलमुल बढ्छ।

सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक र धार्मिक क्षेत्रमा प्रदूषण बढ्छ। भारतका युपीको जनसंख्या झण्डै २३ करोड र बिहारको ११ करोड छ। सिमानामा पर्ने अर्को राज्य पश्चिम बंगालको जनसंख्या दश करोड बराबर छ। तसर्थ उनीहरूमध्ये एक/दुई प्रतिशत मात्र ‘नेपाली’ भएमा ठूलो समस्या आउने देखिन्छ।

पटक-पटक हिंसा र अराजकता भइरहने भारतका विभिन्न राज्यमा पचासौं आतंकारी संगठन, लाखौँ तस्कर, हत्यारा, डाँका आदिका लागि नेपालको नागरिकता कछुवाको बलियो हाडजस्तो सुरक्षा-कवच सावित हुन सक्छ। अव्यवस्थित सिमाना भएका नेपाल जस्ता राष्ट्र कति छन्? सहज रूपमा कुन-कुन राष्ट्रमा दलहरू नै मिलेर राष्ट्रघातका नवीनतम् नजीर बनाउँछन्? राष्ट्र नरहे पनि सुख सुविधा रहोस् भनेर कतिवटा र कुन कुन राष्ट्रमा राष्ट्रिय स्वाभिमानमाथि खेलबाड गरिएको छ?

विदेशीको मन्त्रले चल्ने नेपाली तन्त्रले नेपाल र नेपालीको हित गर्दैन भन्नेहरू किन ऐक्यबद्ध हुन सक्दैनन्? किन ज्युँदो देखिएका छैनन्। यदाकदा घाटमा पुर्‍याइएको लास पनि बौरिएका खबर सुनिन्छन्, बूढापाका छन् प्रत्यक्षदर्शी। तीसौँ वर्षदेखि उनै अकर्मण्य, भ्रष्ट, राष्ट्रघाती, कुरौटे र विदेशीका भरौटेहरूलाई नै जनताले राष्ट्र हाँक्ने लाइसेन्स दिएका छन्। के अब पनि त्यही भूल दोहोर्‍याउलान्?

प्रकाशित: २७ श्रावण २०७९ ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App