भैरव रिसाल
सय वर्षमा पाइला टेक्नपाउनु आफैँमा शौभाग्य हो। सत्यमोहन दाइको लामो आयु समाजप्रति समर्पित रह्यो। उहाँले सिर्जनशील आयु बाँच्नुभयो। त्यसैले उहाँ नेपालको सांस्कृतिक निधि हो। नेपाली सभ्यता, संस्कृति, कला र संस्कार जोगाउने महापण्डित नै हो उहाँ। उहाँको स्वास्थ्य कति बलियो छ भने आजसम्म लाठी टेक्नुपरेको छैन। शरीरले कसरी धानेको होलाजस्तो लाग्छ ! उहाँ इस्पातको मान्छे हो, रोबोट भने पनि हुन्छ, आत्मबल साह्रै बलियो छ।
उहाँ उभिएर लगातार १ घन्टासम्म भाषण गर्नुहुन्छ। जुन विषयमा बोल्नुहुन्छ, त्यसको गहिराइमा पुग्नुहुन्छ। कुराको चुरो पक्रिनुहुन्छ। उहाँलाई प्रमुख अतिथि वा विशिष्ट अतिथिका रूपमा धेरैतिर बोलाइन्छ। उहाँ विषयवस्तुको पिँधसम्म पुग्नुहुन्छ। अचम्म लाग्छ– उहाँ कतिबेला अध्ययन गर्नुहुन्छ, कि पहिले पढेकै सम्झनुहुन्छ ! अर्को कुरा, गुनगानको महिमा गाउने क्षमता छ उहाँमा।
मेरो जन्मदिन हरेक साउन २९ गते म उहाँलाई घरमा बोलाउँछु। आउनुहुन्छ, आत्मीयता दर्शाउनुहुन्छ। एकपटक उहाँलाई खाना पुग्यो होला भनेको त भन्नुभयो– ‘मलाई दही पुगेको छैन। लेऊ खान्छु।’ कार्यक्रमहरूमा अरूले जे खाजा खान्छन्, दाइ पनि त्यही खानुहुन्छ। उहाँलाई छुट्टै खाजा व्यवस्था गर्नुपर्दैन।
उहाँलाई भेट्दा सोध्छु– ‘दाइ भाउजूको खबर के छ ?’ मलाई लाग्छ– सत्यमोहन दम्पती नै नेपालको निधि हो।
प्रकाशित: ३० वैशाख २०७६ ०४:२३ सोमबार