विचार

गन्तव्यहीन यात्रा

राजा महेन्द्रको स्वार्गारोहण भएको अपुष्ट खबर फैलिएपछि २०२८ साल माघ १७ गते काठमाडौँमा सन्नाटा छायो । दिउँसो ठीक बाह्र बजे राजसभा स्थायी समितिका सभापति रंगनाथ शर्माले स्वर्गारोहणको औपचारिक घोषणा गर्दै महेन्द्रका जेठा छोरा वीरेन्द्र राजगद्दीको उत्तराधिकारी भएको घोषणा गरे ।

बिहानदेखि शोकधून बजाइरहेको रेडियो नेपालले अशुभ भएको संकेत गरिसकेको थियो । चितवनको दियालो–बंगलाबाट हेलिकोप्टरमार्फत राजा महेन्द्रको शव काठमाडौँ ल्याइयो । सहिद दिवसको उपलक्ष्यमा सन्देश दिएको भोलिपल्ट महेन्द्रले प्राणत्याग गर्लान् भन्ने कुरा कसैले सोचेका थिएनन् । राष्ट्र र जनताको हितमा अहोरात्र चिन्ता, चिन्तन र सत्कर्म गरिरहेका राष्ट्रनायकको देहान्त राष्ट्रका निम्ति अपुरणीय क्षति थियो । यसले जनतामा राष्ट्र अब कता जान्छ भन्ने चिन्ता थपियो ।

आजका राजनीतिकर्मीहरू इतिहास मेट्ने दुस्साहस गरिरहेका छन् भने सहिदले परिकल्पना गरेका नेपाल झन्झन् विकृत बन्दै गएको देखिन्छ ।

‘मर्‍यो सधै त्यो, जसले बिस्र्यो देशको माटो, बाँच्यो सधैँ त्यो जसले सम्झ्यो देशको माटो’ जस्ता कविता साक्षी छन्, राजा महेन्द्र नेपाल सिँगार्न जन्मेका थिए । उनका धेरै सहयोगी, शुभेच्छुक तथा स्वदेशी–विदेशी विद्वान्ले २००७ सालपछि स्थापित प्रजातन्त्र राजनीतिक नारामा सीमित भएको विश्लेषण गर्दै लाखौँ भूमिहीनलाई जग्गाको मालिक बनाउने, दरिद्र जनताको आर्थिक स्तर उठाउने र विकासमा केन्द्रित रहने महेन्द्रका गतिशील कार्यक्रमले सहिदको सपना पूर्ण गर्न धेरै मद्दत पुर्‍याएको उल्लेख गरेका छन् ।

राजा त्रिभुवनले जोखिमपूर्ण कामहरू गरेर प्रजातान्त्रिक आन्दोलनलाई आर्थिकलगायत अनेक कोणबाट मद्दत गरेका थिए । क्रान्ति सम्पन्न भएको पाँच वर्ष मात्र बाँचे उनी । त्यसपछि राजा महेन्द्रले राष्ट्रियता, आर्थिक विकास र जनजीविकाको प्रत्याभूति गर्ने कार्यक्रमहरू ल्याए । सहिदहरूले नेपाल र नेपालीको मुहार हँसिलो पार्न प्राणोत्सर्ग गरेका थिए भन्ने त्रिभुवन र महेन्द्रले बिर्सेनन् । आजका राजनीतिकर्मीहरू इतिहास मेट्ने दुस्साहस गरिरहेका छन् भने सहिदले परिकल्पना गरेका नेपाल झन्झन् विकृत बन्दै गएको देखिन्छ ।

नेपालको वर्तमान संविधानले नै इतिहासको अपमान र अपव्याख्या गरेको छ । प्रस्तावनामै ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य’ गर्नुपर्छ भनेको छ । यसको स्पष्ट अर्थ, २०६३ सालपछि मात्र सूर्योदय भयो र त्यो भन्दा पहिले निष्पट्ट अन्धकार थियो भन्ने बुझिन्छ । नवीन पुस्तालाई राष्ट्रको गौरवमय इतिहास सिकाउने कि इतिहासको अपव्याख्या गर्ने ? दश वर्षमा झण्डै अठार हजार मानिसको हत्या गर्ने÷गराउनेले विगतलाई ‘निरंकुश र सामन्ती युग’ भनेर पवित्र बन्न सक्छन् ? 

