भदौ १६ गते बीबीसी 'नेपाली' सेवामा सुनेको आवाज हो यो। एफएम रेडियो नै सुनिरहेको हुँदा सुरुमा त म छक्क परिनँ। किनभने हाम्रा सबैजसो रेडियो र टिभीको भाषा नेपाङ्ग्रेजी नै हो। तर, जब बीबीसी 'नेपाली' सेवामा यस्तो सुनेँ, म घोरिएँ। मार्टिन चौतारीका अंकलाल चलाउने सधैँ कानमा इयरफोन घुसारेको अवस्थामा भेटिन्छन्। 'के सुन्छौ यार तिमी सधैँ?' सोधेँ। 'इङ्लिस बनाउँदै छु दाइ' उनले भने। उनी काठमाडौंमा बजिरहने बीबीसी १०३.० एफएम सुन्दा रहेछन् सधैँ। दुर्गम डोल्पाबाट बीबीसीकै विद्यालयस्तरीय निबन्ध प्रतियोगिता जितेपछि रवीन्द्र मिश्रमार्फतै काठमाडौं आएका उनको अङ्ग्रेजी गुरु त्यही बीबीसी काठमाडौं एफएम नै रहेछ।
उनी त्यो सुनेर अङ्ग्रेजीको सही उच्चारण सिक्छन् रे। शुद्ध अङ्ग्रेजीको विशुद्ध प्रयोग पनि सिक्छन् रे। 'इङ्लिस बनाउन' उनले बीबीसी अङ्ग्रेजी सुनेझैँ 'नेपाली बनाउन' चाहनेले 'नेपाली' सेवाको माथिको अंश सुनेर कस्तो नेपाली सिक्ला त? थुप्रै भाषाका बीबीसी सेवा भाषा सिक्न चाहनेका लागि 'निःशुल्क गुरु' पनि हुन्।
आफ्नो पुस्तक 'भूमध्यरेखा'मा 'नेपाली बोले नेपाली मात्रै, अङ्ग्रेजी बोले अङ्ग्रेजी मात्रै' शीर्षकमा उनले लेख मात्रै लेखेका छैनन् यसलाई परिवार र साथीमाझ नारा नै बनाएको भनी लेखेका छन्। मिश्रका उनका छोरा 'कसरत गरेर मांसपेसी बलियो भाछ' बोल्छन् रे, तर उनकै नेतृत्वको नेपाली सेवामा भने त्यस्तो नेपाली बज्छ? वक्ता त बेग्लै कुरा, उनका नयाँ सहकर्मीसमेत नेपाली सेवामा नचाहिने ठाउँमा अङ्ग्रेजी घुसाउँछन्। बीबीसीले वक्ताको कुरा अनुवाद गरेर सुनाउने गरेको त छ तर उसले पूरै अर्काे भाषा बोलेको खण्डमा मात्र।
यहाँ बीबीसीलाई प्रतीकात्मकरूपमा उभ्याइएको मात्र हो। सरकारी ओहोदामा बसेका हाम्रा सबैजसो ठूलाठालु नेपाङ्ग्रेजी नै बोलिरहेका हुन्छन् तर हामी अभिनेत्रीहरुलाई बढी उडाइरहेका हुन्छौं। हाम्रा सामुदायिक विद्यालयमा अङ्ग्रेजी विषय नेपाली माध्यममा पढाइ हुन्थ्यो। अचेल अङ्ग्रेजी माध्यमको नाउँमा नेपाङ्ग्रेजी माध्यममा पढाइ हुँदो रहेछ। शिक्षक बेलाबेला अङ्ग्रेजी शब्द घुसाउँछ, जसलाई ग्रामीण क्षेत्रमा 'अङ्ग्रेजी माध्यममा पढाइ' भनिन्छ। हाम्रो बोलाइ, सुनाइ, लेखाइ, पढाइ जताततै नेपाङ्ग्रेजी छ। यस्तो लाग्छ हाम्रो राष्ट्रभाषा नै नेपाङ्ग्रेजी हो। शब्द, उच्चारण र व्याकरणको मिसमासे रूप 'पिजिन' नै हाम्रो कामकाजी भाषा हो, जसले 'क्रेओल'को रूप लिँदो छ।
अंग्रेजले शासन गरेको छिमेकमा हिङ्ग्रेजी बोलिनु स्वाभाविकै हो तर 'स्वतन्त्र' भनिने हामी अझ अघि बढेर नेपाहिङ्ग्रेजी बोलिरहेका छौँ। बोलिरहेका त थियौँ थियौँ, अचेल त यही नेपाहिङ्ग्रेजीमै लेख्न पनि थालेका छौँ। पछिल्लो समय नेपाली पुस्तक र चलचित्रमामा अङ्ग्रेजी नाउँ राख्ने हाम्रो मोह सस्तो लोकप्रियताका लागि आत्मविश्वासमा आएको ह्रासको सूचक हो। ठालू वा जान्नेसुन्ने पल्टिने लोभ पनि हो।
विदेशी कार्यक्रममा अङ्ग्रेजी बोल्दाबोल्दै नेपालीको एउटै शब्द प्रयोग गरेकी मन्त्रीलाई हामी उडाउनुसम्म उडाउँछौँ। टोलटोलमा खुलेका 'इन्टरनेसनल स्कुल'मा एउटै शब्द नेपाली बोल्दा हामी हाम्रा नानीलाई थर्काउँछौँ, अझ कुट्छाँै पनि। यति मात्र कहाँ हो र, नेपाली बोले भने एक शब्द बराबर पाँच रुपैयाँसमेत तिराउँछौँ। अङ्ग्रेजी कार्यक्रममा एकै शब्द नेपाली घुसाउँदा अचम्म मान्छौं, तर नेपाली कार्यक्रममा नेपाली शब्द एउटै बोल्दा पनि स्वाभाविक?
