जीवनोपयोगी तथा व्यवहारोपयोगी सिप एवम् मानव मूल्यसम्बन्धी ज्ञान प्राप्त गर्न शिक्षा सबैभन्दा उपयुक्त माध्यम हो।
व्यक्तिलाई समायोजन हुन आवश्यक सिप प्रदान गर्ने कला एवम् पेसागत दक्षता वृद्धिका लागि आवश्यक योग्यता दिलाउने मात्र नभएर सकारात्मक चिन्तन मननका माध्यमबाट मानव समाज उपयोगी आचरण र व्यवहार निर्माण गर्ने महत्त्वपूर्ण पक्षका रूपमा शिक्षालाई स्वीकार गरिन्छ।
प्राचीन कालमा गुरुका आश्रममा बसेर शास्त्रको अध्ययन तथा गुरुसेवाको माध्यमबाट व्यावहारिक सिप आर्जन गरिन्थ्यो भने आधुनिक समयमा विद्यालयको अवधारणा आइसकेपछि निश्चित समयमा विभिन्न विषयका गुरुहरूबाट शिक्षा प्राप्त गर्ने परिपाटी विकसित भएको छ।
ज्ञानको स्रोतका रूपमा गुरु, सहपाठी साथी र आफूले पढेका शास्त्र रहने गरेको सन्दर्भमा वर्तमान अवस्थामा आइपुग्दा यस्ता स्रोत निकै बढेका छन्। आधुनिक समयमा सूचना प्रविधिका माध्यमबाट समेत ज्ञान आर्जन गर्ने गरेको देखिन्छ तर विद्यालय शिक्षाका सन्दर्भमा विद्यार्थीलाई ज्ञान निर्माणमा लगाउनुभन्दा भय वा त्रास सिर्जना गरी नियन्त्रण गर्ने र सहपाठीका बीचमा प्रतिस्पर्धा गराई अस्वस्थ, उदासीन र त्रस्त राख्ने गरेको देखिन्छ। होडबाजीको वातावरणमा हुर्केका बालबालिकाले आत्मसंयम, आत्मानुशासन, आत्मपहिचान र खुसी हुने कला सिक्न सक्दैनन्।
आधुनिक समयमा विद्यालयहरूले बालबालिकालाई सभ्य र शिष्ट बन्नभन्दा प्रशस्त सूचना सङ्कलन गर्न, तार्किक, भौतिक विज्ञान सम्बद्ध दृष्टिकोण राख्न, समुदायमा आफूलाई विशिष्टरूपमा प्रस्तुत गर्न र विश्व बजारमा प्रतिस्पर्धी बन्नका लागि उत्प्रेरित गरेका हुन्छन्। आफ्नो क्षमता, सिप, योग्यता तथा व्यक्तिगत शक्ति र सीमाबारे अनविज्ञ बालबालिकाहरूले जीवनको उद्देश्य बोध गर्न असमर्थ भएकै कारण भौतिक सम्पन्नतालाई नै सर्वोच्च प्राप्ति ठानी धन कमाउनु, राम्रो जागिर खानु वा सफल व्यवसायी बन्नुलाई जीवनको उद्देश्य बनाएका हुन्छन्।
जीवनको अति आवश्यक र महत्त्वपूर्ण पक्ष खुसी हुने कलाको सिकाइ न अनौपचारिकरूपमा घरपरिवारमा हुने गरेको देखिन्छ न त औपचारिक पठनपाठनका क्रममा विद्यालयमा नै। प्रतिस्पर्धी भावनाले व्यक्तिलाई असन्तोषी बनाई सफलता प्राप्त गर्नका लागि घच्घच्याउने काम गर्छ तर जीवनको वास्तविक र आन्तरिक पक्षलाई यसले सर्वथा तिरस्कार गरेको हुन्छ।
जतिसुकै धन कमाए पनि वा उच्च ओहोदामा पुगे पनि व्यक्तिमा आत्मनियन्त्रण, संयम र खुसी हुने कला छैन भने उसले प्राप्त गरेका सफलता अन्य व्यक्तिका लागि सफलता जस्ता लागे पनि ऊ स्वयम्का लागि अनावश्यक भार बन्न पुग्दछन्।
जबसम्म व्यक्ति स्वयम् अन्तर्मनबाट खुसी हुन सक्दैन, तबसम्म बाह्य वस्तु र पदार्थहरूले उसको जीवनलाई सुखद् र आनन्दमय बनाउन सक्दैनन्। खुसीबिनाको शारीरिक तन्दुरुस्ती, सामाजिक मानमर्यादा, उच्च ओहोदा र आर्थिक सम्पन्नता व्यक्ति स्वयंका लागि कत्ति पनि उपयोगी हुन नसक्ने भएकाले र भौतिक वस्तुबाट वास्तविक र दिगो खुसी प्राप्त गर्न नसकिने भएकाले बाल्यकालबाटै बालबालिकालाई खुसी हुने कला सिकाउनु अपरिहार्य हुन्छ।
