विचार

भानुभक्तको मूल्याङ्कन

सन्दर्भ भानुजयन्ती

काठमाडौंको टुँडिखेलस्थित दक्षिणी छेउमा निर्मित आर्मी अफिसर्स क्लबको प्रेक्षालयमा दुई पेन्टिङ छन्– एकातिर पृथ्वीनारायण शाहको र अर्कोतिर भानुभक्त आचार्यको। आधुनिक नेपाल राष्ट्र र राष्ट्रियताको निर्माणमा ती दुई राष्ट्रिय विभूतिले खेलेको अहं ऐतिहासिक भूमिकाको संकेत गर्छन्,यी दुई पेन्टिङले।  

भानुभक्त नेपालको भौगोलिक सिमानाबाहिर समेत नेपाली राष्ट्रियताका प्रतीक बनेका छन्। उनको सालिक सर्वप्रथम दार्जिलिङमा बन्यो, २००६ सालमा, जुन बेला नेपालमा राणाशासन थियो। तर नेपालबाहिर बसेका नेपालीले भानुभक्तलाई आफ्नो राष्ट्रिय पहिचानको प्रतीकका रूपमा देखे। ती नेपालीका अग्रणी थिए– सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा), जो दार्जिलिङका तीन ताराका रूपमा मानिन्छन्।  

भानुभक्तको अर्को अहं पक्ष नेपाली भाषा र साहित्यको छ, जुन नेपाली राष्ट्रियताको चेतना–विकाससित जोडिएको कुरा हो। आधुनिक अंग्रेजी भाषाको विकासक्रम कवि जेफ्री चसरबाट सुरु भएजस्तै आधुनिक नेपाली भाषाको वर्तमान स्वरूप भानुभक्तबाट सुरु भएको देखिन्छ। यसर्थ भानुभक्तले नेपाली भाषाको स्तरीकरण (स्ट्यान्डर्डाजेसन) गरेको मानिन्छ। उनीभन्दा अघि पनि केही नेपाली कविले नेपालीमा कविता नलेखेका होइनन्, तर तिनको भाषाले जनजिब्रोसित तादात्म्य सम्बन्ध राख्न सकेको देखिएन। भानुभक्तबाट प्रभावित भएर मोतीराम भट्ट, शम्भुप्रसाद ढुंगेल, लेखनाथ पौड्याल, चक्रपाणि चालिसे, सोमनाथ सिग्द्याल, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे लगायत धेरैले उनको परम्परा पछ्याए। देवकोटाले संस्कृत छन्दानुसारी पद्यमा मात्र होइन, गद्य कविता पनि लेखे। उनको प्रसिद्ध ‘पागल’ कविता त्यसको उदाहरण हो। व्यापक अर्थमा लिने हो भने गोपालप्रसाद रिमाल, भूपि शेरचन, बैरागी काइँला, हरिभक्त कटुवाल, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारीलगायत गद्य कविहरू पनि भानुभक्तकै आधुनिक अवतार हुन्– नेपाली साहित्यिक आन्दोलनका विस्तारित रूप।  

भानुभक्तको समग्र साहित्यिक मूल्यांकन अखबारमा छापिने एउटा छोटो लेखमा हुन सक्दैन। कैयौंले उनको साहित्यका विविध पक्षमा स्नातकोत्तर र विद्यावारिधिका शोधग्रन्थ लेखिसकेका छन् र अरू पनि लेखिनेछन्, लेखिनु पनि पर्छ। संक्षेपमा भन्न सकिने कुरा के हो भने उनको भाषामा सरलता र जीवन्तता छ, नेपालीपन छ। उनको कवितामा कुनै षोडशीको अनुहारमा जस्तै विना शृंगारपटारको स्वाभाविक सौन्दर्य छ। माथिबाट तलतिर बगेको खोलाको पानीजस्तै सजिलोगरी बगेको हुन्छ, उनको कविता कुनै प्रयासविना।

भानुभक्तले अनुवाद गरेको अध्यात्मरामायणको हो, वाल्मीकिरामायण होइन। संस्कृतमा पहिलो रामायण लेख्ने वाल्मीकि हुन्। उनको रामायणमा ६ सय ४५सर्ग छन्, जसमा २४ हजार श्लोक छन्। अध्यात्मरामायण ब्रह्माण्डपुराणको उत्तर खण्डमा पाइने हुनाले यसको रचनाकार महर्षि व्यासलाई नै मानिन्छ। यसमा रामहृदयबाहेक ६४ सर्ग छन् र चार हजार दुई सय श्लोक छन्। तिनलाई पनि छोट्याएर भानुभक्तले नेपालीमा रामायण लेखे, नेपाली मुहावराका साथ। भानुभक्तको रामायणका सात काण्डमा जम्मा एक हजार तीन सय नौ श्लोक छन्।  

