विचार

दरवारभित्रका जासुस

कौटिल्यकृत ग्रन्थमा गुप्तचरका स्पष्ट दुई भेद पाइन्छन्– स्थायी र घुमुवा। स्थायी पनि पाँच प्रकारका छन्–कापरिक (विद्यार्थी), उदास्थित (जोगी, सन्त, महन्थ आदि), गृहपलिक (दरिद्र किसानको भेषमा काम गर्ने प्रतिभाशाली), वैदेहक (दरिद्र व्यापारीको भेषमा सूचना संग्रह गर्ने बुद्धिमान), तापस (राजदरवारमा काम गरेर राजाकै विरुद्ध जासुसी गर्ने), महिला गुप्तचर (नाचगान गर्ने, मोहनी लाउने) आदि। यीमध्ये नेपालको दरवारमा तापस शैलीका गुप्तचरको प्रभाव राजा वीरेन्द्रको शासनकाल सुरु भएपछि बढेको पाइन्छ।

यसबाहेक, बाघसँग पनि ‘फाइट’ खेल्ने सुरा मान्छेलाई पनि उहिले जासुस बनाइन्थ्यो। वीर मानेर समाजले उसको इज्जत गथ्र्यो र घर–घरका गोप्य कुरा चाल पाउन मद्दत पुग्थ्यो। शत्रुलाई विष खुवाउने, परिव्राजिका, विषकन्या आदि अनेक जासुस भर्ना गरेर सूचना संकलन गर्नुपर्छ भन्ने चाणक्य (कौटिल्य) को कथन छ।

नेपाल दरवारले पनि ‘राष्ट्रका लागि’ भनेर हजारौँ गुप्तचर भर्ना गरेको पाइन्छ। नेपाल गुप्तचर विभाग (हाल राष्ट्रिय अनुसन्धान विभाग), सैनिक र प्रहरी गुप्तचरबाहेक कूटनीति र राजनीतिमा संलग्न उच्चपदस्थहरूको पनि सूचना संग्रह गरिन्थ्यो। यही क्रममा अमेरिकीहरूसँग मिलेर नेपालविरुद्ध जासुसी गर्ने तत्कालीन गुप्तचर विभाग प्रमुखलाई राजा महेन्द्रले कारबाही गरेका प्रसंग दरवारका पुराना कर्मचारी सुनाउँछन्।

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले राजा वीरेन्द्रलाई दबाब दिँदै ‘नेपालले ‘फलानो’ लाई अमेरिकामा राजदूत बनाउँदा भारतलाई पनि सहयोग पुग्छ’, त्यसमा पुनर्विचार गरिदिनुपर्‍यो भनेर सन्देश पठाएको बताइन्छ। दुई–तीनपल्टसम्म इन्दिराले फोन गरेपछि राजाले भारतका प्रियपात्रलाई वासिङ्टन पठाउने तर ती राजदूतका हरेक क्रियाकलापबारे राजालाई गुप्त सूचना दिइरहने व्यक्ति पनि पठाउने निर्णय गरेछन्।

नेपाल दरवार, वासिङ्टन दरवार र दिल्ली दरवारलाई एकै पटक प्रसन्न राख्न सक्ने ती व्यक्ति कौटिल्यको भाषामा ‘उभयवेतनभोगी गुप्तचर’ (शत्रुराष्ट्रबाट पनि तलब लिन सक्ने डबल एजेन्ट) थिए। त्यतिमात्र होइन, उनी तीन राष्ट्रबाटै निजी फाइदा लिने व्यक्ति भएको दरवारको सेवाबाट निवृत्त भएका वृद्ध कर्मचारीले बताए।

राजाका सचिवमध्येका केहीले दरवारका गुप्त सूचना बेच्ने गर्थे भनेर राजप्रसादसेवाका पुराना कर्मचारी तथा कवि नीरविक्रम प्यासी (राणा) बाट सुनेको हुँ। प्यासी प्रष्ट वक्ता थिए। चुरोट खाँदै गर्दा आफूले चुरोटलाई नै पात्र बनाएर कविता लेखेको प्रसंग सुनाए उनले। ‘तँ पनि आगो, म पनि आगो, उस्तै छ जलन, तेरोमा बढ्ता जडता बोल्छ, मेरोमा चेतना।’ उनी बिरामी परेर नयाँ सडकछेउको सैनिक अस्पताल भर्ना भए। भेट्न जाँदा उनले भनेका थिए– ‘वीरेन्द्र सरकार विनम्र र सोझो होइबक्सन्छ।

सबैलाई माया र विश्वास गरिबक्सन्छ। राजा फूल जस्तो नरममात्र होइन, ढुंगा पनि हुनुपर्छ। दरवारका सचिवहरू घरमा टेलिफोनबाटै कुरा मिलाएर राजालाई ढाँट्ने होमवर्क गर्छन्। विदेशीको दबाब उस्तै छ। षडयन्त्र भनिनसक्नु छ। म त धेरै बाँच्दिनँ होला तर राजसंस्थाको जरो मास्छन् जस्तो लाग्दैछ, दरवारभित्रैका फटाहाहरूले। हे पशुपतिनाथ, हजुरले बचाइबस्क्योस्’–लामो सुस्केरा हाले प्यासीले। उनका आँखा रसाइरहेका थिए।