हामी नेपालीमा अङ्ग्रेजी हैन, अङ्ग्रेजीमा नेपाली मिसाइरहेछौँ। म एभि्रडे अर्ली इन द मर्निङ न्युरोडमा मर्निङ वाक जान्छु जस्ता 'नेपाली' वाक्यमा नेपाली शब्दै पो कति छन् र? बीबीसीको माथिको 'नेपाली' भनाइमा नेपाली र अङ्ग्रेजी शब्द सराबरी छन्। हाम्रा भनाइमा सर्वनाम, विभक्ति र क्रियापद मात्र नेपाली हुन्छन्। अङ्ग्रेजी शब्दलाई नेपालीको नियमअनुसार कर्ता, कर्म र क्रियाको क्रममा बोलिरहेछौँ हामी।
आफूलाई पढेलेखेको वा सभ्य देखाउन हामीले बोल्ने कुरा केदार शर्माले 'नागरिक' दैनिकको एक लेखमा सङ्कलन गरेका रहेछन्, 'मेरो नेपाली एकदम विक छ। सिक्न ट्राइ त गर्दैछु बट नेपाली ग्रामरका रुल्स नै एकदम हार्ड छ, सो इन्कन्सिटेन्ट।' के हामीलाई विक, ट्राइ, बट इत्यादिलाई नेपालीमा के भन्छन् भन्ने थाहा छैन त? म ठोकुवा गर्छु, राम्ररी थाहा छ। जन्मँदै बोलेको, धेरै वर्ष पढेको भाषामा 'विक छु' भन्नु लज्ज्ााको कुरा हो कि मज्जाको?
कुनै विदेशीले आफ्नो भाषा शुद्ध बोल्यो हामीलाई अचम्म लाग्दैन। चिनियाँ, जापानी, रसियालीहरुले आफ्नो भाषा शुद्ध बोल्दा अचम्म मान्नुपर्ने केही छैन। तर कोही नेपाली साथीले 'बर्थडे गिफ्ट' नदिएर 'जन्मदिनको उपहार' दियो भने मलाई अचम्म लाग्छ। शुद्ध बोली नै पो के नमिले नमिले जस्तो अशुद्ध अशुद्ध लाग्छ। आफ्नै भाषा शुद्ध बोल्दा हामी हीनताबोधले ग्रस्त हुन्छौँ, पाखे होइने हो कि भनी त्रस्त हुन्छौँ।
भाषा मिसावटरहित त हुँदै हुन्न। अझ नेपाली भाषा त धेरै भाषाको खिचडी या सोरसारे भाषा पनि हो। संस्कृत वंशका शब्द (तत्सम र तद्भव) को प्रयोग घट्दै जानु र तिनको ठाउँ अन्य भाषाका आगन्तुक शब्दले लिँदै जानु अस्वाभाविक होइन। संस्कृत पढ्न नपर्ने तर अङ्ग्रेजी पढ्नैपर्ने शिक्षामा यस्तो हुनुलाई अनौठो मानिनु हुँदैन। जगअनुसार घर बन्ने हो, रोपेकै बिरुवा उम्रने हो।
विज्ञान र प्रविधिका नयाँनयाँ आविष्कारको प्रयोग बढ्दै जाँदा र सम्पर्क व्यापकतर हुँदा अङ्ग्रेजीको प्रभाव बढ्नुलाई अन्यथा रूपमा लिनु नै हुँदैन। सीके लालले झैं इन्टरनेटलाई अन्तर्जाल भन्नु आवश्यक छैन। 'फेसबुक पेजबाट फोटो डाउनलोड गर'लाई 'अनुहारपुस्तक पृष्ठबाट तस्बिर उतार' बनाऊ भन्ने केही पण्डितको तर्क र प्रयोगसँग गोविन्द अधिकारीझंै यो पंक्तिकार पनि पूर्णतः असहमत छ। र, तीसँग पनि असहमत छ जो हाम्रै मैथिली, भोजपुरी, थारु, तामाङ, नेवार, मगर, गुरुङ, राई इत्यादि भाषाका शब्दलाई अङ्ग्रेजी–हिन्दीझैं टाढैको आगन्तुक ठान्छन्। नेपाली भाषामा हाम्रा मातृभाषी शब्दको प्रयोग सहजरूपमा बढ्नुपर्छ। नेपाली शब्दकोशमा यी भाषाका शब्द पनि हुनुपर्छ। यसो नगर्ने हो भने यो नेपाली हैन, 'खस कुरा' मात्र रहिरहनेछ।
