‘विस्मृति रोगबारे चर्चा गरौं ः हेय भाव अन्त्य गरौ’ं नारासहित यस वर्ष पनि सेप्टेम्बर २१(असोज ४) का दिन २६औं विश्व अल्जाइमर्स चेतना दिवस मनाइएको छ । अल्जाइमर्स डिजिज इन्टरनेसनलले ‘अल्जाइमर्स मन्थ’ घोषणा गरी सेप्टेम्बरभर विविध चेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।
एक्काइसौं शताब्दीमा आइपुगेपछि मात्रै नेपालमा बिर्सिने रोगलाई सामाजिक र जनस्वास्थ्य समस्या भनेर सामाजिक कार्यक्रममा समावेश गर्न थालिएको हो । त्यसपछि यस रोगलाई सामाजिक समस्याका रूपमा अत्यन्त कम मात्रामा मात्र नेपाली जनताले चिन्न र व्यक्त गर्न थाले । यो रोग सीमित परिवारभित्र मात्र रह्यो र अरूले केही भन्छन् कि भन्ने डरले त्यसलाई बाहिर ल्याइएन । यसअघि यस रोगको पहिचान तथा उपचारका लागि न सरकारले कुनै कार्यक्रम ल्याएको थियो न त अन्य कुनै संघसंस्थाले नै चासो दिएका थिए । सरकारले भर्खरै मात्र यस रोगलाई ठूलो सामाजिक समस्याका रूपमा स्वीकार गर्दै यसको निराकरणका लागि कार्यक्रम सञ्चालन गर्न थालेको छ ।
बिर्सिने रोगको निःशुल्क उपचारका लागि सरकारले १ लाख रुपैयाँ छुट्याएको छ भने स्वास्थ्य मन्त्रालयले तोकेका त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, पाटन एकाडेमी अफ साइन्सेज, काठमाडौंस्थित नेसनल एकाडेमी अफ मेडिकल साइन्सेज र धरानस्थित बिपी कोइराला अस्पतालमा यसको उपचार व्यवस्था मिलाएको छ । यो रोग उन्मूलनै गर्न यो रकम थोरै मानिएला, तर सरकारको यो पहिलो पाइला उक्त रोगबाट पीडित जनताका लागि ज्यादै महŒवपूर्ण छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि यस रोगबाट पीडितहरूलाई सेवा प्रदान गर्दै आएको छ । त्यसका लागि मन्त्रालयले सेवा गर्ने व्यक्तिहरूलाई गैरसरकारी संस्थाहरूमार्पmत तालिमसमेत व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय आँकडाहरूका अनुसार ६५ वर्षभन्दा कम उमेर समूहका ४ प्रतिशत मानिसमा यो रोग देखिएको छ भने ६५–७५ वर्ष उमेर समूहका १५ र ७५–८५ वर्ष उमेर समूहका ४४ प्रतिशत मान्छेमा यो रोग पाइएको छ । सरसर्ती हेर्दा अल्जाइमर रोग निदान भएकामध्ये ८२ प्रतिशतजति बिरामी ७५ वर्षभन्दा माथि उमेर समूहमा पर्छन् ।
हाम्रो देशको परिप्रेक्ष्यमा अहिलेसम्म अल्जाइमर बिरामीको यकिन तथ्यांक नभए तापनि ‘अल्जाइमर डिजिज इन्टरनेसनल’को प्रक्षेपणअनुसार सन् २०१५ मा यस रोगबाट पीडितको संख्या ७८ हजार छ भने यो संख्या बढेर सन् २०३० मा १ लाख ३४ हजार र सन् २०५० सम्ममा २ लाख ८५ हजार पुग्ने अनुमान गरिएको छ ।
अल्जाइमर एक प्रकारको मस्तिष्कमा लाग्ने रोग हो । यसले मानिसको मस्तिष्क तीव्र रूपमा ह्रास गराउँछ र यो रोग लागेपश्चात् बिरामीले बढीमा १०–१५ वर्षभित्रै कसैलाई नचिन्ने हुन्छ । यहाँसम्म कि श्रीमान्ले श्रीमतीलाई वा श्रीमतीले श्रीमान्लाई समेत चिन्न नसक्ने अवस्था आउँछ ।
लक्षण
लक्षणका हिसाबले यो रोगका निम्न ३ अवस्था हुन्छन्:
क) कम कडा अवस्था (माइल्ड स्टेज)
–क्रमिक रूपमा स्मरण शक्ति घट्दै जानु ।
–पूर्वजानकारी भएका व्यक्ति÷नातागोता एवं ठाउँ चिन्न समस्या हुनु ।
