विचार

एसईई परिणाम र १२ को स्थगित परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा प्रकाशित गरेको खबर मिडियाले गरे। तर यसपटक परीक्षा बोर्डले परीक्षाफल प्रकाशन गरेन। बोर्डको बैठकले विद्यालयहरूबाट आएको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको छ। यसपटक५ लाख १७ हजार विद्यार्थी एसइइमा सामेल भएकामा ४ लाख ८४ हजारको मूल्यांकन प्रमाणित भयो। बाँकी ३३ हजार कता हराए ? विद्यालयले रेकर्ड पठाउन छुटायो वा उनीहरू कोभिडको मारमा जीवन निर्वाहका लागि पढाइ छाडेर कामको खोजीमा लागे ? सामान्यतः १० कक्षामा पुगेको विद्यार्थीले पढाइ छाड्दैन। १० कक्षामा फेल नै नहुने परीक्षा प्रणाली ल्याएपछि त झन कसैले पढाइ नछाड्नुपर्ने थियो। र पनि ३३ हजार किशोर/किशोरीको पढाइमा अनायाश नै पूर्णविराम लागेको छ।

यसबीचमा परीक्षा बोर्डलेसाउन ३१ गतेदेखि सुरु हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको छ।कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा परीक्षा स्थगन गरिएको बोर्डले जनाएको छ। कक्षा १२ मा ३ लाख ७२ हजार विद्यार्थीले परीक्षाका लागि फारम भरेका थिए।स्थगित परीक्षा अब कहिले हुन्छ भन्ने तालिका प्रकाशन गरिएको छैन। यद्यपि, राष्ट्रिय परीक्षा बोर्डले अब परीक्षा गर्दाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा १५ दिनअगाडि नै सूचना दिइने जानकारी गराएको छ।

बोर्डले सामाजिक दूरी कायम गरी एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राख्नेगरी परीक्षाको तयारी थालेको थियो। साथै परीक्षा केन्द्रमा स्वाथ्य परीक्षण गर्ने, परीक्षाअगावै अनिवार्यरूपमा पिसिआर परीक्षण गर्ने, केन्द्रमा हेल्थडेक्स राख्नेलगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो।यी परीक्षार्थीका लागि ४ हजार ३ सय १० परीक्षा केन्द्र तोकिइसकेको थियो। अभिभावक र विद्यार्थीले भने परीक्षाअगावै खोप लगाउने व्यवस्था गर्न माग गरेका थिए। सरकारले खोपको व्यवस्थापन सम्भव बनाउन सकेन। प्रधानमन्त्रीले कोभिडको तेस्रो लहर आउन लागेकाले आमनागरिकलाई सचेत हुन आग्रह गरेकै दिन परीक्षा स्थगित गरियो। संयोगले यही दिन नेपाल मास्क अभियान पनि प्रारम्भ भएको थियो।  

कक्षा १२ को परीक्षा स्थगितको सूचना आइरहँदा त्रिभुवन बिश्वविद्यालयले भने आफ्ना कुनै पनि परीक्षा नरोकिने बताएका खबर मिडियामा आए। कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय शनिबार आइरहह्दा आइतबार पनि त्रिविका परीक्षा चल्नुपर्ने अवस्था छ। त्यतिमात्र होइन, स्नातक तहको परीक्षा साउन ३१ देखि भदौ ९ सम्म सञ्चालन हुने गरी परीक्षा कार्यक्रम प्रकाशन गरिएको छ। हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ। स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार र विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार नै सकिएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक संकायको परीक्षा भने बाँकी रहने छन्। परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेका र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको नियन्त्रक जोशीले बताएका छन्।

