विचार

विपद्, टहरा र लैंगिक हिंसा

२०७५ चैत १७ गते बारा–पर्सामा आएको ‘टोर्नेडो’ले अकल्पनीय क्षति पु-यायो। टोर्नेडोलाई नेपालीमा हावा–हुन्डरी, चक्रवात वा भुमरी भन्ने गरिन्छ। यो भुमरीले २८ जनाको ज्यान लियो। करिब ७ सय व्यक्ति घाइते भए भने २ हजार ४ सय ९३ घर पूर्णरूपमा क्षति भए। टोर्नेडोले गरिब परिवारको जीवनचक्र नै उथलपुथल पारिदिएको छ। विपद्को मात्रा समान भए पनि यसको असर सबैका लागि उस्तै हुँदैन। आर्थिक तथा सामाजिक अवस्था कमजोर भएका वर्गलाई यसले बढी प्रभाव पारेको छ। कमजोर घरमा गुजारा गरिरहेका वर्गले बढी क्षति बेहोर्नुुप-यो।

विपद् त्यतिबेला ज्यादै घातक बन्छ जतिबेला मानिसले घरबार गुमाउँछन्। बाराको फेटा गाउँपालिकामा त्यस्तै भएको छ। घरबार गुमाएको अवस्थामा महिला तथा बालबालिका सबैभन्दा जोखिममा पर्छन्। यसैगरी सुत्केरी, गर्भवती, किशोरी, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक पनि उच्च जोखिममा पर्छन्। महिला तथा किशोरीलाई मानसिक तनाव तथा पीडा, हिंसा र दुव्र्यवहार कल्पनै गर्न नसकिने खालका हुन्छन्। सुरक्षित स्थान नहुँदा उनीहरू हिंसा र दुव्र्यवहार सहन बाध्य हुने गरेका छन्।

२०७२ सालको भूकम्पका बेला घरबारविहीन भएको अवस्थामा भएका लैंगिक हिंसाको तथ्य हेर्ने हो भने ज्यादै भयावह देखिन्छ। त्यसबेला महिला, किशोरीले भोग्नुपरेको हिंसा तथा दुव्र्यवहार बहुप्रकृितका छन्। भूकम्पले घर भत्किएपछि उनीहरू खुला चौर या अस्थायी टहरामा जान बाध्य भए। विपद्मा अस्थायी टहराभित्रका कथाव्यथा अनगन्ती छन्। थुप्रै महिला तथा किशोरी आफन्त तथा छिमेकीबाटै बलात्कृत एवं यौन दुव्र्यवहारको सिकार भए। भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, काठमाडौंँ र मकवानपुरमा तत्कालीन समयमा अस्थायी टहरामा भएका

सबैभन्दा दुःखको कुरा, यस्तो विपद्मा आफ्नै नजिकका नाता, साइनो, सम्बन्धका व्यक्ति तथा छिमेकीले नै यौन तथा अन्य हिंसा गरेको पाइएको छ।

लैंगिक हिंसाका केही प्रतिनिधिमूलक घटनाः
–सुस्त मनस्थितिकी बालिका छिमेकीबाट बलात्कृत भइन्। र, उनको बच्चासमेत जन्मिएको छ।
–१५ वर्षीया किशोरीलाई मामा पर्नेबाट पटक–पटक बलात्कार प्रयास भयो। सामाजिक सुरक्षाका लागि उनले गाउँकै १७ वर्षीय किशोरलाई आफ्ना कथा–व्यथा सुनाइन्। पछि त्यही किशोरसँग जबर्जस्ती उनको विवाह गराइयो।
–एक किशोरीलाई आफ्नै शिक्षकले एक्लै भएको मौका छोपी पटक–पटक बलात्कार प्रयास गरे। ती किशोरीले पनि सुरक्षाका लागि विवाह उपयुक्त ठानिन्। र, बालविवाह गरिन्।
–रक्सीले मातेर आएका बुबाले आफ्नै छोरीलाई बलात्कार प्रयास गरे। तर आमाले जोगाइन्।
–ठूलो परिवारका सबै सदस्य अस्थायी टहरामै बस्थे। एक पुरुषले रक्सी पिएर राति पत्नीलाई जबर्जस्ती करणी गर्न खोजे। सासू–ससुरा, जेठानी,

