विचार

खेलकुदमा पूर्वसमीक्षा

नेपालमा आयोजना भएको ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्यालेन्जकप भर्खरै सम्पन्न भयो। यस च्यालेन्ज कपको उपाधि उत्तर कोरियाले उचाल्यो। उत्तर कोरियाले फाइनलमा तुर्कमेनिस्तानलाई २-१ गोल बाट पराजित गर्‍यो। तेस्रो फिलिपिन्स र चौथो स्थानमा प्यालेस्टाइन भए। नेपाल सबै टिमसँग हार्‍यो। खेलमा हार र जित हुन्छ र सधै जित्नुपर्छ भन्ने पनि छैन। तर सधैँ हार्नु पनि राम्रो त होइन। नेपाल राम्रो खेल खेल्दा पनि हार्‍यो। नेपाली टिममा स्टाइकिङ क्षमताको अभाव देखियो। स्ट्राइकरहरूले पाएको अवसर गुमाउँदा पराजय भोग्नुपर्छ। स्ट्राइकरमा सिर्जनात्मक क्षमताको अधिकतम सदुपयोग गर्ने गुण हुनुपर्छ। यसैगरी ऊ स्वप्नद्रष्टा हुनुपर्छ। उसमा, 'यसरी बल आयो भने म यसरी सदुपयोग गर्नेछु' भन्ने अनुमानित योजना हुनुपर्छ। पूर्ण आत्मविश्वास, निडर, धैर्यशील, जुझारु, आत्म मूल्यांकनकर्ता र सहयोगको भावना भएको स्ट्राइकर हुनुपर्छ। यस आधारमा हाम्रा स्ट्राइकर कहाँ चुके त्यसको एन्फाबाट पूर्व समीक्षा गरिनुपर्छ।

