विचार

दण्डहीनता र भ्रष्टाचारको सुनामी

हाम्रो देशमा आज र हिजो लागेको घातक रोग जसले राष्ट्रलाई संसारमा तल्लो स्तरमा पु¥याएको छ र झनै तल झार्दैछ, त्यो हो– भ्रष्टाचार। यो रोग यति घातक भएको छ कि देशको हरेक तह÷तप्काको प्रगतिमा ठूलै बाधक बनिसकेको छ। यसको व्यापकता र साथै रोकथामको प्रायः शून्यताको स्थिति हेर्दा यसले एउटा घातक महामारीको रूप लिइसकेको छ। हालैको पश्चिम अफ्रिकाको ‘एबोला’ को रोग जति घातक साबित भएको थियो त्यस्तै भ्रष्टाचारले पनि हामीकहाँ त्यही रूप लिएको छ। अझै पनि यसको रोकथाम नगर्ने हो भने, कतैबाट चासो पनि नदिने हो भने निकट भविष्यमै हाम्रा लागि यो ‘ग्लोबल वार्मिङ’ को खतराभन्दा केही कम हुने छैन। जसले हामीलाई गौरबका साथ बाँच्न दिने छैन। 

यो भ्रष्टाचारको विषय कति डरलाग्दो छ र यसले धमिराको गोला पैmलिएजस्तै भित्रै–भित्रै मुलुकलाई कति ध्वस्त पार्दैछ, त्यस्तो पुष्टि गर्न धेरै अगाडि या पछाडि जानै पर्दैन। आजकै क्षणमात्र हेरे पुग्छ। जुन क्षणमा हरेक मञ्चबाट हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्न भ्याइ÷नभ्याइ छ। उहाँले त्यसो भन्नुभन्दा बरु आफ्नै कार्यकालमा भइरहेको स्थिति र त्यसमा सरकार प्रमुखका नाताले आफूले के गर्न सकेँ भनेर एक घण्टामात्र चिन्तन गर्न सकेको भए धेरै राम्रो हुने थियो। सुनिन्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रको पाठक काण्डको ‘स्टिङ अपरेसन’ को भिडियो प्रधानमन्त्रीकहाँ चार महिनाअगाडि नै पुगेको थियो। त्यसो हो भने कारबाहीमा किन भयो यस्तो ढिलासुस्ती ? संसद्को सुनुवाइ समितिबाट ‘वाइड बडी’ (र अहिले त ‘न्यारो बडी’ समेत) मा त्यत्रो भयंकर भ्रष्टाचार भएको भनिसकेपछि सरकारले के ग¥यो अहिलेसम्म ? राष्ट्रको यत्रो नोक्सान ? अनि सरकार मौन ? ३३ केजी सुन काण्ड त प्रायः बिलाउँदैछ, कहिले भारतमा त कहिले नेपालभित्र यस्तो यस्तो भाएको छ भन्ने सुनिन्छ तर सुन या मूल अपराधी  मुलुकले हात पार्न सक्दैन। किन ?

राष्ट्र जल्दा के आफन्त, के पराइ, सबैलाई उचित दण्ड दिएर जनतामा फेरि सुशासन र भ्रष्टाचारबाट मुक्तिको आशा जगाउन सक्नुपर्छ।

मेलम्चीको पानी आउने त अब दन्त्य कथा भइसक्यो। राष्ट्रको सरकारलाई एउटा ठेकेदार (चाहे विदशी नै होस्) ले यसरी थर्काउन र हल्लाउन सक्छ भने दुईतिहाइको सरकार भनेर घमण्ड किन गरिरहने ? आखिर ठेकेदारसित कुनै लेनेदनको गोप्य विषय थिएन भने त्यो हिम्मत उसले सार्वभौम सम्पन्न राष्ट्रको बलियो सरकारसित गर्नै सक्दैनथ्यो। यस्तो हैन भने सत्य कुरा बाहिर आउनुप¥यो। नत्र यत्रो बेइज्जती सरकारले एउटा मामुली ठेकेदारबाट बेहोर्नुपरेपछि फेरि उसैलाई हात जोडेर धेरै ठूलो रकम फेरि टक्र्याएर ‘प्रभु आइदिनूस्’ भन्नुका पछाडि के हुन सक्छ रहस्य ? प्रधानमन्त्रीको सोच यसतर्पm कत्तिको गएको छ कुन्नि तर कुनै राष्ट्रवादीले यो त सहन सक्दैन। यसले हाम्रो ‘सार्वभौमिकता’ को घमण्डको खिल्ली उडाएको छ। यस्ता ठूला भ्रष्टाचारका काण्ड कति छन् कति। रोजै देशव्यापी भई नै रहेका छन्। जनताबाट लुकेका पनि छैनन्। सबैको आँखा सामने सारा नदीनाला, जंगल र चुरेको दोहन व्याप्त छ। भ्रष्टाचारकै कारण ती फस्टाउँदैछन्। यो विध्वंशले देश मर्दैछ, भ्रष्टाचारी यसै दोहनबाट धनाढ्य भइरहेका छन्। प्रधानमन्त्रीको किन यस्तो बेवास्ता ? किन रोकिँदैन देशमाथिको यो बलात्कार ?  

