विचार

न गति न मति

पोखराको सौन्दर्य वर्णन गर्दै प्रसिद्ध वैज्ञानिक र अन्वेषक टोनी हागनले नेपालको महिमा गाए। चालीसपल्ट नेपाल आएर १४ हजार किलोमिटर यात्रा गरेको प्रसंग सुनाउँदै उनले भनेका थिए– ‘अद्वितीय र मनोहर छटा, प्राचीन सभ्यता, हजारांै साल पुरानो गौरवमय इतिहास, अनन्त स्वतन्त्रता सबैले पूर्ण छ, नेपाल।’ कवि विलफ्रिड हुन् वा पर्सिभल ल्यान्डन, फ्रान्सिस ह्यामिल्टन हुन् वा ब्रायन हज्सन, इकाई कावागुची, टम लङ्स्टाफ हुन् वा अन्य धेरै विदेशी विद्वान्, ती सबैलाई लोभ्यायो नेपालले। किन होला ? त्यस्तो के छ नेपालमा ?

नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वाससमेत गुमाउँदै गएको छ। यस्तो अवस्थामा जनताबाहेक अरूले अधिनायकवाद रोक्न सक्ने देखिँदैन।

मनोहर दृश्यहरूको सजीव संग्रहालय हो– नेपाल। हिमाल, पहाड र तराईका कैयन् रमणीय ठाउँ यस्ता छन् जहाँ पलपलमा मन रमाउँछ। पूर्वको कञ्चनजंघादेखि पश्चिमका अपी र सैपाल हिमाल शिरको टोपी बनेर स्वाभिमानपूर्वक उभिएका छन्। सयौं जातजाति मिलेर बसेका छन्। काका, मामा, ठूला बा, माइजू, काकी, आमा, बा, दिदी, बहिनी, दाजुभाइ र त्यति मात्र होइन, मितेरी साइनोले समेत गाँसिएका छन् नेपालीहरू। विविधतामा एकता हाम्रो हजारांै वर्ष पुरानो विशेषता हो। यो परिचय र चरित्र कमजोर बन्दै छ आज।

२०१७/१८ सालतिर गरिएको अध्ययनमा झापामा २७ भन्दा बढी भाषा बोल्ने विभिन्न जाति थिए। सतार, राजवंशी, मेचे, कोचे, धिमाल, गनगाई, दनुवार र ताजपुरिया त्यहाँका रैथाने हुन्। पहाडबाट बसाइँ सरेर जानेहरू बिस्तारै बढ्दै गए। २००७ सालको क्रान्तिका बेला ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायत इलाकामा केही रैथाने लिम्बूहरूले ‘यो ठाउँ लिम्बू जातिको मात्र हो’ भन्दै असन्तुष्टि जनाए। त्यसपछि हजारांै परिवारको उठीवास भयो। उनीहरू शरणार्थी भए, आफ्नै देशमा। मनोवैज्ञानिक दुरी बढे पनि पछि सम्बन्ध सुधिँ्रदै गयो। जातीय विद्वेषको आगो फैलिन पाएन।

झापाको बुधबारेमा १ हजार ८ सय बिघा जंगल फाँडेर ती शरणार्थीलाई बसोबास गराउने प्रबन्ध मिलाए, राजा महेन्द्रले। चन्द्रप्रसाद प्रसाईंलगायतले व्यवस्थापन गरे। झापा, मोरङ  सुनसरीसम्म फैलिए, शरणार्थीहरू। बर्माबाट लखेटिएका हजारौं नेपालीलाई कञ्चनपुरमा राखियो। त्यो बजार ६ सय विगाह क्षेत्रफलमा फैलिएको छ। महेन्द्रनगर नामले सुदूरपश्चिमकै प्रसिद्ध सहर बन्यो, त्यो ठाउँ। गणतन्त्र सरकारले ‘भीमदत्त’ नाम राखे पनि जनताले महेन्द्रनगर नै भन्छन्।

नेपाली जनताको आकांक्षा ठूलो छ। राष्ट्र सुखी, सुदृढ, शान्त, समृद्ध र सभ्य बन्दै जाओस् भन्ने कामना छ, जनताको। सरकार गति न मतिको छ। त्यसैले जनता निराश बनिरहेका छन्।

