विचार

महामारीको तीतो यथार्थ र जातीय विभेद

लामो संघर्षपछि, कोरोना विषाणु, अर्थात् कोभिड–१९ को प्रकोप यतिबेला चीनमा नियन्त्रणमा आए पनि यो महामारी विश्वका धेरै राष्ट्रमा अझै अनियन्त्रित छ। मुख्य गरी अमेरिका र धेरैजसो युरोपेली राष्ट्र, जस्तै– बेलायत, इटाली, स्पेन र फ्रान्स सबैभन्दा बढी यो महामारीको चपेटामा परेका छन्। भर्खरैको तथ्याङ्क हेर्ने हो भने कोरोना विषाणुबाट विश्वभर संक्रमित हुनेको संख्या ७२ लाखभन्दा बढी पुगिसकेको छ भने झण्डै ४ लाख १० हजारभन्दा बढी मनिसले ज्यान गुमाइसकेका छन्।  

अहिले दक्षिण एसियाली राष्ट्रमध्ये भारतमा संक्रमित र मृतकको संख्या अत्यधिक छ। नेपालमा आकडा थोरै भए पनि संक्रमितको संख्या अप्रत्याशितरूपमा उकालो लाग्दो अवस्थामा छ। आधुनिक विकासको यो समयमा स्पेनिस फ्लु र आहिलेको कोभिड–१९ ले गरेको मानवीय क्षतिबाहेक र सन् १९५७ र १९६८ पछिका महामारीका कारण १० लाखभन्दा पनि ज्यादा मानिसको ज्यान गइसकेको छ। इतिहासमा सन् १९१८ को महामारी पहिले वा पछि कम समयमा कुनै पनि रोगले बढी मानिसलाई मारेको तथ्यांक छैन।  

सन् २००२ मा निस्किएको ‘सार्स’, सन् २००९ मा निस्किएको ‘स्वाइन फ्लु’, सन् २०१२ मा निस्किएको ‘मर्स’ अनि सन् २०१४ मा निस्किएको ‘इबोला’ को तुलनामा ‘कोभिड–१९’ विषाणु त्रासदीपूर्णरूपमा फैलिएको छ। आहिले कोभिड–१९ विषाणुविरुद्ध लडिरहेका अमेरिकालगायत, इटाली र स्पेन जस्ता युरोपेली राष्ट्रसँग महामारीको तीतो इतिहास पनि छ। अर्थात् एसियाली राष्ट्रहरूका तुलनामा विषाणुबाट मानवीय क्षति तिनै पश्चिमा राष्ट्रमा आहिले पनि बढी देखिएको छ जहाँ १०२ वर्षअघि अर्थात् सन् १९१८ मा स्पेनिस फ्लुले देखाएको थियो।  

सन् १९१८ को स्पेनिस फ्लुका कारण विश्वका एकतिहाइ मानिस (झण्डै ५० करोड) यो रोगबाट संक्रमित भएका थिए भने अनुमानित ५–१० करोड मानिसले ज्यान गुमाएका थिए। धेरै युवाले ज्यान गुमाएको त्यो महामारी पहिले युरोप, अमेरिका र केही एसियाली भूभागमा देखा प-यो त्यसपछि क्रमशः विश्वभर फैलिएको तथ्य विभिन्न अन्वेषणले देखाएका छन्। तुलनात्मकरूपमा हेर्ने हो भने एसियाली राष्ट्रहरूमा महामारीले पु¥याएको मानवीय क्षति पश्चिमा राष्ट्रहरूको तुलनामा कमै देखिएका छन्।  

सन् १९९४ मा योरी घेन्दोंनको युरोपियन जर्नल अफ एपिडेमिओलोजीमा प्रकाशित विवरण भन्छ– बितेका ४०० वर्षमा इम्फ्लुएन्जा जस्ता महामारी धेरै देशमा दर्ज भएका छन्। १६औँ शताब्दीमा इंग्ल्यान्डमा भएको महामारी, १८औँ शताब्दीमा संयुक्त राज्य अमेरिकामा भएको महामारी यसका केही उदाहरण हुन जो विषाणुजन्य थिए। यद्धपि यिनीहरूको मूल सम्बाहकका बारेमा सही ज्ञानको अभाव भने अझै छ। सन् १९१८ को महामारी भने हालको इतिहासमा दर्ज भएकोमध्ये सबैभन्दा ठूलो मानिन्छ।