२०६२/६३ सालपछि दलहरूकै अनुमतिले निर्दलीय सरकार बनेको घटना अब दोहोरिन सक्छ । तर त्यसपछि दलहरूले पुनः जनविश्वास जित्ने सम्भावना कति छ, त्यो भविष्यले बताउँला । 

२०७२ सालको संविधानले ‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने’ परिकल्पना पनि गरेको देखिन्छ । २००७ सालपछि सत्तरी वर्षसम्म हजारौँपल्ट दलका नेताहरू यही भन्दै आएका छन् । तर जो सत्तामा पुगे, उनीहरूले वचन बिर्सिए । आज पनि नेपाल अस्थिर हुनुको मूल कारण पुरानो ‘निरंकुश शासन’ हो कि दलहरूको अपरिपक्व व्यवहार ? प्रश्न अनुत्तरित होइन, स्पष्ट छ । दलहरू काँचै छन् ।  

नेपाल मात्र होइन, अन्योल र अस्थिरताले धेरै राष्ट्र आज भयाक्रान्त छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) द्वारा प्रकाशित दस्तावेजमा अर्थतन्त्र तरल, अस्थिर र अनिश्चित बन्दै गएको उल्लेख छ । स्वास्थ्य र आर्थिक क्षेत्र जोखिमपूर्ण देखिएको उसले स्वीकार गरेको छ । यता नेपालको अवस्था झन् टिठलाग्दो बन्दै गएको छ । हजारौँ ‘राजनीतिकर्मी’ पाल्नुपर्दा विकास ओझेलमा पर्दै गएको अर्थशास्त्रीहरूको तर्क छ । चीन र भारतसँग सुमुधर सम्बन्ध कायम राखेर सन्तुलित कूटनीतिक लाभ लिनुपर्नेमा नेपालका ठूला दलहरूसमेत लक्ष्यहीन, अन्त्यहीन र सिद्धान्तहीन बाटोमा गन्तव्यहीन यात्रा गरिरहेका छन् । राष्ट्र र जनताको भन्दा दल वा गुटको हितमा समर्पित भए पनि सडकमा जसको जुलुस देखे पनि ‘जिन्दावाद–मुर्दावाद’ भन्न पाउँदा सन्तुष्ट हुनेहरू पनि लाखौँ छन् । उनीहरू राष्ट्र हारे पनि आफ्ना नेताले जितून् भन्ने चाहन्छन् । यो भनेको घर जले पनि कोठा सुरक्षित रहन्छ भने जस्तै तर्क हो । यो रोगले ‘बुद्धिजीबी’ बढी ग्रस्त भएका देखिन्छ ।

ब्रिटेनमा बितेका बाह्र महिनामा लाखौँ बेरोजगार भए । त्यो भन्दा पहिले १.२ प्रतिशत बेरोजगार थिए । अघिल्लो वर्ष पाँच प्रतिशत बेरोजगारी बढ्नुमा महामारी प्रमुख कारण थियो । ब्रिटेन सरकार विगतबाट पाठ सिकेर भविष्य बिग्रन नदिने योजना बनाउँदैछ । २०४६ साल अर्थात सन् १९९०/९१ यता नेपालमा तीसवटा जति सरकार परिवर्तन भए । दुईवटा संविधान आए । हजारौँ दरिद्रले ‘राजनीति गरेर’ सात पुस्तालाई पुग्ने सम्पत्ति कमाए । देश–विदेश घुमेर रमाए । राष्ट्र र जनतालाई रसातलमा पुर्‍याए । ब्रिटेन, जर्मनी, फ्रान्स र इटलीलगायतका राष्ट्र चिन्तित छन्, भविष्यप्रति । यता हाम्रा राजनीतिज्ञहरू सधैँ ‘रेशम फिरिरी...’ गीत गाइरहेका छन् ।

