विचार

वाग्मती बचाऊँ

नेपालमा खासगरी काठमाडौँ उपत्यकाभित्र र अन्य मुख्य–मुख्य सहर वस्तीमा केही दशकदेखि भू–माफियाको ठूलो चलखेल भइरहेको छ। जसलाई भ्रष्ट कर्मचारीतन्त्र, नवधनाढ्य जो जमिन किनी आफ्ना कालो धन सेतो धन बनाउन चाहन्छन्, तिनले र राजनेताहरूले पनि ठूलो सहयोग पु-याइरहेका छन्। कतै पनि खाली जग्गा देख्नै हुन्न यिनीहरू -याल चुहाएर दौडिहाल्छन्। त्यतिमात्र होइन, कारणवश कोही आफ्नो जग्गा बाँझो राख्न बाध्य भयो वा दाजुभाइबीच अंशबन्डा मुद्दा परिरहेको छ भने त्यस्ता जमिनमा दाँत गाड्न पनि यिनीहरू पछि हट्दैनन्।

वाग्मतीको पर्ती जग्गा, बगर र घाटवरपर निर्माण गरिएका देवालय, शिवालय, पाटी, पौवा, चउर, बगैँचा सबैजसो ठाउँमा २०१७ सालपछि विभिन्न कारणले उपत्यका प्रवेश गरेका सुकुमवासी तथा शरणार्थीहरूले कतै सानो टहरा बनाइ त कतै पाटी, पौवाभित्र घुसपैठ गरी बसिरहेको सबैले देखेजानेकै कुरा हो। यसरी जर्बजस्ती सरकारी तथा सार्वजनिक जग्गा कब्जा गरी बस्नेहरूले आज मुआब्जा माग्न थालेका छन्।

काठमाडौँ उपत्यकाभित्र जग्गाको मूल्य आकासिएको सर्वविदितै छ। हिजोआज उपत्यकाभित्र कुनै पनि ठाउँका जग्गा आनाको २/४ लाख घटीमा पाउन मुिस्कल छ। झन् राम्रो बाटोघाटो र सुविधा भएका जग्गाको त कुरै नगरौँ। त्यस्ता जग्गा आनाको ५०/६० लाख रुपैयाँसम्म पर्छ। अझ  बालुवाटार, खुर्सानीटार, हात्तिगौँडा, सितापाइला, भैँसेपाटी आदि इत्यादी ठाउँमा त हिजोआज आनाको करोडौँ भन्न थालेका छन्।

यसैकारण अहिले कुनै पनि सरकारी जग्गा, पर्ती जग्गा, चउर, नदी र खोलाको बगर कब्जा गरी बस्नेहरू बढेका छन्। केही दिनयता ‘वाग्मती ब्युटिफिकेसन’ को काम ठप्प भयो भनेर सञ्चारमाध्यममा आएका समाचारले जो कोहीको ध्यान आकर्षित नगर्ने कुरै भएन। एडिबीको आर्थिक सहयोगमा यो काम धमाधम भइरहेको थियो। फलस्वरूप सिनामंगल, शंखमूल, पञ्चलीको टेकुघाट आदि ठाउामा जुन किसिमले हरियाली पार्क, वृक्षरोपण, चउर बगैँचा आदि बनाउने काम भएका छन्। त्यसले गर्दा ती क्षेत्र वरपरका बासिन्दा तथा त्यहाँ घुम्न आउनेहरूले स्वच्छ हावा पान गर्ने अवसर पाइरहेका छन्। यसअघि यी ठाउँको बिजोग सबैले देखेभोगकै हुन्। एडिबीको अर्बौे लगानीमा निर्माण भइरहेका थिए।

यसरी वाग्मती संरक्षण, सुधार, विकास गरी जनस्वास्थ्यमा टेवा पु-याउन तथा नेपाली संस्कृति र सभ्यता पनि संरक्षण र संवर्धन गर्ने उद्देश्य राखी सञ्चालन गरिएको कार्यक्रमलाई सहयोग तथा सकेको योगदान गर्नु सम्पूर्ण नेपालीको कर्तव्य हो। तर विदेशी पैसा देखेर -याल काढ्ने भूमाफिया, अवैध बसोबास गर्ने सुकुमवासीले पैसा सोहोर्ने यही मौका हो भनी राष्ट्र निर्माणको यो पवित्र काममा बाधाअड्चन पु-याउनु लाजमर्दो र दुःखदायी कुरा हो।