भानुभक्तले अनुवाद गरेको अध्यात्मरामायणको हो, वाल्मीकिरामायणको होइन।  

भानुभक्तको भाषामा नेपाली मुहावराको प्रयोग वा नेपालीपनको उदाहरण अनेकौं छन्, एकाध मात्र हेरौं।  

सीता दुई महिनासम्म पनि उसका शयनमा आउन नमानेपछि रावणको भनाइ हुन्छ–‘...काटेर टुक्टुक् गरी, तर्कारी भुटुवा बनाउनु असल् मीठा मसाला धरी। मासू खाइ म छोडँुला’ (रामायण, सुन्दरकाण्ड ४३–४४)। तर, यसको मूल संस्कृतमा ‘सीताजीको मासुको भुटुवा तरकारी’को कुरा छैन, न त ‘मीठा मसाला’को कुरा नै छ। त्यहाँ त यति मात्र भनेको छ– यदि मासद्वयादूर्ध्वं मच्छय्यां नाभिनन्दति। तदा मे प्रातराशाय हत्वा कुरुत मानुषीम्’ (अध्यात्मरामायण, सुन्दरकाण्ड २।४२)। अध्यात्म रामायण अनुष्टुप् छन्दमा छ तर भानुभक्तले त्यसलाई खासगरी शार्दूलविक्रीडितमा लेखे र यसको गेयता (गायनयोग्यता) हाल युट्युबमा पाइने सरु गुरागाईंको सुमधुर स्वरले सिद्ध गरेको छ।

लंकामा एक्लै रुखमुनि बसेकी सीताको भानुभक्तले गरेको यो वर्णन उद्धृत गर्दै स्वर्गीय बालकृष्ण सम बराबर भन्नुहुन्थ्यो– ‘भोकी, मैलि, निन्याउरी न त कपाल् को¥याकि सब् केश् उसै, लट्टा मात्र ध-याकि खालि भूमिमा रुँदै बस्याकी यसै। कस्तो आफैँले देखेजस्तो गरी लेखेको ? अनि,उहाँ यो पनि बराबर उद्धृत गरेर भन्नुहुन्थ्यो–बाण् बज्र्यो जब बालिका हृदयमा सर्वांग बाधा गरी। ‘बाण् बज्र्यो’ भन्नुभयो ‘बाण् लाग्यो’ भन्नुभएन। कस्तो जोडदार भाषा?’

स्थितिको यथार्थ चित्रण गर्न सक्नु कविको विशेषता हो। जस्तोः सीता र लक्ष्मणसहित वनवासका लागि राम प्रस्थान गर्न लाग्दाको दृश्य छ यो। अयोध्याकाण्डमा भानुभक्तले गरेको यसको वर्णन हेरौं–

उदाहरण–१  

आज्ञा जान मिलोस् पिताजिकि पनी जान्छू सदा खुस् म छु।  
दुःख् पाउनन् कि भनी पिताजिकन शोक् मन्मा नलागोस् कछु।।  
कैकेयी यति वात् सुनी खुसि भई बस्र्तपुराना दिइन्।  
लाया श्री रघुनाथले ति कपडा सीताजिले ता लिइन्।।४६।।  

०००

यस्ता वस्त्र म लाउँ आज कसरी भन्न्या मनैमा धरी।  
लज्जाले रघुनाथका मुख विषे हेरिन् कटाक्षै गरी।।  
श्रीराम्ले मुटुरा गरी ति कपडा हात्मा जसै ता लिया।  
त्यो देखीकन राजपत्निहरू सब् रोया तहाँ जो थिया।।४७।।  

०००

दुष्टे आज सिताजिलाइ किन यो वस्त्र पुराना दियौ?
यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैचि ऐल्हे लियौ।  
कैकेयीसित बात् वसिष्ठ गुरुले येती ग¥याथ्या जसै।  
बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै।।४८।।  

०००

यो पढ्दा यस्तो लाग्छ, मानौं भानुभक्त हातमा भिडियो क्यामरा लिएर त्यो दृश्य खिचिरहेछन्। उनको वर्णनले त्यहाँको भौतिक वातावरणको मात्र चित्र प्रस्तुत गर्दैन, अपितु राम, सीता, राजपत्नीहरू र वसिष्ठको मानसिक अवस्थाको समेत चित्र प्रस्तुत गर्छ, जुन अमूर्त छ तर अनुभवगम्य छ। त्यो भावुक परिस्थितिप्रति कठोर बनेर ‘बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै’ पढ्दा पाठक पनि रुन्छ। यसरी शब्दद्वारा पाठकको मनमा शब्दातीत भाव पैदा गर्नसक्नु कविताको चमत्कृति हो।  

