विचार

२१ औँ शताब्दीका सिकाइ सिप

२१ औँ शताब्दीलाई सूचना र सञ्चारको युग मानिन्छ। यस शताब्दीका व्यापार–व्यवसाय, शिक्षा र स्वास्थ्यलगायत हरेक विषयले सूचना र अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्नैपर्ने बाध्यता छ। प्रविधिमैत्री हुन नसक्ने हो भने जतिसुकै उपयोगी चिज पनि लुप्त भएर जाने सम्भावना बढ्नु २१औँ शताब्दीको विशेषता पनि हो।

शिक्षा क्षेत्र भविष्यका लागि योजना गरिने विषय भएकाले बदलिँदो समाजका आवश्यकता,दिनानुदिन विकसित विश्व बजारका सूचना र सञ्चारको छायाँले यसलाई प्रत्यक्षरूपमा प्रभाव पारेको हुन्छ। वास्तवमा तत्कालीन समाजको मनोविज्ञान, सञ्चार र प्रविधिको विकास तथा युगीन आवश्यकताले शिक्षाका तत्कालीन र दीर्घकालीन उद्देश्यहरू तय हुने गर्छन्।

कम्तीमा २० वर्षपछिको समाज, सूचना प्रविधि तथा आवश्यकतालाई सम्बोधन गर्न सक्ने जनशक्ति उत्पादन गर्नु आजका शैक्षिक संस्थाहरूको चुनौती पनि हो। उन्नाइसौँ शताब्दीमा पाठ्यपुस्तक परिवर्तन अनौठो विषय मानिन्थ्यो भने बीसौँ शताब्दीमा कम्तीमा पाँच वर्षमा पाठ्यक्रम परिमार्जन र परिवर्तन गर्नुपर्ने आग्रह राखिन्थ्यो।

एक्काइसौँ शताब्दी भने पाठ्यपुस्तक तयारी गर्दागर्दै परिमार्जनको आवश्यकता महसुस हुने गरी अति शीघ्र गतिमा चलायमान विश्व परिवेश बनेको छ। यसले समाजका तत्कालीन आवश्यकता तथा जटिल समाजका चुनौतीपूर्ण कामहरूलाई सामना गर्न प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने किसिमको शिक्षण सिकाइ क्रियाकलाप निश्चित समयका लागि तोकिएको पाठ्यक्रम र पाठ्यपुस्तकको दायराभित्र बसेर गरिने क्रियाकलापबाट पूर्ति हुन सक्दैन।

सूचनाको विष्फोट र प्रविधिमा आएको चमत्कारका कारणले गर्दा शिक्षण सिकाइ क्रियाकलापमा वर्तमान समयका वैज्ञानिक आविष्कार र भावी समाजको जटिलतालाई सम्बोधन गर्न सक्ने विषयको सर्वथा खुला प्रविष्टि हुनुपर्छ। यिनै कुरालाई ध्यानमा राखेर तीव्र परिवर्तनको युगका रूपमा चिनिएको एक्काइसौँ शताब्दीका चुनौतीहरू सामना गर्न शिक्षण सिकाइ क्रियाकलापमा ध्यान दिनैपर्ने केही विषय प्रतिपादन गरिएका छन् जसलाई एक्काइसौँ शताब्दीका सिकाइ क्रियाकलापका अभिन्न र अपरिहार्य सिप मानिन्छ।

सिकाइ सिप

हाम्रा विद्यालय बालबालिकालाई सिप सिकाउने भन्दा कलिलै उमेरमा पाठ घोकाउने स्थलका रूपमा परिचित छन्। पाठ्यपुस्तकमा भएका सूचना कण्ठ गर्ने र निश्चित समयावधिमा दिइने निर्णयात्मक परीक्षामा जस्ताको तस्तै प्रस्तुत गर्न सक्ने विद्यार्थीलाई उत्कृष्ट ठान्ने परिपाटी अहिले पनि विद्यमान छ।

समयमा पाठ्यक्रम परिमार्जन हुन नसक्नु, वर्तमान र भावी समाजको आवश्यकता पूर्ति गर्न सक्ने किसिमका पाठ्यपुस्तकहरू निर्माण हुन नसक्नु, विद्यालयका संरचनाहरू परम्परागत किसिमका रहनु र शिक्षकले आफू भन्दा अघिल्लो पुस्ताले आफूलाई जे पढायो त्यही कुरा आफू भन्दा पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुलाई नै शिक्षण सिकाइ क्रियाकलापको उद्देश्य ठान्नु वर्तमान नेपाली शिक्षाको अव्यावहारिक र निराशालाग्दो पक्ष हो।