२०६२/६३ सालको परिवर्तन सत्तान्तरण मात्र ठहरियो, रूपान्तरण सावित भएन । लोक (जनता) नचिन्ने लोकतन्त्र आयो । गण (जनता) नचिन्ने गणतन्त्र आयो । जनताबाट चुनिएका तर विदेशी धनले दिमाग थुनिएका केही ठेकेदारले सार्वभौमसत्ता सम्पन्न जनाताले दिएको लाइसेन्स दुरुपयोग गरे । सवारी ऐन बर्खिलाफ गर्दा कानुन लाग्छ । आश्चर्य, पटक–पटक राष्ट्रघात गर्दा कानुन लागेन ।  

राष्ट्रिय मूलनीति अर्थात रोडम्याप नभएको राष्ट्र नेपालको नीति भनेको ‘अगुवा कता जान्छन्, बाटो त्यही हो’ (अर्थात, महाजनो येन गतः स पन्था) भने जस्तो छ । महाभारतमा युधिष्ठिर भन्छन्– ‘धर्मस्य तत्वं निहितमु गुहायाम् । महाजनो येन गतः स पन्था ।’ महाजनको अर्थ श्रेष्ठ, उत्कृष्ट भन्ने लाग्छ । तराईका बजारमा खाद्यान्न बेच्दा उपभोक्तालाई बेस्कन ठग्नेलाई पनि ‘महाजन’ भनिन्छ । नेपाली राजनीतिका महाजन कति श्रेष्ठ र अब्बल छन्, हामीले देखेकै छौँ ।

राष्ट्र र जनतालाई ठग्नेहरूले २०४७ सालको संविधान विश्वकै सर्वोत्कृष्ट पनि भने । महाजनहरूका कुरा हामीले पत्यायौँ । प्रजातन्त्र आयो, सबैको उत्थान हुन्छ भन्दा हामीले ताली बजायौँ । राजा हटाउँदा राष्ट्र झन् सुखी र समृद्ध हुन्छ भन्दा पनि पत्यायौँ । गणतन्त्र भए मात्र प्रजातन्त्र सुरक्षित हुन्छ भनेको पनि पत्यायौँ । सत्य–असत्यको सही मीमांसा नगर्ने, दक्षिणा पाएपछि जारको हातबाट पनि टीका थाप्ने र विदेशीको चरम हस्तक्षेपलाई ‘सहयोग’ मान्ने महाजनका अनुयायीहरू आज पनि भ्रममा छन् । गणतन्त्र नभएको राष्ट्रमा प्रजातन्त्र हुँदैन भन्छन् ।

स्पेन, ब्रिटेन, जापान, नर्वे, बेल्जियम, थाइल्यान्ड, हल्यान्ड, डेनमार्क, लक्जमवर्ग, स्विडेनलगायतका चवालीस राष्ट्रका राष्ट्राध्यक्ष राजतन्त्रात्मक पद्धतिअनुसार स्थापित भएका हुन् । त्यहाँ गणतन्त्र छैन । त्यसो भए संयुक्त राष्ट्रसंघको अध्ययनमा समेत राजनीतिक स्थिरता, प्रगति, शान्ति र प्रजातन्त्र ती राष्ट्रमा सुरक्षित छ भनेर निष्कर्ष किन निकालियो ? के त्यस्तो प्रतिवेदन र दस्तावेज निकाल्नेहरू प्रजातन्त्र विरोधी हुन् ? गणतन्त्र भए मात्र ‘लोकतन्त्र’ (डेमोक्रेसी) हुन्छ भन्नेहरूले लोक (जनता) र तन्त्र (पद्धति) बीच किन दूरी बढाएका छन् ?  

