विचार

यसरी लड्न सकिन्छ असमानतासँग

प्रसङ्ग नं. १

कोभिड–१९ ले लाखौँको काम खोसेको छ। यही कारण सिर्जित भोकमरी र पौष्टिक आहारको कमीबाट विश्वमा प्रत्येक मिनेट ११ जनाको मृत्यु भइरहेको छ। जुन सङ्ख्या यो अवस्थाको सिर्जनाकार कोभिडबाट मर्ने भन्दा निकै बढी हो।

प्रसङ्ग नं. २

एकातिर कोभिड महामारी सुरु भएको १७ महिनामा २० करोडमानिस कङ्गाल भए अर्कोतर्फ यही अवधिमा ३२५ जना नयाँ अर्बपतिको जन्म भयो। जुन क्रम बढ्दो छ।

प्रसङ्ग नं. ३

संसारका अर्बपतिहरूको सम्पत्ति कोभिडकालमा ६९ प्रतिशतले बढ्यो जबकि उनीहरूलाई यति सम्पत्ति कमाउन पहिले १५ वर्ष भन्दा पनि बढी समय लागेको थियो। अझ अमेजनका मालिक जेफ बेजासको सम्पत्ति त कोभिडकालको १७ महिनामा ७९.४ प्रतिशतले बढ्यो।  

कोभिड–१९ को खोप विभिन्न देशले बनाएका छन्।  यसमध्ये कुन कति प्रभावकारी वा कमसल भन्ने विवाद त जारी नै छ तर पनि जति खोप बनेको छ नेपाल जस्तो विकासोन्मुख देशमा त्यस्तो खोप १ प्रतिशत मात्र पुगेको छ। जुलाइसम्मको तथ्याङ्क हेर्ने हो भने कोभिड–१९ विरुद्धको खोप लगाउनेमा फिलिपिन्समा ७ प्रतिशत पुगेका छन् भने यो प्रतिशत बङ्गलादेश र पाकिस्तानमा ३ प्रतिशत माथि उक्लन सकेको छैन। नेपाल १० प्रतिशतको हाराहारीमा छ।  

रमाइलो तथ्य त यो छ कि विकसित मुलुकमा यस्तो खोप हरेक सेकेन्डमा १ जनाले लगाइरहेका छन् भने विकासोन्मुख देशमा जुनतवरले खोप लगाउने काम भएको छ, यही पारा कायम रहेमा सबैले खोप लगाइसक्न ५७ वर्ष लाग्ने फाइट इनइक्वालिटी एलायन्सको अध्ययनले देखाएको छ।  तर पनि गरिब राष्ट्रहरूले यो अवस्था टुलुटुलु नियाल्नुको कुनै विकल्प छैन।

खोपमा राजनीति

विकसित देशहरू र अर्बपतिहरूले चाहेमा कोभिड–१९ विरुद्धको खोप सबैलाई छोटै समयमा दिलाउन असम्भव छैन। कोभिडकालमा जन्मेका ३२५ नयाँ अर्बपतिमध्ये सबैजसो कोभिड खोप उत्पादनसँगै सम्बन्धित छन्।  यस अर्थमा खोप बनिरहेको छ। तर यस्तो खोप गरिबसम्म पुग्न दिइएको छैन। धनी राष्ट्रहरूले खाद्यान्नझैँ भण्डार गरेका छन्। अमेरिकाकै कुरा गर्ने हो उसले आफ्ना सबै नागरिकलाई खोप दिइसक्यो तर पनि उसले आफ्नो जनसङ्ख्या भन्दा १० गुना बढी खोप भण्डार गरेर राखेको छ। अन्य विकसित मुलुकले पनि थोरैकै आकारमा किन नहोस्, उसलाई पछ्याइरहेका छन्।  