इतिहासका अन्वेषक तथा नेपाल रेडक्रस सोसाइटीका तत्कालीन केन्द्रीय उपाध्यक्ष, साहित्यकार स्वयम्भुलाल श्रेष्ठले झापाको इतिहास सुनाएका थिए, २०३७ सालमा। पन्ध्रौं शताब्दीतिर हरिया मेचे नामका राजाले उत्तर बंगाल र असम (आसाम) लगायत धेरै भाग जितेर गोआलपाडा (हाल भारतको डुअर्स) क्षेत्रमा राजधानी बनाएछन्। उनकै माहिला छोरा चिल्ला राय (राई) ले कोचविहार (कुचविहार) बनाएछन्। उनकै कुलका नरनारायणले प्रकृतिपूजक परम्पराबाट सनातन धर्म ग्रहण गरे। कोचेहरू बिस्तारै राजवंशी (राजाका वंश) कहलिँदै गए। काठमाडौंका राजा प्रताप मल्लको विवाह कुचविहारकी राजकन्यासँग भयो। दुलहीलाई पु¥याउन सयौं सैनिक, कर्मचारी र सुसारे नेपाल आए। मेची नदी तरेर पश्चिम लागेपछि जमिनमा घाम पनि नदेखिने घनाजंगल भेटियो। उनीहरू त्यहाँ बास बसे। झ्याप्प छोपिएको र डेक्चीमा बिर्को लगाएजस्तो ठाउँ थियो, झापा। राजवंशीहरू भाँडाको बिर्कोलाई ‘झापा’ भन्छन्। भात पाक्ने बेला बिर्को लगाउँदा ‘झापा दे, झापा दे’ भन्छन्। यसरी राखियो, जंगलले छोपिएको झापाको नाम।

सत्रौं शताब्दीदेखि झापामा राजवंशीहरूको बस्ती क्रमशः बढ्दै गयो। त्यहाँबाट प्रतिनिधित्व गरेर मन्त्रीसमेत भए– गोपालचन्द्रसिंह राजवंशी। सरकारले जिल्लाको नाम के राख्ने भनेर सुझाव माग्दा तत्कालीन सल्लाहकार सभाका सदस्य सुन्दरलाल राजवंशीको संयोजकत्वमा बसेको बैठकले जिल्लाको नाम झापा राख्ने सल्लाह दियो।

राजा महेन्द्रले त्यहींबाट नयाँ प्रयोग गरे। भूमिसुधार र विकेन्द्रीकरण लागू गरे। ‘मालिक’ भनिएका किसानको जमिन खनजोत गरेर गुजारा गर्ने लाखौं दरिद्र मोही जग्गा जमिनका मालिक बने। भूमिसुधार कार्यक्रम स्थानीय तहहरू सुदृढ बनाउने सशक्त कार्यक्रम थियो। जग्गाको कर उठाएर गाउँ पञ्चायतले २५ प्रतिशत रकम सरकारलाई बुझाउँथ्यो। १० प्रतिशत रकम जिल्ला पञ्चायतले पाउँथ्यो। ५५ प्रतिशत रकम स्थानीय प्रगतिमा खर्च हुन्थ्यो। त्यसबेला त्यस्तो रकमबाट नेपालमा हजारांै स्कुल खुले। बाटाघाट बने। खानेपानीको प्रबन्ध, स्वास्थ्यचौकी, देवदेवालय र गुम्बा निर्माण–जिर्णोद्धार भयो। राजस्व सदुपयोग हुन्थ्यो ऊबेला। प्रजातन्त्र माथिबाट होइन, दलबाट बलियो हुँदै जानुपर्छ भन्ने मान्यता स्थापित हुँदै थियो।

पूर्व मुख्यसचिव विमल कोइरालाले एउटा प्रतिवेदनमा लेखेका छन्– ‘२०४६ सालपछि स्थानीय तहमा विनियोजित रकममध्ये ४० प्रतिशत रकम दुरुपयोग भएको छ।’ स्थानीय विकासका विज्ञ हिक्मत विष्ट र पूर्वसचिव खेमराज नेपालले यस्तै टिप्पणी गरेका छन्। झापादेखि कञ्चनपुरसम्म हजारांै स्कुल, सयौं अस्पताल र कलेज, बाटो, उद्योग बनाए, महेन्द्रले। ती जनताका लागि अमूल्य उपहार थिए।

उज्यालो हुँदै जानुपर्नेमा अन्धकार छाउँदै गएको छ, आज। ‘गाउँगाउँमा सिंहदरबार’ भन्नेहरू ‘जनताको के दरकार’ भन्ने सोच्न थालेका छन्। पाँच वर्षमा एकपल्ट यन्त्रमानवझै बनेर भोट हाल्ने संयन्त्र बनाइए, जनता। विदेशी गुप्तचरले किताबमै हाकाहाकी लेखे– ‘गणतन्त्र तिमीले ल्याएको होइन, हामीले स्थापना गरिदिएका हौं बाबु। तिम्रो देशको राजतन्त्र हामीले नै मिल्काइदिएका हौं।’ अब  खुलस्त भयो– खेताला मात्र रहेछन्, यहाँका सबै गणतन्त्रवादी !