विश्वग्रामको वर्तमान परिवेशमा एक्काइसौँ शताब्दीका माग, विश्व बजारमा विकसित भएका नवीनतम प्रविधि र शिक्षण सिकाइ क्रियाकलापमा विकसित अनुसन्धानात्मक गतिविधि र प्रविधिलाई हामीले आत्मसात् गर्नैपर्छ।

एक्काइसौँ शताब्दीका आधारभूत सिकाइ सिप आर्जन गर्नका लागि आलोचनात्मक चिन्तन, सिर्जनशीलता,सहकार्य र सञ्चार जस्ता सिकाइगत सिपहरू प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नका लागि पाठ्यक्रममा समयानुकूल परिमार्जन र शिक्षकहरूलाई व्यवस्थित किसिमको तालिम आवश्यक पर्छ।

विद्यार्थीहरूमा एकोहोरो पाठ पढेर उत्तर दिने बानीको सट्टा आफ्नै मौलिक र सिर्जनशील सोच, समस्या समाधान गर्ने क्षमता,सिर्जनशील क्रियाकलाप,अस्वस्थ प्रतिस्पर्धी चिन्तनका सट्टामा समूहकार्य र सञ्चारगत सिपहरूको प्रवर्धन गर्नका लागि परम्परागत अध्ययन/अध्यापन विधिमा आमूल परिवर्तन ल्याउनुपर्छ।

साक्षरता सिप

एक्काइसौँ शताब्दीको अपरिहार्य सिकाइ सिपका रूपमा साक्षरता सिपलाई अगाडि सारिएको छ। हाम्रो समाजमा साक्षरता भनेर सामान्य अक्षर चिन्ने कुरालाई बुझ्ने गरिए पनि एक्काइसौँ शताब्दीको साक्षरताको भाष्य पूर्णतः परिवर्तन भएको छ।

यस शताब्दीको साक्षरताअन्तर्गत सूचना,सञ्चारमाध्यम र प्रविधिगत साक्षरतालाई समावेश गरिएको छ। १९औँ र २०औँ शताब्दीमा समेत धेरै सूचना स्मरण गर्न सक्ने क्षमतालाई व्यक्तिको विशिष्टता मानिन्थ्यो भने एक्काइसौँ शताब्दीमा सूचना कण्ठस्थ गर्नुलाई गौण पक्ष मान्दै तथ्यको स्मरण र भण्डारणको जिम्मा प्रविधिलाई दिइएको छ।

स्मरणलाई गौण महत्व दिँदै सूचनाका स्रोतहरूको पहिचान गर्ने,व्यवस्थित वर्गीकरण, विश्लेषण र सत्यापन गर्न सक्ने क्षमतालाई आधारभूत सिपका रूपमा स्वीकार गरिएको छ।

एक्काइसौँ शताब्दीका साक्षर व्यक्तिमा सञ्चारका विविध माध्यमहरूको उपयुक्त किसिमले छनोट र प्रयोग गर्ने क्षमता र दैनिक जीवनका क्रियाकलापमा यस्ता माध्यमहरूमा उपलब्ध प्रविधिहरू प्रयोग गर्ने सामथ्र्यको आग्रह गरिन्छ।

दिनानुदिन विकसित नवीनतम वैज्ञानिक आविष्कारलाई दैनिक जीवन तथा व्यावहारिक गतिविधिमा प्रयोग गरी आफूलाई विश्वग्राममा सक्रिय सदस्यका रूपमा राख्न सक्नु एक्काइसौँ शताब्दीको साक्षरता सिप हो। १९औँ र २०औँ शताब्दीको पूर्वाद्धमा जस्तो लेखेको कुरा सरसरी पढ्न जान्नेलाई मात्र एक्काइसौँ शताब्दीले साक्षर मानेको छैन।