भ्रष्टाचारबारे धेरै विज्ञले चिन्ता प्रकट गरिसकेका छन्। आमजनता पनि उत्तिकै चिन्तित छन्। तर यो भ्रष्टाचार आध्यात्मिक भाषामा ‘माया’ भन्ने अदृश्य शक्ति जस्तै छ, व्याप्त छ, सबैले भोगेका छन् कुनै न कुनै बेला यसको असर। तर के गरी यसबाट छुट्कारा पाउने भन्ने कुनै ठोस उपचार भने गर्न सकेका छैनन् किनकि यसको मूल कारक ‘ब्याक्टेरिया’ को सही पहिचान कसैले गरेको छैन। त्यो ब्याक्टेरिया के हो, पहिचान जरुरी छ किनकि रोगको उपचार गर्न पहिले कारण चिन्नुपर्छ। भ्रष्टाचारले यो भयंकर राक्षसी रूप लिनु र यो झन् झन् भयंकर हुँदै जानुको एउटै कारण छ र, त्यो कारक घातक ब्याक्टेरिया हो– राज्यले नै दशकौँदेखि फस्टाउन दिएको ‘दण्डहीनता’। जब सबै राज्य गर्ने तहतप्का, अधिकांश कर्मचारीतन्त्र, सारा पेशागत समूहलगायत जीवनको हरेक तहमा यो भ्रष्टाचार छ तब यसलाई नियन्त्रण गर्ने कसले ? राज्यका शक्ति भएका कुनै पनि अंग भ्रष्टाचार मुक्त छैनन् भन्ने थाहा पाउन कुनै एक दिनको एउटा पत्रिका नै काफी हुन्छ। तर रोकथाम भने हुँदैन। प्रष्टै छ कि दण्डहीनता नै यसको मूल कारक हो। किन दण्डहीनता हामीकहाँ यस्तो जटिल अवस्थामा छ ? जबकि यो अन्त हुनासाथ यो रोगबाट हामी धेरै हदसम्म मुक्ति पाउने थियौँ। किन दण्ड पाउनुपर्नेहरू पाउँदैनन् ?

सत्य कुरा यो हो कि हाम्रो मुलुक सानो छ। त्यसैले अधिकांश पद र शक्तिवाला सबैले सबैलाई नजिकैबाट चिनेका छौँ। हामीबीच सम्बन्धको माखेसाङ्लो नै छन्। नातागोता, बिहेबारी, राजनीतिक निकटता, व्यापारिक, पेशागत जस्ता जुनसुकै क्षेत्रबाट होस्, हाम्रो सम्बन्ध सबैको सबैसित छ। ठूलो राष्ट्रमा त्यो हुँदैन। एकले अर्कोलाई निकटरूपले चिन्दैनन्। त्यसैले त्यहाँ प्रशासन, सरकार, न्यायालय, प्रहरी, सेना सबैले धेरै हदसम्म दण्ड दिनुपर्नेलाई दिएर अराजकता नियन्त्रण गर्न सक्छन्। तर हामी भने कसैलाई भ्रष्टाचारको अभियोग लाग्नासाथै उसलाई छुटाउन र मुद्दा कमजोर बनाउन लाग्छौँ। यसका लागि नेता, भाइ–साला, ज्वाइँ–ससुरा सबै लागिहाल्छौँ। अझ माछो जति ठूलो छ दबाब त्यही अनुपातमा ठूलो हुँदै जान्छ। अर्को विडम्बना के छ भने समातिँदा पनि साना माछा र भ्यागुता समातिन्छन् तर ठूला भने सधैँ उम्कन्छन्। तब हामीकहाँ भ्रष्टाचार कसरी अन्त हुन्छ ? 

