प्रधानमन्त्री ओली रिसाउने खालका मानिस होइनन्। उनी सार्वजनिक सभामा या सबैले देखिने रूपमा रिसाएको देखिन्न। उनको खुबी सबैलाई हँसाउने र आफूले पनि त्यसैमा मजा लिने गरेको देखिन्छ। उनको पहिचान नै उखान टुक्कामा स्थापित भएको छ र त्यसैमा उनी रमाउँछन्। यो प्रधानमन्त्रीको पदमा हुनुपर्ने गुण हो कि होइन थाहा छैन। तर एउटा मानिसमा हुनुपर्ने गुुण अवश्य हो। आफू नहाँसीकन अरुलाई हँसाउन सक्नुलाई ठूलै गुण मानिन्छ। हास्य कलाकारहरूको सफलता यसैमा निहित हुने गरेको छ। साधारणतः पनि यो गुणको सराहना नै गरिन्छ। यति हुँदाहुँदै पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्रभित्र रिस उठ्ने गरेको छ। त्यो उनको हाउभाउ र व्यवहारबाट थाहा लाग्छ।
सबभन्दा धेरै रिस त उनलाई पुष्पकमल दाहाल प्रचण्डसित नै उठने गरेको छ। नउठोस् पनि किन ? एमाले र माओवादी पार्टी मिलेर बनाएको मन्त्रिमण्डलबाट आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बोलाएर ओलीको पहिलो प्रधानमन्त्रित्वको सरकार ढालिदिएपछि रिस त उठ्ने नै भयो। न कुनै मुद्दा, न कुनै आपसी द्वन्द्व, न कुनै राष्ट्रिय संकट। एकाबिहानै प्रचण्डले ओली सरकारले भनेको काम गर्न सकेन भनेर आफ्ना चेलाचपाटीहरूलाई राजीनामा दिन लगाए। बिचरा ओली हेरेको हेरै।
आखिर बेलासम्म मधेसीहरूको हारगुहार गरेर सरकार थाम्न कोसिस गरे तर सकेनन्। संसद्मा अविश्वासको प्रस्तावमाथि छलफल हुन लागेको बेलामा सत्ता छाडिदिए। प्रचण्ड उता प्रतिपक्षमा बसेको नेपाली कांग्रेससित मिल्न गए। मिलिजुली सरकार बनाए। प्रचण्डले क—कसको कुरा सुनेर ओलीलाई सत्ताबाट खसालिहाले। यसरी खुलेआम धोका दिएपछि ओली नरिसाए के गरुन् ? मुरमुरिएर बसे तर केही लागेन। संसद्मा आफ्नो बहुमत नरहने नै भयो। अविश्वासको प्रस्ताव पास भएर छाड्नुपर्दा झन् नरमाइलो हुन्छ भनेर पहिले नै राजीनामा दिएर छाडिदिए।
प्रधानमन्त्री ओली रिसाउने खालका मानिस होइनन्। उनी सार्वजनिक सभामा या सबैले देखिने रूपमा रिसाएको देखिन्न। उनको खुबी सबैलाई हँसाउने र आफूले पनि त्यसैमा मजा लिने गरेको देखिन्छ। यति हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीलाई भित्रभित्र रिस उठ्ने गरेको छ। त्यो उनको हाउभाउ र व्यवहारबाट थाहा लाग्छ।
यस्तो धोका पाएको मान्छे र धोका दिने मानिसबीच कसरी आ—आफ्नो पार्टी विघटन गरेर एउटा नयाँ पार्टी बनाउन पुगे भन्ने कुरा सारै ठूलो आश्चर्य र अप्रत्याशित घटना देखियोे। आम निर्वाचनको मुखमा एमाले र माओवादी पार्टीहरू एकताबद्ध हुने प्रतिज्ञा गरेर एउटै घोषणापत्र जारी गरे। हामीलाई दुई तिहाइ बहुमत देऊ, हामी तपाईंहरूलाई राजनैतिक स्थायित्व, दीगो विकास, सर्वसुलभ न्याय र अरु जानेबुझेका सबै काम कुराहरू पूरा गरिदिन्छौँ भनेर किरिया खाए। नेपाली न हुन्, पत्याइहाले। नभन्दै यो महागठबन्धनले दुई तिहाइ समर्थन पाए। ओली पुनः प्रधानमन्त्री पनि भए। तर ओलीको रिस मेटिएन। उनको भित्रको आगोको भुस बलि नै रह्यो।
नबलोस् पनि किन ? ओलीको प्रधानमन्त्रित्वको पहिलो वर्ष सिद्धिन पाएको छैन प्रचण्डले धम्काइहाले। सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन भनेर शंखनाद गरे। जनआकांक्षा पूरा भएन भने हामी सबै कम्युनिस्टहरू एकै ठाउँमा डुब्छौँ। त्यसकारण काम त कसै गरेर भए पनि हुनुपर्यो भनेर ओलीलाई तर्साए। कहिले सरकारले गम्भीर रूपले काम गरिरहेको बताएर त्यसको परिणाम मात्र जनताले छिटै देख्ने आश्वासन पनि दिए। तर प्रधानमन्त्री ओलीले सल्लाह पनि नगर्ने र सार्वजनिक रूपमा हेपेर कुरा गर्न थालेपछि प्रचण्ड रिसाए।