आश्चर्यको कुरा छ– वाग्मती नदी किनारको १ सय ८० रोपनी जग्गामा अवैध बसोबास गर्ने सुकुमवासीहरूले मुआब्जा मागिरहेका छन्। सरकारी स्रोतअनुसार ती व्यक्तिहरूसँग करिब ४१ रोपनीको मात्र लालपुर्जा छ। अन्य १४६ रोपनीको जग्गाधनी प्रमाणपत्र छैन। पहिलो कुरा त वाग्मतीको त्यो ४१ रोपनी जग्गाको लालपुर्जा पनि ती व्यक्तिहरूले के कसरी बनाउन सके?  भूमाफिया, मालपोत, नापी विभाग, जिल्ला कार्यालय, जिल्ला प्रहरी सबैको मिलोमतो नभई यो काम हुनै सक्दैन। हुनसक्छ, वाग्मतीमा बाढी आउँदा केही व्यक्तिको जग्गा जमिन नदीभित्र परे होलान् तर यसबाहेक यदि कसैले नदी किनारमा घरटहरा निर्माण गरी बसेका छन् भने त्यसको जिम्मेवारी सरकारले कसरी लिन सक्छ? अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मतीका दुवै किनार सुधारका लागि नदीको चौडाइ बढाउँदा ती क्षेत्रभित्र परेका घरजग्गाको भने सम्बन्धित धनीहरूलाई मुआब्जा दिइनुपर्छ। तर त्यसअगाडि स्वामित्वसम्बन्धी सम्पूर्ण कागजात राम्ररी केलाई वास्तविक पीडितलाई मात्र मुआब्जा दिइनु पर्छ।

एक दशकजति अगाडि वाग्मतीको करिब १२ सय रोपनी जग्गा भूमाफियाको कब्जामा रहेको एउटा कार्यदलले दिएको प्रतिवेदनमा उल्लेख थियो। त्यही प्रतिवेदनमा २ हजार ८ सय ५४ रोपनीमध्ये १ हजार १ सय ९३ रोपनी अतिक्रमणमा परेको स्पष्टसँग उल्लेख गरिएको छ। एडिबीको आर्थिक सहयोगमा भइरहेको कार्यक्रमअन्तर्गत वाग्मती नदी संरक्षण, सुधार र सौन्दर्यीकरण मात्र होइन, टेकुदेखि थापाथलीसम्मका करिब २३ वटा प्राचीन मन्दिर, शिवालय, देवालयको पनि जीणोद्धार हुनेछ। यस्तो अवस्थामा यदि एडिबीले यस परियोजनाबाट हात झिकेको खण्डमा ती सम्पदाहरूको  अझ बढी बेहाल हुने परिस्थिति छ। नेपाल सरकार, काठमाडौँ महानगरपालिका एवं सम्बन्धित सबै निकायले जे जसरी हुन्छ,  उक्त योजना सकेसम्म छिटो र उपयुक्त तरिकाबाट सम्पन्न गरी एडिबीलाई हामी नेपाली जस्तोसुकै चुनौतीमा पनि काम गर्न सक्षम छौँ भन्ने देखाउन जरुरी छ।

हामी सबैले यो पनि यो तथ्य पनि बुझ्न आवश्यक छ– जसरी जोर्डनका जनताले जोर्डनजस्तो विशाल नदी बिलाएर सानो खोल्सामा परिणत भएको देखेका थिए त्यस्तो अवस्था हामीले वाग्मतीमा भोग्न नपरोस्। जब वरपर ठूल्ठूला सहर बन्छन् तब ती नदी बिलाएर जान्छन्। साथसाथै कालान्तरमा ती सहर पनि बिलाएर जान्छन्। तसर्थ वाग्मतीको अवसान भयो भने हाम्रा महानगरहरू केही समयभित्रै मरुभूमि र मसानघाटमा परिणत हुन बेर लाग्दैन। वाग्मतीमा चलखेल गरिरहेका बालुवा तस्कर, भूमाफिया, अवैध बसोबास गरिरहेका सुकुमवासी तथा भ्रष्ट कर्मचारीहरू सबै यस्ता धमिरा हुन् जसले हाम्रो सम्पदा, संस्कृति मात्र होइन, जीवनको आधार स्रोतका रूपमा रहेको वाग्मतीलाई नै जोर्डन नदीलाई जस्तै सानो खोल्सामा परिणत गर्न बेर लाउँदैनन्।

प्रकाशित: १८ वैशाख २०७६ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App