पहिले राजकाजबाट राजालाई हात धुन बाध्य पारियो । अहिले सत्तारुढ दलकै नेताले बाक्लो दाल खान घर फुटाइरहेका छन् । प्रमुख प्रतिपक्षीले सपना र विपनामा सत्ताबाहेक कतै केही देखेको छैन । मोतीराम भट्टको भजन छ– ‘जता हेर्‍यो, उतै मेरा नजरमा राम प्यारा छन् ।’ कांग्रेसलाई सत्ता प्यारो छ । सत्ताका लागि सिद्धान्त त्याग्यो उसले । पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईसमेत नअटाएको दल कति समावेशी छ, भनिरहन परोइन ।

ल्यु साओचीलाई माओले पार्टीका मुख्य शत्रु ठान्थे । देङ स्याओपिङलाई कहिले पनि रुचाएनन् । माओको मृत्युपछि उनै देङले आर्थिक समृद्धिका लागि नयाँ उपाय खोजे । ‘बिरालो कालो होस् कि सेतो, मुसा मारे पुग्छ’ भने उनले । माओले पुँजीवादी भनेर किनारा लगाएका देङले चीनलाई समृद्ध बनाउँदै गए । राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय एकता बचाउँदै विश्वसँग सम्बन्ध बढाउनुपर्छ भन्ने उनको सोच उदार थियो । उनको यात्रा निश्चित गन्तव्यतिर उन्मुख थियो । जसले चीनलाई आज अमेरिकासँग टक्कर लिन सक्ने बनाएको छ ।  

रसियामा जन्मेका बोरिस लिसानोभिचले युरोप–अमेरिकाका पर्यटकहरू भित्र्याएर काठमाडौँको पर्यटन उद्योगमा ‘माइल स्टोन’ बनाए । सन् १९१७ को अक्टोबर क्रान्तिपछि रसियाको अधिनायकवादी शासनबाट बच्न उनले चीनमा शरण लिए । युवावस्थामा उनी नेपाल पसे । कान्तिपथको बहादुर भवन (हाल निर्वाचन आयोग रहेको दरवार) लाई होटल बनाए । राजा महेन्द्रको शुभराज्याभिषेकमा आएका विदेशी पाहुना सोही होटलमा बसेका थिए । ‘माउन्टेन इज योङ’ पुस्तक लेख्ने हान सुइन राजा महेन्द्रको निम्तोमा ऊबेला नेपाल आएकी थिइन् । उनको पुस्तकमा काठमाडौँका अभिजात्य वर्ग (एरिस्टोक्र्याट) र उनीहरूको चरित्रको सुन्दर चित्रण गरिएको छ । सो पुस्तकले विश्वका विभिन्न सहरमा नेपाललाई परिचित बनायो ।

श्रमजीवी, मध्यम र धनाढ्य वर्गबीच ऊबेला एउटा कुरामा समानता थियो, त्यो हो सच्चरित्र । कुलीन होस् वा निर्धन, केही अपवादबाहेक सबै जनाले आफ्नो इज्जत बचाएका थिए । टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज जोशी (शास्त्री), दमनराज तुलाधर, गणेशमान सिंह, गोपालप्रसाद रिमाललगायत सयौँ युवा राणा शासनका विरुद्ध थिए तर कसैले पनि आफ्नै जिब्रो अपवित्र बनाउने भाषा प्रयोग गरेनन् ।