कक्षा १२ विद्यालय तह सकिने परीक्षा हो। विद्यालयको अन्तिम वर्षमा रहेका विद्यार्थीमा कहिले परीक्षा होला र विद्यालयबाट मुक्त हुन पाइएलाभन्ने जिज्ञासा हुनु स्वाभाविक हो। हिजो एसएलसी सकिँदै गर्दाको उत्साह आज एसइइले दिन सक्दैन। हिजो एसएलसी परीक्षापछिका कलेज आज १२ पछि मात्र मानिएको छ। एसइइको परीक्षाफल आउँदै गर्दा १२ को परीक्षा स्थगित हुनुले विद्यार्थीको मनोविज्ञान निश्चय नै प्रभावित भएको छ। १२ को परीक्षा स्थगित हुँदै गर्दा स्नातक तहको परीक्षा सुचारु हुनुले एउटा स्वाभाविक प्रश्न उनीहरूको मनमा उब्जिन सक्छ– उमेर समूहका हिसाबले हामीमा कति फरक छ ? के उमेरकै कारणले म परीक्षाबाट वञ्चित भइरहेको छु र अर्कोले चाहिँ अवसर पाइराखेको छ ?

अबको शिक्षा अनलाइनमा आधारित हुनेछ भन्ने प्रष्टै देखिएको छ। कोरोना संक्रमणको कहिले अन्त्य हुन्छ भनेर कसैले बताउन सकेको छैन। यो अवस्थामा शिक्षालाई अनलाइनमा आधारित बनाउनुको विकल्प छैन भनेर न विद्यालय शिक्षा त्यो अनुरूप बनाउने प्रयत्न भएके छ न त विश्वविद्यालयले नै तद्नुरूपका कोर्स तयार गर्न थालेका छन्।

यो प्रश्न स्वाभाविक जस्तो पनि लाग्छ तर सत्य यो मात्रै होइन। कक्षा १२ को परीक्षा दिंँदै गर्ने परीक्षार्थीको संख्या स्नातकका विभिन्न संकयमा पढ्दै गरेका विद्यार्थीको तुलनामा कम छ। अर्कोतिर धेरै विश्विविद्यालय भएकाले पनि त्रिविका मात्रै विद्यार्थीको संख्या स्वाभाविकरूपले कम हुने नै भयो। कक्षा १२ का ३ लाख ७२ हजार विद्यार्थीको भविष्य एउटा प्रश्न हो, त्यो भन्दा ठूलो प्रश्न उनीहरूको स्वास्थ्य सुरक्षा हो। तर जे भनिरहे पनि परीक्षाको मुखमा आइपुग्दै गर्दा परीक्षा स्थगित हुने प्रवृत्तिले विद्यार्थीमा परीक्षा दिने उत्साह भने कम हुन्छ नै।  

कोभिड–१९ को प्रकोपयता विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षा र परीक्षा अनलाइनमा आधारित हुँदै गएका छन्। राज्यले विद्यार्थीमा सहज इन्टरनेटको पहुँच पुर्‍याउने अभियान थालेको छैन। इन्टरेनट सेवा नेपाल टेलिकमदेखि अनेक सेवाप्रदायकसँग उपलब्ध छ। तर ती सबै विद्यार्थीमाझ उपलब्ध छैन। जति उपलब्ध छन्, तिनको गुणस्तरीय सेवा छैन। कक्षा सञ्चालन हुँदै गर्दा कनेक्सन लामो समय रेन्डरिङ लिने वा अनायाश सम्पर्क नै टुट्ने समस्याबाट धेरै विद्यार्थी र अभिभावक आजित छन्। सेवाप्रदायकले अग्रिम रकम लिएर पनि उपलब्ध गराउँछु भनेको मात्रामा सेवा दिइरहेको हुँदैन। दूरसञ्चार प्राधिकरणले यस्ता गुनासा सुन्न जटिल प्रक्रिया बनाइदिएको छ। आफूले सर्तअनुसार सेवा उपलब्ध नआएको जानकारीमात्रले उसले गुनासो सुन्दैन। सेवाप्रदायकले राउटर अफ गरेर दुई मिनेटपछि अन गर्नूस् भन्ने निर्देशनात्मक सुझावबाहेक अरू विकल्प छैन।  