अभिभावकले सही भूमिका खेल्न नसके व्यक्ति बाल्यावस्थाबाट मृत्युपर्यन्त असन्तोषी, इष्र्यालु र बेखुसी रहन विवश हुन्छ। आधुनिक प्रविधि, पारिवारिक संरचना र सामाजिक सञ्जालले बालबालिकालाई अझ बढी असन्तोषी, अस्थिर र अधैर्य बनाएका छन्।
यसैले जीवनलाई सार्थक बनाउनका लागि र व्यक्तिगत तथा सामाजिक सन्तुलनका लागि बालबालिकालाई शैशव अवस्थाबाटै खुसी हुने कला सिकाउनु पर्छ। विद्यालयमा खुसी पाठ्यक्रम लागु गरेर ससाना क्रियाकलापबाट बालबालिकाको स्मृति, चिन्तन, आचरण र व्यवहारलाई खुसी प्राप्तिको दिशामा अग्रसर बनाउन सकिन्छ। जसले अन्ततः व्यक्तिलाई सन्तोषी, सहिष्णु, धीर, आत्मानुशासित र परोपकारी बनाउँछ।
खुसी पाठ्यक्रम के हो?
आफ्नो परिवेश, जीवन र ससाना उपलब्धिबाट रम्न सक्ने वातावरण सिर्जना गर्न आफ्नो मन, चिन्तन र आचरणको अवलोकन गरी पाँचै इन्द्रियका माध्यमबाट प्राप्त भएका सूचनालाई महसुस गर्ने कला सिकाउन तयार गरिएको पाठ्यक्रमलाई खुसी पाठ्यक्रम भन्ने गरिन्छ। भूतको चिन्ता र भविष्यको त्रासबाट विच्छिन्न गरी तत्काल भइरहेका क्रियाकलापमा सावधान बन्न सघाउने सिपको सिकाइ खुसी पाठ्यक्रमको मूल उद्देश्य हो।
विभिन्न देशले यस प्रकारको पाठ्यक्रम निर्माण गरी बालबालिकालाई प्रशिक्षित गर्ने गरेका छन्। युनेस्को र युनिसेफले समेत खुसी पाठ्यक्रम र कक्षाकोठामा गर्न सकिने क्रियाकलापलाई समेटेर खुसी पाठ्य सामग्रीहरू उत्पादन गरेका छन्। जापान, अमेरिका, बेलायत फिनल्यान्ड, भुटान र पछिल्लो समय दिल्ली सरकारले पनि विद्यालयमा यस किसिमको पाठ्यक्रम लागु गरेका छन्।
आफ्ना आवेग र संवेगको पहिचान गरी आवश्यकताअनुसार यस्ता आवेग र संवेगको अभिव्यक्ति र नियन्त्रण गर्ने कलाका माध्यमबाट आफूलाई सन्तुलित राख्ने सिप सिकाइलाई सहजीकरण गर्ने साधनहरू खुसी पाठ्यक्रममा रहने गर्दछन्।
खुसी पाठ्यक्रम लागु भएका देशमा गरिएका विभिन्न अध्ययनहरूले सामान्य अवस्थामा भन्दा यस्ता पाठ्यक्रम लागू भएपछि बालबालिकाको शैक्षिक उपलब्धिमा राम्रो प्रभाव परेको देखाएका छन्। वर्तमान समयमा व्यक्ति अविश्वास, असुरक्षा, अधीरता, सामाजिक तुलना, अत्यधिक अपेक्षा, पहिचानविहीनता र आत्मविश्वासको कमीका कारण मानसिक समस्यामा पर्ने गरेको छ। जसले गर्दा उच्च दक्षता र राम्रो शैक्षिक योग्यता हुँदाहुँदै पनि ऊ बेखुसी भइरहेको छ। अध्ययनले देखाएअनुसार यही बेखुसीका कारण सिर्जना भएको मानसिक असन्तुलनले संसारभर आत्महत्याको दर समेत बढ्दै गएको छ।
अस्वस्थ, उदासीन र भयभीत व्यक्तिले अपेक्षित उपलब्धि प्राप्त गर्न नसक्ने तथा परिवार र समुदायमा असल आचरण प्रदर्शन गरी सम्बन्धन प्राप्त गर्न नसक्ने भएकाले मानिस दिनानुदिन एकलकाटे, स्वार्थी र इष्र्यालु बन्दै गएको देखिन्छ।