एक किसिमले माओवादीको नाम मेटिँदै पनि गयो। नेपाल कम्युनिस्ट पार्टी भनेर नवगठित संगठनको नाम राखेदेखि माओवादीको नाम बिलाउँदै गएको थियो। एमालेको नाम त धेरै पटक अदलीबदली भइरहेकाले त्यसका नेता कार्यकर्तालाई उति फरक परेन। माओवादी नामसित जोडिएका नेता कार्यकर्ताका लागि भने माओवादी नभनिनु आफ्नो पहिचान नै बिलाउने डर थियो। माओवादी सिद्धियो भनेर हेपियो भने अर्को झन् चर्को माओवादी निस्कने डर प्रचण्डले देखाए। यसरी प्रचण्ड कुर्लेको देखेर ओलीलाई रिस नउठ्ने कुरै थिएन।
नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष छन्। स्तरमा बराबर छन्। तर को अगाडि र को पछाडि परेका छन् भनेर छुट्याउनु गाह्रो परेको छ। को तल र को माथि भनेर पनि मानिसहरू कोट्याउँछन्। शक्ति र सत्ताको हिसाबले प्रधानमन्त्री नै अगाडि देखिन्छन्। किनभने सबै उच्चस्तरीय नियुक्तिहरू प्रधानमन्त्रीकै स्तरबाट हुने गर्दछन्। समानान्तर अध्यक्षसित सरसल्लाह गर्न सक्छन्। त्यसरी अर्को अध्यक्षको चित्त बुझाइदिन सक्छन्। तर त्यसो गरेको जस्तो छैन। होइन भने राज्य सत्तामा नभएको अध्यक्षले एक किसिमको बगावतको भाषा र विचार बोल्दैनथे।
ओली खासगरी रिसाउनु २०६३ सालको परिवर्तनपछि प्रचण्डको व्यवहारले नै हो। पहिलो संविधानसभाको चुनावमा माधव नेपाल पहाड र मधेस दुवै निर्वाचन क्षेत्रबाट हारेका थिए। त्यस नाताले नैतिकताको आधारमा उनले एमालेको नेतृत्व नै छाडिदिएका थिए। यसरी अलपत्र बसेका नेतालाई भने सबैले खोजीखोजी प्रधानमन्त्री बनाएका थिए। हुन त उनी नेपाली कांग्रेससित मिलेर सत्तामा आए। तर प्रचण्डले उनलाई माओवादीसित मिलेर मन्त्रीमण्डल बनाउन सुझाएका थिए। जसरी प्रचण्डले माधव नेपालप्रति मित्रता र समर्थन दर्साए, त्यसरी ओलीप्रति सो कहिले पनि देखाएनन्। त्यसकारण पनि ओली छिनछिनमा प्रचण्डसित रिसाउने गरेको पाइन्छ।
अझ एमालेकै अर्का नेता झलनाथ खनालको कुरा गर्ने हो भने प्रचण्डले त उनलाई प्रधानमन्त्री नै बनाए। आफ्नो माओवादी पार्टीको पूरा समर्थन दिएर संविधानसभामा बहुमत पुर्याइदिए। एमालेका नेताहरूलाई खोजीखोजी प्रधानमन्त्री बनाउन तम्सिने प्रचण्डले ओलीसितको संयुक्त सरकार चलाउँदा बीचैमा ओलीलाई छाडिदिए। यस्तो असमान व्यवहार देखेपछि ओलीलाई रिस नउठ्ने कुरै भएन।
उता नेपाली कांग्रेसले पनि ओलीलाई धोका दिए। संविधान बन्दासम्म नेपाली कांगे्रसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुने र संविधान घोषणा भइसकेपछि एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्ने समझदारी भएको थियो। तर प्रधानमन्त्रीको संसदीय निर्वाचनमा दुवैको उम्मेदवारी पर्यो। हुन त ओलीले जिते तर नेपाली कांग्रेसले उनीप्रति दुव्र्यवहार देखाए। यसबाट पनि उनी रिसाए।
प्रधानमन्त्री ओली अमेरिकाको भ्रमणमा हुँदा उनकै सहकर्मी माधव नेपालले देश डुब्न थाल्यो भनेर चिच्याए। सम्हाल्ने मानिस कोही भएन भनेर कुर्लिए। अनायासै यस्तो अभिव्यक्ति सुनेर ओलीलाई रिस उठ्यो। उनी नेपाल फर्कनेबित्तिकै सब ठीक हुन्छ भनेर प्रतिक्रिया दिए। नभन्दै उनको नेपाल आगमनपछि सबै सामसुम भयो। तर माधव नेपालसँगको रिस किन मथ्र्यो र ?
यस्तै राजनैतिक दाउपेचले गर्दा प्रधानमन्त्री ओलीलाई रिस उठ्न थालेको छ। रिसाउने बानी पर्दापर्दा जोसँग पनि रिसाउन थालेको देखिन्छ। डा. केसीसित रिसाएर बोल्नै छाडे। मरिसकेको निर्मलामाथि पनि रिस पोखे। वाइड बडी जहाज काण्डमा कराउनेहरूसित झन् रिसाए। सुन तस्करी जाँचबुझ गरिरहेका अधिकारीहरूसित रिसाएर खारेज नै गरिदिए। यो रिसको सिलसिला कहाँसम्म पुग्ने हो, कसैले भन्न सक्दैन। त्यही रिसको झोँकमा नागरिकताको बिल पास गर्न लगाए भने देशै एकातिर पर्ने भएको छ।
प्रकाशित: १५ फाल्गुन २०७५ ०३:३४ बुधबार