नेपालमा १२३ भाषाका वक्ता छन् भनिएको छ। यी सबै भाषा बोल्ने वक्ता नेपाली नै हुन्। यी सबै भाषा नेपाल भूगोलवासीका हुन्। ४४ प्रतिशत मातृभाषीलाई मात्रै नेपाली ठान्नु गलत छ। मैथिली, भोजपुरी, थारू, तामाङ, नेवार, मगर, गुरुङ, राई इत्यादि सबै भाषाका शब्दलाई नेपाली व्याकरणमा आगन्तुक महलमा राखी सिकाउनु हुन्न। भाषालाई समृद्ध र जीवन्त बनाउन नेपाल भूगोलमा बोलिने सबै मातृभाषाका शब्दलाई नेपाली नै ठान्नुपर्छ।
म कहिलेकाहीँ साहित्यिक कार्यक्रममा जाँदा सुन्छु, अङ्ग्रेजीका प्राध्यापक अभि सुवेदीभन्दा नेपालीका प्रमुख राजेन्द्र सुवेदी नचाहिँदो ठाउँमा अङ्ग्रेजी घुसाइरहेका हुन्छन्। अङ्ग्रेजीका सुवेदी 'निबन्ध र टुँडिखेल' नाममा पुस्तक छाप्छन् तर नेपालीका सुवेदी भने 'गुडबाई छोडिजानेलाई' पुस्तक छाप्छन्। नेपाली नजानेझैँ गरी अङ्ग्रेजी घुसाउन थाल्नेलाई भनौँ, 'गुरु! यहाँलाई नेपाली लेख्न–बोल्न गाह्रो भएजस्तो छ, पूरै अङग्रेजीमै गरौँ।'
नेपाली भाषा विरूप देखिने त्यहाँ पनि हो जहाँ नेपाली भाषा रोमनमा लेखिन्छ। हरेक भाषाको आफ्नै लिपि हुन्छ, नेपालीको लिपि देवनागरी हो। सामाजिक सञ्जालमा रोमनमा लेखिएको नेपाली धेरै देखिन्छ। केही अनलाइन सञ्चारमा रोमनमा लेखिएका प्रतिक्रिया बग्रेल्ती देखिन्छन्। यस्तो पढ्न साह्रै झन्झट हुन्छ। युनिकोडको विकास भएको धेरै भइसक्दा पनि यसको प्रयोग बढ्न सकेको छैन। किशोर पहाडी, सगुना शाहहरुले चलाउने साहित्यिक पेजमा नेपाली रोमनमा लेख्न सम्भव छैन। प्रविधिमा देवनागरी लिपिमा लेख्न सिकाउनु जरुरी छ। भारतमा नेपाली विषयको प्रश्नपत्र रोमन लिपिमा आउँदो रहेछ, यो सोचिहाल्नुपर्ने विषय हैन र?
महाकविले 'हाई हाई अङ्ग्रेजी' लेखेको उहिल्यै हो। मिश्रले 'नेपाली बोले नेपाली मात्रै, अङ्ग्रेजी बोले अङ्ग्रेजी मात्रै' लेखेको पनि धेरै भयो। 'फस्ट लभ' नाउँको नेपाङ्ग्रेजी पुस्तकमा मेरो आफ्नै नेपाली संस्मरण छापिएको पनि वर्ष दिन भयो। पात्रले बोल्ने स्वाभाविक भाषा भन्दै कलाका विभिन्न क्षेत्रमा नेपाहिङ्ग्रेजी संवादकोे क्रम बढ्दो छ। नेपाली भाषाको मौलिकता नै नष्ट हुने गरी जथाभावी गर्नु भाषिक संविधानको उल्लङ्घन हो। कमलादीको न्यायालय नै चम्चालयमा परिणत भएपछि कसको के लाग्छ!
साहित्य–चलचित्रजस्ता सञ्चार कलाको तेर्साे 'प्रभाव' लाई समाजले बिस्तारै 'सिकाइ' कै रूपमा ग्रहण गर्न थाल्छ। हाम्रो आजको बोलीचाली र सञ्चार भाइबहिनीका लागि जग हो। जब नेपाहिङ्ग्रेजी नै जग बन्छ भने त्यहाँ कस्तो घर ठडिएला? अङ्ग्रेजी–हिन्दीको प्रयोग गर्नैहुन्न भन्ने मेरो मान्यता हुँदै होइन। कुरा यत्ति हो, बुझाउनुपर्ने कुरा बुझाउन नेपालीमै प्रशस्त शब्द हुँदाहुँदै किन अन्य भाषाको सहारा लिनु? के तपाईंले हिँड्नलाई दुवै गोडा पूर्णतः सक्षम भएको मान्छे बैसाखी टेक्तै हिँडेको देख्नुभएको छ?
प्राध्यापन : नेपाली शिक्षण विभाग, त्रिचन्द्र कलेज।
प्रकाशित: २८ भाद्र २०७१ २०:३३ शनिबार