केटाकेटी भएकाले ती महिलाले अनिच्छा व्यक्त गरिन्। तर ती पुरुषले कुटपिट गर्न थाले। हिंसा सहन नसकेपछि ती महिलाले वैवाहिक सम्बन्ध समाप्त गरिन् र कसैलाई थाहा नदिई परिवार छाडेर भागिन्। सबैभन्दा दुःखको कुरा, यस्तो प्राकृतिक विपद्का बेला आफ्नै नाता, साइनो, पर्ने व्यक्ति तथा छिमेकीले नै यौन तथा अन्य हिंसा गरेको पाइयो। हिंसा भोग्नेमा दलित, एकल, सुस्त मनस्थिति, अपांगता भएका, अति गरिब महिला तथा किशोरी छन्।

विपद्पछि संकटका बेला अधिकतर पुरुषले मादक पदार्थ पिएको, अनि मातेपछि बेलुका टहरामै पत्नी तथा बालबालिकालाई कुटपिट तथा अन्य हिंसा, दुुव्र्यवहार गरेको तथा टहरामा परिवारका सबै सदस्य भएका बेला श्रीमतीलाई जबर्जस्ती करणी प्रयास भएको पाइएको छ। धेरै महिलामा गम्भीर मनोवैज्ञानिक असरसमेत परेको छ। भूकम्पपछि राहत पाउने लोभमा बुहारी र आमालाई घरबाट छुट्याएर राखिएको थियो जसका कारण महिला हिंसाको जोखिममा धकेलिएका थिए। एक सुत्केरीका श्रीमान् विदेश थिए। राहत पाउने आशमा ससुराले उनलाई छुट्टै टहरा बनाएर राखे। उनले राहतभन्दा बढी मानसिक तनाव र दुःख पाइन्। आर्थिक स्थिति कमजोर भएका परिवारका किशोरी भत्किएको घर बनाउन पैसा कमाउने प्रलोभनमा सहर छिरे। जुन आशमा उनीहरू यौन हिंसाको सिकार भए र भइरहेका छन्।

निष्कर्ष
बारा–पर्सामा आएको आँधीले घरबासविहीन भएका महिला तथा किशोरीलाई उल्लिखित हिंसा नहोला भन्न सकिँदैन। यसैकारण लैंगिक हिंसाबाट बच्न सबैले उच्च सजगता अपनाउनुपर्ने देखिन्छ। कमजोर अवस्थामा रहेका महिला, बालबालिका, अपांगता भएका, ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान दिनुपर्छ।

महिला तथा किशोरी समूहमा बस्ने, समस्या तथा बदलिँदो परिस्थितिबारे छलफल गर्ने, एकअर्काको हेरविचारमा ध्यान दिने गर्नुपर्छ। आफ्नो, परिवार र समुदायको सुरक्षाबारे छलफल गरी योजना निर्माण गर्ने, विशेष अवस्थामा रहेका महिला तथा किशोरीको स्वास्थ्य तथा अन्य अवस्थाप्रति ध्यान दिने, महिला तथा किशोरीले रातको समय अनावश्यक हिँडडुल नगर्ने, गर्नै परे एक्लै नजाने,  समाजमा खराब नियत भएका मान्छेसँग सजग रहने, कसैलाई विश्वास गरिनहाल्ने, निःस्वार्थ सहयोग गर्ने सरकारी तथा गैरसरकारी निकायको साथ र सहयोग लिने तथा विभिन्न चेतनामूलक छलफल, कार्यक्रममा सहभागी भई सही जानकारी लिने गर्नुपर्छ। अन्त्यमा, सामाजिक न्यायको अवधारणा आत्मसात् गरी विपद् सामना गर्दै दिगो पुनर्निर्माण र पुनस्र्थापनाको बाटोमा लाग्नुको विकल्प छैन।

प्रकाशित: २० वैशाख २०७६ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App