विचार

खोइ खेल तथ्यांक?

नेपालमा कति खेलाडी छन् भन्ने कसैलाई पनि थाहा छैन। सबैजना अनुमानको भरमा बोल्छन्। खेलाडीसम्बन्धी आधिकारिक तथ्याङ्क पनि सार्वजनिक गरिएको छैन। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०६८ मा पनि खेलाडी र खेलकुदसम्बन्धी कुनै तथ्याङ्क छैन। खेलाडी र खेलकुदसम्बन्धी तथ्याङ्क अभावमा खेलसम्बन्धी योजनाहरु अनुमानका अधारमा बन्ने गर्छन्। त्यसबाट सही योजना बन्दैन। मुलुकमा कति खेलाडी छन्? क्षेत्रगत एवं जिल्लागत आधारमा कुन खेल बढी खेलिन्छ? पहाड, उपत्यका र तराईमा महिला र पुरुष खेलाडी कति छन्? कुन वर्ग र कति आयस्तर भएका खेलाडीले खेल खेल्छन्? खेलाडीले कति पढेका छन्? कस्ता खेलाडी खेलकुदमा समर्पित भएर लाग्ने गरेका छन्? तथ्याङ्कको अभावमा यस्ता कुराहरुको जवाफ दिन गाह्रो पर्छ। त्यसैगरी खेलाडीहरु खेल सिकेर के बन्न चाहन्छन्? स्वस्थ तन्दुरुस्ती मात्र हो वा राष्ट्रिय च्याम्पियन बन्न रुचाउँछन्? वा अन्तरर्राष्ट्रिय च्याम्पियन हुन पनि रुचाउँछन्? च्याम्पियन बन्न नसकेका खेलाडीहरुको खेल जीवन कस्तो छ? यस सम्बन्धमा पनि तथ्याङ्क छैन।

अध्ययनका आधारमा खेल परियोजना बनाउन सकिन्छ। यस्तो परियोजनाबाट छोटो समयमा महत्त्वपूर्ण नतिजा प्राप्त हुन सक्छ। भारतलगायत् पूर्वी एसियाका मुलुकहरुमा यस्ता परियोजना सञ्चालन गरिएका छन्। जसबाट सकारात्मक उपलब्धि हासिल भइरहेका छन्। हाम्रो सन्दर्भमा फुटबलको गोल प्रोजेक्ट, क्रिकेट, टेनिसका एकेडेमीहरु सकारात्मक नै हुन्।

उपलब्धिका दृष्टिकोणबाट नेपालमा सबभन्दा सफल खेलाडी महिला नै हुन्। एसियन गेम्समा, साग, ओलम्पिक, विश्व च्याम्पियन, एसियन च्याम्पियनहरुमा पुरुषको तुलनामा महिला खेलाडीबाट ठूलो उपलब्धि हासिल भएको छ। अफिसियल एसियन खेलमा सविता राजभण्डारीले प्राप्त गरेको रजत पदक नै नेपालको सबभन्दा ठूलो पदक हो। आज झण्डै पन्ध्र वर्ष बितिसक्दा पनि राजभण्डारीको रजत पदकलाई उछिन्ने कुनै खेलाडी देखा पर्न सकेका छैनन्। राजभण्डारीको कुरा मात्रै होइन। फुटबल, क्रिकेट, भलिबल, मार्सल आर्टहरुमा पनि महिला खेलाडीहरुले सानदार प्रदर्शन गरेर मुलुकको इज्जत धानिरहेका छन्। किन नेपालले एसियन गेम्समा स्वर्णपदक जित्न सकेको छैन? के छन् हाम्रा कमी-कमजोरी। यस सम्बन्धमा गेम्स सकिएपछि समीक्षा गर्नुपर्छ। तर हामीकहाँ त्यसको चलन पनि छैन। एक दुई संघले आफ्नो समीक्षात्मक प्रतिवेदन बुझाए पनि त्यसमाथि कोही गम्भीर भएका पाइँदैन। यदि गम्भीर भएर प्रतिवेदनमाथि कार्यान्वयन गरिएको भए नतिजा त पक्कै पनि राम्रो हुन्थ्यो होला।

खेलकुदलाई व्यवस्थित तवरबाट अगाडि बढाउनुपर्ने हुन्छ। यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी र खेलकुदका विषयमा अध्ययन गरी भरपर्दो तथ्याङ्क संकलन गर्नुपर्छ। भरपर्दो तथ्याङ्क संकलन भएपछि मात्रै योजना बनाउन सकिन्छ। महिला तथा पुरुष खेलाडीहरुसम्बन्धी तथ्यांक संकलन गरेर त्यसैअनुसार विभिन्न योजना र रणनीति बनाउन सकिन्छ। साथै खेलको प्राथमिकता तोक्न सकिन्छ। र, त्यसैअनुसार त्यस्तो खेलको विकासमा आवश्यक कार्यहरू गर्न सकिन्छ। साथै राष्ट्रिय खेलको टुङ्गो लगाउन पनि सहज हुन्छ। खेलकुदका भौतिक पूर्वाधार, जग्गा, जमिनको स्थिति संकलन गरेर भविष्यगत योजनाहरु बनाउन सकिन्छ। यसो भयो भनेमात्रै गुणस्तरीय खेलको विकास गर्न सकिन्छ।

सबभन्दा सक्रिय एवं निस्त्रि्कय राष्ट्रिय संघ सम्बन्धमा उनीहरुको विकास योजना बनाउन सकिन्छ। यसो गर्न सकेमात्रै बृहत् अफिसियल अन्तर्राष्ट्रिय खेलकुदमा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ। साथै खेलाडीको सुनिश्चित भविष्यका लागि अन्य धेरै कार्य गर्न सकिन्छ। अनि प्रशिक्षण र प्रतियोगितालाई अझ बढी व्यवस्थित गर्न सकिन्छ। त्यतिमात्र होइन, दक्ष जनशक्तिहरुको अझ व्यवस्थित योजना बनाउन सकिन्छ, जसले प्रतिभाशाली खेलाडीहरुको पहिचान गर्न सकिन्छ। र, यसले खेलकुदको विकासलाई अझै बढी व्यवस्थित गर्न सकिन्छ।

प्रकाशित: ५ फाल्गुन २०६९ २३:५१ शनिबार