पश्चिमका गाउँबस्ती चहार्दैछु। कुनै समय २४ जिल्लाको ज्ञान, सूचना, राजनीति र व्यवसायको केन्द्र नेपालगन्ज हुन्थ्यो। कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको गृहजिल्लाका कारण थप चर्चा हुने नै भयो।
केही पश्चिम उकालो लाग्नेबित्तिकै महाभारत पर्वत शृंखलाको डडेल्धुरा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो। बाँकेसँगै जोडिएको सुर्खेत महासचिव एवं विधान संशोधन समिति अध्यक्ष पूर्णबहादुर खड्काको गृहजिल्ला। तिनै जिल्लामा अहिले कांग्रेसी चुनाव भएनन्। प्रजातान्त्रिक पार्टीको अप्रजातान्त्रिक अभ्यास अहिले सडकमै छताछुल्ल भयो।
सभापति देउवालाई संयोग, कागतालीले प्रधानमन्त्री त बनायो। दुई महिना पुग्न थाले पनि मन्त्रिपरिषद्को पूर्णता दिन सकेनन्, न आशा तरंगित गराउन सके।
गाउँमा राजनीति पस्यो
अहिले राजनीति गाउँ पसेको छ। सरकारबाट बाहिरिनुपरेको केपी समूह विभाजनको पीडामा छ। कांग्रेस र राप्रपालाई महाधिवेशन चटारो छ। माधव समूह, ‘मध्यपन्थी तेस्रो धार’ र बादल समूहलाई औचित्य साबित गर्ने समस्या छन्।
उपेन्द्र–बाबुराम र महन्थजी कार्यकर्ता तान्न, माओवादी इतिहास धान्न र नयाँ आवेग तयार गर्ने चुनौतीले नेता हैरान छन्। हरेकसँग हातहातमा एन्ड्रोयड मोबाइल छ। सूचना छिनछिनमै पुग्छन्। केन्द्रीय नेताका भाका सुगा रटाइ गाउँबस्तीमा तुरुन्तै छरपस्ट हुन्छन्। आपसमा तीक्तता र गाली कम्युनिस्टमा जति देखिन्छ, अरूमा त्यति छैन। भनेर मात्रै नहुने– विश्वास जगाउन त देखिने गरेर हुनुपर्दो रहेछ।
बुथैमा रोक्ने
कांग्रेस र कम्युनिस्ट घुस्न नपाऊन् भनेर नियन्त्रणको फलामे गेट गाउँ फर्कको सिफारिस लिनुपथ्र्यो। प्रतिद्वन्द्वीलाई वडा तहमै घेराबन्दी गर्दै हराउने खेल हुन्थे।
२०२६ सालमा चितवनको भण्डारा– १ मा पञ्चायतीकालको देशकै रोचक र महँगो वडा चुनाव राष्ट्रिय व्यक्तित्व विश्वबन्धु थापा र सुकुचाबीचको भिडन्त चर्चा बन्यो। पूर्व चितवनका मैनाली र पाठक दुई सम्भ्रान्त परिवारबीच प्रत्यक्ष टकराहट देखिए पनि थापालाई वडामै रोक्दै बेइज्जतपूर्ण पराजय गराउन स्वयं प्रधानमन्त्री सूर्यबहादुर थापा लोथरमा पलेटी कसरे बसे। रूपमा मैनाली र पाठकको भिडन्त भए पनि केन्द्रीय राजनीतिमा सूर्यबहादुर र विश्वबन्धु दुई थापाबीचको जुँगाको लडाइँ थियो।
राँगा, खसी ढालिए। रक्सीका घ्याम्पा फोरियो। नक्कली लालपुर्जा रातारात बाँडिए। घरघर चापकल लागे। किनबेच लिलाम बढाबढ भयो। आखिर विश्वबन्धुलाई सुकुचाले पराजय गराउँदा थापाको राष्ट्रिय राजनीतिको ढोका बन्द भयो, बाहिरिए। पञ्चायतमा पनि सोम रस र दातृ रसबीच तानातान, हानाहान हुन्थे। अझ भूमिगत गिरोहले पदम ठकुराठीलाई गोली नै ठोक्यो।