अबको शिक्षा अनलाइनमा आधारित हुनेछ भन्ने प्रष्टै देखिएको छ। कोरोना संक्रमणको कहिले अन्त्य हुन्छ भनेर कसैले बताउन सकेको छैन। यो अवस्थामा शिक्षालाई अनलाइनमा आधारित बनाउनुको विकल्प छैन भनेर न विद्यालय शिक्षा त्यो अनुरूप बनाउने प्रयत्न भएको छ न त विश्वविद्यालयले नै तद्नुरूपका कोर्स तयार गर्न थालेका छन्। पुरानै कोर्सलाई पुरानै शैलीमा कक्षा कोठामा बसेझैँ गरी कम्प्युटरमा बसेर पढाउने अभ्यासलाई नै अनलाइन कक्षा भनेर नाम दिइएको छ। त्यहाँ विद्यार्थीको सक्रिय सहभागिताको अपेक्षा गरिएको छैन। शिक्षक र विद्यार्थीलाई जीवन्तरूपमा जोड्ने प्रयत्न गरिएको छैन।  

अर्कातिर अनलाइन परीक्षाको पनि त्यही गति छ। प्रश्नपत्र घरमा आइपुग्ने र घरमै बसेर लेख्ने भन्दा बाहेक परीक्षाको मोडल परिवर्तन गरिएको छैन। विद्यार्थीले किताबबाट सार्नेखालको होइन, पढेको विषयवस्तुका आधारमा आफ्नो बुझाइ प्रस्तुत गर्नेखालका प्रश्न बनाइँदैनन्। कसैले त्यसअनुरूप प्रश्न बनाउन चाहेछ भने पनि प्रश्नपत्र परिमार्जन गर्ने मोडरेटरले पुरानै ढर्राको प्रश्न बनाएर पठाइदिन्छ। त्योखालको सिर्जनशीलताका लागि शिक्षकलाई नै कुनै अभ्यास गराइएको छैन। जब पढाउने शैलीमा परिवर्तन ल्याउन सकिएको छैन भने प्रश्नपत्र मात्रै कसरी सुधारियोस् ? घरमा बसेर परीक्षा दिन पाउनु भनेको किताबको सार्न पाउनु हो भन्ने मान्यता अहिले पनि छ।  

अनलाइन कक्षाका नाममा विद्यालय र कलेजहरूले बढी शुल्क लिने गरेका खबर आउने गरेका छन्। सरकारले त्यस्तो शुल्क नदिन र नलिन गरेको निर्देशनको कति पालन भइरहेको छ भनेर अनुगमन गरिएको छैन। अनलाइन परीक्षा चलाउँदाका खर्च कति हो ? कम लाग्छ कि धेरै ? यस्तो विवरण कतै आएको छैन। पूर्वाञ्चल विश्वविद्यालयले त अनलाइन परीक्षाको कपी जाँचेको रकम एक वर्षसम्म भुक्तानी गरेकै छैन। शायद अरू विश्वविद्यालयले पनि यसको अपवाद बन्ने प्रयत्न गरेका छैनन्। अहिलेसम्म अनलाइन परीक्षाका नाममा गरिएको लगानीले परीक्षालाई साँच्चै अनलाइन परीक्षामा रूपान्तरण गर्न योगदान गरेको छैन भन्ने प्रमाण भौतिकरूपमा परीक्षा सम्भव नभएका कारण स्थगन गरिएका सूचनाले नै प्रमाणित गरेका छन्।  

एसइइ विद्यालयको मूल्यांकनका आधारमा र विश्वविद्यालयका परीक्षा तथाकथित अनलाइनमा गरिँदै गर्दा परीक्षा परिणाम भने उत्कृष्टखालकै आएको छ। एसइइमा हिजो प्रथम श्रेणीको अर्थ रहन्थ्यो, आज ए प्लस ग्रेडिङ भएन भने त्यो सफल परिणाम नमानिने अवस्था छ। परीक्षा बोर्डले मूल्यांकन प्रमाणित गर्दै गर्दा ग्रेडिङ नगरेर परीक्षाफलप्रति आफैँ असन्तुष्टि जनाइरहेकै छ तर लब्धांकपत्रमा विद्यार्थीले पाएको अंकले परीक्षाफल खस्कँदै गयो भनेर चित्त दुखाउनुपर्ने अवस्था छैन।  

अबचाहिँ शिक्षा र परीक्षा प्रविधि उपयोग गरेर अनलाइन नै गर्ने हो भनेर तद्नुरूपको व्यवस्थापन गर्न कोभिड–१९ लाई अवसरका रूपमा प्रयोग गर्न ढिलो भइसकेन र ?

प्रकाशित: २५ श्रावण २०७८ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App