गीतकार चेतन कार्कीको संकलनमा एउटा लोकगीत रेडियोमा बज्थ्यो– ‘फेवातालको कत्ले माछा हर्पन खोला धाउँछ, बूढो पोइको ओछ्यान लाउँदा जाँगर मरिआउँछ ....’। यही स्थिति छ अहिले। नेपाली जनताको आकांक्षा ठूलो छ। राष्ट्र सुखी, सुदृढ, शान्त, समृद्ध र सभ्य बन्दै जाओस् भन्ने कामना छ, जनताको। सरकार गति न मतिको छ। त्यसैले जनता निराश बनिरहेका छन्।

पुवामाई र माईखोलाबीचको सुन्दर पर्वतीय सहर इलाम ५९८ मिटर उचाइमा छ। भनिन्छ– जसले इलाम देखेकै छैन, ऊ ठगिएको छ, सौन्दर्यको रसस्वादन गर्न। सन् १८७० मा चीनबाट ल्याएर रोपिएको चियाले इलाम चिनिएको छ। कुनै बेला माइकल चेनी र सुन्दरजंग राणाजस्ता योग्य व्यक्तिले सम्हालेको त्यहाँको सरकारी चिया उद्योग नेपाली कांग्रेसले बेच्यो। २०२२ सालतिरै त्यहाँको चिया बेलायतमा बेच्ने प्रबन्ध मिलाएका थिए, राजा महेन्द्रले। पछि राजा वीरेन्द्रले माया गरेर चिया उद्योग फस्टाउने व्यवस्था गरे। राजनीतिक प्रदूषणसमेतबाट मुक्त छ, इलाम। प्रा. युद्धप्रसाद वैद्य भन्छन्– ‘इलाममा जे छ, त्यो अरूतिर छैन।’ अर्थात् जातीय सद्भाव, प्रेम, उद्यम, विश्वास र शिष्टाचारमा धनी छ, इलाम। कवि भूपि शेरचनले इलाम पुगेर कविता लेखे– ‘सिलाम होइन, देशभरि अब इलाम छर्नुपर्छ।’