हाम्रो धर्म÷संस्कृतिको परम्पराले पनि शायद यसमा महत्वपूर्ण भूमिका खेलेको छ। भगवान बुद्धको ‘करुणा’ र ‘क्षमा’, सनातन धर्मको शरण पर्न आउनेको मरण हुन नदिने जस्ता कुरा या कसैको दोष देखाउँदा आफू दोषरहित हो त भनेर आफैँलाई सोध्नु भन्ने धर्मको अर्ती र नीतिले पनि शायद हामी कसैको ठूलै हानि भएको देख्न चाहँदैनौँ, जतिसुकै उसको गल्ती भए पनि। तर सबै दण्डहीनता यस्ता उच्च आध्यात्मिक विचारले प्रभावित हुँदैनन्। यीभन्दा धेरै बढी हात त अन्य अनैतिक र नकारात्मक कुराको हुन्छ। राजनीतिज्ञहरूमा कसैले कारबाही गरेमा प्रतिशोध लिने चेतावनीले प्रभाव पारेको हुन्छ। अन्य धेरैमा ‘उसलाई समात्यो भने मलाई पनि समात्लान्’ भन्ने डर हुन्छ किनकि भ्रष्टाचारको पनि माखेसाङ्लो नै हुन्छ। धेरै मुछिएका हुन्छन् माथिदेखि तलसम्म कुनै पनि एक काण्डमा, एक–एक प्रोजेक्टका कमिसनखोरीमा, एक–एक भन्सार, राजस्व र मालपोतको भ्रष्टाचारमा। त्यसैले समातिएका हरेक ठूला माछा बचाउन ठूलै ओहदाका पनि लागिपरेका हुन्छन्। अनि कसरी अन्त हुन्छ भ्रष्टाचार ? यस्ताको पहुँच तल्लो प्रशासनदेखि निर्णायक स्थानसम्म हुन्छ र मुद्दामा समेत प्रभाव पार्ने गर्छन्। त्यसैले लहरो तान्दा पहरै जाने डर पनि उत्तिकै हुने गरेको छ।

प्रधानमन्त्री केपी ओलीलाई ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्न भ्याइ÷नभ्याइ छ। त्यसो भन्नुभन्दा बरु आफ्नै कार्यकालमा भइरहेको स्थिति र त्यसमा आफूले के गर्न सकेँ भनेर एक घण्टामात्र चिन्तन गर्न सकेको भए धेरै राम्रो हुने थियो।

अहिले मुलुकको परराष्ट्र नीतिमा धेरै परिवर्तन भएको देखिन्छ। छिमेकीहरूका सम्बन्धमा हाम्रो राजपाठ सम्हाल्नेहरूमा देखिएका परम्पराभन्दा फरक विचार र सरकारका वक्तव्य केलाउँदा कसैले पनि भन्न सक्छ कि हाम्रो नयाँ नीति असंलग्नताबाट चीनपट्टि झुकाव भएको पाइन्छ। त्यसो हो भने चीनले भ्रष्टाचारप्रति के नीति अपनाएको छ भन्नेमा ध्यान दिए हामीलाई ठूलो शिक्षा मिल्छ। आखिर चीनबाट खाली आर्थिक फाइदामात्रै लिने कुरा त हैन होला यस परम्परागत राष्ट्रको परराष्ट्र नीति परिवर्तनमा। चीनका केही गुण पनि त देखासिकी गर्न सक्नुपर्ने होला नि। उसले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ को नीति लिएको छ। कत्रा–कत्रा ठूला माछालाई आजीवन कारागार र मृत्युदण्डसम्म दिएको छ। हामीकहाँ पनि यही हदसम्मै दण्ड नदिएसम्म भ्रष्टाचार उन्मूलन हुने छैन। आजीवन कारागार, सर्वश्व सम्पत्ति जफत, पासपोर्ट रोक्का जस्ता बाटो त तत्काल अपनाउनैपर्ने भएको छ। चीनतर्पmको झुकाव खाली आर्थिक लाभकै लागिमात्र हो भने सम्बन्ध विकास गर्न खोज्नुको कुनै अर्थ छैन। पैसा धेरै आउला तर त्यो सबै अर्को ढोकाबाट चुहिने हो भने फाइदा के भो राष्ट्रलाई ? हाम्रो राष्ट्र बिकाउमा छ, आज यही भ्रष्टाचारको राँगो खुल्लम्–खुल्ला छाडा छाडेकाले। विदेशी डलर अनेक दाताबाट दृश्य÷अदृश्य बाटोबाट मुलुक पसेको छ तर त्यही डलरको अधिकांश भाग भ्रष्टाचारको पोषण बन्ने गर्छ, केहीलाई मालामाल गर्छ, जनतालाई ऋणमा डुबाउँछ। र, मुलुक तिनै दातृले किनेकोसरह हुन जान्छ। त्यसैले भ्रष्टाचारको विरोधमा चीनले लिएको कडा नीति तत्काल अपनाउनुपर्छ हामीले पनि। नत्र सबै सहयोग व्यर्थ हुन्छ।