विगतका घटनाहरू हेर्ने हो भने पश्चिमा राष्ट्र, विशेष गरी अमेरिकाले अहिलेको कोरोना विषाणुको प्रकोपलाई वर्ग, समुदाय या जातीयताका आधारमा हिलो छ्याप्नु कुनै नौलो कुरा होइन।    

स्पेनिस फ्लु कारक विषाणुको विकास सैनिक ब्यारेक वा शिविर जहाँ उनीहरूको समूह थियो त्यहाँ भयो र उनीहरूकै माध्यमबाट विश्वव्यापीरूपमा फैलिएको अनुमान गरिएका छन्। ती पुरुष, सैनिक वा कामदारका रूपमा युरोप, अमेरिका, एसिया, अफ्रिका र ओसिनियालगायत विभिन्न मुलुकबाट आएका थिए जो फ्रान्सेली भूमिमा मिसिएका थिए। र, तिनै सिपाहीले युद्ध समाप्तिपछि आफ्नो मुलुक फर्कने क्रममा रोगसमेत लिएर गएका तर्क पनि भेटिन्छन्।  

स्पेनिस फ्लु महामारीका बेला इटाली अन्य युरोपियन देशमध्ये अत्यन्त गम्भीररूपमा प्रभावित राष्ट्र थियो। येलेसिओ फोर्नासिनको समूहले गरेको अनुसन्धान विवरणमा सन् १९१८–१९२० सम्मको आँकडा हेर्ने हो भने स्पेनिस फ्लुबाट इटालीमा मर्नेहरूको संख्या ४ लाख ६६ हजार थियो। त्यो बेला मृत्यु वरण गरेका कुल संख्यामध्ये लगभग ७० हजार त इटालियन सेनाको थियो भन्ने छ। अहिले यो मुलुकमा कोरोना विषाणुबाट ज्यान गुमाउनेको संख्या ३२ हजारभन्दा माथि छ।

त्यस्तै ६ लाख ७५ हजार अमेरिकी नागरिकले स्पेनिस फ्लु महामारीका कारण ज्यान गुमाएका तथ्यांक छ। मृत्यु भएका अधिकांश युवा युद्धमा सामेल थिए। महामारीका कारण अमेरिकाको सशस्त्र बललाई कठोर चोट लागेको थियो। अलान एम क्राउटको सन् २०१० मा पब्लिक हेल्थ रिपोर्टर्समा प्रकाशित अनुसन्धानपत्रका अनुसार महामारीका कारण झण्डै ५० हजारभन्दा ज्यादा अमेरिकी सैनिक जवानको मृत्यु भएको थियो। सन् १९१८ पछिका अन्य महामारीले पनि युरोपेली राष्ट्रहरूको तुलनामा अमेरिकामा ठूलो मानवीय क्षति पु-याएका विभिन्न तथ्यांकले देखाउँछन्।  

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले प्रकाशित गरेको विवारणअनुसार विश्वमा अर्को महामारी सन् १९५७–१९५८ मा देखाप-यो एसियन फ्लुका नाममा। यो रोगका कारण विश्वमै लगभग ११ लाख मानिसको मृत्यु भयो, त्यसमध्ये १ लाख १६ हजार त अमेरिकन नागरिक नै थिए। अर्को महामारी सन् १९६८–१९६९ सम्म देखियो हङकङ फ्लुका रूपमा। यसले विश्वबाटै १० लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो। यो बेला झण्डै १ लाख अमेरिकन नागरिकले ज्यान गुमाएका तथ्यांक सिडिसीको विवरणमा उल्लेख छ।

विश्व स्वास्थ्य संगठनको भर्खरैको तथ्यांकलाई आधार मान्दा कोभिड–१९ का कारण मृत्यु वरण गरेकाको संख्यामा अमेरिकी नागरिक नै ज्यादा देखिएका छन्। हालसम्म यो मुलुकमा यो रोगबाट संक्रमित हुनेको संख्या १ लाख ५७ हजारभन्दा माथि छ भने ९० हजारभन्दा ज्यादा अमेरिकी नागरिकले ज्यान गुमाइसकेका छन्। महामारीको असर फरक किन भयो ? त्यसका आआफ्नै कारण होलान् तर यो लेखको बिषय नभएकाले त्यसतर्फ नलागौँ।   