अब भानुभक्तका श्लोकहरूमा पाइने छन्दशास्त्रीय, भाषाशास्त्रीय वा व्याकरणशास्त्रीय (वाक्यसंरचनाको) दृष्टिले सानो चर्चा गरौं। उदाहरणका लागि यो श्लोक हेरौं–

उदाहरण–२

गयो खान्या बेला, मकन त मिल्यो राज्य वनको।  
भरत्ले राज् पाया, यहिँ बसि गरुन् राज्य जनको।।  
बिदा बक्स्याजावस्, खुसिसित म जान्याछु वनमा।  
म चाँडै फिन्र्याछू, विरह नरहोस् कत्ति मनमा।।
(अयोध्याकाण्ड, २५)

यो शिखरिणी वृत्त हो। यसमा सत्र अक्षर (सिलेबल) हुन्छन् र छैटौं अक्षरमा यति (अल्पविराम?) हुन्छ र १७औं अक्षरमा चाहिँ अलि लामो विराम। यस श्लोकमा जहाँजहाँ छैटौं अक्षरमा यति भएको छ, त्यहाँ कमा दिइएको छ, किनकि त्यहाँ एक वाक्य पनि पूरा भएको छ। वाक्य भनेको कारकसहितको पूर्ण क्रियापद हो, (सुप्तिङन्तचयो वाक्यं क्रिया वा कारकान्विता)। यो श्लोककोचारै पाउमा दुई–दुईवटा वाक्य छन्। यसरी छन्द, वाक्य संरचना र काव्यका दृष्टिले यो एक अनुपम उदाहरण छ। भानुभक्तको रामायणमा यस्तो धेरै पाइन्छ। अरू एक–दुईवटा उदाहरण हेरौं।  

आरण्यकाण्डका यी तीन पद्य स्रग्धरा वृत्तमा छन्, जसको एक पाऊमा २१ अक्षर हुन्छन् र सात–सात अक्षरमा यति हुन्छ। यी पद्यमा उदाहरण–१ मा जस्तो यति र वाक्यका बीच पूर्ण समन्वय छैन, तापनि अधिकांश भागमा त्यस्तो समन्वय छ। वाक्य नभए पनि वाक्यांश पूर्ण छन्।

उदाहरण–३  

सायुज्यै मुक्ति पाई, स्तुति पनि बहुतै भक्ति राखेर लाई।  
पौँच्या धाम्मा जटायू, प्रभु पनि नरको ठिक्क लीला जनाई।।  
वन् वन्मा फिर्न लाग्या, विरह गरिगरी, सोद्धछन् जाहिँ ताही।  
दोस्रा देख्न्या मिल्यानन्, सकल वन ढुँढ्या, एक् पनी काहिँ नाहीँ।।१०१।।  

०००

छातीमा मुख् भयाको, शिर पनि नहुँदा, नाम् कबन्धै रह्याको।  
चार्चार् कोस्सम्म पुग्न्या, दुइ अति बलिया, दीर्घ बाहू भयाको।।  
राक्षस् थीयो तहाँ एक्, बसिबसिकन सब् हातले खैँचि खान्या।  
तेसैका बाहु बिच्मा रघुपति पुगियो, रोकियो मार्ग जान्या।।१०२।।  

०००

राक्षस्ले घेरियाको, बुझिकन रघुनाथ् भन्दछन् भाइलाई।  
हे लक्ष्मण् ! आज देख्यौ, अब बिच परियो, निल्छ कि हामिलाई।।  
ठाकुर्जिका वचन् ई सुनिकन विनती ताहिँ लक्ष्मण् जि गर्छन्।  
हे नाथ् क्या डर्छ यस्को, दुइ भइ दुइ हात् काटिद्यूँ याहिँ झर्छन्।।१०३।।  

अनि आरण्यकाण्डकै यो पद्य पनि हेरौं–

मुक्ती भो आज तिम्रो, अब फजिति छुट्या, खूसि भै आज जाऊ।  
मेरी सीता कहाँ छन् ? कछु खबर भया, त्यो पनि सब् बताऊ।।  
हूकुम् जस्सै सुनिथिन्, तब तहिँ बिनती गर्दछिन् क्या बताऊँ।  
सर्वव्यापी हजुर्ले बुझि त नसकिन्या, एक् रती छैन ठाऊँ।। ११७।।  

भानुभक्तको रामायणको विभिन्न दृष्टिकोणबाट अध्ययन हुनसक्छ। भानुभक्तका श्लोकहरूमा पाइने छन्दशास्त्रीय, भाषाशास्त्रीय वा व्याकरणशास्त्रीय (वाक्यसंरचनाको) त्रिपक्षीय समन्वयात्मक अध्ययन र मूल्यांकन गराई विश्वविद्यालयहरूले पीएचडीको शोधग्रन्थ लेख्न लगाए राम्रो हुनेथियो।

प्रकाशित: २९ असार २०७७ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App