विगत निकै समयदेखि हारको दोष स्ट्राइकरमाथि लाग्दैआएको छ। स्ट्राइकरले गोल गर्न नसक्दा औँला उठाउनु पनि स्वाभाविकै हो। तर स्ट्राइकरले किन गोल गर्न सकेनन् भनेर पूर्व समीक्षामार्फत् कारणहरू पत्ता लगाएर खेल सुधार गर्नेतर्फ हाम्रो पहल पनि सशक्तरूपमा हुन आवश्यक छ। पटकपटक उस्तै समस्याका कारण हामी हारिरहेका छौ। तसर्थ एन्फा जस्तो संस्थाले प्राविधिक समिति, प्रशिक्षक, खेलाडी, खेल विज्ञ र पत्रकारहरूसँग छलफल गरेर समाधानको उपाय पत्ता लगाउनुपर्छ। नेपालको अन्तर्राष्ट्रिय फुटवल विकासमा देखिएको तगारो भत्काउने यो नै उत्तम उपाय हो।
नेपाल आईसीसी वर्ल्डकप २० ट्वान्टी क्रिकेट छनोटबाट पनि बाहिरिएकाले श्रीलंकामा यसै वर्ष हुने वर्ल्डकपमा खेल्ने सपना पनि अधुरै रह्यो। प्ले अफ (दोस्रो चरण) मा पुग्न नेपालले क्यानाडालाई ठूलो अन्तरले हराउनुपर्थ्यो तर त्यो पनि भएन। नेपालले किन अपेक्षित खेल प्रदर्शन गर्न सकेन? क्रिकेटमा पनि विस्तृतरूपमा पूर्व समीक्षा नगरी समस्या निराकराण हुने देखिँदैन।
छैटौँ राष्ट्रिय खेलकुद धेरै विवादबीच सम्पन्न भयो। खेलाडीले अनेकौँ कठिनाइ सहेर खेले। रेकर्ड कायम गरे। खेलाडीभित्र उत्साह, उमंग देखियो। तर तिनलाई आवश्यक सुविधा यथासमयमा उपलब्ध गराउन सकिएको देखिएन। त्यस क्रममा धनगढीमा निर्माण भएका पूर्वाधार पनि अधुरो नै रहेका छन्। तिनको उचित संरक्षण, सम्वर्धन भएन भने गौचरन हुन बेर लाग्दैन। यसैगरी विभाग तथा क्षेत्रले पदक जितेर खुसी मनाए। पदकको संख्यात्मक विवरणमा भिन्नता छ। परिषद्ले यथाशीघ्र आधिकारिक विवरण सार्वजनिक गरेर यसलाई टुंग्याउनुपर्छ। त्यसैगरी क्षेत्र र विभागलाई पूर्व समीक्षात्मक अन्तरक्रियामार्फत् छैठौँ राष्ट्रिय खेलकुदको राम्रो र नराम्रो पक्षलाई इंगित गर्दै सुझाव संकलन गर्न सके सातौंँ राष्ट्रिय खेलकूदलाई अझ व्यवस्थित ढंगबाट आयोजना गर्न सकिनेछ।
छैटाँै राष्ट्रिय खेलकुद आयोजनाको अव्यवस्थाले गर्दा पूर्वाधारहरू समयमै निर्माण हुन सकेनन्। यस्तो अधुरो पूर्वाधारमा ठुलै दुर्घटना हुनसक्थ्यो। तर, भाग्यवश भएन। अतः खेलकुद परिषद्ले 'राष्ट्रिय खेलकुद' का लागि बिडिङ प्रथा सुरु गर्नुपर्छ। बिडिङ गर्न आउने क्षेत्रले नगरपालिका, जिल्ला विकास समिति, उद्योग वाणिज्य संघहरू, स्थानीय प्रशासन, व्यापारी, खेलाडी, खेल पत्रकार, जिल्ला खेलकुद विकास समिति, जिल्ला प्रशासन आदिसँग अन्तरर्क्रिया, छलफल, गोष्ठी गरेर प्रस्ताव तयार पार्नुपर्छ। सबैको सुझाव सुनेर तयार पारिएको बिडिङ प्रस्तावलाई सबैबाट सहयोग प्राप्त हुन्छ। तसर्थ अब सातौँ राष्ट्रिय खेलकुदका लागि नगरपालिका, जिल्ला विकास समितिलगायत अन्य संघसंस्थालाई खेल आयोजनाका लागि प्रतिस्पर्धात्मक प्रतिबद्धता आह्वान गर्न सकिनेछ। नभए, परिषदबाटै क्षेत्रीय खेलकुद विकास समितिको सल्लाह, उद्घाटन, समापन समारोह र खेल स्थल त्ाोकिदिएर भौतिक पूर्वाधार निर्माण कार्यमा अहिलेदेखि नै जुटेमा छैटौँको कठिनाइ दोहोरिनेछैन।
मुलुकमा खेलकुदका थुपै्र गतिविधि संचालन भईरहेका छन्। निजीस्तरको प्रयासबाटै नेपालगन्जमा प्रथम दक्षिण एसियाली पुरुष तथा महिला भारोत्तोलन प्रतियोगिता आयोजना गर्न नेपाल भारोत्तोलन संघ सफल हुनु, प्रथम आर्मी मिट हुनु, गल्फ प्रतियोगिता सम्पन्न हुनु एवं देशका विभिन्न स्थानमा स्वतः स्फुर्त खेलकुद प्रतियोगिता संचालन हुनु सुखद विषय हो। तर, यस क्रममा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदको भूमिका गौणजस्तो देखिएको छ। परिषदसँग खेलगत आयोजनाको पूर्व समीक्षात्मक प्रतिवेदन पनि छैन। अतः खेलकुदको विकासका लागि पूर्व समीक्षक प्रथाको विकास गर्नुपर्छ। पूर्व समीक्षात्मक प्रतिवेदनले मात्र भविष्यमा खेलकुदलाई बाटो देखाउन सक्छ।

 

 

 

 

प्रकाशित: ११ चैत्र २०६८ ००:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App