संयुक्त राज्य अमेरिकामा त्यो बेला स्थानीय समुदाय महामारीबाट ज्यादा पीडित थिए। हजारौँ अमेरिकी सैनिक र नाविकहरूले शत्रुका गोलीहरूको सट्टा फ्लुको महामारीबाट आफ्नो ज्यान गुमाइरहेका थिए।   

अब प्रसंग बदलौँ जातीय विभेदको कुरातर्फ। गत वर्षको डिसेम्बरबाट चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को महामारी अर्थात् कोरोना विषाणुलाई लिएर विशेष गरी पश्चिमा राष्ट्रहरूबाट निश्चित समुदाय वा मुलुकलाई आक्षेप लगाउने काम पनि भए। एसियाली मुलकलाई जातीय विभेद गरिनु यद्यपि नौलो कुरा होइन, त्यसमा पनि महामारीका बेला यसले उग्रता नै लिएका उदाहरण पनि धेरै छन्। युरोपेली राष्ट्रहरूलाई पनि यस्ता आक्षेप नआएका होइन् जसलाई स्पष्ट पार्न महामारीको इतिहास खोतल्नै पर्छ।  

उदाहरणका लागि एक शताब्दीअघिको स्पेनिस फ्लुको महामारीलाई नै लिउँ। यो महामारीको कारक विषाणुको उत्पत्ति कहाँबाट भयो भन्ने विषयमा अझै स्पष्ट जानकारी छैन। पहिलो घटना फ्रान्स वा अमेरिकाको कन्सासमा सन् १९१८ को मार्चमा देखापरेको आधारमा यो त्यहीँबाट फैलियो भन्ने पहिलो मान्यता छ। बेलायत पनि सम्भावित स्रोत हो भन्ने तर्क कहीँकहीँ उल्लेख छ। केही विज्ञ भन्छन्– यो पहिला उत्तरी चीनको कहीँ कतै देखाप¥यो र सन् १९१७ को अन्त्यतिर क्रमशः युरोपमा फैलियो।  

त्यो बेलाको युद्धकालीन समयमा फ्रेन्च र ब्रिटिस सरकारले लाखौँ चिनिया नागरिकलाई मजदूरका रूपमा भर्ती गरेको थियो भन्ने तथ्य विभिन्न विवरणमा प्रकाशित छन्। र, यही तथ्यलाई आधार बनाउँदै स्पेनिस फ्लु चीनबाट फैलिएको हो भन्ने परिकल्पना गरिएको हो। यद्यपि चिनियालगायत अन्य धेरै अनुसन्धानकर्मीले यसलाई पुष्टि गर्ने कुनै आधार नभएको स्पष्ट पारिसकेका छन् अर्थात् यो आरोप मिथ्या हो भन्ने।  

एलान एम क्राउटको सन् २०१० मा पब्लिक हेल्थ रिपोर्टमा प्रकाशित विवरण भन्छ– सन् १९१८–१९१९ को महामारीको फैलावट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेका आप्रबासीहरूको ठूलो लहरसँग मिल्छ। १८८० र १९२० को बीचमा लगभग २ करोडभन्दा बढी नयाँ आप्रवासी अमेरिका प्रवेश गरेका थिए। संयुक्त राज्य अमेरिकाको इतिहासमा यो सबैभन्दा ठूलो आप्रबासी तरङ्ग थियो। उनीहरू ज्यादा त दक्षिण र पूर्वी युरोप, एसिया, क्यानडा र मेक्सिकोबाट आएका थिए। चीन र जापानबाट आउनेको संख्या पनि उल्लेख्य थियो।  

अमेरिकामा व्यापक आप्रबासीको लहरकै ताका विश्वभर स्पेनिस फ्लुको महामारी फैलिएको थियो। त्यो बेला महामारीका कारण सबै समूह र वर्गका व्यक्ति प्रभावित बने। अमेरिकाले सुरुमा कुनै पनि आप्रवासी समूहलाई दोष त लगाएको थिएन, यद्यपि त्यहाँ स्वास्थ्यसँग सम्बन्धित पूर्वाग्रहका घटना भने धेरै थिए। रोग प्रकोपको बोझ विशेष गरी दुई सबैभन्दा ठूला आप्रवासी समूहमध्ये, दक्षिण इटालियन र पूर्वी युरोपियन यहुदीहरू सँगसँगै अन्य आप्रबासी चिकित्सकलगायत धार्मिक संस्थाहरूले बोक्नुपरेको थियो।  

