विचार

बिल गेट्स र स्टिभ जब्स

'तपाईं भगवानको अस्तित्वमा विश्वास गर्नु हुन्छ?' एकजना पत्रकारले बिल गेट्सलाई सोधेको प्रश्न हो यो। गेट्स एकछिन मौन रहेर शून्यमा हेरिरहे, अनि जवाफ दिए, 'यसको बारेमा कसैले प्रमाणित गर्नसकेको छैन।' यो सायद वैज्ञानिकहरूले दिने जवाफ हो, जसलाई कुनै पनि कुराको अस्तित्व स्वीकार्न प्रमाण जरुरी हुन्छ। अर्कोतिर स्टिभ जब्स भने भगवानको अस्तित्वमा विश्वास गर्थे, भारतका अध्यात्मिक गुरुहरूको संगत गरेका थिए उनले। आश्रमको बास र योगीहरूको जीवनलाई नजिकबाट हेरेका थिए। योगीबाट प्रभावितसमेत भएका थिए। तर यी दुईको क्रियाकलापलाई नजिकबाट हेर्ने हो भने वास्तविक जीवनमा गेट्सले नकारेको भगवान र जब्सले स्वीकारेको भगवानको साँचो अस्तित्वमा विरोधाभास देखिन्छ। 
जब्स र गेट्स धेरै कुरामा समानता छ। दुवैजना सन् १९५५ मा जन्मिएका थिए। दुवैले कलेजको पढाइलाई बीचैमा छाडेका थिए। तिनको प्रविधिप्रति रुचि थियो र व्यापार गर्न सिपालु पनि। तर दुवैजनाको पारिवारिक पृष्ठभूमि धेरै फरक थियो। जब्सलाई सन्तानविहीन बाबुआमाले हुर्काएका थिए भने गेट्सका पिता सियाटल राज्यका नामी वकिल थिए। उनकी आमा सामाजिक कार्यकर्ता थिइन् भने जब्सकी आमा साधारण गृहिणी। जब्सजस्तो गेट्स विद्रोही स्वभावका थिएनन् र भएनन् पनि। रमाइलो कुरा त के छ भने, जब्स आफूलाई आइन्सटाइन, गान्धी र अन्य भारतीय बाबाजस्तै माथिल्लो तहको ठान्थे अनि गेट्सलाई आफूभन्दा तल्लो तहको मान्थे। उनी भन्थे, गेट्सले गाँजा खाएको भए, हिप्पी जीवन भोगेको र भारतको आश्रममा बसेको भए उनले धेरै प्रगति गर्थे। 
जब्सको यो भनाइ बुझ्न गाह्रो छ। किनभने गेट्सले आफूसँगै काम गर्ने मानिससँग सधैँ राम्रो व्यवहार गर्थे। जब्स भने सहकर्मीसँग तल्लो स्तरको व्यवहार गर्थे। वास्तवमा जब्सले अध्यात्मको बारेमा कुरा गर्नु उतिसारो सान्दर्भिक लाग्दैन। उनले जीवनमा कमाएको २५ प्रतिशत हिस्सा पनि राम्रो कामको लागि दिएनन्। उनी अर्बौंको मालिक थिए। उनले गरेको गाँजासेवन र हिप्पी जीवनबारेको धारणा बुझ्न नसकिनेखालको छ। 
आज गेट्सले आफ्नो व्यवसायलाई अरुको हातमा सुम्पिदिएका छन्। र, आफूचाहिँ दुनियालाई राम्रो बनाउनको लागि समर्पित रहेका छन्। उनले शिक्षा र स्वास्थ्यको लागि जति पैसा दिए त्यति आजका मितिसम्म कसैले दिएको छैन। उनी अहिले पनि आफूले कमाएको रकमको केही हिस्सा आवश्यक परेका मान्छेलाई दिइरहेका छन्। र, पत्नी मेलिन्डा गेट्सको काममा पूरै सहयोग गरिरहेका छन्। जब्सले कस्तो अध्यामिकता र आश्रम जीवनको कुरा गरेका हुन्? जो उनले आफ्नो जीवनमा कहिल्यै पनि लागु गरेनन्। उनी कसैलाई दिने वा सहयोग गर्ने कुरामा रत्तिभर पनि विश्वास गर्दैनथे। कस्तो अध्यात्मिक शान्तिको कुरा गरेका हुन् उनले? जबकि उनले आफूभित्र शान्ति कहिल्यै पनि प्राप्त गरेनन्। सधैँ आफ्नो मातहतमा काम गर्ने इन्जिनियरहरूलाई नमिठो बचनले पेलेरै काम गर्न बाध्य बनाए। उनले कस्तो शान्तिको अपेक्षा गेट्ससँग गरेका हुन् बुझ्न कठिन छ। तर प्रश्न के गर्न सकिन्छ भने, के गेट्सको शान्त स्वभावबाट जब्स चिढिन्थे? भर्खरै फोर्ब्स पत्रिकाले संसारकै धनी मानिसको सूची निकालेको छ । यसमा गेट्स एक्काईसौँ पटक फेरि पनि संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा पर्न सफल भएका छन्। जब्ससँग जतिसुकै पैसा भए पनि उनी गेट्सको तहमा कहिल्यै पुग्न सकेनन्। 