२१औँ शताब्दीमा साक्षर बन्नका लागि सूचना र सञ्चारका विविध माध्यमहरू तथा प्रविधिहरूको सफल रूपमा प्रयोग गर्न सक्ने क्षमता आर्जन भएकै हुनुपर्छ। हाम्रा कक्षाकोठाका गतिविधि उपर्युक्त लक्ष्य प्राप्तिमा कत्तिको उन्मुख छन् भन्नेबारे समीचीन मूल्याङ्कन गर्नैपर्ने अवस्था आएको छ।

जीवनोपयोगी सिप

विद्यार्थीले सिकेका सबै सिप उसको जीवनमा कुनै न कुनै रूपमा उपयोगी हुनुपर्छ। प्रतिस्पर्धी भविष्यमा आफूलाई अगाडि सार्न र त्यतिखेरका आवश्यकता पूर्ति गर्नका लागि विभिन्न विषयमा केन्द्रित भएर अध्ययन/अध्यापन क्रियाकलाप गरिने भए पनि एक्काइसौँ शताब्दीका आधारभूत सिपका रूपमा जीवनोपयोगी केही सिप सबैका लागि अपरिहार्य मानिएको छ।

जुन सिपको अभावमा व्यक्तिले जीवनमा सुख अनुभव गर्न र सामाजिक प्राणीका रूपमा आफूलाई स्थापित गर्नसमेत कठिन हुने गर्छ भने जुनसुकै क्षेत्रमा क्रियाशील भए पनि आफूलाई नेतृत्वदायी भूमिकामा पुर्‍याउनका लागि आधारभूत जीवनोपयोगी सिप आवश्यक नै हुने गर्छन्।

एक्काइसौँ शताब्दीका जीवनोपयोगी सिपका रूपमा लचकता, नेतृत्व,अग्रसरता,उत्पादनशीलता र सामाजिकतालाई लिइएको छ। उपलब्ध स्रोत/साधनका आधारमा तत्काल सिर्जना भएको परिस्थिति र आवश्यकतालाई आत्मसात् गरी उद्देश्य प्राप्त गर्न आफ्नो विचार र चिन्तनगत आग्रहमा परिमार्जन ल्याउन सक्ने क्षमतालाई लचकताअन्तर्गत राखिएको छ।

यस्तै सामूहिक काम गर्नका लागि समुदायका सदस्यहरूलाई उत्प्रेरणा दिने र समस्या समाधानमा अग्रसरता देखाउने सिपलाई नेतृत्व र अग्रसरताअन्तर्गत समावेश गरिएको छ।

जीवनका आरोह/अवरोह र उतारचढावमा आत्मसंयम नगुमाइ समस्याकै बीच समाधान खोज्ने सिपलाई उत्पादनशीलता र सकारात्मक चिन्तनअन्तर्गत समावेश गरिएको छ भने सामाजिक सिपअन्तर्गत समुदायका सदस्यबीचको सम्पर्क,व्यवहार,उपसमूह निर्माण तथा सामूहिक भलाइका लागि सक्रियता देखाउन सक्ने कुशलतालाई राखिएको छ। समग्रमा यी सिपलाई व्यवहारकुशल सिप मान्न सकिन्छ।

एक्काइसौँ शताब्दीका कक्षागत सिकाइ सिपका रूपमा स्वीकार गरिएका उपर्युक्त सिप आर्जन गर्नका लागि छुट्टै विषयविशेषलाई जीवनोपयोगी शिक्षाका रूपमा विकसित गर्ने उद्देश्य राखिएको छैन। हरेक विषयको शिक्षण सिकाइ क्रियाकलाप समकालीन शताब्दीका तीनवटै सिप आर्जन गर्ने दिशामा निर्देशित हुनुपर्छ भन्ने मान्यता राखिएको छ।

नेपालका सन्दर्भमा पनि वर्तमान शिक्षा नीतिले एक्काइसौँ शताब्दीको विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने, स्थानीय सिप, प्रविधि र मूल्य/मान्यतालाई जगेर्ना गर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ तर एक्काइसौँ शताब्दीका सिकाइ सिपलाई हरेक विषय र कक्षागत क्रियाकलापसँग जोड्ने चेष्टा भने गरेको छैन।

अर्को किसिमले हेर्ने हो भने पाठ्यक्रममा केही परिवर्तन र नयाँ–नयाँ सूचनाहरूलाई समावेश गरेका पाठ्यपुस्तकको निर्माण गरे पनि पुरानै ढर्रामा शिक्षकले विद्यार्थीलाई सूचना प्रदान गर्ने सङ्कुचित दायरामा शिक्षण सिकाइ क्रियाकलापहरू केन्द्रित हुने गरेका छन्।