क्राउटको अनुसन्धान विवरण भन्छ– त्यो बेला महामारीको कारक विषाणु इटालियन आप्रबासीहरूबाट संयुक्त राज्य अमेरिकामा ल्याइएको थियो न कि यहाँ आउने अन्य नयाँ व्यक्तिहरूले भन्ने आरोप लगाएको थियो। जसका कारण उनीहरू ठूलो जातीय विभेदको सिकार बने। सबैभन्दा ज्यादा स्पेनमा घटना पहिचान भएका कारण यसलाई स्पेनिस फ्लु नामकारण गर्दै व्यापकरूपमा प्रचलनमा ल्याइयो। त्यो बेला युरोपेली राष्ट्र जर्मनीलाई जानाजानी फ्लुलाई युद्धको हतियारका रूपमा फैलाएको आरोपसमेत लगाइएको थियो।  

संयुक्त राज्य अमेरिकामा त्यो बेला स्थानीय समुदाय महामारीबाट ज्यादा पीडित थिए। हजारौँ अमेरिकी सैनिक र नाविकहरूले शत्रुका गोलीहरूको सट्टा फ्लुको महामारीबाट आफ्नो ज्यान गुमाइरहेका थिए। यो महामारीले वर्ग रेखा पार ग-यो। न धनी न गरिब, सबैलाई उत्तिकै असर पु-यायो। सन् १९१८ मा चिनियालाई स्पेनिस फ्लुका लागि अमेरिकाले दोष त दिएन, यद्यपि उनीहरूलगायत अन्य आप्रबासीलाई अत्यन्तै फरक व्यवहार गरिएका उदाहरण भने धेरै छन्। कतिपय अवस्थामा आप्रबासीलाई चिकित्सा सेवा प्रदान गर्नबाट समेत वञ्चित गरिएको थियो।  

सन् १९०० मा सानफ्रान्सिस्कोस्थित चाइनाटाउनमा एक चिनिया आप्रबासीको मृत्यु ब्युबोनिक प्लेगका कारण भएपछि समुदायमा डर र जातीय विभेदको लहर सुरु भएको थियो। रोगबाहकका रूपमा विदेशी जन्मको कलङ्कको उदाहरण पर्याप्त छन्। १८३० को दशकमा गरिब आयरिस आप्रवासीहरूलाई हैजाको बोझका रूपमा कलङ्कित गरियो। १९औँ शताब्दीको अन्ततिर क्षयरोगलाई यहुदी रोग वा दर्जीको रोग पनि भनिन्थ्यो।  

त्यस्तै कुनै समयमा चिनियाहरूलाई कुष्ठ रोग, यौन रोग र ब्युबोनिक प्लेगका लागि कलङ्क लगाइएका थिए। सन् १९१८ को इम्फ्लुएन्जा महामारीको दुई वर्षअघि मात्र अर्थात् सन् १९१६ मा इटालियन आप्रबासीहरूलाई पोलियो वा शिशु पक्षघात, जुन न्युयोर्कको पूर्वी समुद्री तटीय सहरहरूमा महामारीका रूपमा थियो, त्यसका लागि जिम्मेवार ठहराइयो।  

पूर्वाग्रहलाई चिकित्सा र सार्वजनिक स्वास्थ्य तर्कका साथ युक्तिसङ्गत बनाउँदै स्थानीय नश्लवादीहरूले निश्चित आप्रबासी समूहहरूलाई विशेष रोगहरूको बाहकका रूपमा बदनाम गर्ने परम्परा पुरानै हो। साथै माथि उल्लिखित घटनाहरू हेर्ने हो भने पश्चिमा राष्ट्र, विशेष गरी अमेरिकाले अहिलेको कोरोना विषाणुको प्रकोपलाई वर्ग, समुदाय या जातीयताका आधारमा हिलो छ्याप्नु कुनै नौलो कुरा होइन। 

प्रकाशित: २९ जेष्ठ २०७७ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App