केही वर्षअघि सात/आठ वटा सहरमा राजतन्त्रवादीहरूले गरेका कार्यक्रममा यस पंक्तिकारलाई आमन्त्रण गरिएको थियो । मैले निवेदन गरेँ– तपाईँ राजतन्त्रवादी हुनुहुन्छ भने वचन र व्यवहार पनि शिष्ट, विनम्र र मृदु हुनुपर्छ । असभ्य मानिसले मात्र तुच्छ भाषा बोल्छन् । एकले अर्कोलाई ‘सडकछाप’ गाली गर्छन् । विश्वका प्रसिद्ध राजतन्त्रवादी भोल्तेयर, सेक्सपियर, सेली, वर्डसवर्थ, किटस र अन्य धेरै दार्शनिक र चिन्तक सबै शिष्ट र मर्यादित भाषाका कारण प्रसिद्ध भए । उनीहरूमध्ये फ्रान्सका साहित्यकार भोल्तेयरको चिन्तन निकै उच्चस्तरको थियो । ‘द एज अफ लुइ फोर्टिन्थ’ ग्रन्थमा उनले लुइ चोधौँको शासनमा कला, साहित्य, संगीत र सभ्यताको रक्षा भएको वर्णन गरेका छन् । फरक विचारको खण्डन गर्दा सभ्य भाषा प्रयोग गरियो भने त्यो बढी प्रभावकारी हुन्छ । पागल शैलीमा चिच्याएर जब कसैले कसैलाई लाञ्छना लगाउँछ, धेरैले त्यसलाई मिथ्या ठान्छन् भन्ने मनोविज्ञानका ज्ञाताहरूको तर्क छ ।

मूलतः हरेक समाजमा दुई जातका मानिस हुन्छन्– खराब र असल । खराब प्रवृत्ति त्यागेर सत्यको बाटो हिँड्ने प्रयास गर्दा रत्नाकर डाँका महर्षि वाल्मीकि भए । हजारौँको हत्या गरेर लासहरूको सिँढी चढ्दै आएका कतिपय व्यक्ति वृद्धावस्थामा पनि ‘मांसाहारी आन्दोलन’ आवश्यक छ भनिरहेका छन् । रक्तपिपासु चरित्रले कैयन् मानिसलाई सदैव घृणाको पात्र बनाउँछ । इदी अमिन जस्ता शासकहरू यस्तै चरित्रले बदनाम भए ।

राष्ट्रलाई भ्रष्टबाट बचाउन सकिएन भने नष्ट हुन्छ । सबैले सबैलाई नांगो बनाइरहेको देख्दा नेपालमा बहुसंख्यक जनताको आस्था, विश्वास, भरोसा र निष्ठाको केन्द्र कहाँ छ भनेर खोज्नुपर्ने अवस्था देखिएको छ । राष्ट्रपति र प्रधानमन्त्री मात्र होइन, न्यायपालिकासमेत एउटा टिमतिर लागेर फुटबल खेल्दैछ भन्ने गम्भीर आरोप लागेको छ । धेरैलाई सझना छ, प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले संसदीय सुनुवाइका बेला ‘म सरकारलाई सहयोग गर्नेछु’ भने वचन दिएका थिए । यसको अर्थ सरकारले असंवैधानिक र गैरकानुनी काम गरे पनि उनले वचन पालना गर्नैपर्ने बाध्यता छ ।

राजनीतिक दलहरू सत्ता र प्रतिपक्षको भूमिकामा असफल देखिएका छन् भन्दा ‘राष्ट्र भन्दा दल ठूलो’ ठान्नेहरूको मुटु चसक्क दुख्ला । २०६२/६३ सालपछि दलहरूकै अनुमतिले निर्दलीय सरकार बनेको घटना अब दोहोरिन सक्छ । तर त्यसपछि दलहरूले पुनः जनविश्वास जित्ने सम्भावना कति छ, त्यो भविष्यले बताउँला ।

प्रकाशित: १६ माघ २०७७ ०५:४६ शुक्रबार

गन्तव्यहीन यात्रा राजा महेन्द्र प्रजातान्त्रिक आन्दोलन