धेरैलाई लाग्न सक्छ– ‘सक्नेले नसक्नेलाई खोप दिलाउन सहयोग गर्नु नि। आफ्ना नागरिकलाई दिलाइसकेपछि किन भण्डार गरेर राख्नु, अरूलाई बाँडिदिनु नि।’अपेक्षा राख्नु सजिलो छ तर धनी व्यक्ति होस् वा मुलुक, उसले अरूलाई आफ्नो वशमा राखिरहन सक्नुको कारण नै यस्तै हो जुन बेलाबखत उनीहरूका लागि अवसर बनेर आइदिन्छ। अहिले अमेरिकालगायत विकसित मुलुकका शासकले यही अवसरको ‘चरम सदुपयोग’ गरेका हुन्। उनीहरू आफूसँग रहेको खोपलाई आफ्नो स्वार्थ पूर्तिका लागि बार्गेनिङ गर्ने रणनीतिक औजारमा परिणत गरिरहेका छन्। सोझो अर्थमा भन्दा खोपलाई आफूले चाहेको अवस्था सिर्जना गर्नमा उपयोग गरिरहेका छन् शक्ति राष्ट्रहरूले। जसको मारमा राजनीतिसँग कुनै साइनो नभएका गरिब जनता पिल्सिरहेका छन्।

अर्बपतिहरूको भूमिका

संसारका २६९० अर्बपतिहरूले कोभिडकालमा जति कमाए त्यो कमाइमा मात्र एकपटकका लागि आपतकालीन कर लगाइदिने हो भने विश्वका सम्पूर्ण नागरिकलाई खोप दिन पुग्ने पैसा निस्कन्छ।  फाइट इनइक्वालिटी एलायन्सकै अध्ययनअनुसार यो गर्ने हो भने खोप दिनमात्र हैन, कोभिडका कारण बेरोजगार हुन पुगेका प्रत्येकलाई २० हजार डलरका दरले सहयोग दिनसमेत काफी हुन्छ।  

उदाहरणका लागि अमेजनका मालिक जेफले कोभिडकालको १७ महिनामा जति कमाए, त्यसमा मात्र ९९ प्रतिशत कर लगाइदिने हो भने पनि उनको सम्पत्ति एकरत्ति घट्ने छैन। तर उनी र उनीजस्तै अर्बपतिमाथि लगाइने करले भने विश्व कोभिड मुक्त हुने र कोभिडका कारण चरम सङ्कट भोगिरहेकाहरू उक्त नारकीय आहालबाट मुक्ति पाउने सम्भावनाचाहिँ रहन्छ। तर के यो अवस्था निर्माणका लागि विश्वका सरकारहरू अर्बपतिहरूप्रति थोरै भए पनि निर्दयी हुन सक्लान् ? महत्वपूर्ण प्रश्न यही हो।

सरकारहरूलाई दबाब कसरी ?

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा संयुक्त राष्ट्र सङ्घीय दिगो विकास समाधान सञ्जालका सभापति जेफ्री डि स्याक्सले लेखेका छन्– ‘अमेरिकी राजनीतिक वर्ग र आमसञ्चार माध्यम गरिब देशमा लगातार र मनपरि हस्तक्षेप गरे पनि ती देशका मान्छेलाई मान्छे नै गन्दैनन्। अधिकांश अमेरिकी शासकहरू आफ्नै देशका गरिब जनतालाई पनि त्यसरी नै मान्छे मान्दैनन्। ’समस्याको चुरो यहीँ छ। जब पैसा र सम्पत्तिको उन्मादमा मान्छेले मान्छेलाई मान्छे देख्दैन उसलाई ठेगानमा ल्याउने भनेकै कानुनले हो। कतिपय अवस्थामा कानुन बनाउने वा लागु गर्नेहरू यही वर्गका पर्छन् त्यतिबेला कानुनले पनि काम गर्दैन। अहिले भएको पनि यही हो।  