आफ्ना घनघोर विरोधी सूर्यप्रसाद उपाध्याय आमचुनावमा पराजय भए पनि बिपी कोइरालाले गृहमन्त्री बनाए। बुथमै विरोधीलाई तह लगाउन सके सत्ता कब्जा गर्न सकिन्छ भन्ने संस्थापन पक्षमा गाउँफर्क सोच हो।
क्रियाशील सदस्यबाटै खेल सुरु हुन्छन्। अभ्यास नियालौँ : विपक्ष र विरोधीलाई घेर, क्रियाशील सदस्यबाटै आउट गर, बुथ समितिमै हराऊ, पार्टी कब्जा गरेर मात्रै सत्ता केन्द्रीकरण गर्न सकिन्छ, दुश्मनसँग लड्न परे वा शक्ति आर्जन गर्न चुनावमा मत पाउन मात्रै पार्टी र कार्यकर्ता चाहिने नत्र कार्यकर्ता त अरौटे र भरौटे बन्दा रहेछन्।
नेतृत्व हस्तान्तरण नेपाली राजनीतिको अहं प्रश्न हो। महाधिवेशन अभ्यास थलो हो। तर, नयाँ नेतृत्व आउने आधार नै ध्वस्त गर्न, शक्ति केन्द्रीकरण गर्न सत्ता प्रयोग गरिन्छन्।
अन्तद्र्वन्द्वमा फसेको कांग्रेसका गतिविधिले महाधिवेशन प्रभावित मात्रै बन्दै छैन, बुथबाटै केन्द्रीय समीकरण र शक्ति प्रभावित गर्ने खेल मञ्चन हुँदा १९ जिल्लामा चुनाव हुन सकेन। निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमको भूमिकाले डडेल्धुरा सभापति कर्णबहादुर मल्लले भदौ २२ गते चुनाव स्थगित गरे।
तब वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक सम्बोधनमा भने, ‘सभापतिको ध्यानाकर्षण ! पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस् ! पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र– तर, व्यवहार अलोकतान्त्रिक ! नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरूपयोग हुनु आपत्तिजनक र खेदजनक छ। महाधिवेशनका लागि यो शुभ संकेत होइन।’
बहसहीन महाधिवेशन
यति बेला चार थरी कांग्रेस छन् : १) पुर्खा कांग्रेस हुनाले जैविक कांग्रेस। उनलाई अरू मतलब छैन। चारतारे झन्डा, पार्टी नेका र चुनाव चिह्न रूख भएपछि पुग्छ। २) कम्युनिस्टको प्रतिक्रियामा प्रतिद्वन्द्वी पार्टी रोज्ने। ३) कांग्रेसी आदर्शकोे राजनीतिको मूल्य तिरेका। ४) सत्ताको सुख भोगेर औकात बनाएका।
सिद्धान्तको राजनीति सुविधामा फेरिएपछि चारै थरीलाई समाजवाद, प्रजातन्त्र र राष्ट्रियता बहसको विषय नभई ‘ट्रेडमार्क’ मात्रै बन्यो। यसको परिणाम महाधिवेशन गुटभन्दा गिरोहको पछि लागेर सत्ता सिँढीको भर्याङ मात्र बन्यो। आदर्शको वकालत गर्ने बूढोपुस्ता क्रमशः सन्दर्भहीन बन्दै गएको छ भने नयाँ तरुणको हस्तक्षेप पनि बढ्दै छ।
महाधिवेशन नेता छान्ने अभियानमा मात्र सीमित छ। राजनीति त पिँधसम्म पुग्यो, तर पार्टीमा इतिहासको समीक्षा, नीति, सिद्धान्त, भावी योजना, कार्यक्रमबारे कुनै चर्चा हुँदै छैन। एउटा गुटले महत्त्व नदिएपछि अर्को समातिँदै छ।