यो रोगसित लड्न दृढ संकल्प र आँट आवश्यक छ राज्यको सबै तहबाट। कुनै यस्तो संकोच कसैमा नहोस् कि ‘मेरै आफन्त परेका छन् कसरी उनको बर्बादी म हेरुँ’ जस्ता कुरा। जब देश जल्दैछ तब आफन्त भन्ने कुरा छैन किनकि सारा जनता नै आफन्त। यिनै केही भ्रष्टाचारीले गर्दा सारालाई हानि हुन्छ भने त्यस्ताले उचित दण्ड पाउनैपर्छ। फेरि हामीकहाँ यो द्वन्द्वबाट पार हुनका लागि भगवानको महावाणी नै छ। श्रीमद् भगवत्गीता हेरौँ र भगवानको उपदेश सुनौँ।

श्री गीतामा अर्जुनलाई यस्तै द्वन्द्व भएको थियो जसका कारण उनी लाचार भएर युद्ध गर्दिन भनेर थचक्कै रथमा बसे। कसरी आफन्तहरू, एकदम निकटका सम्बन्धितहरू, आफ्नै गुरुहरूसित लडुँ भनेर उनी शोकाकुल भए र कमजोर बने। धनुषवाण थन्काए। उनले यसरी नलड्ने बरु क्षमा गर्ने अठोट गर्दा अन्याय र अत्याचार मौलाउने र राष्ट्रबाट धर्म नै नष्ट हुने अवस्था भयो। तब त्यो अवस्था उनको देखेर भगवान श्रीकृष्णले त्यो लडाइँको मैदानमा उनलाई कुनै सान्त्वना दिनुभएन, मित्र भनेर उनको हामा हा मिलाउनु भएन, बरु उनको यो अनुचित कार्य देखेर बडो कडा शब्दमा उनलाई होच्याउँदै ‘नपुंसक’ संबोधन गरेर भन्नुभो– ‘यस्ता अन्याय गर्नेहरू, राष्ट्रलाई नै अधर्मको बाटोमा लानेहरू या लान तिनलाई साथ दिनेहरू, त्यसैले बाजे, काका, भाइ, भतिजा, गुरु, छोरा नाति, ससुरा, ज्वाइँ, मित्र, सहयोगी, समर्थक केही नसोची तिनीमाथि आक्रमण गर किनकि यी सबै राष्ट्रघाती भएकाले दण्डका पात्र हुन्। यसो नगरे तिमीले पनि राष्ट्र, जनता र धर्मप्रति ठूलो अन्याय गर्नेछौ र पापको भागिदार बन्नेछौ। त्यसैले उठ र युद्ध गर...।’ यही सन्देश यही हुँकार आज साधारण जनताका तर्फबाट राज्य गर्नेलाई प्रशासन चलाउनेलाई, न्यायमूर्तिलाई र ओहोदावाला सबैलाई श्रीकृष्णरूपी जनताले दिन खोजेको छ। राष्ट्र जल्दा के आफन्त, के पराइ, सबैलाई उचित दण्ड दिएर जनतामा फेरि सुशासन र भ्रष्टाचारबाट मुक्तिको आशा जगाउन सक्नुपर्छ। 

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App