उनै प्यासीले सुनाए– राजदूत बनाएर अमेरिका पठाइएका व्यक्तिका बारेमा सूचना दिन राजदूतको भान्से, ड्राइभर र टाइपिस्ट बनाएर एउटा युवकलाई पठाइयो। ऊ चलाख थियो र बेलाबेलामा फोन गरेर दरवारमा खबर दिन्थ्यो।

क्रिस्टोफर एन्ड्रयु लिखित ‘द सेक्रेट वल्र्ड’ पुस्तक बहुचर्चित छ। उनले चीनका विद्वान् सुन जुले जस्तै ‘युद्ध जित्न पर्याप्त गुप्त सूचना चाहिन्छ’ भन्ने तर्क गर्दै प्राचीन ग्रिसदेखि पछिल्लो कालखण्डका जासुसी विद्याको चर्चा गरेका छन्।

राष्ट्रविरुद्ध षड्यन्त्र गर्नेहरूले राष्ट्रिय एकता कमजोर बनाउन प्राचीन धर्म–संस्कृतिबाट जनतालाई विमुख गराउन खोज्छन्। राष्ट्रिय एकताका सूत्रहरू चुँडाउन थाल्छन्। भाषा, जात, धर्म, क्षेत्र आदिबीच पर्खाल लगाएर पहिचानका नाममा राष्ट्रिय पहिचान मास्न खोज्छन्। राजा वीरेन्द्रले यस्ता धेरै आयाम बुझेका थिए। त्यसैले उनले तराईदेखि हिमालसम्मका सबै जाति, धर्म र सम्प्रदायको उत्थान गर्ने सोच बनाएर धेरै काम अघि बढाए।

योग्य, इमानदार र राष्ट्रवादीहरूको सहयोग पनि पाए तर अनेक बहानामा भाँजो हाल्नेको कमी थिएन। उदाहरणका लागि, भारतले जिम्मा लिएको कोहलपुर–वनबासा सडक र त्यसमा निर्माण हुने सम्पूर्ण काम बीसौँ वर्ष अलपत्र भयो। चीनले ग्लोबल टेन्डरमा प्राप्त गरेको ठेक्काबारे सुरक्षाको प्रश्न उठाएर भारतले आपत्ति जनाएपछि अन्ततः चीनबाट फिर्ता गराएर सो परियोजना भारतलाई दिएको कुरा तत्कालीन मन्त्री हरिश्चन्द्र महतले बताएका थिए। उनले भारतलाई ठेक्का दिएकामा गुनासो गर्दै राजीनामासमेत गरे। झण्डै २१२ किलोमिटर लामो सो खण्डको विकास नहुँदा सुदूरपश्चिम क्षेत्र धेरै पछाडि परेको विकासविद्हरूको तर्क छ।

दशवर्षे द्वन्द्वका बारेमा पनि दरवारभित्रका जासुस, राजाकै ‘निकटतम्’ भनिएका सुरक्षा क्षेत्रका केही रहस्यमय व्यक्ति र आफूलाई उच्चकोटिको कूटनीतिज्ञ ठान्ने प्रवञ्चक आदिले गलत रिपोर्टिङ गर्थे भन्ने खुलासा भयो। अमेरिकाविरुद्ध भियतनामका छापामारले युद्ध गरेझैँ माओवादी पनि साम्राज्यवाद र विस्तारवादविरुद्ध संघर्ष गर्न सक्ने शक्ति हो भन्दै एक जना ‘परराष्ट्रविद्’ नै माओवादीका वकिल भएर दैनिक अखबारमा लेख लेखे।

२०५२ फागुन १ गते सुरु भएको कथित ‘जनयुद्ध’ साम्राज्यवादी र विस्तारवादीको डिजाइन थियो भन्ने कुरा अहिले स्पष्ट भएको छ। माओवादीको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अमेरिकालाई साम्राज्यवादी भनिए पनि भारतका बारेमा मौन धारण गरिएको विषयलाई रहस्यपूर्ण मानिएको छ।

माओवादीलाई अघि सारेर पश्चिमा शक्ति र भारतले माओको मुखुण्डो लगाइदिएर ‘प्रोक्सीवार’ (छद्मयुद्ध) गरेको जगजाहेर छ। सशस्त्र विद्रोह राजनीतिक हो वा आतंकवाद? भनेर राजाले पटकपटक प्रश्न गर्दा दरवारभित्रैका केही सचिवले ‘यो राजनीतिक समस्या हो’ भनेपछि राजाले उनीहरूसँग सम्वाद गर्न निर्देशन दिएको राष्ट्रिय सुुरक्षाका तत्कालीन उच्चपदस्थहरू बताउँछन्।