आफ्नै इतिहास पढ्दैनन्
इतिहास गल्ती नै नगरी सिक्ने पाठ हो। तर, हित अनुसार इतिहासको व्यवस्थापन भने अपराध हुन्छ। इतिहास न अहिलेको आग्रहबाट अध्ययन गर्न न मिल्छ, न शक्तिको हुकुमले। हरेक महाधिवेशन विगतको समीक्षा र भविष्यको योजना गर्ने हुनुपर्छ। तर कांग्रेसको इतिहास व्यक्ति वरिपरि मात्रै रिँग्यो। तत्कालीन राजनीति र सामाजिक अन्तर्विरोधमा व्यक्तिको विशेष भूमिका त हुन्छ, तर त्यो महामानव वा देवता भने हुँदैन।
नेकाको राजनीतिक समयरेखा
१) २००३ कात्तिक १५ मा अखिल भारतीय नेपाली कंग्रेस गठन भएर पहिलो सभापति देवीप्रसाद सापकोटा, उपसभापति बालचन्द्र शर्मा र महामन्त्री कृष्णप्रसाद उपाध्याय (भट्टराई) भए। माघ १२–१३ मा कलकत्तामा नेपाल राष्ट्रिय कांग्रेस सम्मेलनले जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापति र बिपीलाई कार्यवाहक सभापति चयन गर्यो।
२००५ साउन १ गते सुवर्णशमशेर, महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्यायको नेतृत्वमा प्रजातान्त्रिक कांग्रेस स्थापना भयो। दुवै पार्टीबीच २००६ चैत २७, २८ र २९ गते कलकत्ता टाइगर सिनेमा हलको संयुक्त अधिवेशनले नेपाली कांग्रेस बन्यो। एकता पहिला नै प्रजातान्त्रिक कांग्रेसको नेतृत्वमा आजाद हिन्द सेनाका मेजर ठाकुर पुरन सिंह खवासको नेतृत्वमा जनमुक्ति सेना गठन भइसकेको थियो।
२) तराई मधेसबाट नेकाको पहिलो केन्द्रीय समिति सदस्य नेपालगन्जका कुँवर कल्लु सिंह मात्र हुन्, उनलाई २००९ जेठ जनकपुरमा भएको पाँचौँ महाधिवेशनमा किसानको आवाज उठाएकामा कम्युनिस्ट भनी निष्कासन मात्रै गरिएन, गिरफ्तार पनि गरियो।
३) २००७ असोज १० र ११ भारतको बरगनियामा बसेको केन्द्रीय समिति बैठकले कात्तिक २१ गतेबाट सशस्त्र संघर्ष घोषणा गर्यो। कार्य विभाजनमा सुप्रिम डिक्टेटर मातृकाप्रसाद कोइराला, जनमुक्ति सेनाका सुप्रिम कमान्डर ठाकुर पुरनसिंह खवास। नारायणी नदी पूर्वी भागका राजनीतिक कमिसार बिपी कोइराला र नारायणी नदी पश्चिम महेन्द्रविक्रम शाह रहे। युद्धको अग्रिम मोर्चाको निर्देशन मेजर खवास गर्थे।
४) नारायणी नदीपूर्व राष्ट्रिय कांग्रेस र पश्चिम प्रजातान्त्रिक कांग्रेसको राजनीतिक नेतृत्व रह्यो। पूर्वभन्दा पश्चिममा लडाइँ भिडात्मक रहे। नेपाली कांग्रेसको इतिहास व्यवस्थापकले प्रजातान्त्रिक कांग्रेस र जनमुक्ति सेनाको इतिहास अवमूल्यन गरिदिए।
५) ००७ सालको संघर्षको मोर्चा ब्यारेकमै पहिलो सहिद दार्जिलिङका तेजबहादुर खत्री हुन्, थिरबम मल्ल घाइते भएर डंकन अस्पताल (रक्सौल)मा मृत्यु भएको हो।