यस्तो अवस्थामा आफू, आफ्नो सम्बन्ध र समाजमा खुसी हुन सिक्ने कलाले बाह्य वस्तु र भौतिक वस्तुमा खुसी खोज्ने प्रवृत्तिबाट आफूभित्रै खुसी खोजी मूल्यबोध गर्ने बानीको विकास गर्न आवश्यक छ। व्यक्ति स्वयम् सन्तुलित र संयमित भएको खण्डमा समाजमा मानसिक समस्याको न्यूनीकरण हुन सक्छ भने उसले गर्ने स्वस्थ व्यवहारका कारण परिवार र समस्त समाज नै सकारात्मक ऊर्जाले लाभान्वित हुन सक्दछ।
एक्काइसौँ शताब्दीका सिकाइ सिपका रूपमा व्यवहारोपयोगी, जीवनोपयोगी र साक्षरता सिपलाई अगाडि सारिएको छ। समूहमा मिलेर काम गर्न सक्ने, वैचारिक लचकता भएको, कुनै पनि विषयवस्तुका बारेमा गहिराइमा पुगेर सोच्न सक्ने व्यक्तित्व निर्माण गर्नु २१औँ शताब्दीको शिक्षाको लक्ष्य हुनुपर्छ भनिन्छ। यसैले सूचनाहरू सङ्कलन गर्ने वा उच्च तहको बौद्धिक विकास गर्नुमात्र एक्काइसौँ शताब्दीका सिकाइका उद्देश्य हुन सक्दैनन्। एक्काइसौँ शताब्दीका सिकाइ सिप आर्जन गर्नका लागि व्यक्ति स्वयम् मानसिकरूपमा स्वस्थ हुनु आवश्यक पर्छ। मानसिक स्वस्थताको प्रमुख कारकका रूपमा खुसी तत्व रहेको हुन्छ।
कसरी लागु गर्ने?
विद्यालयको आधारभूत तहमा पछिल्लो समय स्थानीय पाठ्यक्रमलाई स्थान दिइएको छ। जुन उद्देश्यले स्थानीय पाठ्यक्रमलाई स्थान दिइयो अहिले सो पूरा हुन सकेको छैन। केही पालिकाले सामाजिक विषयका विषयवस्तुलाई नै स्थानीय पाठ्यक्रममा समावेश गरेका छन् भने केहीले कुनै भाषाविशेषलाई अनिवार्य बनाएका छन्। अझ केही स्थानीय तहले त त्यस पालिकाका पदाधिकारीहरूका पारिवारिक पृष्ठभूमिसम्बन्धी विभिन्न सूचनाहरू राखेर विद्यार्थीलाई घोक्न बाध्य बनाएका छन्।
स्थानीय पाठ्यक्रमका ठाउँमा खुसी पाठ्यक्रमलाई समावेश गर्ने हो भने वास्तवमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि सहयोग पुग्न सक्दछ। त्यसो त सामाजिकता र नैतिकता परीक्षामा लेखेर मूल्याङ्न गर्ने विषय होइनन्, विद्यार्थीका मूल्य, आचरण, मनोवृत्ति र व्यवहारमा देखिने कुरा हुन्।
यस अर्थमा सामाजिक विषयका ठाउँमा खुसी पाठ्यक्रम लागु गर्न सकियो भने समाजका बारेमा सूचनाहरू घोकेर परीक्षामा प्रस्तुत गर्नुको सट्टा व्यावहारिकरूपमा समाज विकासका लागि व्यक्तिले कसरी योगदान पुर्याउन सक्दछ भन्ने कुरा बालबालिकाले सिक्न पाउँछन्। यसैले स्थानीय पाठ्यक्रमका सट्टामा वा सामाजिक र नैतिक शिक्षालाई खुसी पाठ्यक्रमभित्रै समाहित गर्ने किसिमले पाठ्यक्रमको पुनर्संरचना गर्नुपर्दछ।
आजका बालबालिका भौतिक वस्तुको प्राप्तिद्वारा तत्कालीन खुसी प्राप्त गर्न उद्यत देखिए पनि सामाजिक सम्बन्धनका कारण प्राप्त हुने गहन खुसी र आफ्ना व्यवहार र उपलब्धिबाट प्राप्त हुने दिगो खुसीबाट वञ्चित भएका छन्। यसैले खुसी पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन तथा विद्यालय तहमा यसलाई लागु गरी बालबालिकालाई दिगो खुसी प्राप्त गर्ने अवसर उपलब्ध गराउन सम्बन्धित निकायले ढिलाइ गर्नुहुँदैन।
प्रकाशित: १० जेष्ठ २०७९ ०१:५३ मंगलबार