एप्पल कम्पनी धनी संस्था भए पनि जब्सको नाम त्यो सूचीमा परे पनि गेट्सजति दानवीर कहिल्यै हुनसकेनन्। जब्ससँगजस्तो गेट्ससँग दुई वा तीन वटा कम्पनी पनि थिएन। तर पनि गेट्स नै धनीको सूचीमा त्यति लामो समयसम्म रहिरहे। गेट्सले आफ्नो सफ्टवेयरलाई सस्तोमा बेच्थेतर हार्डवेयर बनाउने कम्पनीलाई नियन्त्रणमा लिने कहिल्यै सोचेनन। तर जब्सको स्वभाव बेग्लै थियो। 
जब्स आफ्नो 'एप्पल' कम्पनीको सम्पूर्ण नियन्त्रण आफूमै राख्न रुचाउँथे। गेट्सले आफ्नो विद्यालय र विश्वविद्यालयका साथीसँग धेरै समय काम गरे, तर जब्सले त्यसो गर्नसकेको देखिँदैन। कसरी उनले ड्यानिएल कोटकको चित्त दुखाए भनेर उनको जीवनीमा पढ्न सकिन्छ। पल एलेन र स्टिभ वाल्मर गेट्सका सानैदेखिका साथी हुन्। तिनले गेट्सको कम्पनीमा उच्च तहमा रहेर धेरै वर्षसम्म काम गरे। 
गेट्सले आफ्नो कम्पनी 'माइक्रोसफ्ट' लाई अत्यधिक नाफामूलक बनाउन चाहेनन्, न त त्यसलाई आफ्नो एकल नियन्त्रणमा नै राख्न चाहे। त्यतिमात्र होइन, कमाइको केही हिस्सा सधैँ परोपकारमा लगाइरहे। तर पनि उनी विश्वका धनी मान्छेको सूचीमा परिरहे। जब्स अध्यात्मिक खोजीको पछाडि पागलजस्तै लाग्नु, व्यापारबाट टन्नै मुनाफा कमाउनु र कमाएको पैसा जरुरत पर्नेका लागि खर्च नगर्नुले पनि उनको मनमा शान्ति कहिल्यै आएन। जब्स शान्त स्वभावका हुँदा हुन् त आफ्नो मातहतमा काम गर्ने सहकर्मीहरूलाई तत्लोस्तरको व्यवहार गर्दैनथे। यसको अर्थ उनी धनी थिएनन् भन्नेचाहिँ होइन, तर उनी आफूलाई आवश्यक फर्निचर पनि किन्दैनथे। आफूलाई मनपर्ने डिजाइनको फर्निचर बजारमा उपलब्ध छैन भनिदिन्थे उनी। 
यति हुँदाहुँदै पनि उनले किन गेट्स आश्रममा बसेको भए, गाँजा खाएको भए राम्रो काम राम्रो गर्थे भनेर भनेका होलान् भन्ने प्रश्न उठ्छ। दुनियाँ र अदृश्य शक्तिले गेट्सलाई नै पुरष्कृत र प्रशंसा गरिरहेको छ। गेट्सले आफ्नो कम्पनीमा काम गर्ने व्यक्तिलाई पनि धनी बनाइदिए। सधैँ आदरभावले बोले। तर जब्स यस्तो विषयमा सोच्दा पनि सोच्दैनथे। दुवैको काम गर्ने क्षेत्र प्रविधि नै थियो। दुवैले सफ्टवेयर इन्जिनियरसँग नै काम गर्नुपर्थ्यो। तर दुवैको व्यवहारमा आकाशजमिनको अन्तर थियो। 
अफ्रिका र भारतलाई गेट्सले आफ्नो कार्यक्षेत्र बनाएका छन्। यी दुई क्षेत्रका कमजोर आर्थिक अवस्था भएका मान्छेलाई गेट्सले पुर्यालएको सहयोग अतुलनीय छ। गेट्सका कारण आफ्नो जीवन सहज बनाएका कति मान्छेलाई लाग्दो पनि हो, 'कस्तो होला बिल गेट्सको आत्मा!'

प्रकाशित: ४ मंसिर २०७१ २१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App