६) वीरगन्जमा भएको २०१२ को छैटौँ महाधिवेशनले समाजवाद र धार्मिक स्वतन्त्रता नीति लियो। राष्ट्रिय स्वयंसेवकबाट कांग्रेसी बनेका डा. तुल्सी गिरीले नेपालको संविधानमै पहिलोपटक २०१९ मा हिन्दूराज्य घोषणा गराउनुमा धार्मिकभन्दा पनि पञ्चायती राजनीतिक कारण थियो, कालान्तरमा स्वयं गिरी ख्रिस्तान बने।
७) नेपाली कांग्रेसले तीनपटक सशस्त्र हतियार उठायो– २००७, २०१८ र २०२८ मा।
८) विक्ली मिररको २०३६ साउन ४ अंकमा बिपीले नेपाल हिन्दू राष्ट्र बन्न नहुने धारणा राखे। लिखित अन्तर्वार्तामा भने, ‘नेपाल हिन्दू राज्य हुँदै होइन। कसैले हिन्दू राज्य हो भन्छ भने त्यो झेली मात्रै हो। नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो। धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ। त्यसैले मन्दिर वा प्रार्थनास्थल भनेर छुट्ट्याउनुपर्ने प्रश्नै उठ्दैन।’
हालसालै बिपीको २००८–२०१३ को डायरी महेश पौड्यालद्वारा अनुवादित सार्वजनिक भएको छ। बिपीले तनहुँको भिमादमा भाषणको एक प्रसंगमा धर्मनिरपेक्षताको प्रसंग निकालेका छन्। त्यहाँ उनले उठाएका उठाएका पाँच मुद्दामध्ये तेस्रो मुद्दा धर्मबारे थियो।
७) ०१७ सालको केन्द्रीय समिति सदस्य विश्वबन्धु थापा अझै जीवित छन् भने ०४५ सालको केन्द्रीय सदस्यमा रामचन्द्र पौड्याल, चिरञ्जीवी वाग्ले र तारानाथ रानाभाट मात्र।
अन्तमा
‘नट इन् माई नेम’ भन्ने विश्वमै एउटा सशक्त आन्दोलन चल्यो, चल्दै छ। जसको विचार आत्मासात गर्न सकिँदैन, उसका नाममा राजनीति गर्नु अपराध हो। बिपी, गणेशमान, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, गज्जुबाबु र सहिदलाई अहिले पार्टीहरू ट्रेडमार्क बनाउँदै छन्।
तर, उनका नाममा आफ्ना व्यवसाय चलाउँदै छन्। उनीहरू भन्दै छन् – हाम्रा नाममा अपराध नगर, व्यापार र राजनीति नगर। खुराफात नगर। जे जे गर्नु छ गर तर हाम्रा नाममा नगर, आफ्नै नाममै गर। न्यायको चीरहरण नगर। सहयोगको नाममा करुणा व्यवसाय नगर। आदर्शका नाममा न्याय, प्रजातन्त्र, समानता, स्वतन्त्रताका कुरा नगर। मार्क्स, लेनिन र माओका नाममा नगर। गान्धीका नाममा नगर। सिधै र खुलमखुला आफ्नै नाममा गर। जब तिमीले आफ्नै नाममा गर्न थाल्छौ, देशका धेरै समस्या समाधान हुन्छन्, सामान्यजन झुक्किँदैनन्।
चक्र बास्तोला र बलदेव मजगैयाहरूलाई केन्द्रीय सदस्यमा हराएर लोकमान कार्कीका लागि मजगैयालाई बली चढाउने पार्टी नेका हो। के महाधिवेशन पूर्वसन्ध्यामा कांग्रेसीजन यो सोच्लान् ! आजको सन्दर्भमा धर्म र समाजवाद, प्रजातन्त्र, राष्ट्रियताबारे स्वयं बिपीको धारणा के थियो ? गम्भीर बहस होला !
प्रकाशित: ७ आश्विन २०७८ ०१:११ बिहीबार