विचार

खेलकुदमा गंभीरताको खाँचो

विवादै विवाद, झगडै झगडाको भारी मनभरि बोकेर नेपाली खेलाडी चीनको गोन्झाउ पुगे। अर्थात्, खेल पदाधिकारीको झगडा पनि उनीहरूसँगै गोन्झाउ पुग्यो। झगडाले खेलाडीको मनोबल गिर्‍यो। खेल्दा अभिप्रेरित हुने ठाउँ नै भएन। खेलाडीको मानसमा नजानिदो तवरले पदाधिकारीबीचको झगडाको नकारात्मक प्रभाव बस्यो। पदकको आशा गरेको उसु खेलका खेलाडीले रित्तो हात फर्किनुपर्‍यो। खेलाडीहरूको प्रशिक्षण स्तरीय भयो भएन, खेलाडीलाई इन्टरनेसनल एक्सपोजर दिइयो, दिइएन खेलाडीले कति समय प्रशिक्षण पाए, प्रशिक्षण स्तरीय थियो कि थिएन भन्नेजस्ता विषयमा सयममै चासो राखिएको भए हाम्रा केही खेलाडीले पदक जित्ने थिए। दुर्भाग्यवश, तर त्यसो भएन।

नकारात्मक वातावरणले पराजयतर्फ उन्मुख गराउँछ। नकारात्मक सोच उत्पन्न हुनेबित्तिकै दिमागले नकारात्मक कार्यक्रम बनाउन थाल्छ। हेर्दा राम्रै खेले जस्तो लाग्छ तर अचेतन मनभित्र नकारात्मक भावना जागेको हुन्छ र त्यसले थाहै नपाई प्रतिक्रिया व्यक्त गर्छ।

खेलाडीलाई पदाधिकारीको मनमुटाव वा संगठनभित्रको विवादबाट टाढै राख्नुपर्छ। बन्द प्रशिक्षण यसैका लागि थालिएको हुनुपर्छ। बन्द प्रशिक्षणमा मनोरञ्जन, फिजियोथेरापी, सन्तुलित खुराक र असल प्रशिक्षण तालिमभित्र खेलाडीलाई राखिन्छ। कसैसँग भेटघाट गर्न दिइन्न। प्रशिक्षणका लागि मात्र उनीहरू अनुबन्धित र समर्पित हुन्छन्। उनीहरूलाई कुनै पनि मानसिक दबाब पर्न नदिन प्रयास गरिन्छ। अनुगमन, प्रशिक्षण मूल्यांकन गर्ने इकाइबाट उद्देश्यअनुरूप सफलता हासिल भयो कि भएन भनेर मूल्यांकन हुनुपर्छ। अपेक्षित उपलब्धी हासिल नभए त्यस सम्बन्धमा गम्भिर छलफल हुनुपर्छ। तर नेपाली खेल क्षेत्रमा भने यस सम्बन्धमा पनि कोही गम्भीर देखिएका छैनन्।

नेपाली खेलाडीमा प्रतिभा पनि छ। उनीहरू मरेर खेलिरहेका छन् अर्थात्, समर्पण पनि छ। सरकारबाट पर्याप्त नभए पनि केही लगानी भइरहेकै छ। तर पनि एसियन गेम्समा नेपालले किन पदक जित्न सक्दैन ? यसका पक्कै पनि केही व्यवस्थापकीय, केही प्राविधिक, केही आर्थिक र केही प्रशिक्षणसम्बन्धी कारण होलान्। साथै उत्तिकै महत्वपूर्ण मानसिक कारण पनि छन्।

खेलमा प्रतिस्पर्धात्मक वातावरण दिन प्रतिदिन बढेर आइरहेको छ। भुटान, अफगानिस्तानजस्ता राष्ट्रसमेत गम्भीर भएर खेलकुद विकासमा लागेर हामीलाई उछिन्न खोज्दैछन्। तर नेपाली खेल अधिकारीहरूलाई भने कुनै चासो छैन। जय भोले भनेर अर्थात् भगवान भरोसामा हामी खेलिरहेका छौँ। पराजित भइरहेका छौँ। आखिर हाम्रो विजय र पराजय जनतासँग गाँसिएको छ। हाम्रो विजयमा जनता रमाउँछन्। जनता एक अर्कामा खुसी बाँड्दछन्। तर हामी खेलकुदका सम्बन्धमा गंम्भीर हुन सकिरहेका छैनौ। सरकारले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरिसकेको छ। राष्ट्रिय खेलकुद नीतिलाई पालना गर्नु सम्पूर्ण सरोकारवालाको कर्तव्य हो। राष्ट्रिय खेलकुद नितिअनुसारका दीर्घकालीन योजना बन्नुपर्छ। गाउँदेखि राष्ट्रसम्म खेलकुदमय हुने वातावरण विकास गर्नुपर्छ। व्यवस्थित खेलकुद आजको खाँचो हो। खेलकुदको प्रतिस्पर्धात्मक वातावरणमा चल्न सक्नुपर्छ। स्वस्थ प्रतिस्पर्धात्मक दीर्घकालीन खेलकुद प्याकेज प्रशिक्षण र राजनीतिमुक्त खेलकुदबाट मात्र अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सकिन्छ।

अतः खेलाडीलाई मानसिक तनावमुक्त बनाएर प्रतिस्पर्धा उभ्याउने खेलकुद वातावरण बनाउनु आजको आवश्यकता हो। खेलकुदका सम्बन्धमा मंत्रालय, राष्ट्रिय खेलकुद परिषद् र अन्य सम्बन्धित निकाय चाँडो भन्दा चाँडो गंम्भीर हुनु आवश्यक छ।

प्रकाशित: १३ मंसिर २०६७ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App