सबै विषयलाई जीवनोपयोगी बनाउनुको सट्टा नयाँ पाठ्यक्रमले जीवनोपयोगी शिक्षाका रूपमा एउटा विषय विशेषलाई पाठ्यक्रममा समावेश गरी बौद्धिक दरिद्रता प्रदर्शन गरेको छ।

एक्काइसौँ शताब्दीका सिकाइ क्रियाकलापमा जीवनोपयोगी सिप हरेक विषयमा अन्तर्निहित हुनुपर्छ भन्ने मान्यता राखिए पनि हाम्रो शिक्षा नीतिले यस वास्तविकतालाई स्वीकार गर्न र यथार्थरूपमा बुझ्न सकेको देखिँदैन। यसैले जतिसुकै अनैतिक काम गरे पनि परीक्षामा राम्रो लेख्न सके नैतिक शिक्षामा सर्वोत्कृष्ट भएजस्तै भूमिका अहिले विद्यालय तहमा प्रयोगमा ल्याइएको जीवनोपयोगी शिक्षाले खेल्न थालेको छ।

अर्कोतिर विद्यालय शिक्षामा अन्य विषयलाई प्राथमिकता दिइ अनिवार्य र ऐच्छिक विषयका रूपमा व्यवस्थित गरिएको छ भने एउटा विषयलाई जीवनोपयोगी सिप भनेर परिभाषित गरिएको छ। जसबाट विद्यार्थीलाई वर्षभर पढेका अरू विषय जीवनका लागि अनुपयोगी र जीवनोपयोगी शीर्षक दिइएको विषयमात्र उपयोगी हुने हो कि भन्ने भ्रमसमेत सिर्जना भएको छ। जीवनोपयोगी शिक्षाका रूपमा अगाडि सारिएको विषय भने आफैँमा विद्यार्थीलाई जीवन उपयोगी सिप सिकाउने कुरामा केन्द्रित हुन सकेको छैन।

निष्कर्ष

विद्यालय तहमा सिकाइने हरेक विषय जीवन उपयोगी छन् र हुनुपर्छ भन्ने विषयमा स्पष्ट नहुने हो भने सिकाइ क्रियाकलाप शिक्षक र सिकारु दुवैका लागि रुचिकर बन्न सक्दैन। विषयवस्तुलाई रुचिकर बनाउन तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि एउटा विषयलाई जीवनोपयोगी विषय भनी चित्रित गर्नु भन्दा विद्यालयमा जे/जति विषयलाई आधार मानेर सिकाइ क्रियाकलाप अगाडि बढाइन्छ ती सबै विषय जीवनोपयोगी छन् भन्ने प्रमाणित गर्नका लागि एक्काइसौँ शताब्दीका आधारभूत सिपसँग तादात्म्य गरी शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गरिनुपर्छ। परम्परागतरूपमा अगाडि बढेका हाम्रा विद्यालयका पठनपाठन क्रियाकलापमा यस प्रकारको आमूल परिवर्तनका लागि सर्वप्रथम शिक्षकका लागि उपयुक्त किसिमका तालिमको व्यवस्था अपरिहार्य छ।

शिक्षकलाई उपयुक्त तालिम दिन सके शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तन आउनेछ जसले वर्तमान मूल्याङ्कन पद्धतिमा समेत सामयिक सुधार गरी योग्य जनशक्ति तयार गर्न सकिनेछ। विश्व बजारको माग तथा सिपलाई ध्यान नदिइ सधैँ परम्परागत चौघेराभित्र बसेर अव्यावहारिक र सैद्धान्तिक पठनपाठनमा मात्र केन्द्रित हुने हो भने नेपाल तथाकथित उच्च शिक्षा हासिल गरेका तर विश्व बजारमा अदक्ष ठहरिने श्रमिक जनशक्ति निर्यात गर्ने मुलुककै रूपमा मात्र रहने निश्चित छ।

प्रकाशित: २१ मंसिर २०७८ ०३:०२ मंगलबार

२१ औँ शताब्दीलाई सूचना र सञ्चारको युग व्यापार–व्यवसाय सूचना र अत्याधुनिक प्रविधि शिक्षा क्षेत्र भविष्यका लागि योजना