लाखौं भारतीय भोकै बसेका बेला प्यागोडा शैलीका कैयन् अतुल्य र सुन्दर मन्दिर बनाए, हाम्रा पुर्खाले। ललित (सुन्दर) बन्यो, ललितपुर कला र सभ्यताले। कान्तिपुर(काठमाडौं) कान्तिमय बनाए, पुर्खाले। भक्तपुर भक्तहरूको अतुल्य र अमूल्य सम्पदा भयो। न विदेशीसँग हात पसार्नुपथ्र्यो न त राजनीतिका नाममा ताई न तुईका कुरा गर्ने शठहरूको बथान पाल्नुपथ्र्यो। घरमा पाकेका मकै, ढिँडो र फापर खाएर समाजसेवा गर्थे, हाम्रा पुर्खा। आजका धेरै ‘भलाद्मी’ पेट पाल्न राजनीति र परोपकार गरेको अभिनय गरिरहेका छन्।
गलतलाई गलत भन्नेहरू प्रतिगामी होइनन्। उनीहरू उग्रवादी, देशद्रोही र अराष्ट्रिय तŒव होइनन्। सत्तामा बसेर राष्ट्र लुट्नेहरू अराष्ट्रिय हुन्, अलोकतान्त्रिक  र प्रतिगामी हुन्। उनीहरूले राष्ट्रलाई झन् दरिद्र बनाइरहेका छन्। केही प्रियजनले सही छ भन्लान् तर राष्ट्र कमजोर बन्दै छ, दिनदिनै। श्री ३ भीमशमशेर झन् निरंकुश बन्दै गएपछि उनकै मामा डम्बरशमशेर थापाले लिखित सुझाव दिए– ‘महाराज, दुनियाँमा प्रजातन्त्रको बाढी आएको छ। समयमै यसको अर्थ र मर्म नबुझ्ने हो भने त्यो बाढीले बगाएर लैजान्छ।’ (स्रोत ः कानुन पत्रिका)
इतिहास अध्ययन गर्दा फेला पार्न सकिने घतलाग्दा सन्दर्भ र प्रसंग हामीले व्यवहारमा ल्याउने प्रयास पनि गरेनांै। समाजमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्रबीच अन्तराल एवं भेदभाव रहेका बेला राजा रणबहादुर शाहले ‘राष्ट्रलाई बलियो पार्ने विचार जसको भए पनि सम्मान गर्नू’ भनेका थिए। उनकै शब्दमा ‘देश बढ्न्या, आम्दानी हुन्या, बढिया बन्या कुरा ग¥या साना जातिको पनि कुरा सुन्नू।’
सत्तामा बस्नेले ‘अरू’ सबैलाई ‘साना जाति’ ठान्छन् तर कुरा सुन्दैनन्। अहिले पनि सुनेका छैनन्। नेपालमा आज संसदीय खोलमा कम्युनिस्ट शासन छ। संवैधानिक अंगहरूलाई समेत सरकारले अंकुश लगाउन खोजेको छ। ‘कोमिन्ताङ’ बनेको छ, प्रमुख प्रतिपक्षी दल। अरू भुरे–टाकुरे नेता अस्तित्व रक्षाका लागि छटपटाइरहेका छन्। सिंहदरबारबाट शासन चलाउने गणतन्त्री राजाबाहेक बाँकी सबै लाचार छाया देखिएका छन्। सतारूढ दलकै अधिकतर नेता ‘साना जाति’ ठहरिएका छन्। उनीहरूका कुरा सुनिँदैन। दलभित्रकै बुद्धिजीवी मौन र निरीह छन्। विभिन्न क्षेत्रका विज्ञ–विशेषज्ञ टुलुटुलु हेर्न बाध्य छन्। हत्या, हिंसा र आतंकका पाठशाला पास भएकाहरूले नै राज्य चलाएका छन्। त्यसैले, यत्र–तत्र–सर्वत्र मनोवैज्ञानिक सन्त्रास बढ्दै छ। नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वाससमेत गुमाउँदै गएको छ। यस्तो अवस्थामा जनताबाहेक अरूले अधिनायकवाद रोक्न सक्ने देखिँदैन।
वि.सं. १८६१ को एउटा दस्तावेजमा राजकाज चलाउने प्रमुख व्यक्ति (श्री ५)बाहेक चौतरिया, मुख्तियार, काजी, सरदार, कपर्दार, सुबेदार, खचान्ची, वकिल, नायक, टक्सारी, अमाली, बिचारी, चौधरी, कोत्या, तहबिलदार आदि पद रहेको पाइन्छ। आज रूप र भूमिका बदलिएका छन्। मुख्तियार, काजी, चौतरिया, चौधरीलगायत ‘शक्तिकेन्द्र’ बढेका छन्, दलभित्र। तर राजकाज हाँक्ने दल नेकपाकै ८ लाख सदस्यमध्ये झन्डै ८० प्रतिशत असन्तुष्ट रहेको प्रचार भइरहेको छ। राष्ट्रका प्रायः सबै क्षमतावान् व्यक्ति ‘दलविहीन’ छन्। ती सबै जिम्मेवारीविहीन छन्। उनीहरूमा बूढो पोइलाई ओछ्यान लगाउने जाँगर देखिँदैन।  
राष्ट्र बनाउने हो भने सबैको सहयोग चाहिन्छ। मागे मात्र सहयोग पाइन्छ। जंगबहादुरदेखि मोहन शमशेरका पालासम्म एउटा परिवारले एकछत्र शासन ग¥यो। बाँकी सबै जनता रैती भए। अहिले त्यही देखिएको छ। राष्ट्रको तालाचाबी हातमा लिएर अर्बौं रुपैयाँ अनुत्पादक काममा खर्च गर्ने राजाहरू र लुरुलुरु कर तिरेर हजारौं राजा पाल्न बाध्य हामी रैतीबीच दुरी बढ्दै छ, गणतन्त्रमा पनि। अर्थात्, जनता नै प्रतिपक्षी बनेका छन्। त्यसैले, यो ‘तन्त्र’ गम्भीर संकटमा परेको प्रधानमन्त्रीले नै स्वीकार गरेका हुन्।
 

प्रकाशित: २० भाद्र २०७६ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App