विचार

बिपी राजमार्ग : हाम्रो हातमा नरिवल

काठमाडौं उपत्यकालाई पूर्वी तराईसँग जोड्ने, जापानको सहयोगमा १८ वर्ष लागेर निर्मित १६० किमि लामो बिपी राजमार्ग सरकारको फितलो अनुगमन तथा जथाभावी प्रयोगका कारण द्रुत गतिमा बिग्रने क्रममा छ। सन् २०१४ को सिन्धुली भ्रमणमा बोलेरोलगायत फाट्टफुट्ट स–साना सवारी साधन मात्र देखिने साँघुरो एक लेनको सडकमा हालै २०१८ मा यात्रा गर्दा माइक्रोबस, ठूल–ठूला बस, ट्रक र ढुङ्गा–बालुवा बोक्ने टिप्परको ताँती देखियो। त्यस्तो घुमाउरो र अप्ठेरो बाटोमा हाँक्किएका ती गाडीहरू धेरै पटक ठोक्किन खोज्दा प्राकृतिक सौन्दर्यमा मग्न हुनुपर्ने यात्रा डरलाग्दो पो बन्न पुग्यो।

सडकको निर्माताले हलुका सवारी साधन प्रतिघण्टा ४० किमिको गति भनी तोकेको ठाउँमा त्यसरी ठूला गाडी हाँक्किदा सडकमा खाल्टाहरू देखिएका छन् भने डाँडामा कुँदिएर बनेको सडक भासिने सम्भावना टड्कारो देखिन्छ।

फेरि साँघुरो बाटोमा व्यावसायिक सवारी साधनहरूको होडबाजीमा दुर्घटनाहरू पनि बढ्दो क्रममा छन्। राजमार्गको मापदण्ड र बढ्दो दुर्घटनालाई  मध्यनजर गरेर १० टनभन्दा कमका मालवाहक गाडी र १८ सिटको सवारी साधन मात्रै चलाउने जुन ४  मा जारी गरेको अनुमतिलाई सर्वोच्च अदालतले व्यवसायीहरूको दबाबमा जुलाई १५ मा रद्ध गरी १६ टनभन्दा कमका मालवाहक गाडी र ३२ सिटको सवारी साधन चलाउने अनुमति दिएको छ।

सवारी साधनको गति नियन्त्रण गर्न राखिएको टाइम–कार्ड यातायात प्रहरीको कमीका कारण प्रभावकारी बन्न सकेको छैन। यातायात व्यवसायीको सबै किसिमको सवारी साधन चलाउन दिनुपर्ने अडानको अगाडि सरकारले घुँडा टेक्नुपर्ने अवस्था अनि सरकारी पदाधिकारीहरूको व्यवसायीहरूसँगको साँठगाँठले बनेपा–बर्दिबासको यात्रालाई धराशयी बनाएको छ।  

निर्माण व्यवसायीहरूले जिल्ला विकास समितिको निर्देशन पालना गरेको दाबी गरे पनि भारी उपकरणहरूको प्रयोग र बढ्दो दैनिक बालुवा, ढुङ्गा र रोडाको निकासीले राजमार्ग, वरपरका बस्ती र प्रकृतिलाई नराम्रो असर गरेको छ। स्थानीय बासिन्दाको विरोधका बाबजुद मुख्य आय स्रोत बनेको व्यवसायलाई बन्द गर्न जिल्ला विकास समिति तत्पर देखिँदैन।  अवैध क्रसर र माइनिङको बढ्दो व्यापारका कारण कञ्चन रोशी खोला धमिलिएको छ भने कोशी खोलाको रूप नै बदलिएको छ।

जोखिमपूर्ण बन्दै गएको सुन्दर बिपी राजमार्गको समयमै संरक्षण नभएमा जनताले फेरि पहिले जस्तै पूर्वी तराई पुग्नलाई पश्चिम गएर पूर्वतिर लाग्नुपर्ने लज्जास्पद स्थिति चाँडै आउँछ। अरुले बनाइदिएको कुनै कुरा पनि बाँकी नराख्ने यस्तो गिद्दे प्रवृत्तिबाट देशलाई बचाउन नेपालमा एउटा गतिलो सरकारको नितान्त आवश्यकता छ। नेपाली जनताले पनि आफ्नो व्यक्तिगत स्वार्थ नहेरी त्यस्ता कुराहरूमा ध्यान नदिए, हुनेछ— बाँदरको हातमा नरिवल।

प्रकाशित: २६ मंसिर २०७५ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App