दुर्भाग्यको कुरा, समयमा कठोर र सही निर्णय नगर्दा हजाराैँको हत्या भयो। भारतका वेलिङ्टन, चक्राटा र लखनउका सैनिक तालिम केन्द्रबाट प्रशिक्षित माओवादीले उतैबाट करोडौँ रुपियाँ, हतियार र विचार लिएर आए। राजनीतिक रंग दिन अन्तिरिम सरकार, संविधानसभा, गोलमेच सम्मेलन आदिको माग गरे। गल्दै गएर आत्मसमर्पणको हालत देखिएपछि संसद्मा रहेका सात दल र माओवादीलाई दिल्लीमा डाकेर सहकार्य गराएको प्रणव मुखर्जीलगायतका धेरै भारतीयले स्पष्ट गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल नै परिवर्तनका सम्वाहक हुन् र उनकै प्रयत्नले संविधान आएको प्रशंसा झट्ट सुन्दा रमाइलो लाग्ला तर यसबाट कांग्रेस–एमाले जस्ता दल पनि लतारिएर माओवादीपथमा हिँडेको सन्देश प्रवाह भएको छ। सबै कुरा पुष्पकमल दाहालले नै गरेका हुन् भने आफूले गणतन्त्र स्थापना गरेको दाबी गर्नेे अरू दल ‘देखिजान्ने सुनिजान्ने किनाराका साक्षीमात्र हुन त’ भन्ने प्रश्न उठ्छ।

ब्रिटेनका राजा एडवर्ड (आठौँ) र उनकी प्रेमिका वालिस सिम्पसनको प्रणयकथा त्यहाँको गुप्तचर संस्था एम–आइ–फाइवले पत्ता लगाएको लन्डनका अखवारले लेखे। ‘मलाई त्यही केटी चाहिन्छ’ भन्ने एडवर्डले प्रेममा आशक्त भएर राजगद्दी त्यागे। यस्तै महारानी एलिजावेथ चित्रकला संकलन गर्न सौखिन भएकाले त्यसको संग्रहमा खटिएका एन्थोनी ब्लन्टलाई मस्कोले पर्याप्त तलव दिएर महारानीको जासुसी गर्न खटायो। ट्रिनिटी कलेज पढ्दा उनी कम्युनिस्ट भए।

सोही नाताले उनी कम्युनिस्ट राष्ट्रका प्रिय भए। प्रतिभाशाली कलापारखी भनेर वकिङघम दरवारले विश्वास गरेका ती व्यक्ति राजद्रोही र राष्ट्रद्रोही ठहरिए। दोस्रो विश्वयुद्धका बेला एम–आइ–फाइबमा गुप्तचर रहेका ब्लन्ट ‘डबल एजेन्ट’ थिए। उनले चार हजार छ सय भन्दा धेरै ब्रिटिस गुप्त सूचना बेचेको कतिपय लेखकले उल्लेख गरेका छन्।

नेपाल आज भूराजनीतिक कारणले मात्र होइन, सत्ताबाहेक अरू नदेख्ने दलीय दृष्टिदोषका कारण अन्योलग्रस्त बन्दै गएको छ। अस्थिरता अन्त्य हुने कुनै संकेत देखिँदैन। चार पाँच हप्तामै बच्चा जन्माउने खरायोले पन्ध्र वटासम्म सन्तान उत्पादन गर्छ। २०४६ सालपछि हालसम्म नेपालको संसद्ले दर्जनौँ सरकार जन्माएर प्रजातन्त्रलाई ‘खरायोतन्त्र’ बनाएको देखिन्छ। सरकार ढाल्ने र पाल्ने खेलमा विदेशी गुप्तचरमात्र होइन, नयाँ भित्रीवस्त्र किन्न नसक्ने दरिद्रहरू पनि बुर्कुसी मार्दै अनेक दलमा दौडिएका छन्।

यी सबै परिदृश्य हेर्दा नेपालले ठूलो परिवर्तन खोजिरहेको छ। त्यो भनेको व्यक्ति र प्रवृत्तिको परिवर्तन होइन, प्रणालीगत परिवर्तन हो भन्ने धेरैको राय पाइन्छ। जनमत संग्रह, जनताको आन्दोलन वा युगले ल्याउनु ठूलो आँधिबेहरीमध्ये कुनै न कुनै उपायबाट धेरै राष्ट्रमा राजनीतिक उथलपुथल भइरहेको देखिन्छ। तसर्थ अधिकांश जनता असन्तुष्ट हुँदै गए भने ‘जनआन्दोलनको उपलब्धि’ भनिएको अहिलेको लुटतन्त्र अन्त्य हुने स्पष्ट छ।

प्रकाशित: १६ पुस २०७८ ०३:४५ शुक्रबार

कौटिल्यकृत ग्रन्थ नेपाल गुप्तचर विभाग