–साविकका कामहरू गर्न आवश्यकताभन्दा धेरै समय लिनु ।
–गरिरहेका कारोबार÷व्यवसाय गर्न समस्या हुनु ।
–क्रमिक रूपमा गलत किसिमका निर्णयहरू गर्दै जानु ।
–व्यवहार÷व्यक्तित्वमा परिवर्तन हुँदै जानु ।
ख) अलि कडा अवस्था (मोडरेट स्टेज)
–माथि उल्लिखित समस्या क्रमिक रूपमा बढ्दै जानु ।
–परिवारभित्रैका सदस्य पनि चिन्न गाह्रो हुनु ।
–पढाइ÷लेखाइ÷गणितमा समस्या देखिँदै जानु ।
–नयाँ विषय तथा काम सिक्न समस्या हुनु ।
–घरको बाटो बिराउनु÷हराउनु ।
–एउटै कुरा÷काम अनावश्यक रूपमा दोहो¥याइरहनु ।
–अधिक÷अनावश्यक शंका गर्नु, नभएको कुरा देख्नु÷सुन्नु, अति डराउनु, अधिक आवेशमा आउनु ।
–सामाजिक रूपमा आपत्तिजनक काम÷व्यवहार÷बोली गर्नु ।
ग) अति कडा अवस्था (सिभियर स्टेज)
–माथि उल्लिखित लक्षण बढ्दै जानु ।
–खाना खान÷चपाउन÷निल्न क्रमिक रूपमा समस्या आई सर्केर हुने निमोनिया (एस्पिरेसन निमोनिया)बाट बारम्बार पीडित भइरहनु ।
–तौल घट्दै जानु, आलस्य र निद्रा बढ्दै जानु ।
–दिसा÷पिसाब नियन्त्रण गर्ने शक्ति हराउँदै जानु, कपडा÷ओछ्यानमै हुनु ।
–बोल्न समस्या बढ्दै गएर आवाज अस्पष्ट हुनु ।
–यस्ता जटिलता बढ्दै जानु ।
उपचार
अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन । चिकित्सकले केवल स्मरण क्षमतामा आएको ह्रास तथा मस्तिष्कका अन्य क्रियाकलाप व्यवस्थापन गर्ने उपाय सिकाउने छन् । नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा सक्रियता आदिले यो रोग बढ्ने गति मत्थर पार्न सक्छन् ।
रोकथाम
जीवन शैलीका केही तरिकाले अल्जाइमर रोग हुने सम्भावना घटाउन सक्छन् । सामाजिक क्रियाकलापमा बढी सक्रिय हुने तथा बौद्धिक व्यायाम हुने खालका काममा लाग्नाले मस्तिष्कको कार्यक्षमता जोगिन सक्छ । सँगसँगै रक्तसञ्चार प्रणाली चुस्त–दुरुस्त राख्ने खालका शारीरिक व्यायाम नियमित गर्नाले पनि मस्तिष्कलाई ओरालो लाग्नबाट जोगाउने शक्ति मिल्छ । चिल्लो पदार्थ कम तथा सागसब्जी र फलपूmल बढी भएका खानेकुरा नियमित सेवन गर्नु पनि अल्जाइमर रोग हुने सम्भावना कम गर्ने उपाय हो ।
अल्जाइमर रोगबारे जनचेतना जगाउने उद्देश्यले सेप्टेम्बर महिनालाई विश्वका धेरै मुलुकले अल्जाइमर महिनाका रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा हाम्रो देशमा पनि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, अल्जाइमर विस्मृति समाज र ज्येष्ठ नागरिक जिल्ला संघ र अन्य विभिन्न संघसंस्थाले यस विषयमा ध्यान दिन जरुरी छ । अल्जाइमर रोग लागेको हो÷होइन भनी पत्ता लगाउन परीक्षण कार्यक्रम, अल्जाइमर रोगीका परिवारलाई परामर्श दिने, रोगीलाई उचित हेरचाहका लागि अल्जाइमर केयर तालिम, सञ्चारमाध्यमबाट अल्जाइमर रोग विशेषज्ञहरूको अन्तर्वार्ता, अल्जाइमर रोगबारे लेख÷रचना प्रकाशनजस्ता गतिविधि सञ्चालन गर्न सकिन्छ ।
वृद्ध हुनुभएका बा–आमाहरू
बिसिद्धि भएका होइनन्
विस्मृति रोगले गाँंजेको बुझौं
वितृष्णा र दिक्दारीले होइन
माया र सद्भावले स्याहार गरौं ।
(लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघसँग सम्बन्धित छन् ।)
प्रकाशित: ५ आश्विन २०७६ ०६:१८ आइतबार