फाइट इनइक्वालिटी एलायन्सले यही अवस्थालाई चिर्न एउटा महत्वपूर्ण कदम थालेको छ।  एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपमा समेत थालिएको एलायन्सको अभियानले असमानताका मुद्दा समाधान गर्न विभिन्नतवरले दबाब सिर्जना गरिरहेको छ। शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा गरिब जनताको पनि अधिकार हो भन्ने जगमा आधारित यो अभियानले यही अधिकार परिपूर्तिका लागि रकम जुटाउन अर्बपतिहरूलाई बढी कर लगाउन निरन्तर दबाब दिइरहेको छ।  

गएको अगस्ट १३–१४ मा यो अभियानले विश्वव्यापीरूपमै ‘फेस्टिबल टु फाइट इनइक्वालिटी’ नै आयोजना गर्‍यो। असमानताका पनि विविध क्षेत्र छन्। यसबारे छलफलमा रहेको शून्यता तोड्न, सिकाइ आदान–प्रदान गर्न तथा कोभिड सिर्जित नयाँखाले असमानताबारे चासो वृद्धि गर्दै त्यसको समाधानका लागि दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित यो फेस्टिबल असमानता चिर्न एउटा महत्वपूर्ण अवसर बन्यो पनि।  

कुरा विश्वको मात्र हैन, हाम्रै देशमा पनि धनी मानिस छन्, आफ्नै आकारमा किन नहुन्। ‘हामीले असमानता कम गर्न, कोभिडको खोप किन्न तथा गरिबहरूलाई अधिकार दिलाउन विश्वका अर्बपतिहरूले सहयोग गर्नैपर्छ भनिरहँदानेपालका धनीहरूले पनि कति सहयोग गरे त भनेर हेर्नुपर्ने हुन्छ’, फाइट इनइक्वालिटी एलायन्सका एसिया रिजनल कोअर्डिनेटर बालकृष्ण कट्टेलको भनाइ छ– हामीले नेपालका धनीहरूलाई पनि यसतर्फ लाग्न दबाब दिनुपर्छ। 

अनि सरकारले पनि उनीहरूलाई बढी कर लगाएर त्यो रकम कोभिड सिर्जित असमानताको घाउ निको पार्ने मलममा परिणत गर्नुपर्छ। नेपाल जस्तो सीमित आम्दानी भएको मुलुकका लागि असमानता घटाउने अर्को उपाय छैन। विश्वको होस् या नेपालको, सरकारहरूले धनीलाई कर लगाउन निर्दयी बन्नैपर्छ। किनकि अर्बपतिहरूको सम्पत्ति उनीहरू आफैँले दुःखले आर्जेको वास्तविक सम्पत्ति हुँदै होइन। यो त मात्र उनीहरूको नाफा हो। अर्थात अरूले जोतिएर कमाइदिएको श्रमको मूल्य।

र अन्त्यमा,

एक जनाले पण्डित बाजेलाई सोधेछन्– बाजे अहिले घरमा गाई कतिवटा छन् ? बाजेले उत्तर दिएछन्– १६ वटा छन्, एउटा मर्लास्तो छ, मर्‍यो भने १७ वटा हुन्छ। सोध्ने जिल्ल परेछ। अनि बाजेले प्रष्टीकरण दिएछन्–जजमान मरेपछि उसका आफन्तले गाई दान दिन्छन्। अनि एउटा मर्दासाथ मेरा गाई बढेनन् त? कोभिडकालमा बढेका ३२५ नयाँ अर्बपति र सम्पत्ति बढाएका अरूले यिनै बाजेको सम्झना गराएका छन्। विश्वमा करोडौँ मानिस खोप नपाएर र खान नपाएर मर्दा उनीहरू भने जुका शैलीमा मोटाउने प्रवृत्ति रोक्नैपर्छ। र, यसको मुख्य उपाय भनेको निर्मम कर प्रणाली लागु गर्नु नै हो। 

प्रकाशित: ६ भाद्र २०७८ ०४:१७ आइतबार

यसरी लड्न सकिन्छ असमानतासँग